काठमाडौं महानगरभित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र सालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौँ प्लाजा) पुग्ने सडक एकतर्फी सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार त्रिपुरेश्वरतर्फबाट काठमाडौँ–ललितपुर जोड्ने नयाँ पुल (विश्व निकेतन) हुँदै गुसिङगाल निस्किने सडक एकतर्फी बनाइएको छ । ‘त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर बायाँतर्फ मोडिएर आउनुपर्ने छ’, भट्टले भने, ‘त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।’ प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौँ प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइने छैन । सडक एकतर्फी बनाइएको जानकारी दिनका लागि सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका प्रहरी टोली खटाइएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

गाउँबाट मान्छे पलायन हुँदा विद्यालयहरू बन्द हुने अवस्था आयो : मेयर न्यौपाने

काठमाडौं । रामेछाप नगरपालिकाका नगर प्रमुख हुन् लवश्री न्यौपाने । खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायतका विषयलाई प्राथमिकता दिएर काम गरिरहेका मेयर न्यौपाने नगर विकासको लागि अहोरात्र खट्दै आएका छन् । दीर्घकालीन सोचका साथ आफ्ना योजना अगाडि सारेका न्यौपाने नगरलाई सम्बृद्ध बनाउने दौडधुपमा लागेका छन् । उनै नगरप्रमुख न्यौपानेसँग समसामयिक विषयमा विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानी गरेका छन् । तपाईं पालिकामा निर्वाचित भएर आउनु भएको डेढ वर्ष भयो, यो अवधिमा तपाईंले गर्नु भएको महत्त्वपूर्ण काम के हो ? डेढ वर्षको अनुभव कस्तो रह्यो ? रामेछाप नगरपालिका सुख्खा क्षेत्र हो । यहाँ पानीको समस्या छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता खानेपानीमा छ । भौतिक पूर्वाधार क्षेत्रको विकासमा सबैभन्दा महत्वपूर्ण विषय सडकलाई लिइन्छ । नगरभित्र सडक स्तरोन्नती तथा विकास र विस्तारको लागि पनि राम्रै बजेट छुट्याएका छौं । र, सडकको विकास पनि तीव्र गतिमा भइरहेको छ । हामीले नागरिकको स्वास्थ्य बीमा गर्नुका साथै स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मीलाई दरबन्दीको व्यवस्था पनि मिलाएका छौं । हामी शिक्षा, स्वास्थ्य खानेपानी, सडक, पर्यटन र कृषि लगायतका क्षेत्रको विकासका लागि निरन्तर लागि रहेका छौं । डेढ वर्षको अनुभव सुनाउँदा, जनताको चाहना अनुरूपको काम गर्न सकिँदैन रहेछ । किनभने पालिकामा असाध्यै न्यून बजेट हुन्छ । अब हिउँदे अधिवेशन पुषमा हुन्छ । त्यो बेलासम्म पालिकाको बजेट खर्च गरेको देखिँदैन । राज्यले भर्खर मात्र कर्मचारीलाई पेस्की खाने पैसा दिएको छ । विकास बजेटको पैसा आएको नै छैन । बजेट नै नआएपछि कसरी गर्ने काम ? हामीले यहाँका समस्या तथा आवश्यकताका आधारमा पठाएका योजना संघ र प्रदेशबाट आएनन् । हामीले राखेका योजनालाई प्राथमिकता नराखी व्यक्तिवादी योजनाहरू धेरै आए । जसका कारण पनि केही समस्या सिर्जना भए । केन्द्रीय सांसदले नीति नियम, विधि विधान र कानुन तथा ऐन बनाउने हो । प्रदेशको सांसदले प्रदेशमा