अमेरिकाको ब्रुमफिल्ड सहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध कायम
ललितपुर । ललितपुर महानगरपालिका र अमेरिकाको कोलोराडो राज्यमा अवस्थित ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । दुवै सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा भएको समझदारीपत्र (एमओयू) मा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र ब्रुमफिल्ड सहरकी मेयर गाइलिन क्याट्रिओटाले हस्ताक्षर गरेका हुन् । महानगर प्रमुख महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा वडा नं. १३ का वडाध्यक्ष गणेश केसी पनि सहभागी थिए । कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले कला, संस्कृति र सम्पदाको सहर ललितपुरले अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध गाँस्नु महत्वपूर्ण उपलब्धि भएको बताए । यस सम्बन्धले ललितपुर महानगर मात्र नभई समग्र नेपालको छविलाई अन्तर्राष्ट्रिय रूपमा थप उचाइ दिने विश्वास उनले व्यक्त गरे । भगिनी सम्बन्धलाई मितेरी सम्बन्धको रूपमा व्याख्या गर्दै प्रमुख महर्जनले भने, 'अब हामी एक–अर्काका नजिकका साथी भयौँ । दुःख–सुख साटासाट गर्नेछौँ ।' उनले ब्रुमफिल्ड सहरका असल अभ्यासहरू ललितपुरमा अनुकरण गर्ने र ललितपुरको कला, संस्कृति तथा सम्पदाबाट ब्रुमफिल्डले पनि धेरै कुरा सिक्न सक्ने बताए । मित्रताको प्रतीकस्वरूप ब्रुमफिल्ड सहरमा कलात्मक मन्दिर वा फल्चा निर्माण गर्न सकिने प्रस्ताव पनि उनले अघि सारे । ब्रुमफिल्ड सहरकी मेयर गाइलिन क्याट्रिओटाले सुन्दर नेपालको कला र संस्कृतिले सम्पन्न सहरसँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले ललितपुर महानगरको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यसअघि ललितपुर महानगरपालिकाले दक्षिण कोरियाको चेओरवन र रुसको उलान उदे सहरसँग अन्तर्राष्ट्रिय भगिनी सम्बन्ध कायम गरिसकेको छ । साथै, देशभित्र सल्यानको शारदा नगरपालिका, संखुवासभाको चैनपुर नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, गुल्मीको मालिका गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र दोलखाको भीमेश्वर नगरपालिकासँग पनि भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।
तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन रुपमा जनसङ्ख्या सन्तुलनमा राख्न समस्या हुने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । 'गाउँपालिकाभित्र जनसङ्ख्या घट्दो क्रममा छ, घट्दै जाँदा कालान्तरमा गाउँमा मानिसको सङ्ख्या निक्कै कम हुन सक्छ', उनले भने, 'जनसङ्ख्याको घट्दो दरलाई रोक्न, परिवारलाई सन्तानप्रतिको सकारात्मक प्रेरणा दिन तथा दीघकालीन जनसङ्ख्या सन्तुलनमा राख्न र पोषणमैत्री स्थानीय शासन कार्यान्वयनको उद्देश्यसहित अगाडि बढेका हौँ ।' गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि २०८२ स्वीकृत गरेर कार्यविधिमा तोकिएको मापदण्ड पूरा गर्ने परिवारलाई आर्थिक सहायता गर्ने तयारीमा जुटेको उनले बताए । गाउँपालिकाले स्वीकृत गरेको कार्यविधिअनुसार गाउँपालिकाभित्र स्थायी बसोबास गर्दै आएका परिवारबाट चालु आर्थिक वर्षको साउनभन्दा पछाडि तेस्रो सन्तान जन्माएको परिवारले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । पछिल्लो समय एक वा दुई सन्तानमात्रै जन्माउने र अर्कोतर्फ गाउँबाट सहरतर्फ बसाइँ सर्ने गरेका कारण पनि गाउँ रित्तिँदै जान थालेका छन् । 