१६८ छोरीलाई प्रभु बैंकको मुद्दती खाता उपहार, २० वर्षका लागि ५ हजार रुपैयाँ जम्मा

काठमाडौं । बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत २ वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ । बागलुङ नगरपालिकाले रु पाँच हजारसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरूप प्रदान गरिएको जनाएको छ । नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगर प्रमुख वसन्त कुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले दुई वर्षमा नगरभित्र जन्मेका १६८ छोरीको खातामा ५ हजार रुपैयाँका दरले ८ लाख ४० हजार रुपैयाँ जम्मा गरिसकेको बताए । नगरपालिकाभित्रका १४ वटा वडामा जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक बागलुङ शाखामा खाता खोली नगद ५ हजार रुपैयाँ नगरपालिकाले जम्मा गरिदिएको हो । ‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘१३औँ नगर सभाद्वारा पारित नीति तथा कार्यक्रम अन्तर्गत अहिलेसम्म १६८ जना छोरीहरूको २० वर्षे मुद्दती खाता उपहार दिइएको छ, छोरी जन्माउनेलाई प्रोत्साहन गर्ने नगरको नीतिअनुसार हो, त्यही अनुसार मुद्दती खातमा चक्रीय ब्याज आउने गरी कार्यविधि निर्माण गरेर बैंकसँग सम्झौता गरिएको छ ।’ परिवारमा बचत गर्ने बानी बसाल्न नगरकी छोरी कार्यक्रम ल्याइएको उनको भनाइ छ । नगरको छोरी कार्यक्रम सञ्चालनका निम्ति कार्यविधि निर्माण गरेर कार्यान्वयन गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले  ‘नगरकी छोरी’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको हो । नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ६ मा कोष सञ्चालनसम्बन्धी व्यवस्थाअनुसार छोरीहरूका लागि मुद्दती खाता सञ्चालन गरी प्रत्येक छोरीहरूका लागि एक पटक ५ हजार रुपैयाँ जम्मा गर्ने प्रावधान छ । सो मुद्दती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्दती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख छ । नगरपालिकाले पहिलो छोरीको रूपमा बागलुङ नगरपालिका-२ श्रीनगर टोलका दुर्गाबहादुर क्षेत्री र  मिलिमा केसीकी छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरेको थियो । नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका उक्त कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि दत्त कँडेलले जानकारी दिए ।  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको कँडेलको भनाइ छ ।

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : उत्पादन नीतिलाई प्राथमिकता, अस्थायी संरक्षण गृह स्थापना

