‘घडियाल काव्य उत्सव–२०८०’
नवलपुर । नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । जिल्लाको देवचुली–१७ मा आयोजना भएको ‘घडियाल काव्य उत्सव–२०८०’ सहभागी हुँदै उनले सङ्कटापन्न अवस्थाको घडियाल गोही संरक्षण गर्नु नागरिक र सरकार दुवैको कर्तव्य भएको बताएका हुन् । ‘घडियाल गोहीको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरुरी रहेको छ’ उनले भने। पानीका मुहान जोगाउन र पानी सफा राख्न सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । मानवीय कारणले प्राकृतिक सम्पदाको नास हुँदै गइरहेकाले यस्ता सम्पदा जोगाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा कोइरालाले जोड दिए। सन् १९७० बाट नै दुर्लभ मानिएको अति सङ्कटापन्न अवस्थाको जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सवको दोस्रो संस्करण आयोजना गरिएको आयोजक ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए । पहिलो संस्करणका विषयवस्तु र मुद्दालाई परिस्कृत तथा परिमार्जित गर्दै आयोजना गरिएको उत्सवको मुख्य संरक्षकका रूपमा देवचुली नगरपालिका रहेको छ । उत्सवको दोस्रो दिन आज शनिबार ‘प्रकृतिसँग साहित्य’, ‘शिरको गाथा तीरको व्यथा’ र ‘वैभवशाली देवचुली शीर्षक’मा बहस तथा छलफलका कार्यक्रम हुँदैछन् । आज बिहानबाट काव्य वाचनको कार्यक्रम सुरु भएको छ । काव्य वाचनमा गण्डकी प्रदेशसहित मध्यनेपालका १८ जना स्रस्टाले कविता वाचन गर्दै हुनुहुन्छ । आजको छलफलमा महानायक राजेश हमाल, साहित्यकार भूपिन खड्का, देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपाने, बुलिङटार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारी, विष्णुप्रसाद भुसाल, मोहनप्रसाद मरासिनीको सहभागिता हुँदैछ । विभिन्न तीन चरणमा हुने आजको छलफलमा छुट्टाछुट्टै विषयवस्तुमाथि छलफल गरिने कडरियाले बताए। कार्यक्रमका लागि पिप्रहरस्थित होमस्टे परिसरमा खरको छानो हालेर आकर्षक मञ्च बनाइएको छ । खर र बाँसबाट निर्मित मञ्चमा परालको गुन्द्री ओछ्याइएको छ भने कोर्को, हलो, जुवा, फुर्लुङ, ढडिया, ठेकी, डालोलगायतका परम्परागत सामग्रीहरूले सजाइएको छ । उत्सवको पहिलो दिन शुक्रबार ‘सङ्कटमा घडियाल ः लोभदेखि लोपसम्म’, ‘वेग र भेगको दोसाँधमा नारायणी’, ‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’, ‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’ गरी पाँच वटा चरणमा कार्यक्रम भएका छन् । छलफलमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी, पूर्वमन्त्री गणेश शाह, मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी सहभागी थिए । त्यसैगरी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, चितवन राष्ट्रिय निकुञ्ज सौराहाका सेक्टर प्रमुख सरोजमणि पौडेल, डब्लुडब्लुएफका प्रतिनिधि डाक्टर घनश्याम गुरुङ, नेपाल वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारी, संरक्षणकर्मी डिबि चौधरीसहितका व्यक्तिले छलफलमा सहभागिता जनाएका थिए । निकुञ्जको मुख्य कार्यालय चितवनमा रहेको र नवलपरासीवासीले निकुञ्जसँग सम्बन्धित स–साना कुरामा पनि सेवा लिन जिल्ला बाहिर जाँदा सास्ती खेप्नुपरेको विषयलाई छलफलमा चर्चा गरिएको थियो ।
वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार
काठमाडौं । नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । सो पुरस्कारको राशि रु एक लाख रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए। ‘राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्वपूर्ण योगदान रह्यो’, उनले भने। अधिनायकवादी सोच परास्त गर्न साहित्यकार काइलाले गरेको योगदान बिर्सन नसकिने उनको भनाइ थियो । मुलुकमा देखिएको बेथितिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनुपर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले देश र जनतालाई आशा जगाउने गरी काम गर्नुपर्ने बताए । ‘देश र जनतालाई आशा जगाउने गरी मुलुक चलाउन सकेनौँ भने धेरै ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई साकार पार्न कुनै पनि त्रुटि हुँदैन’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक परिवर्तनका लागि लेखेर लड्ने व्यक्तित्वका रुपमा काइँला रहेको र उनले स्रष्टाका तर्फबाट लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गर्नुभएको स्मरण गरे । उनले लेखकमा सत्ता र शक्तिका लागि लेख्ने र जनताका लागि लेख्ने दुईखाले प्रवृत्ति देखिएको बताए । लेखकले राजनीतिक परिवर्तनलाई थप सशक्त बनाएको प्रमाणित भइसकेको भन्दै उनले लेखकले जनमत निर्माण गर्नुपर्ने बताए । सम्मानित व्यक्तित्व काइँलाले दिवसका अवसर पारेर लेखकलाई पुरस्कृत गर्न सुरु गरिनु सराहनीय काम रहेको बताए । लेखक सदाको प्रतिपक्ष हुनुपर्नेमा जोड दिँदै उनले प्रजातन्त्रका लागि लेखकको अत्यन्त ठूलो भूमिका रहेको बताए । सो अवसरमा उपप्रधानमन्त्री खड्काले सङ्घले प्रकाशन गरेको ‘लेखक’ पुस्तकको विमोचन गरेका थिए ।
गरौं दर्शन रारालाई
प्रकृतिको उपहार स्वर्गको बगैँचा रारा । कान्जिरोहा शिरको हिमालको चाँद टल्कन्छ टलक्क ।। ईन्द्रेणी झै बदल्छौ सप्तरुपी रँग झलक झलक । तिजा र सिँजाको मिलनले देखाउँछ मानव सभ्यताको चलन।। स्वर्गको बगैँचाको बार्दलीबाट तिमीलाई निहाल्दा बल्दछौ धपक धपक । विउझाउँछौ मृत्यू तुल्य सारालाई तिम्रो विविध रंगले ।। नासिय नासिन्छन जगतमा कति तिम्रो मोहनी रुपले। प्रकृतिले सिँगारेको त्यो स्वर्गको बगैँचा रारा अभिनासी। सदावहार जवानीको सन्देश दिन्छ सारालाई गरौँ दर्शन रारालाई ।। कवि नगर विकास कोषका उपप्रबन्धनक हुन् ।