कोञ्ज्योसोमका भूमिहीनले निस्सा पाए
ललितपुर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई निस्सा वितरण गरेको छ । वडा तहबाट पालिका हुँदै सङ्कलन भएको तथ्याङ्कका आधारमा आयोग जिल्ला समितिले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोगका ललितपुर जिल्ला संयोजक श्रीगोविन्द महर्जनले भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या नरहेको बताए। ‘स्थानीय तहबाट पर्याप्त सहयोग र समन्वय भएको अवस्थामा भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या छैन । हाम्रो वर्तमान संवैधानिक व्यवस्था र सरकारको नीतिअनुरुप योग्य रहेका सबै सुकुम्बासीलाई प्रक्रिया पुर्याएर निस्सा वितरण गर्न हामी तयार छौँ’, उनले भने । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले पालिकाभित्रका सबै सुकुम्वासी, भूमिहीनलाई जग्गा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरसँग समन्वय गरेर चाँडै टुङ्गोमा पुर्याउने बताए । ‘सुकुम्बासी समस्या समाधान गर्ने राज्यको नीतिअनुरुप हामी पनि सक्रिय छौँ । निस्सा वितरण भएका सबैलाई छिटोभन्दा छिटो जग्गाको व्यवस्थापन गरेर हामी लालपुर्जा वितरण गर्नेछौँ’, उनले भने । गाउँपालिका उपाध्यक्ष राजनप्रसाद घिमिरेले निस्सा वितरणसँगै लामो समयदेखि सुकुम्बासी भएर रहेकाको समस्या समाधान हुने पक्का भएको बताए । उनले छिट्टै लालपुर्जा वितरण भएर पालिकाभित्र सुकुम्बासी र भूमिहीनमुक्त नागरिक भएको देख्न पाइने विश्वास व्यक्त गरे । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार अब गोदावरी नगरपालिकाका बाँकी १२ वडा र महाँकाल गाउँपालिकाका सुकुम्बासी र भूमिहीनलाई निस्सा वितरण गर्ने गरी तयारी भइरहेको छ । आयोग जिल्ला समितिले यसअघि २०८० जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ परिवार, असार ३१ गते गोदावरी–७ देवीचौरका १४ परिवार र साउन १२ गते गोदावरी–१२ का पाँच परिवारलाई निस्सा वितरण गरिसकेको छ । रासस
नरैनापुरका अध्यक्षद्वारा भारतको श्रावस्तीमा भएको कार दुर्घटनाप्रति शोक व्यक्त
नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भारतको श्रावस्तीमा भएको कार दुर्घटनामा परी नेपालगंजका २ परिवारका ६ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् । गए राति भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिता गुप्ताको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका कार चालक अजय मिश्रको उपचार भइरहेको छ । अध्यक्ष शाहले सामाजिक सञ्जालमा लेख्नु भएको छ –’ भारतको श्रावस्ती जिल्लामा सवारी दुर्घटना हुँदा नेपालगंजका ६ जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएका गाडी चालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
टोखाभित्र सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही
काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने जानकारी दिए । सो नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन् ।