स्थानीयस्तरमा उत्पादित अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले किन्ने

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अङ्गुर स्थानीय तहले नै खरिद गर्ने भएको छ । त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ, फोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने निर्णय गरेको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए। बजारको अभावमा प्रत्येक वर्ष किसानले बेहोर्नुपरेको ठूलो घाटालाई मध्यनजर राख्दै यसवर्ष नगरपालिकाले नै अङ्गुर खरिद गर्ने निर्णय गरेको उनको भनाइ छ । नगरपालिकाले खरिद गरेको अङ्गुरको जुस बनाएर आफैँले बिक्री वितरण गर्ने योजना रहेको उनले सुनाए । नगरपालिकाले अङ्गुरको भुक्तानी प्रतिकिलो ८० का दरले एकमुष्टरुपमा कृषकलाई उपलब्ध गराउने भएकाले यस वर्ष कृषकलाई डोकोमा बोकेर बजार खोज्दै जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ । नगरपालिका अन्तर्गतका किसानले उत्पादन गरेको अङ्गुर खरिद गर्दा करिब रु दश लाख खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । अघिल्ला वर्षहरुमा अङ्गुर बिक्री नहुँदा किसानलाई घाटा भएको थियो । वर्षभरि दुःख कष्ट गरेर उत्पादन गरेको अङ्गुर ग्राहक नपाउँदा कम मूल्यमा बेच्नुपर्ने र सित्तैमा बाँड्नुपर्ने अवस्था आउने गरेको थियो । नगरपालिकाले सम्पूर्ण किसानले उत्पादन गरेको अङ्गुर किन्ने निर्णयले आफूहरु धेरै उत्साहित भएको त्रिपुराकोटका अङ्गुर किसान कमल हमालले बताए। यो निर्णयले किसानको मेहनत खेर नजाने उनको भनाइ छ । नगरपालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वमेयर स्व ओमबहादुर बुढाले भारतको नासिकबाट अङ्गुर ल्याएर कृषकलाई व्यावसायिक रुपमा खेती गर्न लगाएका थिए ।

महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले काठमाडौं उपत्यकाबाट बाहिर चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि तोकिएको मापदण्डअनुरुप टिकट बुकिङ कार्यालयसहित व्यावसायिक ठेगाना रहेको सम्बन्धित वडा कार्यालयमा अनिवार्यरुपमा दर्ता गर्नसमेत आग्रह गरेको छ । महानगरपालिकाले टिकट बुकिङ कार्यालय सडक चोकको सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयको मुख्य कार्यालय गोँगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्यरुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र वाफलसम्म कुनै पनि बुकिङ कार्यालय खोल्न नपाउने बताएको छ । यस्तै, बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको वोर्ड राख्नुपर्ने, बुकिङ कार्यालयमा टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता ९पार्किङ, शौचालय, पानी, बत्ती बस्ने व्यवस्था० भएको हुनुपर्ने उल्लेख छ । यसैगरी, बुकिङ कार्यालयको कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, बुकिङ कार्यालयका कर्मचारीले पोशाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्ने र बुकिङ कार्यालयमा बुकिङ हुने सवारी साधन लैजान नपाउने व्यवस्थासमेत गरेको छ । यसअघि महानगरपालिकाले काठमाडौंभित्र जथाभावी रुपमा टिकट बुकिङ कार्यालय खोल्ने तथा सडकमा यात्रुलाई चढाउने सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार अहिले अधिकांश सवारी साधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुँदै आएका छन् ।

काठमाडौं महानगरले माग्यो १९ जना विषय विज्ञ, पुनः आह्वान गर्याे आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा १९ जना विषय विज्ञको आवदेन खुलाएको छ । महानगरपालिकाले विभिन्न पदका लागि १९ जना विषय विज्ञ मागेको हो । महानगरले यसअघि पनि विभिन्न विज्ञ पदका लागि आवेदन आह्वान गरेको थियो । तर, पर्याप्त आवेदन नपरेपछि पुनः सूचना निकालेर आह्वान गरेको हो । ‘काठमाडौं महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७८ को दफा १४ मा भएको कानुनी व्यवस्था बमोजिम वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णय भएको हुँदा इच्छुक र योग्य व्यक्तिले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र निवेदन पेस गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ । महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञरवन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको हो । त्यस्तै काठमाडौं महानगरले मानवशास्त्री, समाजशास्त्री, पुरातत्त्वशास्त्री, अर्थशास्त्री, जनस्वास्थ्यविद्, भूगर्भशास्त्री÷भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियर मागेको छ । महानगरका अनुसार यी पदहरूमा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । सम्बन्धित विषयमा कम्तीमा १० वर्ष काम गरी वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यमा कम्तीमा ३ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको वा माथि उल्लिखित विषयमा १० वर्षभन्दा बढी अध्यापन तथा अनुसन्धान गरेको हुनेपर्नेछ । इच्छुक व्यक्तिलाई ७ दिनभित्र आवदेन दिन पनि महानगरले भनेको छ ।