सानुबाबु सिलवालको पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ विमोचन

काठमाडौं । अमेरिकामा रहेका गैरआवासीय नेपाली सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक एक समारोहका बिच विमोचन गरिएको छ । शुक्रबार काठमाडौं बत्तिसपुतलीमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतका व्यक्तित्वहरूको हातबाट पुस्तक विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले सत्कर्म, सत्प्रयास, सत् चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने सिलवालको प्रशंसा गरे । उनले अमेरिका लगायत विश्वका जहाँ रहे पनि नेपालीहरूलाई आफ्नो मातृभूमिको माया रहेको कुरा सिलवालले नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको बताए । रेग्मीले भने, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भनेझै जहाँ पुगे पनि सबैले आफ्नो पहिचान बिर्सेका हुँदैनन् भन्ने लाग्दछ, शिक्षा, समाज र संस्कृति नै पहिचान हो र जहाँ पुगे पनि यो राष्ट्रका लागि हामीले केही गर्नु पर्दछ भन्ने हो, रोजगारी छैन भनेर देश छोड्ने चलन छ, यहाँ रोजगारी, कृषि विकासको कुन मोडल अपनाउन सकिन्छ, एउटा साझा मोडल अपनाएर जुनसुकै सरकार, जुनसुकै पार्टी किन नहोस्, वैज्ञानिक, आधुनिक प्रक्रियाबाट सामुदायिक एकताबाट अघि बढ्दा देश समृद्ध हुन्छ, नागरिकहरू समृद्ध हुन्छन् । ’ सो अवसरमा पुस्तकका लेखक सिलवालले हाल अमेरिकामा ५ लाख नेपाली रहेको र ती नेपालीहरूको आर्थिक समृद्धिका लागि बाटो देखाउने काममा आफू लागिरहेको बताए । उनले अमेरिकामा अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राति, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको उल्लेख गरे । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्व, वरिष्ठ पत्रकारहरू लगायतले सोचेको अमेरिका र भोगिने अमेरिका फरक रहेको विचार व्यक्त गरेका थिए । २८३ पृष्ठको पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, अर्थ व्यवस्थापन, अमेरिकामा कर, कानुन सम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्ध लगायतका विभिन्न विषयहरू समावेश गरिएको छ । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य ५ सय रुपैयाँ रहेको छ ।

बालकृष्ण शिवाकोटी मेमोरियल कविता वाचन प्रतियोगितामा सदासय गौतम प्रथम

काठमाडौं । बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसनले काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिताका उत्कृष्ट भएकाहरुलाई पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा वेद विद्याश्रम माविका सदासय गौतम प्रथम भएका छन् । यसैगरी सरस्वती माविकी अदिती तिमिल्सिना द्वितीय र इष्टपोल स्कुलकी प्रियमशा कार्की तृतीय भएका छन् । त्यसैगरी आर्याभा निरौला, महादेव पाण्डेय र दृस्टि सत्यालले सात्वना पुरस्कार प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुनुलाई २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरियो । सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरुलाई प्रमाणपत्रसहित एक हजार रुपैयाँ प्रदान गरियो । वरिष्ठ कवि प्रह्लाद पोख्रेलको प्रमुख आतिथ्यता तथा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उपत्यकाभित्रका ४४ जना विद्यार्थी सहभागी थिए ।