भएका गतिविधि र नियम कानुन र बजेटको व्यवस्थापन गरिदिने हो । बजेट स्थानीय तहलाई पठाउनु पर्ने हो । किनभने विकास निर्माण स्थानीय तहभित्र गर्ने हो । उनीहरूले मनिटरिङ गर्ने हो । योजना छनोट गर्दा प्रायः धेरै जसो माननीयहरू नै आफै संलग्न हुने गर्छन् । अनि टेन्डर गरेर ठेक्का लगाउने योजनामा उपभोक्ता समिति लगाउने उपभोक्ता समितिले काम गर्नुपर्ने ठाउँमा टेन्डर गरेर गर्नुपर्छ भन्ने परिपाटी छ । योजना छनोटमा पनि राजनीतिक पूर्वाग्रह धेरै छन् । त्यसैले पनि मलाई नेताको चरित्र ठिक नभएको लाग्छ । पालिकाले के–कस्ता योजनालाई प्राथमिकता दिएर अगाडि बढाइरहेका छन् ? हामीले बृहत् रामपुर र बृहत् गोठपानी खानेपानीको योजना सञ्चालन गर्ने तयारी गर्दैछौं । वडा नम्बर २ र ३ मा खानेपानीको काम गर्ने तयारी भइरहेको छ । वडा नम्बर ४ को खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा छ । यस्ता खानेपानीको आयोजनाहरू निरन्तर चलिरहन्छन् । हामीले ४÷५ वटा खण्डका सडकलाई फोकस गरी कतिपयको काम गरिरहेका छौं भने कतिपय सडकको काम अगाडि बढाउने तयारी गरिरहेका छौं । राजनीतिकर्मी भएर जनताको सेवा गर्दा र जनप्रतिनिधि भएर सेवा गर्दा के फरक पाउनुभयो ? नेतृत्वमा भएर काम गर्नु र राजनीतिकर्मी भएर काम गर्नुमा धेरै फरक छ । राजनीतिकर्मी भएर काम गर्दै गर्दा यस्तो भएन यसरी गरेको भए ठिक हुन्थ्यो भन्ने विषय बढी हुन्थ्यो । नेतृत्वमा पुगेपछि काम गर्न चाहिँ सहज हुँदो रहेछ । किनभने लक्ष्य अनुसारको काम गर्न सक्यो । तर, भनेअनुसारको काम गर्न सकिँदो रहेनछ । विकासको लागि राजनीति हुनु पर्ने राजनीतिको लागि विकास हुने परिपाटिको विकास भएको छ । तपाईंको पालिकाको मुख्य आवश्यकता के हो ? जनताले भौतिक पूर्वाधार, विकास निर्माण सर्वसुलभ तरिकाले जीवन यापन हुने खाललका विकास चाहेका छन् । गाउँबाट दिनप्रतिदिन अभिभावक तथा विद्यार्थीहरू पलायन हुँदैन छन् । गाउँबाट मान्छे बाहिरिँदा गाउँका विद्यालयहरू बन्द हुने अवस्थाको सिर्जना भएको छ । यो अवस्था आउनु दुःखद हो । संघीय सरकारले के कस्तो काम गरिदियो भने स्थानीय तहहरू विकास निर्माणको काममा अग्रसर हुन सक्छन् ? संघीय सरकारले गर्नु पर्ने काम धेरै छन् । ५० करोड रुपैयाँ भन्दा माथिका योजना संघीय सरकारले गर्ने । त्यो भन्दा तलको बजेट प्रदेशले गर्ने अनि स्थानीय तहलाई बाँकी रहेका योजना स्थानीय तहलाई दिने प्रवद्र्धन छ । ५० हजारदेखि लिएर एक÷दुई अर्ब रुपैयाँसम्मका योजना पनि संघले नै छुट्याउने बाँकी रहेको प्रदेशले छुट्याउने समस्याले गाह्रो बनायो । समयमा बजेट, नगरका आवश्यकता अनुसारका कार्यक्रम र बजेट विनियोजन भयो भने स्थानीय तहमा धेरै राम्रो कामहरू हुन्छन् । फलानो माननीयले यसरी यो आयोजनामा पैसा हाल्नु भयो उहाँलाई धन्यवाद भनेर फेसबुकमा हाल्ने प्रचार प्रसार गर्ने कार्यलाई अन्त्य गर्नुपर्छ । रोजगारीको लागि युवाहरू बिदेसिने क्रम धेरै नै छ । नगर भित्र रोजगारी सिर्जना गराउने, उत्पादन तथा व्यापार वृद्धि गर्ने काम के–के भएका छन् ? पहिलो विषय शिक्षालाई नै जोड दिनुपर्ने रहेछ । शिक्षालाई जोड दिइसकेपछि उद्योग, कलकारखाना सञ्चालन गर्न तथा उत्पादन