थापाथलीका सुकुम्वासीले घेरे महानगरपालिका
काठमाडौं । काठमाडौं थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । धेरै संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा बिरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सोमवार सुकुम्वासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । महानगरपालिकाको कदमप्रति सुकुम्वासीहरुले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरु घाइतेसमेत भएका थिए । नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्वासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सुकुम्वासी एक हौँ, बालेन साह होसियार, सूचना आतंक बन्द गर लगायतका नाराबाजी गरेका थिए । ‘भूमिहिन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको बिरुद्ध बृहत खबरदारी र्याली’ नाम दिइएको बिरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए । सुकुम्वासी संवद्ध दुई दर्जनभन्दा बढी संघ, संगठन र मोर्चाहरुको नाममा बिरोध प्रदर्शन भएको थियो ।
मोरङको कटहरी गाउँपालिकाले १ हजारलाई रोजगार दिने
मोरङ । मोरङको कटहरी गाउँपालिकामा सूचीकृत एक हजार ३९ जना बेरोजगारलाई रोजगार उपलब्ध गराइने भएको छ । कटहरी गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्तरुपमा कटहरी–१ स्थित फलफूल तथा कृषि थोक बजारमा मङ्सिर १२ गते आयोजना हुने एकदिने ‘रोजगार मेला’मार्फत् रोजगार लगाइने भएको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आज आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका, स्वदेशमा कामको खाजीमा रहेका तथा प्राविधिक एवं उच्च शिक्षा अध्ययन गरी बसेको युवाहरुलाई रोजगार उपलब्ध गराउन मेलाको आयोजना गरिएको बताए । उद्योगलाई आवश्यक पर्ने जनशक्तिलाई चाहिने सीप एवं तालिमसमेत पालिकाले उपलब्ध गराउने उनले जानकारी दिए । स्वदेशी दक्ष जनशक्तिलाई स्थानीय उद्योगमा व्यवस्थापन गर्नु मेलाको मुख्य उद्देश्य छ । महासङघमा आबद्ध मोरङ, सुनसरी र झापाका १५ उद्योगीहरुले आवश्यक जनशक्तिका सम्बन्धमा १० वटा स्टलमार्फत् जानकारी गराउनेछन् । मेलामा तीन हजार युवाहरुको सहभागिता रहने विश्वास गरिएको छ । पालिकामा हाल ठूला र मध्यमस्तरका ६५ उद्योग दर्ता रहेका छन् । रासस
नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उनका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकामा यहाँको सदरलाईन, एकलैनी, ईदगाह रोड, सुर्खेत रोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडसम्म अभियान सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै पटक पटक सूचना जारी गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेपछि डोजर चलाउनु परेको नगरप्रमुख बिष्टको भनाइ थियो । सडक पेटी र नाला कब्जा गरेर व्यापार गर्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए । यो अभियानले नगरको ट्राफिक व्यवस्थापन पनि सुदृढ हुने उनको भनाइ थियो ।