क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा पोखरा महानगरमा आइतबार बिदा
पोखरा । पोखरामा नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा बिदा दिइएको छ । महानगरले आज एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ । विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताए। उनले भने, ‘पाँच दशक लामो प्रतिक्षापछि विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन हुनु पोखराका लागि उत्सव हो । पोखरेलीको साथ र सहयोगबाट निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउन बिदा दिएका हौँ । महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ । विमानस्थल समुद्घाटन अघि महानगरले बिहान अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको ¥यालीको आयोजना गरिने जनाएको छ । पोखरा विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
वीगञ्ज महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन गर्दै
वीगञ्ज । यहाँको घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार वीगञ्ज महानगरपालिकाले व्यवस्थापन गरेको छ । नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानअनुरुप महानगरले विद्युत् तथा टेलिकमका खम्बामा गुजुल्ट्याएर राखिएका तार हटाएको हो । महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केबल टिभीका प्रतिनिधिसहितको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिसम्मका खम्बामा रहेका अव्यवस्थित तार हटाएको छ । जथाभावी टाँगिएका तारका कारण नगरको सौन्दर्य बिग्रिर्नाका साथै दुर्घटनाको जोखिमसमेत देखिएकाले व्यवस्थित गर्न महानगरले सेवाप्रदायकको सहमतिमै व्यवस्थापन गर्न थालेको हो । यसअघि टोलीले आदर्शनगर क्षेत्रका खम्बामा टाँगिएका तार काटेर हटाएको थियो । महानगरका प्रमुख राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशन दिएसँगै तार व्यवस्थान गर्ने अभियानले गति लिएको छ । इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिको उपस्थितिमा नै तार काटेर हटाइएको महानगरका सूचना प्रविधिक शाखाका बृजेश प्रधानले जानकारी दिए । महानगरले अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार लगाउँदा तोकिएको व्यवस्थाअनुसार मात्रै लगाउन सूचना जारी गरेको छ ।
म्याग्दीको बसपार्क अतिक्रमण गरी बनाइएका संरचना हटाइयो
म्याग्दी । म्याग्दीको कालीपुल बसपार्कमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अव्यवस्थित भौतिक संरचना हटाइएको छ । बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने कालीपुलको बसपार्क विस्तार र निर्माणका लागि टिकट काउन्टर, रेष्टुराँ, सार्वजनिक शौचालय र भवन हटाइएको हो । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बसपार्कलाई व्यवस्थित बनाउन त्यहाँ रहेका भौतिक संरचना डोजर चलाएर हटाइएको जानकारी दिए । ‘सार्वजनिक जग्गा भाडामा लिएर अस्थायी संरचना बनाइ व्यवसाय गर्दै आएका सम्बन्धित व्यक्ति, संस्था र यातायात कम्पनीसँग गरिएको सम्झौताको म्याद बसपार्क निर्माणको काम सुरु भएपछि थपिएको थिएन’, उनले भने, ‘सम्बन्धित पक्षले अटेरी गरेपछि बाध्य भएर नगरपालिका आफैँ अग्रसर भइ संरचना भत्काउन बाध्य भएको हो ।’ कालीपुल बसपार्क निर्माणस्थलमा पर्ने यातायात कम्पनीको दुई वटा टिकट काउन्टर, कालीपुल युनाइटेड क्लबको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाइएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको पर्खाल पनि भत्काइएको छ । नगरप्रमुख सुरत केसी, वडा अध्यक्ष कर्माचार्य, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायतको उपस्थितिमा डोजर चलाएर अवस्थित संरचना हटाइएको थियो । बसपार्क निर्माण स्थलमा पर्ने होटल तेजल एण्ड रेष्टुराँका सञ्चालक भोजबहादुर कार्कीलाई पुस २२ गतेभित्र संरचना हटाउने सहमति भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन अगाडिको घेराबार पर्खाल पनि भत्काउन नगरपालिकाले छलफल अगाडि बढाएको छ । सघन सहरी तथा भवन डिभिजन कार्यालय बागलुङले कालीपुल बसपार्कको गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ । भवन निर्माण आसपासका क्षेत्रमा बसपार्क ढलानका लागि संरचना भत्काइएको हो । विसं २०७४ मा तयार पारिएको कालीपुल बसपार्कको विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार अहिले भौतिक संरचना निर्माण भइरहेको छ । यसका लागि २१ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । नगरपालिका कार्यालय अगाडि म्याग्दी नदीमाथिमा रहेको मोटरेवल पुलको हाँडेभिरतर्फ रहेको संरचना हटाएर त्यहाँ पनि जिपपार्क बनाउने तयारी गरेको नगर प्रमुख केसीले बताए । नगरपालिकाले पुल नजिकै भाडामा दिएको जग्गामा व्यवसाय गरेकासँगको सम्झौताको म्याद यसअघि नै सकिएकाले सो ठाउँ छाड्न पटकपटक पत्राचार गरेको थियो । पुल नजिकै भएका अतिक्रमण हटाएर बागलुङ, भकिम्ली र बरञ्जा चल्ने जिप तथा बस पार्किङस्थल बनाउने नगरपालिकाको योजना छ । जिल्ला प्रशासन कार्यालय अगाडिको सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँग पनि नगरपालिकाले सम्झौता नवीकरण गरेको छैन । त्यहाँ पार्किङस्थल बनाउनका लागि व्यवसायीलाई हट्न सार्वजनिक सूचना जारी गरेको छ । बेनी नगरपालिका–८ कालीपुलको पुरानो बजारको एक रोपनीभन्दा बढी अतिक्रमण हटाएर उद्यान बनाइएको छ । बेनीको सार्वजनिक जग्गा, पुल, खोल्सा र सडक अतिक्रमण गरेर घर, अस्थायी टहरा बनाएका छन् । नगरपालिकासँग सम्झौता गरी सार्वजनिक जग्गा भाडामा लिएर व्यवसाय गरेका कतिपयले वर्षौंदेखिको वक्यौता तिरेका छैनन् । केहीले सस्तोमा सार्वजनिक जग्गा भाडामा लिएर महङ्गोमा अरुलाई भाडामा लगाउने पनि गरेका छन् ।