दमाहा र ट्याम्का बनाएरै जीविकोपार्जन, बादी भन्छन् : नपढे पनि सीपले जीवन धानेको छु
बाँके । ‘मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ’, बाँके कोहलपुर-१३ भरैयाका ५७ वर्षीय पस्तोके बादीले भने, ‘मेरा लागि आजसम्म पनि जीविकोपार्जनका लागि यही माध्यम बनेको छ ।’ उनी सोमबार बिहान पनि घरको चोटामा नजिकैको मन्दिरको दमाहा मर्मत गर्दै थिए । दमाहा मर्मतपछि ट्याम्का र मादल पनि साथमै राखे । पञ्चेबाजा अन्तर्गत पर्ने दमाहा, ट्याम्का र मादल बनाउन उनले सानैदेखि सिकेको पेसा हो । ‘बुबा सानैमा बित्नुभयो, उहाँ बितेपछि काका र दाईले यो सीप मलाई सिकाउनुभएको हो’, उनले भने, ‘विद्यालयमा गएर नपढे पनि सीपले जीवन धानेको छ ।’ साढे चार दशकदेखि गोरुको छाला काडेर दमाहा बनाउँदै आएका उनले पछिल्लो समय गोरुको छाला सहजै पाउन गाह्रो भएपछि दमाह बनाउन पनि कठिन भएको बताए । ‘मरेको गोरुको छाला काटेर दमाहा, ट्याम्का र मादल बनाउँछौं । पहिला गाईगोरु पनि धेरै हुन्थे र धेरै मर्थे पनि । हिजोआज गाईगोरु पाल्न छाडेका छन् । त्यसैले मेरेको भेटाउन पनि गाह्रो हुन थालेको छ’, उनले भने । पछिल्लो समय आधुनिक बाजाको प्रयोग बढेको र नयाँ पुस्ता पनि त्यसैमा लागेको पनि उनको भनाइ छ । ‘गोरुको छाला पाउन गाह्रो भएपछि राँगाको छाला प्रयोग गर्न थालेका छौँ’, उनले भने, ‘एउटा राँगाको छालालाई रु दुई हजारदेखि दुई हजार पाँचसम्म पर्छ ।’ एउटा दमाहा बिक्रीबाट उनले पाँच हजार रुपैयाँ आम्दानी गर्छन् भने ट्याम्का बनाएको दुई हजार रुपैयाँ लिन्छन् । यद्यपि दमाहाको आकारअनुसार पैसा लिने गरेको उनको भनाइ छ । दमाहाको मूल्य आकारअनुसार पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म पर्ने उनको भनाइ छ । पस्तोके बादीका घरमा दमाहा, ट्याम्का र मादल मर्मतका लागि बाँके, बर्दिया सुर्खेतदेखि मानिसहरु आइपुग्छन् । विशेषगरी चाडवाड नजिकिँदै गर्दा यस्ता सामान बनाउन आउनेको सङ्ख्या बढी हुने उनको भनाइ छ । जाजारकोटको शिवालय गाउँपालिका-६ थालारैकरबाट बसाइँसराइ गरी बाँके झरेका पस्तोकेले दमाहा बनाएरै आफ्नो सात जनाको परिवार पाल्दै आएका छन् । पर्वको अवसर पारेर मात्रै यस्ता बाजा बनाउन आउने भएकाले घरखर्च धान्न र परिवार पाल्न कठिन हुँदै गएको पस्तोको भनाइ छ । बाह्रैमास कमाइ नहुने भएकाले अहिलेका वादी पुस्ताले यो पेसालाई अगाल्न नचाहेको उनको अनुभव छ । ‘यो यस्तो सीप हो जस्को प्रयोग छ महिना वा वर्ष दिनमा मात्रै गर्न पाइने भएकाले छोराहरु यो पेसा गर्न चाहदैनन् । हाम्रो शेषपछि यो पेसा धरापमा पर्छ भन्ने ठूलो चिन्ता छ मलाई ।’ उनले भने । पस्तोके जस्तै दमाहा र ट्याम्कामा गोरुको छाला कसेर पाँच जनाको परिवार पाल्दै आएका छन् अम्मर बादीले पनि । सुर्खेतको राकमबाट बाँकेको भरैयामा झरेर ३५ वर्षयता अम्मरले दमाहा र ट्याम्का बनाउँदै आइरहेका छन् । उमेरले पाँच दशक पार गरी सकेका अम्मरले यो सीप आफ्नै बाबुबाट सिकेका हुन् । यो पेसामा बुबा र आमा दुबै संलग्न भएको उनको भनाइ छ । आमा बुबाबाटै सिकेको सीपलाई अम्मरले पेसाका रुपमा अगालेर यसैबाटको आम्दानीले परिवार पाल्दै आएका छन् । कूल २७ घरधुरी भएको भरैयामा पस्तोके, अम्मर, खम्मबलाल र बले गरी चार जना पुराना पुस्ताले दमाहा, ट्याम्का र मादल बनाएर बादी समुदायको पेसालाई धान्दै आइरहेका छन् । बादी समुदायका नयाँ पुस्ताले विशेष गरी फलामबाट बनिने हँसिया, बञ्चरो, हठौंडा, खुर्पा, खुकुरीलगायतका सामान बनाउने आरनको पेसालाई अँगालेका छन् । यसरी पूर्खाले गर्दै आएको पेसालाई छाडेर वादी समुदायबाट आरनको पेसालाई अँगाल्नेमध्यका एक हुन् निमबहादुर वादी । सैतिस वर्षीय निमबहादुरले आरन पेसाबाट मासिक ३० हजारदेखि ४० हजार रुपैयाँसम्म कमाइ गर्ने गरेको बताउँछन् । ‘आरनबाट मैले दिनको १२ देखि १५ सयसम्म कमाउने गरेको छु । मासिक न्यूनतम रु ४० हजार आम्दानी हुन्छ’, उनले भने- ‘पूर्खाले गर्दै आएको पेसा दैनिक आम्दानी हुने पेसा होइन ।’ वि. सं. २०५८ मा एसएलसी पास गरेका निमले आरन पेसाबाट परिवार पाल्दै आएका छन् । उच्च शिक्षा पढ्ने रहर हुँदाहुँदै पनि आर्थिक अभावका कारण पढ्न नसकेको बताउँदै आर्थिक अभावले आफ्ना सन्तानलाई पढ्नबाट वञ्चित हुन नपरोस् भनेर पनि आफूले दैनिक कमाइ हुने आरन पेसालाई रोजेको उनको भनाइ छ । निम जस्तै भरैया गाउँका केही युवा आरन पेसा गर्दैछन् भने केही वैदेशिक रोजगारमा विदेश गएका छन् । रासस
तिज पर्व : आधुनिकताले मौलिकता हराउँदै
रामपुर (पाल्पा)। घर माइतका क्रममा भोगेका सुख दुःखका अनुभवलाई तिजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तिजलाई लिइन्छ । परम्परादेखि नै महिलाका वेदना र सुखदुःखको अनुभव एकापसमा साटासाट गर्न तिज पर्व नै पर्खेर बस्ने चलन थियो । वर्ष दिनभरका तितामीठा अनुभवलाई गीतमार्फत साथीभाइ, आफन्तजनसँग विरह, वेदना तिजका बेला व्यक्त गर्ने र मनलाई हलुका बनाउने चलन थियो । हिजोआज दुःखसुख, जीवन भोगाइका अनुभवभन्दा पनि मनोरञ्जन, नयाँ–नयाँ बस्त्र, खानेकुरामा मोह बढाएको छ । पौराणिक परम्पराभन्दा पनि आधुनिकताले महिलाहरुमा तिज पर्व मनाउने होडबाजी चलेको छ । गरगहना, महङ्गो मुल्यका लत्ताकपडा, खानपानमा तडकभडक बढी देखिन थालेको छ । तीज आउनु महिना दिन अगावै गरगहना, महङ्गा मुल्यका कपडामा सजिएर होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसमा दरखाने लामबद्ध हुन थालेपछि मौलिकता छाडेर आधुनिकताको पछि लागेको पाल्पा रामपुरकी ज्येष्ठ नागरिक रन्नता बाशिष्ठ बताउ छिन् । ‘हाम्रा पालामा मनाइएको तिज र अहिलेको तिजमा धेरै परिवर्तन आयो, तिजको अघिल्लो दिन माइती मावली गएर सबै जम्मा भएर घरको आँगन पिँढीमा लहरै बसेर दर खाने, गाउँभरीका सबै जम्मा भएर नाच्ने गाउने चलन थियो, अहिले त साथीहरु जम्मा भएर होटलमा दर खाएर नाच्ने रमाउने चलन आयो,’ उनले भनिन् । तिजको मौलिक परम्परा र संस्कृती अवलम्बनभन्दा पनि क्षणिक रमाइलो, नयाँ–नयाँ गरगहना, कपडा लगाएर को भन्दा के कम भन्ने सोँचले भड्किलोपन हुदै गएको ज्येष्ठ नागरिक बाशिष्ठको अनुभव छ । खानपान, लत्ताकपडा, गरगहनादेखि धेरै कुरामा अहिले परिवर्तन हुदै गएको उनको बुझाइ छ । नारीका दुःखसुख र वेदनालाई बोल्ने पर्व हरितालिकालाई लिइन्छ । वर्षदिनभर मनमा सङ्गाल्हेका पिर, वेदना र घरमाइत गर्दाका सुखदुःखका खटनपटनलाई तिजका बेलामा व्यक्त गर्ने, मीठा/मीठा परिकार खाने प्रचलनका रुपमा तिजलाई लिने गरिन्छ । पछिल्ला वर्षमा तिज आउन महिना दिन अघिदेखि नै गाउँ, सहरमा रौनक बढ्दो छ, तर तिजको मौलिकता भने हराउँदै गएको छ । नागपञ्चमी पर्व सुरु भएपछि गाउँमा पालैपालो सबैका घर–घरमा साँझमा झोरा लगाउने चलन थिए । गाउँ, शहर, गल्ली चोक, घर–घरमा बिरह, ठट्यौली, सुखदुःखका गीत गुञ्जन्थे । तिजका गीतमा महिलाले सासु/ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाई लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । ती गीतहरु सुनिरहुँ जस्तो लाग्थ्यो । अहिले यस्ता खालका गीतहरु कमै सुन्न पाइन्छ । तिजको रमझम सुरु हुन थालेपछि गाउँमा पालैपालो झोरा लगाउन लालटिन बालेर गएको पूरानो यादले अझै पनि मनमा झस्काउने गरेको रामपुरकै सीता देवकोटाले बताइन् । ‘आमा हजुरआमासँग साँझमा घरको कामधन्दा सकाएर गाउँमा तिजको झोरा हेर्न गइन्थ्यो, समाजका यथार्थपरक