काठमाडौं । पर्यटकलाई आकर्षित गर्न म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ । भकिम्लीको मुसुङ र भुकभुके टोलको शिर, स्वर्गाश्रम र बेलढुङ्गाको फेदीमा प्रयोग विहीन अवस्थामा रहेको सार्वजनिक पाखोलाई संरक्षण र व्यवस्थापन गरेर पार्क बनाइएको हो ।
बेनी नगरपालिका र दाताको सहयोग तथा स्थानीयबासीको श्रमदान जुटाएर पर्यटकका लागि आश्रयस्थल भवन, वनभोज स्थल र बाघको प्रतिमा भएको पार्क निर्माण गरेको बेनी नगरपालिका-३ का वडाअध्यक्ष पदम पुनले जानकारी दिए ।
'आर्थिक वर्ष २०७६/७७ मा वडाको प्रस्तावमा बेनी नगरपालिकाले १ लाख रुपैयाँ बजेट विनियोजन गरेर सुरु भएको पार्क निर्माण योजनाका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएका छौँ,' उनले भने, 'यसपालि विनियोजन भएको ३ लाख रुपैयाँ बजेटबाट वनभोज स्थलका लागि आवश्यक सामग्री खरिद र घेराबार गरेर पूर्णता दिने तयारीमा छौँ ।'
पार्क निर्माणमा नगरपालिका र समुदायको १० लाख रुपैयाँ भन्दा बढी खर्च भएको वडाअध्यक्ष पुनले बताए । समुद्री सतहदेखि करिब २ हजार २५० मिटर उचाइमा अवस्थित बाघखोरमा पार्क बनाउन बराहताल सामुदायिक वन क्षेत्रमा पर्ने ८ रोपनी जग्गालाई घेराबार गरिएको छ ।
दुइवटा भवन, सार्वजनिक शौचालय निर्माण भएको पार्कमा खानेपानीको व्यवस्था पनि मिलाइएको निर्माण समितिका अध्यक्ष पृथीप्रसाद पुनले बताए । ३ लाख ५० हजार रुपैयाँ खर्च गरेर बाघको प्रतिमा राखिएको छ । स्थानीय दिलमती र सञ्जय सुनारले पानको पात अङ्कित स्तम्भ बनाएका छन् । धनलाल जैसीको सहयोगमा कालिका र मालिका देवीको मन्दिर निर्माण भएको छ ।
मुसुङ र भुकभुकेदेखि स्वर्गाश्रम जाने पदमार्ग र सडकको छेउमा अवस्थित बाघखोरबाट धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमशृङखला, सूर्योदय, नागबेली परेर बगेको म्याग्दी नदी र म्याग्दीका विभिन्न ग्रामीण बस्तीहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको स्वर्गाश्रम र बेलढुङ्गा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्बाउने उद्देश्यले बाघखोरमा पार्क बनाएको निर्माण समितिका अध्यक्ष पुनले बताए । उनका अनुसार परापुर्वकालमा यहाँ बाघलाई पासोमा पार्न खोर राखिएकाले बाघखोर नामाकरण भएको किंवदन्ती छ । रासस