काठमाडौं प्लाजामा सर्ने तयारीमा महानगर, सबै सेवा एकै ठाउँबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेका छन् । यसरी धेरै स्थानबाट सेवा दिनुपर्दा कामपालाई समस्या भएको र नागरिकले पनि सास्ती खेप्नुपरेको भन्दै जतिसक्दो छिटो काठमाडौँ प्लाजामा सर्ने तयारी गरेको हो । विसं २०७२ को भूकम्प जानुअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रियसभा गृहमा गरी विभिन्न दश स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।

काठमाडौं महानगरले वडाबाटै निःशुल्क कानुनी सेवा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी चैत १ गतेदेखि ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । उक्त सेवा दिन हाल सबै वडा कार्यालयको अवलोकन गरी स्थान तय गर्ने काम भइरहेको छ । महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । परामर्श सेवा दिन ल क्याम्पसमा अध्ययनरत ५० विद्यर्थीलाई तालिम प्रदान गरिएको छ । सेवा उपलब्ध गराउन उनीहरु वडा कार्यालयमा स्थापना गरिने हेल्प डेस्कमा कार्यालय अवधिभरि रहनेछन् । त्यहाँबाट नागरिकले आवश्यकताअनुसार लिखित, मौखिक तथा दुवै किसिमको सेवा निःशुल्क प्राप्त गर्न सक्ने आचार्यले बताए । क्याम्पसले एलएलएम, एलएलबी तथा बीए एलएलबीमा अध्ययनरत विद्यार्थीलाई पठाउने तयारी गरेको छ । त्यसैगरी मौखिक कानुनी परामर्शसँगै उक्त कार्यालयबाट सेवा प्रवाहबारे जानकारी दिनुपर्नेछ । विशेषतः सहजरुपमा कार्यालय पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत अत्यावश्यक सेवा प्रवाहमा ध्यान दिनुपर्नेछ । निःशुल्क सेवा उपलब्ध गराएबापत महानगरपालिकाले क्याम्पसबाट तोकिएका व्यक्तिका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने छ । त्यस्तै सेवा दिनका लागि आवश्यक पर्ने शैक्षिक सामग्री पनि महानगरपालिकाले नै उपलब्ध गराउनुपर्नेछ । उक्त सेवा प्रवाह थालिएसँगै कानुनी सेवा प्राप्त गर्न नागरिकलाई सहज हुने कामपाको विश्वास छ । उक्त सेवा दिने सम्बन्धमा गत माग १७ गते कामपा र क्याम्पसबीच सम्झौता भएको थियो ।

काभ्रेपलाञ्चोकको बेथानचोकमा ‘निःशुल्क अनिवार्य शिक्षा’ कार्यक्रम लागू

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने नीतिअनुसार गाउँपालिकाले उक्त कार्यक्रम लागू गरेको हो । कार्यक्रमले चार वर्ष पू्रा भई १३ वर्ष ननाघेका बालबालिका समेट्ने छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ति शिक्षकमार्फत शिक्षा दिइने बताइन्। कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने तथा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिनेछ । साथै सूचक बनाएर टोली खटाइने योजना बनाइएको छ । वडा स्तरमा जनप्रतिनिधि (वडा सदस्य)लाइसमेत परिचालन गर्ने त्यसको अनुगमन वडा र अन्त्यमा शिक्षा शाखा र गाउँपालिकाले पनि बालबालिकाको खोजी गर्ने, तथ्याङ्क ‘क्रस भेरिफाइ’ गरी विद्यालय बाहिरका बालबालिकालाई शिक्षण सिकाइमा समावेश गराइने छ । नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म ढङ्गले लगत सङ्कलन गरिनेछ । कार्यक्रम फागुन महिनादेखि लागू भइसकेको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले अपाङ्गता तथा गरिबीको रेखामुनि रहेका बालबालिकाको सङ्ख्याका आधारमा बजेट विनियोजन गर्ने, पोसाक, झोला, जुत्ता, पुस्तक, कापी–कलम आदि उपलब्ध गराइने बताए। ‘कुनै कारण आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकालाई पनि विद्यालय पठाउन सहयोग एवं प्रोत्साहन कार्यक्रम अघि सारिने छ, यति गर्दा पनि अटेर गरे गाउँपालिकाबाट प्रदान गरिने सेवा–सुविधालाई रोक्का गरी बालबालिकालाई विद्यालय पठाएपछि मात्र सेवालाई निरन्तरता दिइने बाध्यकारी नीति बनाउने छौँ’ अधिकारीले भने। गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम वडास्तरमा सुरू गरिने तथा निःशुल्क अनिवार्य शिक्षायुक्त वडा घोषणा गर्ने र अन्त्यमा निःशुल्क अनिवार्य शिक्षायुक्त गाउँपालिका घोषणा गरिने योजना बनाइएको छ । बेथानचोकमा दश माध्यमिक, तीन आधारभूत र १७ प्राथमिक विद्यालयमा तीन हजार चार सय विद्यार्थी अध्यनरत छन् । निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम सङ्घीय सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको कार्यक्रम हो । यो कार्यक्रम यसअघि काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा पनि लागू गरिएको थियो ।