काठमाडौं । काठमाडौं महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । महानगरका प्रमुख बालेन शाहले नगरसभामा आगमी आवको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  नगर सभामा प्रमुख शाहले आव २०८१/८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यनीतिहरु र सम्पन्न हुन बाँकी योजना तथा कार्यक्रमहरूलाई निरन्तरता दिइने बताएका छन् । त्यस्तै उनले आवधिक, रणनीतिक तथा क्षेत्रगत नीति तर्जुमालाई पूर्णता दिइने उल्लेख गरे । दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गरी स्वेच्छिक स्थानीयकरण मूल्यांकन गरिने भएको छ । यसका लागि आगामी आर्थिक बर्ष देखि बजेट विनियोजन प्रणालीलाई सोही अनुरूप कार्यान्वयन गरिने महानगरपालिकाले जनाएको छ । एक वडा एक उत्पादन नीतिलाई निरन्तरता   नीति तथा कार्यक्रममा स्थानीय उत्पादन, रोजगारी, उद्यमशीलता र लगानी मैत्री वातावरणलाई प्रवर्द्धन गर्दै समावेशी आर्थिक विकासको आधार सुदृढ गरिने उल्लेख छ ।  एक वडा एक उत्पादन नीति,  इन्क्युवेसन सेन्टर, समवेशिता लक्षित उद्यमशीलता अनुदान/बिउ पूँजी कार्यक्रम, सहकारी सुधार योजना जस्ता कार्यक्रमहरूलाई थप परिष्कृत गर्दै निरन्तरता दिइने भएको छ । जोखिममा परेका बालबालिको लागि अस्थायी संरक्षण गृह स्थापना महानगरले हिंसा पीडित, जोखिममा परेका विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका निम्ति अस्थायी संरक्षण गृह स्थापना गरी सञ्चालन ल्याइने भएको छ । साथै ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रम मार्फत बाल संरक्षण प्रणालीको स्थापना गरि बाल अधिकारको पूर्ण सुनिश्चितता गरिने भएको छ । त्यस्तै समानता, समावेशीकरण र सामाजिक न्यायमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक लगायत सबै नागरिकको सहभागिता र पहुँच सुनिश्चित गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, संस्कृति र युवा सशक्तीकरणका माध्यमबाट समुन्नत र सभ्य समाज निर्माणका लागि आवश्यक कार्यक्रम ल्याइने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । सार्वजनिक पुस्तकालय तथा खुल्ला अध्ययन केन्द्रको स्थापना  महानगरले सामुदायिक विद्यालयमा गुणस्तरीय र समावेशी शिक्षा प्रणाली विकास गर्ने गरी नयाँ शैक्षिक कार्यक्रम ल्याउने भएको छ । महानगरले सामुदायिक विद्यालयमा ‘स्पोर्ट्स एकेडमी’, डिजिटल कक्षा, एसटिईएम शिक्षा र उद्यमशीलता क्लब स्थापना गर्ने उल्लेख गरेको छ ।  साथै अपाङ्गता, अटिजम र फरक क्षमता भएका विद्यार्थीहरूका लागि विशेष शिक्षण केन्द्र र पहुँच अनुकूल पूर्वाधार निर्माण गरी समग्र शैक्षिक सुधारका लागि कार्यक्रमहरु ल्याइने भएको छ ।  सार्वजनिक पुस्तकालय तथा खुल्ला अध्ययन केन्द्रको स्थापना गरिने महानगरले जनाएको छ । बालबालिकाको समग्र शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि प्रत्येक सामुदायिक विद्यालयमा गुणस्तरीय प्रारम्भिक बाल विकास केन्द्रको स्थापना गरिने भएको छ ।  