बिक्न छाडे साहित्यिक पुस्तक
काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा शङ्करदत्त भट्टले पुस्तकालय व्यवसाय सञ्चालन गरेको २६ वर्ष भयो । हाल महेन्द्रनगरस्थित गल्ली नं ५ क्याम्पसरोडमा नेहा पुस्तक पसल सञ्चालन गरिरहेका भट्टले पछिल्ला वर्षमा अतिरिक्त पुस्तक खरिद गर्ने र अध्ययन गर्नेहरूको कमी भएको बताए । झण्डै एक दशकअघिसम्म उपन्यास, मुक्तक, गजल, कथा, कविता र साहित्यका पुस्तक खरिद गर्ने धेरै रहे पनि अहिले शून्यमा झरिसकेको उहाँको भनाइ छ । लामो समयदेखि यहाँ पुस्तक पसल सञ्चालन गरिरहेका स्थानीय व्यापारीको भनाइअनुसार अहिले साहित्यिक पुस्तक पढ्ने बानीमा निकै ह्रास आइसकेको छ । ‘युवा पुस्ता फाट्टाफुट्ट रूपमा विदेशी लेखकका अङ्ग्रेजी पुस्तक भने कहिलेकाहीँ खोज्छन्, नेपाली लेखकका अझ साहित्यिक पुस्तक कोरोना कहरपछि मान्छेले खोज्नै छोडिसके भन्दा फरक पर्र्दैन,’ नेहा पुस्तक पसलका सञ्चालक भट्टले रासससित भने । उनले इन्टरनेटको बढ्दो पहुँच र सरलताका हिसाबले पनि पुस्तक पढ्ने खोज्नेको कमी भएको बताए । ‘खोजेको प्रायः सबै कुरा इन्टरनेटमै पाउन थालिसकेको छ, पुस्तकालयमा जाने, पुस्तक पढ्ने कुरो त दुर्लभ हुन थालिसक्यो,’ उनले भने । अध्ययन गर्ने बानीबाट विज्ञता प्राप्तिको आधार तथा अध्ययन नै ज्ञान र आनन्द प्राप्तिको माध्यम भए पनि युवा पुस्ता बढीजसो इन्टरनेटमै लिप्त रहेको पाइन्छ । सरस्वती पुस्तक भण्डारका सञ्चालक गोकुल बोहराले अतिरिक्त पुस्तक अध्ययनकर्ताहरूमै कमी आएको बताए । ‘चार÷पाँच वर्ष भयो कथा, कविता, मुक्तक, गजलका किताब बिक्नै छाडे, इन्टरनेटमा सबैको पहुँच बढेकाले पनि पुस्तक अध्ययनमा कमी आएको हो,’ उनले भने महेन्द्रनगरका साहित्यकार हेमबाबु लेखकले पठन संस्कृतिमै ह्रास आउन थालेको बताए । ‘पुस्तक बिक्री नभएकै आधारमा अध्ययनशील नै छैन भन्ने कुरो गलत हो, अग्रज स्रष्टा, सर्जकबाट पनि नयाँ पुस्तालाई अध्ययनशील बनाउने खालको वातावरणको खाँचो छ,’ उनले भने । उनले पछिल्लो समय इन्टरनेटमै आफूले खोजेको विषय सहज र सहुलियतरूपमा पाइने भएकाले पनि आम मानिसकको आकर्षण त्यसतर्फ बढेको बताए । उनका अनुसार अध्ययनशीलताको महत्त्व हुने किसिमको वातावरण पर्याप्त छैन । यसका लागि सबैतिरबाट सकारात्मक माहोल तयार हुन जरुरी रहेको उनले बताए । महेन्द्रनगरस्थित सुदूपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय पुस्तकालयका सहायक प्रशासक दुःखी चौधरीले विद्यार्थी अध्ययनका लागि आउने गरेको बताए । ‘विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी विषयगत र साहित्यिक पुस्तक आएर अध्ययन गरिरहेकै हुन्छन्, पुस्तकालयमा आगन्तुकभन्दा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मात्रै पहुँच दिइएको छ,’ उनले भने ।
डा उपाध्यायको ‘मुटुसँग सहयात्रा’ लोकार्पण
