औरहीका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ
सिरहा । औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । उपयुक्त समयमै गहुँको भरपर्दो बीउ पाएपछि यहाँका किसान उत्साहित भएका छन् । मधेस प्रदेशमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने भएकाले समयमै बीउ नपाउँदा किसान हरेक वर्ष समस्यामा पर्ने गरेका छन् । यस्तो अवस्थामा गाउँपालिकाको कृषि शाखामार्फत यहाँको माटो र हावापानीमा पर्याप्त उत्पादन दिने ‘गौतम’ र ‘विजय’ जातको गहुँको बीउ ५० प्रतिशत सहुलियत दरमा उपलब्ध गराएपछि किसानलाई राहत पुगेको छ । औरही–१ का जयकिशोर यादवले बीउ पाएपछि खेत जोत्न र अन्य तयारी गर्न सहज भएको बताए । गाउँपालिकाले कृषि उत्पादन बढाउने र आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले दुई वर्षदेखि मुख्य बाली लगाउने समयमा किसानलाई बीउ, मल तथा कृषि उपकरण सहुलियत दरमा उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष शिवजी यादवले जानकारी दिए । 'हामीले गहुँमात्र होइन, धान, तरकारी र मकै खेतीका लागि पनि बीउ, मलखाद र कृषि उपकरण सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ, यसले किसानको उत्पादन र आयआर्जनमा सकारात्मक प्रभाव पारेको छ,' अध्यक्ष यादवले भने । गाउँपालिका कृषि शाखाका अनुसार यस वर्ष कुल एक हजार चार सय ४४ किसानलाई गहुँको बीउ वितरण गर्ने लक्ष्य छ । प्रति किसान २० किलोका दरले वितरण भइरहेको बीउको बजार मूल्य प्रतिकिलो रु ७४ रहेकामा ५० प्रतिशत छुटमा किसानलाई उपलब्ध गराइएको हो । कृषि शाखा प्रमुख राजदेव यादवका अनुसार, वडा वडामा किसानको माग संकलन गरेर हालसम्म करिब एक हजार किसानलाई बीउ उपलब्ध गराइसकिएको छ । बीउ वितरण पुस पहिलो साताभरि जारी रहने यादवले जानकारी दिए । रासस
पोखरा महानगरपालिका स्थापना दिवस : ‘पोखरेली नवरत्न’बाट ९ जना सम्मानित
काठमाडौं । पोखरा महानगरपालिकाको ६७औं स्थापना दिवसका अवसरमा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउने ९ जनालाई आज ‘पोखरेली नवरत्न’बाट सम्मान गरिएको छ । महानगरपालिकाले गायन/सङ्गीत क्षेत्रबाट अमृत गुरुङ, धार्मिक पर्यटनरकृषि उद्यम क्षेत्रबाट चन्द्रकान्त बराल, समाजसेवारउद्योग क्षेत्रबाट चन्द्रकृष्ण कर्माचार्य र साहित्य क्षेत्रबाट तीर्थ श्रेष्ठलाई सम्मान गरेको हो । त्यस्तै पत्रकारिता क्षेत्रबाट तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट प्राडा. बुद्धिबहादुर थापा, खेलकुद/शिक्षा क्षेत्रबाट प्राडा विरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र शिक्षा सेवा/उद्योगबाट हरिप्रसाद पाण्डेलाई सम्मान गरिएको छ । उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जनही दुई लाख दुई हजार २०२ रुपैयाँसहित ताम्रपत्र र दोसल्लाबाट सम्मान गरेका हुन् ।
‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान, क–कसले पाए ?
काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०७ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरेको छ । महानगरले स्थापना दिवसको अवसरमा कला, संस्कृति तथा सम्पदा संरक्षण, साहित्य, पत्रकारिता र विपद्, खेलकुद लगायत क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरूलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्दै आएको हो। पुरस्कृत हुनेहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले पुरस्कार वितरण गरेकी हुन् । पुरस्कृत हुनेहरूमा कला साहित्य र सामाजिक सेवातर्फ धर्मलाल महर्जन, खेलकुद (कराते) तर्फ रवि महर्जन, कला र नृत्यतर्फ नारायणदेवी प्रधान, चारकोल चित्रकलातर्फ बाबुराज द्यःला , संचारतर्फ नारायण किलम्बु, संंस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन तर्फ दिलेन्द्रराज श्रेष्ठ, विपद् व्यवस्थापनतर्फ सशस्त्र प्रहरी बल, नेपाल, दक्षिणकाली गण ललितपुर र ललितपुर चक्रपथ महानगर सरसफाई अभियानलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थिएको थियो । पुरस्कृत व्यक्ति र संस्थालाई एक/एक लाखसहित सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी, कार्यक्रममा पर्वतारोही योगन्द्र महर्जनलाई विशेष सम्मान प्रदान गरिएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट महानगर सेवा पुरस्कारबाट कर्मचारी राजेन्द्रप्रसाद अधिकारी पुरस्कृत भए । उनलाई पचास हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । महानगर सेवा पुरस्कारबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, किरण राजथला, सरिता महर्जन, सविता थापा, प्रकाश खनाल, लता महर्जन, प्रविन कुमार श्रेष्ठ पुरस्कृत भए । महानगर सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीलाई २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।