'गाउँपालिकाले कार्यविधिअनुसार तीन सन्तान जन्माउने परिवारलाई प्रतिमहिना रु चार हजारका दरले आर्थिक सहायता गर्छ', उनले भने, 'प्रतिपरिवार दुई वर्षसम्म पोषण तथा सन्तानप्रतिको सकारात्मक प्रेरणास्वरुप आर्थिक सहायता गर्ने भएको हो ।' तीन सन्तान जन्माउने परिवारले कार्यविधिमा तोकिएबमोजिमको ढाँचामा निवेदन, नागरिकताको प्रतिलिपि, तीनवटै सन्तानको जन्मदर्ताको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि, बसाइँ सरी आएकाको हकमा बसाइँसराइको प्रतिलिपि आवश्यक पर्नेछ । जन्मिएको सन्तान नेपाल सरकारको सूचीकृत स्वास्थ्य संस्थामा जन्मिएको हुनुपर्ने उल्लेख छ । त्यसले गर्दा सूचिकृत स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेको सङ्ख्यामा पनि वृद्धि हुने उनले बताए । रासस
नौ करोड ५० लाखमा ५४ घरलाई मौलिकस्वरूपमा रूपान्तरण गरिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले नरःदे (हाँडीगाउँ) को प्राचीनता फर्काउन नौ करोड ५० लाख रुपैयाँमा ५४ वटा घरको अग्रमोहडाको मौलिक स्वरूपमा रूपान्तरण गर्न थालेको छ । हाँडीगाउँको प्राचीनता नरःदे हो, यसको पुनःरुत्थानका लागि गुरुयोजनाबाटै काम गरिरहेको कामपाको भनाइ छ । आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीले रूपान्तरण भएको हाँडीगाउँको प्राचीनता फर्काउन कामपा केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम भइरहेका छन् वडा पाँचका वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जानकारी दिए । अध्यक्ष प्रजापतिका अनुसार यस क्रममा कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँबायाँका भवनहरूको अग्रमोहोडालाई मौलिकस्वरूपमा रूपान्तरणको काम सुरु हुन लागेको छ । यस क्रममा पाटी, फल्चा, मन्दिर, सामुदायिक भवन तथा सडक तथा पेटीको पुनःरुत्थान गरिनेछ । मौलिक शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानोजस्ता भाग महत्वपूर्ण मानिन्छन् । घरको गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने खालका हुन्छन् । एकमुखे, तीनमुखे, पाँचमुखे गरी बिजोर कुँदिएका बुट्टेदार परम्परागत झ्यालहरू हुन्छन् । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको घर मौलिक घरको ‘डिजाइन’ हो । किराँतकालीन टुँडालदेवीको जात्रा र लिच्छवीकालीन नारायण जात्रासहित वर्षौंदेखि सञ्चालन हुने गरेका जात्रा, पर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक परम्परामा यो मार्गको अनिवार्य प्रयोग हुने गरेको छ । यस क्षेत्रमा कृष्ण मन्दिर, नारायण मन्दिर, दुई वटा बुद्ध चैत्य, जरु (परम्परागत इनार), महादेव मन्दिर, अक्षय तृतीयाका दिन सर्वत पानी वितरण गर्ने, दाफा भजन गाउनेसहित विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलाप सञ्चालन हुने सत्तलहरू छन् । ‘यो क्षेत्र उपत्यकामा पूर्वलिच्छवि, वर्मा तथा लिच्छविकालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थान हो’, वडाध्यक्ष वीरेन्द्र प्रजापतिले भने, ‘हाँडीगाउँको प्राचीनता फिर्ता गराउन कृष्णमन्दिरबाट ढोकावहाल, भुँवर कु, कोटाल टोल, गहनापोखरी, न्हाल्मा टोल हुँदै ढल्कोभित्रको भाग पुरानो सहर हो ।’ गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेनको मन्दिर, कृष्ण मन्दिर, टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल) द्योछें (दथुटोलमा) यहाँका प्राचीन पहिचान हुन् । मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवीको धारा, अंशुवर्माको वडापत्र डबली, न्याल्मलोंह र चौखटको चोक्ट्या नारायणको चोक कैलाशकुट भवनको चमत्कारी तलाउ, भाटभटेनी (मौता द्यः), चारनारायण मन्दिर यसै क्षेत्रमा पर्छन् ।