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त सार्वजनिक गरिएको छ । प्रकाशक इदा उपाध्यायद्वारा आज यहाँ आयोजित समारोहमा वरिष्ठ हृदयरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे र काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माले उक्त कृतिको लोकार्पण गरे । पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ । पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, नाम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समेटिएको छ । चार सय ५२ पृष्ठको उक्त पुस्तकको मूल्य छ सय ७५ रहेको छ । तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटुरोग विधामा विशेषज्ञता हासिल गर्नुभएका डा उपाध्यायले मुलुकको मुटुरोग उपचार सेवामा विशिष्ट योगदान पु¥याएका छन् । उनले मुलुकको सबैभन्दा ठूलो वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटुरोग उपचारमा सेवा पु¥याएका छन् । कार्यक्रममा डा पाण्डेले मुलुकको स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा भएका प्रगतिप्रति सन्तोष गर्ने धेरै ठाउँ रहेको बताए। पूर्वउपकुलपति शर्माले देश र समाजलाई माया गर्ने व्यक्तिले गुनासो होइन, कर्तव्य पूरा गरेर मात्र योगदान पु¥याउन सक्छ भने । पूर्वसचिव रामचन्द्रमान सिंह, डा प्रचण्ड प्रधान, डा प्रकाशराज रेग्मी, वरिष्ठ कवि दिनेश अधिकारीलगायतले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकभित्र मुटुको महासागरसम्बन्धी घटना समेटिएको बताए । पुस्तकमा डा उपाध्यायले विधाप्रतिको साधना एवं मेहनत आवश्यक रहने चिकित्साशास्त्र कला र विज्ञानको एउटा अब्बल नमूना भएको उल्लेख गरेका छन् ।
नेपाली लेखक संघ गण्डकीले दौँतरी शृङ्खला आयोजना गर्ने
पोखरा । नेपाली लेखक संघ, गण्डकी प्रदेशले आफ्नो नियमित कार्यक्रमका रूपमा दौँतरी शृङ्खला आयोजना गर्ने भएको छ । संस्थाको फागुन ९ गते बसेको सचिवालय बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । सिर्जना तथा लेखनमा समकालीन एउटै पुस्ताका दुई जना स्रष्टालाई मञ्चमा उभ्याएर समकालीन स्वर प्रस्तुत गर्ने हेतुले यस कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । संस्थाको अनुसार दौँतरी शृङ्खलाको पहिलो शृङ्खला ‘शुभारम्भ शृङ्खला’ आगामी चैत्र ११ गते पोखरामा सम्पन्न हुनेछ । शुभारम्भ शृङ्खलामा नेपाली कविताका मानक कविहरू सरूभक्त र तीर्थ श्रेष्ठलाई दौँतरी कविका रूपमा उभ्याउने निर्णय पनि सोही बैठकले गरेको छ । ‘दौँतरी’ शृङ्खलालाई संस्थाको नियमित कार्यक्रमका रूपमा सम्पन्न गर्दै जाने संस्थाले निर्णय गरेको छ । दौँतरी शृङ्खलामा कविता, गजल, मुक्तक, गीत, बहसलगायत अन्य विविध प्रस्तुति समेट्दै लगिने बताइएको छ । सोही अवसरमा संस्थाले अन्य साङ्गठनिक निर्णयहरू पनि गरेको छ । गण्डकी प्रदेशका लमजुङ, कास्की र नवलपुर जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्ने विषयलाई पनि प्राथमिकतामा राखेर निर्णय गरिएको संघका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले जानकारी दिए । संस्थाका अध्यक्ष डा। ईश्वरमणि अधिकारीको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको थियो ।