बालबालिकाको स्वस्थ, पोषण र प्रारम्भिक सिकाइको वातावरण सुनिश्चित गर्दै पोषण युक्त आहाराको नियमित व्यवस्था, शिक्षक क्षमता अभिवृद्धि, बाल मैत्री पूर्वाधार निर्माण तथा अभिभावक सहभागिता अभिवृद्धि कार्यक्रमहरू संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । जलवायु संकट र फोहोर व्यवस्थापनका लागि ‘जेरो वेस्ट सिटी’ अभियान महानगरले जलवायु संकट र फोहोर व्यवस्थापनलाई दिर्घकालिन  समाधानको लागि ‘जेरो वेस्ट सिटी’ अभियान सञ्चालन गरिने भएको छ । त्यस्तै सोर्स सेग्रेगेसन, वेष्ट टु इनर्जी, सामुदायिक पुनः प्रयोग केन्द्र, शहरी वन जस्ता अवधारणाहरुको कार्यान्वयन  र नागरिक सचेतनामूलक कार्यक्रम मार्फत नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै वातावरणमैत्री र दिगो सहरी विकास प्रणाली निर्माणका लागि कार्यक्रमहरू ल्याइने महानगरले जनाएको छ । भू-सूचना प्रणाली (जिआईएस) स्थापना महानगरले विपद् व्यवस्थापनको लागि पूर्व तयारी, प्रतिकार्य र पुनःस्थापनालाई समग्र रूपमा समेट्दै भू–सूचना प्रणाली (जिआईएस) स्थापना गर्ने भएको छ ।  खुला ठाउँ संरक्षण, इमर्जेन्सी अपरेसन सेन्टरको संचालन, निजी क्षेत्र र नागरिक समाजसँग सहकार्यजस्ता नव प्रवर्तनात्मक उपायमार्फत मानव केन्द्रित, प्रविधि मैत्री एकीकृत विपद् व्यवस्थापन प्रणाली निर्माण गरिनेछ भएको छ । त्यस्तै सामुदायिक आपतकालीन टोली, भवन बीमा विस्तार गरिने उल्लेख छ ।  डुबान समस्या समाधान, आगलागी नियन्त्रण, भूकम्प जस्ता जोखिम व्यवस्थापनका लागि आवश्यक कार्यक्रमहरू ल्याइने महानगरको योजना छ । यसबाहेक आधारभूत स्वास्थ्य सेवालाई सर्व सुलभ, गुणस्तरीय र प्रविधि मैत्री बनाई सबै नगरवासी सम्म पु¥याउने महानगरको नीति रहेको छ । स्वास्थ्य पूर्वाधारको विकास, जनशक्ति व्यवस्थापन, रोकथाममूखी कार्यक्रम, मानसिक स्वास्थ्य, पोषण, आयुर्वेद चिकित्सालाई प्रवर्तन गर्दै दिगो र समावेशी स्वास्थ्य प्रणाली निर्माणका लागि आवश्यक कार्यक्रम प्रभावकारी बनाई ‘स्वस्थ्य शहर’ बनाउनका लागि आवश्यक कार्यक्रमहरु कार्यान्वयनमा ल्याइने नीतिमा समावेश छ । त्यस्तै काठमाडौं महानगरको मौलिक कला, संस्कृति, भाषा र सम्पदाको संरक्षण, पुनःस्थापना तथा नवप्रवर्तन मार्फत डिजिटल प्रविधिको उपयोग, सामुदायिक सहभागिता, ‘लाइभ हेरिटेज’ अनुभव, रात्रिकालीन पर्यटन र वातावरणमैत्री जस्ता कार्यक्रम मार्फत पर्यटकीय पूर्वाधार प्रवर्द्धन गरी, सांस्कृतिक पर्यटनलाई स्थानीय रोजगारी,  शिक्षा र अन्तर्राष्ट्रिय बजारसँग जोड्दै क्रमशः समृद्ध सांस्कृतिक अर्थतन्त्र निर्माणमा जोड दिइने भएको छ । प्रविधि, संस्कृति र जीवनशैलीको संगम मार्फत महानगरलाई डिजिटल युगको ‘स्मार्ट सिटी’ तथा अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा विकास गर्न, आईटी हब, को ओर्किङ स्पेस, डिजिटल नोम्याड फ्रेन्डली पूर्वाधार, बहुभाषिक सूचना प्रणाली निर्माण तथा विकास गरिने भएको छ ।  साथै किफायती जीवनशैलीको प्रवद्र्धन गर्दै महानगरलाई फिल्म सिटी रुपमा विकास, धार्मिक÷आध्यात्मिक पर्यटन प्रवर्धन र स्मार्ट एण्ड इन्क्ल्युसिभ सिटी, तथा अभियानमार्फत काठमाडौंलाई नवप्रवर्तन, अध्यात्म, पर्यटन र जीवनशैलीको आकर्षक केन्द्र बनाइने उल्लेख छ । संयुक्त राष्ट्र संघको स्मार्ट एण्ड इन्क्लुसिभ सिटी मादपण्ड, आइसओ ३७१२२ स्मार्ट सिटी इन्डिकेटरर्स,तथा संघीय मापदण्ड अनुसार स्मार्ट सिटीका लागि लागि आवश्यक पूर्वाधार निर्माणलाइ प्रथामिकता दिइनेछ । ‘कस्मोपोलिटिएन सिटी’  घोषणाका लागि आवश्यक मापदण्डहरू क्रमिक रूपमा पूरा गरी संघीय सरकारसँग आवश्यक पहल गरिनेछ।  