काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा २६ हजारभन्दा बढी विद्यार्थी योग्य

रंगीन प्रवेशपत्र अनिवार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि सिफारिस गर्ने छात्रवृत्तिका लागि २६ हजार ६८० जना परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । 

महानगरले २६ हजार ८८८ जना विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको जनाएको छ । 

शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले विद्यार्थीहरूले जुन प्रणालीबाट आवेदन दिएका थिए, त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने जानकारी दिए । 

प्रवेशपत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नु पर्ने दायित्व उल्लेख छन् । 

खड्का भन्छन्, ‘प्रवेश पत्र रंगीन प्रिन्ट भएको हुनु पर्नेछ ।’

उनका अनुसार छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका नाममा अरूले परीक्षा दिन नपाउन् भन्नका लागि प्रवेशपत्र रंगीन प्रिन्ट गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गरेर महानगरपालिका क्षेत्रभित्र भएका ११ र १२ कक्षा सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो । 

यस वर्ष संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि मिति जेठ १७ गते छात्रवृत्ति छनोट परीक्षा सञ्चालन हुनेछ । 

परीक्षार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टल इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपीमा लग इन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन् । साइटमा लग इन गर्न एसईईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ । यसपछि जन्ममिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ । 

प्रवेशपत्रलाई अनिवार्य रूपमा रंगिन प्रिन्ट गर्नुपर्ने महानगरले जनाएको छ । महानगरका अनुसार ब्ल्याक एण्ड हाइट प्रिन्ट गरिएको वा स्पष्ट फोटो र विवरण नभएको प्रवेश पत्रलाई मान्यता दिइने छैन । 

परीक्षा केन्द्रमा आउँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात ९एसईई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकताको प्रमाणपत्र० अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ । 

प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षा सम्वन्धी नियम तथा आचारसंहिताहरू परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्छ । नियमको उल्लंघन भएमा परीक्षा रद्द गरिनुका साथै प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । 

परीक्षा सञ्चालनका लागि शिक्षा विभागले केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण सम्पन्न गरिसकेको छ । 

कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्छ । 

परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ । यसपछि म्याचिङ् लिष्टबाट नाम शिफारिस हुन्छ । नाम सिफारिस गरिएका विद्यार्थीहरूले कक्षा ११/१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

Share News