अभिकर्ता भगवान हुन्

बाबु, आमा र ५ वर्षकी सानी छोरी सहित ३ जनाका एउटा सुन्दर परिवार थियो । बाबु कम्पनीमा जागिर गर्दथे । आमा गृहिणी थिईन् । सानी छोरी भर्खर स्कूल जान थालेकी थिईन् । बाबुको जागिर राम्रै थियो । घर खर्च, छोरीको पढाई खर्च लगायतका अन्य खर्च गरेर पनि राम्रै बचत हुन्थ्यो । एक दिनको कुरा हो बाबु अफिसबाट घर फर्कँदै गर्दा दुर्घटनामा परी उसको मृत्यु भयो । मृत लास घरको आँगनमा राखिएको थियो । अन्तिम दाहसंस्कारको लागि तयारी हुँदै थियो । आमा चिच्याई रोइरहेकी थिईन् । दाहसंस्कारको कार्य सम्पन्न भयो । काजक्रियाको कार्य शुरु भयो । पत्नी सधै जसो रोइरहेकी थिईन् जुन स्वभाविक नै थियो । आफन्त, नातेदार, छरछिमेक आउथे पत्नीलाई सम्झाउथे । नानी, तिम्रो भाग्यमा यस्तै रहेछ, धेरै चिन्ता नगर भगवानले हेर्नुहुन्छ । माईतीतर्फका मान्छेहरु आउँथे । सानी छोरीलाई नियाल्थे, काजमा बसेकी मृतकको पत्नीलाई ढाडस दिन्थे । नानी, नआत्तिनु भगवान छन् । उहाँले तिम्रो दुःख हेर्नुहुन्छ । उपस्थित हुने सबै आफन्त र छिमेकीहरुले यस्तै यस्तै आश्वासन दिँदै गए । तेह्र दिनको काजक्रिया सम्पन्न भयो । तेह्र दिनपछि घरमा आउने क्रम घट्दै गयो । आफन्तहरु पनि आ-आफ्ना घरतर्फ फर्के । केहि दिनपछि गाउँकै एकजना मान्छे उनको घर आयो । उसले आफ्नो परिचय दिँदै भन्यो म बीमा कम्पनीको अभिकर्ता हूँ । मैले तपाईंको श्रीमानलाई पचास लाखको जीवन बीमा गर्न प्रस्ताव गर्दा सहजै स्वीकार गरी उहाँले तपाईंहरुको दम्पतीको बीमा गर्नु भएको थियो । उसले भन्यो- ‘तपाईंको श्रीमानको मृत्यु भएछ, साह्रै दुख लाग्यो, नआत्तिनुस्, हामी छौं, तपाईंको छोरीको पढाईलाई निरन्तरता दिन हामी सहयोग गर्छौं, तपाईंको श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र, नागरिकता आदि कागजात मलाई दिनुस्, म केही दिन पछि आउँछु ।’ दुई तीनदिन पछि उक्त अभिकर्ता फेरि उनको घरमा आयो । उसले केही कागजातमा उनलाई सहीछाप गर्न लगायो र एउटा एक करोड रूपैयाँको चेक दिँदै भन्यो- ‘यी यो चेक लिनुस् यो तपाईंको श्रीमानले गर्नु भएको बीमाको दाबी रकम, यो बीमालेख दम्पतीको भएको हुनाले तपाईंको पनि पचास लाख रूपैयाँको बीमा बाँकी नै छ, यो परिवर्तित बीमालेख यहाँ छ, लिनुस् ।’ उनले सोधिन्- ‘मैले मेरो बीमाको कति पैसा जम्मा गर्नपर्छ ?’ अभिकर्ताले भन्यो- ‘पर्दैन, यो पोलिसी अनुसार दम्पतीमध्ये एकजनाको मृत्यृ भएमा अर्को बीमितले प्रिमियम तिर्नुपर्दैन ।’ उनले धन्यवाद भन्दै चेक र र बामालेख लिईन् । अभिकर्ताले सबै कागजात बुझाएर फर्कियो । यी सबैकुरा सानी छोरीले नियालिरहेकी थिईन् । छोरीले आमालाई सोधिन्- ‘आमा अघि आएको मान्छे भगवान हो ?’ आमाले भनिन्- ‘होइन, कहाँ भगवान हुनु, उ त बीमा कम्पनीको अभिकर्ता हो ।’ तर छोरीले जिद्दि गर्दै भनिन्- ‘त्यो मान्छे भगवान नै हो, अभिकर्ता केही होइन ।’ आमाले सोधिन्- ‘कसरी नानी ?’ सानी छोरीले भनिन्- ‘अस्ति बाबाको मृत्यु हुँदा हजुरआमाले भन्नु भएको थियो तिमीहरुलाई भगवानले हेर्नुहन्छ । भगवानले सबैलाई हेर्छन् भनेर काकीले पनि भन्नु भएको थियो । हो त्यही भगवान हो त्यो मान्छे ।’ आमाले यसो विचार गरिन्  वास्तवमा उसले मेरा पतिलाई बीमा प्रस्ताव नगरेको भए उहाँले बीमा गर्नुहुने थिएन । बैंकमा २-४ लाख बचत त हुन्थ्यो होला तर यतिको ठूलो रकम त हुँदैन थियो । यी सबै कुरा मनन् गरेर त्यो अभिकर्ता हाम्रो परिवारको लागि भगवान नै सावित भयो । छोरीलाई जवाफ दिँदै भनिन्- ‘हो नानी, तिमीले ठीक भन्यौ त्यो मान्छे हाम्रो लागि भगवान नै हो । ’ (लेखक प्रधान नेपाल पुनर्बीमा कम्पनीका मुख्य प्रबन्धक हुन् ।)

