कवाडी सामान निकासीमा कर, विरोधमा व्यवसायी

चितवन । भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले बिरोध जनाएका छन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो उनीहरूको छ । व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए । संघका अध्यक्ष शङ्करबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधानविपरीत कर उठाउन लागेको जनाउँदै त्यसले व्यवसाय पलायन हुने अवस्था आउने बताए । क्षेत्रीले भने, ‘कर उठानका लागि महानगरपालिकाले बोलपत्र आह्वानको सूचना निकालेको छ, त्यस प्रक्रियामा हाम्रो असहमति रहेको छ ।’ उनले महानगरपालिको बोलपत्रको प्रक्रिया रोकेर स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न अनुरोध गरे । उनले आफूहरु सिधै महानगरपालिकालाई कर तिर्न तयार रहेको जानकारी दिए । अध्यक्ष खत्रीले व्यवसायीसँग महानगरपालिकाले समन्वय नगरेको र छलफलसमेत गर्न नमानेको गुनासो गरे । व्यवसायीले गत बिहीबार उपप्रमुख चित्रसेन अधिकारीलाई भेटेर निर्णय सच्याउन आग्रह गरेका थिए । तर उपप्रमुख अधिकारीले व्यवसायीका कुरा नसुनेको सचिव पुरन मल्ल ठकुरीले बताए । उनले यही अवस्थामा व्यवसाय सञ्चालन गर्न नसकिने भन्दै आइतबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको बताए । उनले कवाडीजन्य वस्तु निकासी गर्दा ठाउँठाउँमा कर लिने गरिएका कारण हैरानी व्यहोर्नुपरेको गुनासो गरे । संविधानले कुनै पनि वस्तुको स्वरुप परिवर्तन नभएसम्म एउटै खालको कर दोहोराएर लिन नपाइने व्यवस्था रहेको सङ्घले जनाएको छ । भरतपुर महानगरपालिकामा करिब ७५ व्यवसायीले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुको व्यवसाय गर्दै आएका छन् । महानगरभित्र करिब एक हजार पाँच सय जना यो व्यवसायमा प्रत्यक्ष जोडिएका छन् । घर–घर पुगेर साइकलमा कवाडी सामान सङ्कलन गर्नेको सङ्ख्या चितवन जिल्लाभरमा करिब चार हजार पाँच सय छ । उनीहरूले सङ्कलन गरेका फलाम, तामा, पित्तल, बोतल, सिसा, प्लास्टिक, कागज, पुराना जुत्ता, चप्पललगायतका सामान पुनःउपयोगका लागि उद्योगमा पठाइन्छ । धेरैजसो समान भारत पठाइने गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा भरतपुर महानगरपालिका नगर कार्यपालिकाको निर्णयअनुसार महानगरपालिकाको क्षेत्राधिकारभित्र उत्पादन हुने कवाडीजन्य वस्तुमा कर लगाउन खोजिएको हो । कवाडी सामानमा प्रतिगोटा तथा प्रतिकेजी निश्चित कर लगाउने गरी ठेक्का आह्वान गरिएपछि व्यवसायीले विरोध गरेका हुन् । भरतपुर महानगरपालिका गत भदौ २४ गते कर सङ्कलनका लागि दुई वर्षको ठेक्का आह्वान गरेको छ । रासस

काठमाडौँ महानगरभित्र फुटपाथ बनाउन दुई अर्ब १५ करोड बजेट, काम पनि भटाभट शुरू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्नेभएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ । हाल महानगर क्षेत्रभित्र करिब एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ । महानगरका अनुसार हाल वडा नं २६ लैनचौरबाट वडा नं १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ रु चार करोड ५५ लाखमा काम भइरहेको छ । वडा नं २६ लैनचौरबाट वडा नं २ को लाजिम्पाट, वडा नं ३ को महाराजगञ्जहुँदै चक्रपथसम्मको खण्डका लागि रु १० करोडमा सम्झौता भइसकेको छ । साथै वडा नं २८ को प्रदर्शनीमार्गमा काम सुरु भइसकेको छ । यसको लागत रु तीन करोड ७८ लाख रहेको छ । वडा नं ११ को त्रिपुरेश्वरदेखि वडा नं २२ सुन्धारा, वडा नं २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमलहुँदै वडा नं २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग रु १८ करोडमा सम्झौता भइसकेको छ निर्देशक राईले जानकारी दिए । महानगरको वडा नं ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि रु छ करोड ३५ लाखमा सम्झौता भएको छ । वडा नं ३२ को तीनकुनेदेखि वडा नं ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गाहुँदै वडा नं ८ को गौशालासम्मका लागि रु छ करोड ६९ लाखमा सम्झौता भएको छ । त्यसैगरी वडा नं १० नयाँबानेश्वरदेखि वडा नं ९ पुरानो बानेश्वरसम्मका लागि रु तीन करोड २३ लाख बजेट बिनियोजन गरिएको छ । वडा नंं २८ को बागबजारदेखि वडा नं २९ चारखाल, वडा नं ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नं ९ को पुरानो बानेश्वर, वडा नं ३१ को भीमसेनगोलाहुँदै वडा नं ९ को सिनामङ्गल सडक खण्डका लागि रु १० करोड बजेट छुट्याइएको छ । साथै वडा नंं १३ को कालीमाटीदेखि सोल्टीमोडहुँदै वडा नं १४ को कलङ्कीसम्म, वडा नं ८ को गौशालादेखि वडा नं ७ को चावहिलसम्म, वडा नं ८ गौशालादेखि वडा नं ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड खर्च हुने अनुमान गरिएको छ । अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम सुरु भइसकेको विभागले जानकारी दिएको छ । चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार बजेट विनियोजन गरेको छ ।

व्यवसायबाट उदाएका अध्यक्ष टेकराज राजनीतिमा पनि रम्दै

काठमाडौं । व्यक्तिसँग आ–आफ्नै किसिमका गुण, स्वभाव, चरित्र र विशेषता हुन्छन् । एउटा व्यक्तिसँग भएको विशेषता अर्को व्यक्तिसँग नहुन सक्छ । भनिन्छ नी, ‘भगवानले सबैलाई एउटा–एउटा गुण तथा विशेषता दिएर पठाएका हुन्छन् ।’ तर, सीमित व्यक्तिमा बहुगुण र विशेषता हुन्छन् । अर्घाखाँचीका टेकराज न्यौपानको जन्म गरिब परिवारमा भयो । किसानको छोरा । लामो मिहेनत र संघर्षपछि व्यवसायी बन्छन् । व्यवसायबाटै धेरैको मन जित्छन् । उनको व्यवसायप्रतिको इमानदारिता र ग्राहकलाई गर्ने व्यवहारले उनलाई धेरैले रुचाउँछन् । उनलाई राजनीति गर्ने मोह चल्छ र पाइँला राजनीतितर्फ मोड्छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको वडा नम्बर ७ मा जन्मिएका टेकराज न्यौपाने अहिले सोही गाउँपालिकाको नेतृत्व गरिरहेका छन् । हिजो पसलमा सेवा लिन आउने सेवाग्राहीहरु आज पनि उनका सेवाग्राही बनेका छन् । तर, निःशुल्क । हिजो सामान बिक्री गरेर ‘साहुजी’ बनेका न्यौपाने आज सिंगो पालिकाका अभिभावक बनेका छन् । ५७ वर्षका टेकराज हिजो व्यवसाय गर्दा जति फुर्तिला र मिहेनती थिए उनको त्यो सक्रियता आज पनि उति नै छ । बिहान–बेलुका घाँस दाउरा गर्दै बाल्यकाल बिताएका उनी पछि व्यवसायी हुँदै अहिले पालिकाका अभिभावक बनेका छन् । ‘गाउँको एउटा सामान्य किसानको छोरा हुँ, सामान्य पारिवारिक माहोलमा मेरो जन्म भयो, संघर्ष गर्दै जाँदा चाहेको सफलता पनि हात लाग्दो रहेछ,’ न्यौपानेले विगत स्मरण गर्दै भने । घरका कान्छा छोरा टेकराजको संघर्षको फेहरिस्थ भने लामो छ । टेकराजले कक्षा तीनसम्मको अध्ययन जिल्लाकै विद्या बिनोद विद्यालयबाट गरे । कक्षा ४ देखि १० सम्म शारदा माध्यमिक विद्यालयबाट पास गरे । विद्यार्थी जीवनमा आफु औसत विद्यार्थी भएको उनी सुनाउँछन् । १० कक्षा पास गरेपछि उनी उच्च शिक्षा पढ्न भारततर्फ लागे । ‘भारत पढ्न गइयो तर पढाई पुरा गर्न सकिएन, साइला दाई बितेको खबरले पढाइलाई बिचैमा छाडेर नेपाल आउनु पर्यो, त्यसपछि पढाइलाई निरन्तरता दिन सकिएन, प्लसटु पास नगर्दै पढाइ छोडें,’ उनले विद्यार्थी जीवन सुनाउँदै भने । उनले पढाइलाई निरन्तरता नदिने भएपछि गाउँमै व्यवसाय गर्ने निधो गरे । वि.