विषयवस्तुमा गाउने ती गीत सुन्दा आनन्द आउँथ्यो, अहिले त गाउँमा झोरा लगाएर नाच्ने गाउने चलन छैन, घरमै बसेर टिकटक बनाउने, मोबाइल, टिभीमा इन्टरनेटबाट तिज गीत सुन्ने र हेर्ने चलन आयो,’ उनले भनिन् । आजभोली गीत सुन्दा तिजका हुन कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ । दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पूराना पुस्ता चिन्तित बनेका छन् । तीजको रमझम सुरु भएपछि माइत जाने तयारीमा नारीहरु छन् भन्ने बुझाइ हुन्थ्यो । कतिबेला माइतीघरमा पुगिएला र आमाले पकाएको मीठा-मीठा परिकार दरका रुपमा दाजुभाइ बुबाआमा दिदिबहिनीसँगै बसेर खाने, नाच्ने उत्सुकता हुन्थ्यो । अहिले मीठो मसिनो खान माइतीमै जानुपर्छ भन्ने चलन पनि कम हुदै गएको छ । घरमै सुख सुविधाले पनि मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था नरहेको महिलाहरु बताउँछन् । पहिला-पहिला तिजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोे जस्ता कुरा तिज गीतमा हुन्थे, अहिले संस्कृती भन्दा मनोरञ्जन भावका गीत बढी छन् । ‘भररर रानीचरी एँसेलुको गाँजैमा मलाई सम्झी नरोऊ आमा सम्झी साँझैमा’ ९गायिका विमाकुमारी दुरा० घरको कामधन्दा, तीजमा बिदा नपाउँदाका पिडालाई गीतबाटै तीजमा छोरी माइत आइन भनेर सम्झेर नरुन आग्रह गरिएको पाइन्छ । तिज पर्वको एउटा महत्वपूर्ण पक्ष हो झोरा अर्थात् तिज गीत छोरी चेलीले माइतीमा जम्मा भएर आफ्ना दुःखसुख बिसाउनका लागि गीतलाई माध्यम बनाउँछन् । सूचना प्रविधिको विकाससँगै माइतीको घरआँगन, बजारका चोक, खुल्ला चउरमा भेला भएर गाउने गीत, स्टुडियो र युट्युब, टिकटक, फेसुबकमा सिमित बन्न पुगेका छन् । बजारका खुल्ला चौर, चोक तिजका गीतले गुञ्जायमान बनाउँथ्यो । पछिल्लो समय सूचना प्रविधिको बढ्दो विकासले घरमै टिभी हेर्ने, रेडियोमा गीत सुन्ने मोबाइल, युट्युबले गर्दा बजारमा तिजका गिन गाउन र नाच्न जाने भेटिँदैनन् । तिज गीत प्रतियोगितात्मक कार्यक्रम राखिएका बजारमा जसोतसो दर्शक पुगेका हुन्छन् । तिजलाई नारी अधिकार र स्वतन्त्रताका रुपमा लिइने गरिन्छ । पर्व मनाउने क्रममा समयअनुसार केही परिवर्तन हुँदै गएको छ । ‘पहिला महिलाले भोगेका दुःखकष्ट अहिलेको परिस्थितीमा कमै छन्, सुख सुविधाले गर्दा केही कुरा परिमार्जन भएको छ, पूरानो संस्कृतिलाई संरक्षण गरिनु पर्छ, समाजमा तडकभडक नहुने गरी नयाँ कुराको पनि अवलम्बन गर्दै तिज मनाउनुपर्छ,’ महिला अधिकारकर्मी विष्णुमाया ढकालले भनिन् । रासस
हरितालिका (तीज) व्रत महिला, पुरुष दुवैले गर्नुपर्छ-संस्कृतविद्
काठमाडौं । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका ९तीज० को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउँछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए। ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उनले भने । ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए । श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका उनले बताए । ‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ’, उनले भने । नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले सुनाए । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि उनले बताए । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो । पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् । दर खानुपर्छ दुई भाग रात हुँदैमा यो व्रत सक्नेले निराहार बस्ने भएकाले आइतबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ । आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । रासस ।