पर्यटन मन्त्रालयले संस्कृति, कला र भाषा साहित्यमा योगदान पुर्याउनेहरुलाई पुरस्कृत गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति, संगीत तथा नाट्य, ललितकला र भाषा एवं साहित्यमा योगदान गर्नेहरुलाई पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै राष्ट्रिय प्रतिभा पुरस्कार सम्बन्धी कार्यविधिअनुसार ४ विधामा राष्ट्रिय प्रतिभा पुरस्कार र प्रादेशिक स्तरमा एक एक जनालाई पुरस्कार दिने जनाएको छ । मन्त्रालयले पुरस्कारको लागि व्यक्ति वा संस्थाले आवेदन गर्नसक्ने जनाउँदै त्यसकालागि ३० दिनभित्र मन्त्रालयमा आवेदन दिन अनुरोध गरेको छ । मन्त्रालयको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस ।

‘कलिङ साहित्यिक महोत्सव काठमाडौं’ शुरु

काठमाडौं । राजधानीमा शनिबारबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ शुरु भएको छ । ११औँ संस्करणमा अन्तर्राष्ट्रियरुपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ । महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कलिङ्गका युद्ध विजेता सम्राट अशोक हुँदै पछिल्ला पुस्ताका श्रष्टाहरुले दुई देशको सभ्यतालाई जोडन गरेको योगदानको विषयमा चर्चा गरे। ‘भारतको सरस्वती नदीले बनाएको सभ्यता लोप भए पनि नेपालमा बागमती सभ्यता अझै कायम छ । बाराको गढीमाईसहित नेपालका विभिन्न स्थानसँग भारतको संस्कृतिको सम्बन्ध छ । दुई देशको साहित्यिक सम्बन्ध अझ बढाउने विश्वास छ’,उपकुलपति गुरुङले बताए। महोत्सवमा सहभागी हुन भारतबाट आएका कवि अशोक वाजपेयीले नयाँ प्रविधिसँगै बजारशक्ति, धर्मशक्ति आदिले साहित्य संस्कृतिमा पु¥याइरहेको क्षतिको चर्चा गरे । ‘ठूलो जमातले बोल्ने भाषाले साना भाषालाई अतिक्रमण गरिरहेको छ । साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले सृजनामा निरन्तरता दिन श्रष्टालाई अनुरोध छ’, कवि वाजपेयीले भने। महोत्सव निर्देशक रञ्जना निरौलाले नेपाल भारतको साहित्य तथा संस्कृति आदनप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले संस्कृतबाट आएको नेपाली र हिन्दी भाषालाई संरक्षण गर्नको लागि यसपटकबाट नेपालमा साहित्यकाहरुलाई एकै थलोमा ल्याएर दुई देशको संस्कृति, भाषा र साहित्यबारे बहसको थालनी गरेको बताए। समारोहमा यसैवर्षबाट सुरु भएको यशस्वी साहित्य सम्मानबाट नेपालबाट वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी र भारतबाट कवि अशोक वाजपेयीलाई जनही ५० हजार सहित सम्मान गरिएको छ । शताब्दीपुरुष जोशी अस्वस्थताको कारण समारोहमा उपस्थित हुन सकेनन् । यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा महोत्सवमा कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दिक्षित र कवि दिनेश अधिकारी सहित दुईसयको सहभागी रहेको आयोजकले जनाएको छ ।