अजिरकोट गाउँपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्यो

गोरखा । अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई दिनभरी पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेकामा लाभग्राहीको घरघरमा पुगेर बैंकिङ प्रणालीमार्फत नै भत्ता वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । ‘गाउँपालिकाको चिसाङ्बाट त दिनभरी नै हिँडेर बैंकसम्म आएर भत्ता बुझ्नपर्ने कठिनाइ थियो’, उनले भने, ‘लाभग्राहीलाई भत्ता बुझ्नका लागि सवारीसाधन रिजर्भ गर्दा आउँदा तीन हजार रुपैयाँभन्दा बढी खर्च हुने र कतिपय ठाउँबाट हिँडेर आउँदा एकैदिनमा भत्ता बुझेर फर्कन नसक्ने अवस्था पनि भएकाले जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन घरघरमा पुगेर सामाजिक भत्ता वितरण गर्न थालिएको हो ।’ गाउँपालिकाभित्रका सबै लाभग्राहीले घरमै हातहातमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सुरु गरेको अध्यक्ष देवकोटाले बताए । गाउँपालिकाले बैंकसँगको सहकार्यमा बैंकका कर्मचारी, गाउँपालिकाका कर्मचारी, वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारी परिचालन गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय, एकल महिला लगायतका सबै लाभग्राहीलाई बैकिङ प्रणालीमार्फत नै सामाजिक भत्ता उपलब्ध गराउन थालेको उहाँले जानकारी दिए । घण्टौँ लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि अहिले गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही खुसी भएका छन् । रासस

चन्द्रागिरिमा सडकबत्ती जडान सुरु

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान सुरु गरिएको छ । ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र पाँच हजार सडकबत्ती जडान गर्न लागिएको हो । चालु आवमा विनियोजित बजेटबाट नगरपालिकाभरमा ती सडकबत्ती जडान थालिएको हो । नगरपालिकाले गत आवमा मुख्य राजमार्ग कलङ्की–नागढुङ्गा–पिपलामोड सडकखण्डमा सडकबत्ती जडान गरेको थियो । नगरपालिकाले बत्ती जडानको आवश्यकता रहेको क्षेत्रको पहिचान गरी नगरपालिकामा निवेदन दिनसमेत नगरवासीलाई आह्वान गरेको छ । सो नगरपालिकाले सडकबत्तीसँगै प्रत्येक वडाका विभिन्न सार्वजनिकस्थलमा सिसीटिभी तथा निःशुल्क वाइफाइ जडान पनि चाँडो सुरु गरिने जनाएको छ । नगरपालिकाले यसका लागि सम्पूर्ण खरिद प्रक्रिया सकिएकाले उचित स्थानको पहिचान गरी जडान प्रक्रियालाई चाँडो अगाडि बढाइने जनाएको छ जिपिएस र जिआइएस प्रणालीको नगर प्रोफाइलअन्तर्गत वडा र नगरपालिकाको प्रविधिमैत्री सेवा लिन यो निःशुल्क वाइफाइ सुविधाले मद्दत पुग्ने नगरपालिकाले विश्वास लिएको छ । रासस

बेनीमा नौ करोडका गौरवको आयोजना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्ष २०७९-८० मा नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट नौ करोड एक लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर बिमलरञ्जन कार्कीले सातवटा ठूला योजनाको ठेक्का लागिसकेको बताए । ‘ठेक्काबाट दुईवटा योजना निर्माण सुरु भइसकेका र पाँचवटा सुरु हुने तयारीमा छन्’, उनले भने, ‘तीनवटा योजनाको ठेक्का आह्वान भएको छ । एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रियामा लैजाने तयारीमा छौं।’ नगरपालिकाले  एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा नं ६ अर्थुङ्गेबाट वडा नं ९ को सिमानासम्मको सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार गर्न कृसु निर्माण सेवा काठमाडौँले ६६ लाख ९३ हजार तीन सय ९१ रुपैयाँमा ठेक्का पाएको छ । एक करोड २१ लाख रुपैयाँ लागत अनुमान गरिएको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवा बेनीले रु ८५ लाख ४० हजारमा ठेक्का पाएको छ । गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ, नगरपालिकाको गौरवको योजना शीर्षकमा २५ लाख रुपैयाँ र समपूरक कोषबाट ४६ लाख विनियोजन गरेको थियो । यो योजनामार्फत वडा नं ६ को बाँसबोटसम्म तीन–तीन सय मिटर ढलान र कालोपत्रका साथै नाली निर्माण गर्ने लक्ष्य छ । ७० लाख रुपैयाँ लागत अनुमान गरिएको बेनी–महारानीथान–छाप–ठूलोखोला सडक योजना खुसीहोम बिल्डर्सले रु ५८ लाखमा ठेक्का लिएको छ । वडा नं ४ र ६ को भूगोलमा ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्न लागिएको हो ।  २५ लाख रुपैयाँ विनियोजन भएको बेनी–ज्यामरुककोट सडकको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण र माथिल्लो खण्डमा नाली बनाउन भगवती मालिका कन्ट्रक्सनले  २० लाख ५० हजार रुपैयाँमा ठेक्का लिएको छ । २३ लाख ३० हजार रुपैयाँ विनियोजन भएको बेनपा–४ को तातोपानी बजार कालोपत्र गर्ने योजना सोमरस निर्माण सेवाले २१ लाख २२ हजारमा ठेक्का पाएको छ । तल्लो तातोपानी बजारभित्र प्रिमिक्स प्रविधिको कालोपत्र गरिने नगरपालिकाले जनाएको छ । ५० लाख रुपैयाँ विनियोजन भएको बेनी मिनी रङ्गशाला योजना निर्माणका लागि  ३५ लाख ९३ हजारमा ठेक्का लिएको उत्तरगङ्गा निर्माण सेवाले पर्खाल र प्यारापिट निर्माण सुरु गरेको छ । नगरपालिकाको प्रशासकीय भवनको तला थप गर्ने योजनाको ठेक्का पाएको शङ्कर निर्माण सेवाले पनि काम तीव्ररूपमा गरिरहेको छ । ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको नगरपालिकाको भवनमा तला थप गर्ने योजना ५२ लाख ५८ हजार दुई सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सङ्घीय सरकारको  एक–एक करोड रुपैयाँअनुदान प्राप्त गाजने–नयाँगाउँ–ढोलठान–पुलाडाँडा र पात्लेखेत काछलुङ खानेपानी आयोजनाको ठेक्का आह्वान भएको छ । विशेष अनुदानबाट ४९ लाख ३० हजार रुपैयाँ प्राप्त खबरा खानेपानी योजनाको अधुरो कामलाई पूर्णता दिन पनि ठेक्का आह्वान भएको छ । सङ्घीय सरकारको  ७० लाख रुपैयाँ, प्रदेश सरकारको ५० लाख रुपैयाँ अनुदान र नगरपालिकाले  ७० लाख रुपैयाँ विनियोजन गरेको चिस्यान गृह निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ । बेनी नगरपालिका–४ सिङ्गामा तीन सय मेट्रिक टन क्षमताको फलफूल र तरकारी भण्डारण गर्ने चिस्यान गृह बनाउन लागिएको नगरप्रमुख सुरत केसीले बताए ।  १५ लाख रुपैयाँ सम्म बजेट विनियोजन भएका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नगरप्रमुख केसीले बताए ।