बालबालिका, युवा तथा परिवार लक्षित खेल मैदान, सामुदायिक मनोरञ्जन केन्द्र, खुला व्यायामस्थल र विशेष आवश्यकता भएका व्यक्तिका लागि इन्क्लुसिभ रिक्रियसन जोन  निर्माण गरिने भएको छ ।  साथै ज्येष्ठ नागरिकको पहुँच, सुरक्षा र सम्मान सुनिश्चित गर्न सिनियर सिटिजन्स फ्रेन्डली जोन, बहुउपयोगी सेवा केन्द्र, नियमित स्वास्थ्य परीक्षण तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । स्थानीय खाद्य सुरक्षाको सुदृढीकरण, स्वच्छ तथा व्यवस्थित हाटबजार सञ्चालन, होटल– रेष्टुरेन्ट होस्टेल तथा खाद्य व्यवसायहरूको गुणस्तरीय सेवा सुनिश्चित गर्न नियमित अनुगमन, दर्ता र मापदण्डमा आधारित नियमन प्रणाली लागू गरिने भएको छ । सार्वजनिक सुरक्षाको लागि नगर प्रहरीको क्षमता अभिवृद्धि, स्मार्ट गस्ती प्रणाली,  रात्रीकालीन निगरानी प्रणाली तथा डिजिटल रिपोर्टिङ प्रणाली विकास गरिने भएको छ ।  हाल संचालनमा रहेका पिपिपी मोडलमा संचालित आयोजनाहरुको कार्यान्वयन प्रभावकारिता अध्ययन तथा सम्झौताहरुको समयानुकुल पुनरावलोकन गरिनेछ। पूर्वाधार विकास, सेवा प्रवाह र नवप्रवर्तनात्मक कार्यक्रमहरूमा निजी क्षेत्रको दक्षता, पूँजी र प्रविधिको उपयोग गर्न सार्वजनिक–निजी साझेदारी (पिपिए) नीति तयार गरी पारदर्शी प्रक्रिया र स्पष्ट मापदण्डका आधारमा एएए मोडलमार्फत सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । दिगो, समावेशी र प्रविधिमैत्री सहरी पूर्वाधार निर्माणका लागि डिजिटल नक्सांकन, सेवा बिन्दुहरुको लागि आफ्नै पूर्वाधार, स्मार्ट सडक तथा ट्राफिक प्रणाली, खुला चोक र पैदलमैत्री क्षेत्र विकास, भूमिगत तथा एकीकृत संचार प्रणाली बिस्तार, स्मार्ट स्ट्रीट लाइट जडान, साना सहरी पार्क निर्माण, नविनतम निर्माण प्रविधिको प्रयोग, वान डोर कन्सक्ट्रन एपप्रुभल प्रणाली र सामुदायिक सहभागितामा आधारित योजना तर्जुमा तथा कार्यान्वयन गरी सुरक्षित र व्यवस्थित काठमाडौं निर्माणमा जोड दिइने महानगरपालिकाले जनाएको छ ।  काठमाडौ महानगरले आगमी आर्थिक वर्ष २०८२/८३ को लागि बजेट पेश गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार ११ गते बजेट ल्याउनुपर्ने व्यवस्था भएपनि महानगरका प्रमुख बालेन शाह र प्रमुख प्रशाकीय अधिकृतबीचको विवादको कारण ढिला गरी बजेट पेश भएको हो ।  महानगरले आगमी आवको लागि २५ करोड ७६ लाख २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी आवको बजेट नगर सभामा उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी थिइन् ।  

काठमाडौं महानगरले असार ३२ गते बजेट पारित गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अर्को नगर सभा बैठक आगामी असार ३२ गतेका लागि आह्वान भएको छ । महानगरले चालु आर्थिक वर्षको २०८१/८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि सो बैठक आह्वान गरिएको हो ।