वृद्धि गर्नको लागि किसानहरूलाई बढी फोकस गर्नुपर्छ । कृषकहरूलाई उत्पादन वृद्धि गर्नेतर्फ जोड दिनु पर्छ । उत्पादन वृद्धि भइसकेपछि कच्चा पदार्थ पनि बढी भयो । उद्योग स्थापना गरी सञ्चालन गर्न पनि सहज तरिकाले सकियो । संघ वा सम्बन्धित निकायहरूले आय आर्जन हुने खालका काममा लगानी गर्ने हो भने गाउँमा मान्छे अडिन्छन् । अवसर भने उनीहरूको लागि पर्याप्त मिलाउनु पर्छ । शैक्षिक गुणस्तर तथा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने काममा पालिका कसरी काम गरेको छ ? नगर शैक्षिक सुधारका विषयलाई लिएर निकै सजक छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु साथै शिक्षकको क्षमता अभिवृद्धि गर्ने कार्यमा पनि नगर लागेको छ । विद्यालयमा विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षक गाउँमा पाइन छाडे । यसको लागि तीन पटक सूचना प्रकाशन गर्यो होला तर कसैको आवेदन परेन । विद्यार्थीको क्षमता जागरूकको लागि अभिभावक पनि जागरूक हुनु पर्यो । विद्यार्थीले पढ्नु पर्यो । अर्को विषय शिक्षकले पढाउनु पर्यो । त्यो तीन वटै कमजोरी मिल्यो भने समस्या हुन्छ । नगरले प्रत्येक विद्यालयमा इन्टरनेट कम्प्युटरको व्यवस्था गरिदिएको छ । पढ्न र पढाउन समस्या भएन । लामो समयदेखि अध्यापन गराइराख्नु भएको शिक्षक अझै पढाउँदै हुनुहुन्छ । उहाँहरूले पढाउने, सिकाउने तरिका, शैक्षिक सामाग्रीदेखि लिएर प्रविधिले जुन फड्को मारेको छ । ती सबै विषयसँग हाम्रो गुरुहरू अभ्यस्त हुनु हुन्न जस्तो मलाई लाग्छ । पहिला पढाइलाई मात्र फोकस गरिन्थ्यो भने अहिले विद्यार्थीलाई प्रविधि तथा यस सम्बन्धी ज्ञानसँग पनि अभ्यस्त बनाउन आवश्यक छ । विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । तपाईले एक वर्ष किसानको नजिक भएर काम गरिसक्नुभएको छ । पालिकाको कृषि कार्यक्रमबाट किसानहरू कत्तिको सन्तुष्ट हुनुहुन्छ ? नगरभित्रका कृषि पेसासँग संलग्न साथीहरू सन्तुष्ट नै भएको देख्छु । उहाँहरूलाई गर्ने सहयोग नगरले गरिरहेका छ । केही गुनासोहरु आए सुधार गर्दै अगाडि बढ्छौं । अन्त्यमा, बाँकी अवधिमा के कस्ता काम गर्ने सोचमा हुनुहुन्छ ? हामीले अगाडि बढाएका र अघिल्ला कार्यकालका साथीहरूले अगाडि बढाएका योजनालाई निरन्तरता दिई सम्पन्न गर्दै जानेछौं । नगरको आन्तरिक आम्दानीको स्रोत बढाउन सोच बनाएका छौं । बालमैत्री शासन लागूगर्ने योजनामा छ । कृषि पर्यटन स्वास्थ्य भौतिक पूर्वाधारको विकासमा नै बढी फोकस हुने लक्ष्य छ । हामीले योजना बनाएका विषयहरू गर्नका लागि बजेट धेरै लाग्छ । तर, बजेट कम आउनाले समस्या छ ।

महानगर प्रहरी प्रमुखमा पाण्डेको वढुवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिए । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो । यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो । विसं २०५० मा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गरेका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो । यसअघि काठमाडौं महानगरपालिकामा पाँच जनाको प्रहरी उपरीक्षक दरबन्दी थियो । हाल महानगर प्रहरीमा तीन सय हाराहारीमा जनशक्ति रहेको छ ।