सं. २०४२ मा एउटा पसल सञ्चालन गरे । ‘सुरुमा गाउँमा सबै सामान पाइने किराना पसल खोलेँ, व्यवसाय राम्रै चल्यो,’ उनले भने, ‘अब व्यवसाय विस्तार गर्ने योजना बनाएँ ।’ लामो समय गाउँमा पसल सञ्चालन गरेपछि उनलाई शहरमा पसल सञ्चालन गर्ने सोच आयो । उनले गाउँको पसललाई छाडेर वि.सं. २०६७ बाट बुटवलमा भाँडा पसल सञ्चालन गरे । त्यहाँ पनि राम्रै बिजनेस भएको उनी बताउँछन् । ‘आफूलाई व्यवसायमा सफल भएको म ठान्छु, पढाइलाई निरन्तरता दिन नसकेता पनि व्यवसायमा चाहिँ सफल भएँ, सानै व्यवसाय भए पनि व्यापारमा राम्रै प्रगती गरियो भन्ने महसुस भएको छ,’ उनले भने । …त्यसपछि बने अध्यक्ष टेकराज न्यौपाने व्यवसायसँगै राजनीतिमा पनि सक्रिय बने । सफल व्यवसायीका रुपमा आफुलाई चिनाएका उनी हुन त विद्यार्थीकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । परिणामस्वरुप उनको सक्रियताको सम्मान गर्दै नेकपा एमाले पार्टीले टिकट दियो र उनी २०७९ को स्थानीय तहको निर्वाचनमा पाणिनी गाउँपालिकाको अध्यक्षको उम्मेद्वार बने र जिते पनि । उनले वि.सं. २०४९ सालमा एमाले पार्टीको गाउँ कमिटीको सचिव भएर काम गरे । इलाका कमिटीको इचार्ज हुँदै जिल्ला कमिटीको सदस्य भएर पनि काम गरेको अनूभव उनीसँग छ । उनी वि.सं. २०५४ सालमा अड्गुरी गाविसको अध्यक्षको पदमा चुनाव नलडेको होइन । तर, उनी पराजित बने । उसो त उनले २०७४ को स्थानीय तहको निर्वाचनमा चुनावी माहोलमा प्रतिस्पर्धा गर्ने योजना उनले गरेपनि टिकट पाउन सकेनन् । तर, २०७९ मा व्यवसायको जिम्म्मेवारी छोरालाई सुम्पिँदै उनी पाणिनी गाउँपालिकाकाको अध्यक्ष बने । उनको जितले पालिकाले विकासमा फड्को मार्ने अपेक्षा स्थानीहरुको छ । सम्वृद्ध पालिका बनाउने सपना गाउँपालिकाको अध्यक्षको रूपमा निर्वाचित भइसकेपछि टेकराज पालिकाको विकास र सम्वृद्धिको लागि दौडधूप गरिरहेका छन् । कृषि र पशुमा आधारित रोजगारी सिर्जना र यस क्षेत्रको विकासको लागि काम गरिरहेको उनी बताउँछन् । अध्यक्ष न्यौपाने गाउँपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण गरी सञ्चालन ल्याएको बताउँछन् । पालिकाले अहिले १५ शैयाको अस्पताल निर्माण गरिरहेको छ । गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकास तथा पहिचान र प्रचार प्रसार गर्ने कार्यमा पनि जुटेको उनी बताउँछन् । उनले प्रत्येक वडामा स्वास्थ्य चौकीका भवन निर्माण भइरहेको बताउँदै लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुर्याएको बताए । ‘संघ र प्रदेशबाट समयमा बजेट नआउँदा पालिकालाई केही समस्या परिरहेको छ, हामीले आँटेको काम पूरा गर्न समस्या भइरहेको छ,’ उनले भने । चुन ढुङ्गाको उत्खनन गर्ने काम भएपछि पालिकाको आन्तरिक आम्दानी पनि बढ्ने उनको विश्वास छ । गाउँमै मान्छे अडिने वातावरण बनाउने कार्यक्रम बनाउन आवश्यक रहेको उनी बताउँछन् । ‘गाउँमा मान्छे रित्तिँदै छन्, गाउँमै मान्छे अडिने वातावरण कसरी बनाउने भन्ने विषय चुनौतिपूर्ण छ, हाम्रो पालिकामै प्राविधिक शिक्षा पढाइ हुन्छ, तर मान्छे गाउँमै अडिन चाहँदैनन्,’ उनले भने । आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने हुटहुटी राखेका टेकराज अहिले सम्वृद्ध पालिका बनाउनका लागि खटिरहेका छन् ।