मःममा साङ्ला भेटिएपछि महानगरले लाजिम्पाटको एक रेष्टुरेन्टमा लगायो ताला
तस्वीरः सामाजिक सञ्जाल काठमाडौं । काठमाडौं महानगरपालिकाले लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा ताला लगाएको छ । उक्त रेष्टुरेन्टको मःममा साङ्ला भेटिएपछि महानगरले उक्त रेष्टुरेन्टमा ताला लगाएको हो । ग्राहकबाट आएको उजुरीको आधारमा महानगरको टोलीले अनुगमन गर्दा मःममा साङ्ला भेटिएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोलीले अनुगमन गर्दा भान्सा अस्वस्थ ढंगले चलाइएको र भान्छामा साङ्ला तथा फोहोर देखिएपछि ताला लगाइएको बताइएको छ । यससँगै उक्त रेष्टुरेन्टलाई जरिवाना गर्ने वा मुद्दा चलाउने भन्ने विषयमा भने हालसम्म टुंगो लागेको छैन । यसविषयमा महानगरको प्राविधिक टोलीले अध्ययर गरेपछि मात्रै टुंगो लाग्ने महानगर स्रोतले बतायो ।
मध्यपुरथिमि नगरपालिकाको आम्दानी सवा २४ करोड, कुन वडाको कति ?
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा २४ करोड रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा २४ करोड १३ लाख ३८ हजार ७४८ रुपैयाँ आन्तरिक आम्दानी गरेको हो । मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व शाखाले सङ्कलन केन्द्रमध्ये सबैभन्दा धेरै ८ करोड ५ लाख ३० हजार ८५८ रुपैयाँ आन्तरिक आम्दानी गरेको आर्थिक शाखाले जानकारी दिए । वडा कार्यालयमध्ये सबैभन्दा धेरै वडा नं ३ ले आम्दानी गरेको छ । वडा नं ३ ले ३ करोड ९८ लाख १७ हजार २२५ रुपैयाँ आम्दानी गरेको हो । वडाले ४ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । वडा नं ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरि आचार्यले भने, “व्यवसाय दर्ता अभियानअन्तर्गत जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोली घरघर र पसलपसलमा पुगेर व्यवसाय दर्ताका लागि अनुरोध गरिएको र सोअनुसार करिब चार सय व्यवसाय नयाँ दर्ता गर्न सफल भएकाले करिब चार करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।” वडा कार्यालयमध्ये वडा नं २ ले २ करोड २७ लाख ५५ हजार ७७४ रुपैयाँ, वडा नं १ ले २ करोड २२ लाख ४२ हजार ९५६रुपैयाँ, वडा नं ४ ले १ करोड ९२ लाख ६४ हजार ६२० रुपैयाँ, वडा नं ९ ले १ करोड ६३ लाख ८२ हजार ५८७ रुपैया सङ्कलन गरेको नगरपालिकाका सूचना अधिकारी एवं महाशाखा प्रमुख केशव सिलवालले जानकारी दिए । यसैगरी वडा नं ५ ले १ करोड ५० लाख ५५ हजार ९८रुपैयाँ, वडा नं ६ ले ९७ लाख ५९ हजार २१७ रुपैयाँ, वडा नं ८ ले ८८ लाख ४६ हजार ८ सय रुपैयाँ र सबैभन्दा कम वडा नं ७ ले ६६ हजार ८३ हजार ७२४ रुपैयाँ आम्दानी गरेको सिलवालको भनाइ छ ।
नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यू) यथावत् रहेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरुमध्ये २१ जना उपचारपछि घर फर्केका र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ । स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले सद्भावको सहरका रुपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्याउनसमेत आग्रह गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले रासससँग कुरा गर्दै सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको जानकारी दिए । उनले निषेधाज्ञामा कडाइ गरिएको उल्लेख गर्दै भारतबाट जमुनाह नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्याउन थालिएको जानकारी दिए । प्रहरी चौकी जमुनाहाका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले अहिलेसम्म एक हजार पाँच सय नेपालीलाई गन्तव्यमा पुर्याइएको जानकारी दिए । उनले भारतको सिम्ला, कालापहाड, दिल्ली लगायतका ठाउँबाट दशैं मनाउन घर फर्केका नागरिकलाई राँझाचोकसम्म पुर्याइएको र त्यहाँबाट नागरिकहरु गन्तव्यमा पुगिरहेका पनि बताए । रासस