कार्यपालिकाको निर्णय कार्यान्वयनमा रेसुङ्गा नगरपालिका
गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तासम्बन्धीको सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएका थिए । पहिलो कार्यपालिकाका यी चार निर्णय र अन्य काम अहिले रेसुङ्गा नगरपालिकाले अभियानकै रुपमा गरिरहेको छ । गत हप्ता नगरपालिकाका ४६ आँखाका बिरामीले नेत्रज्योति सङ्घमार्फत निःशुल्क उपचार पाए । आँखाको ज्योति गुमेका उनिहरुले नगरपालिकाको सहयोगमा मोतियाविन्दुको शल्यक्रियापछि सुन्दर संसार देख्ने अवसर पाएको अनूभूति गरे । योसँगै पहिलो कार्यपालिकाका निर्णय कार्यान्वयन भइरहेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। नगरपालिकाले तम्घास बजारलाई सुन्दर बनाउनका लागि अव्यवस्थित तार हटाउने कामलाई पनि अगाडि बढाएको छ । नेपाल टेलिकम गुल्मी, विभिन्न केबल कार्यालय र अन्य झुण्डाइएको तारको व्यवस्थापन अघिल्लो हप्ता निर्णय गरेर यो हप्ता कार्यान्वयनमा गएको नगरप्रमुख पन्थीको भनाइ छ । माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट जीपिए ल्याउने विद्यार्थीलाई मासिक चार हजार छात्रवृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयन गरिसकेको छ । नगरपालिकाले जन्म, विवाह र मृत्युदर्ताको काम घरघरमा पुगेर सेवा गरिरहेको छ । तम्घास बजारमा रहेको जीर्ण पौवालाई हटाएर नगरपालिकाले सुन्दर प्रतिक्षालय बनाउन थालेको छ । पुरानो बजारमा रहेको इन्द्रवीर पौवा भत्काएर प्रतिक्षालयको काम अगाडि बढेको छ । निजी कम्पनीलाई भाडामा दिएर रेसुङ्गाले हाटबजार सञ्चालन गरेको छ । तम्घास बजारको सडक कालोपत्र गरेर सुन्दर बनाउन पनि नगरपालिकाले निर्णय गरेर अगाडि बढेको छ । सडक छेउछाउमा पर्ने खानेपानीका लाइन व्यवस्थापन गर्न उपभोक्ता समितिलाई भनिएको छ । रेसुङ्गा नगरपालिकाभित्रका विभिन्न विकासका योजनाको गुणस्तरीयता र आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायीसँग छलफल गरेको नगरप्रमुख पन्थीले जानकारी दिए । तम्घासको सहिद चोकको शम्शेरबहादुर खत्रीको शालिकको संरक्षण र व्यवस्थित बनाउन नगरपालिकाले काम गरिरहेको छ । तम्घासको खेलमैदानका रुपमा रहेको चिदिचौरलाई व्यवस्थित बनाउने काम नगरपालिकाले अगाडि बढाएको छ । जिल्लाभित्रका सबै सडक पूर्वाधारको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन पनि नगरपालिको अगुवाइमा जिल्ला समन्वय प्रमुख द्रोर्णबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पोडेल, सम्बन्धित कार्यालय प्रमुख र इञ्जिनीयरसँग छलफल गरेर काम अगाडि बढेको नगरप्रमुख पन्थीले बताए । नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशको अध्यक्ष समेत रहेका पन्थीले आफूहरुले अभियानकै रुपमा काम गरिरहेको बताए । ‘हामीले अरु पालिकालाईसमेत उदाहरण दिने गरी अभियानकै रुपमा काम गर्नुछ’, उनि भन्छन्, ‘समुन्नत गुल्मीको लागि अभियानमा रेसुङ्गाबाटै काम गरेका छौँं’, उनले भने । ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूलनाराका साथ नगरपालिकाले काम गरिरहेको जनाइएको छ । रासस
गाउँपालिका महासंघले गर्यो तलब भत्तामा मात्रै तीन करोड बढी खर्च
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघसँग कर्मचारी तलब भत्तामा मात्र ३ करोड रुपैयाँ खर्च गरेको छ । आइतबार महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिलमाया बुढामगरले महासंघले ५ वर्षमा कर्मचारी तलब भत्तामा ३ करोड ३४ लाख ८० हजार खर्च भएको बताएकी हुन् । कोषाध्यक्ष बुढामगरका अनुसार ५ वर्षमा कार्यालय भाडामा ३२ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, मर्मत सम्भारमा १२ लाख ५० हजार, टेलिफोन इन्टरनेटमा एक लाख ३२ हजार ५ सय, इन्धनमा १२ लाख ८० हजार, मसलन्द छपाईमा १२ लाख २५ हजार, बैठक खर्च ४२ लाख ५० हजार, वैदेशिक सम्बन्ध विस्तारमा १२ लाख २० हजार , महासंघको लोगोको तयारमा ४ लाख ५० हजार र दैनिक भ्रमण भत्तामा ६ लाख रुपैयाँ खर्च भएको छ । महासंघले ५ वर्षको लागि स्वीकृत बजेट ५ करोड २९ लाख ५० हजार रुपैयाँ छुट्टाएको थियो । जसमध्ये महासंघले ५ करोड ५९ लाख ४ हजार रुपैयाँ खर्च भएको पनि बुढामगरले बताइन् । महासंघले छुट्टाएको बजेट भन्दा ३० लाख ४६ हजार रुपैयाँ बढी खर्च गरेको छ ।
यी ४ बैंकमा गाउँपालिका महासंघको डेढ करोड बचत, कुन बैंकमा कति ?
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघसँग डेढ करोड रुपैयाँ बचत रहेको बुझिएको छ । आइतबार महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिलमाया बुढामगरले महासंसंघसँग १ करोड ४९ लाख ३९ हजार रुपैयाँ बचत रहेको बताएकी हुन् । महासंघले महाधिवेशनको अवसरमा बैंकहरुमा भएको निक्षेप सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार बैंकसँग चार बैंकको विभिन्न शाखाहरुमा निक्षेपका रुपमा रकम छ । महासंघको नेपाल बैंकको विभिन्न शाखामा ३९ लाख ९३ हजार रुपैयाँ, एनआइसी एसिया बैंकको विभिन्न शाखामा ३४ लाख २० हजार रुपैयाँ, हिमालयन बैंकमा ७२ लाख ६७ हजार र एभरेष्ट बैंकमा १४ हजार रुपैयाँ बचत रहेको महासंघले जनाएको छ ।