स्पर्स लघुवित्तको शाखा प्रबन्धकहरुको लागि ३ दिने तालिम सम्पत्र

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको लागि ३ दिने सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न गरेको छ । लघुवित्त कार्यक्रम संचालन सम्बन्धी समस्याहरु निराकरण गर्ने, सफ्टवेयरको समस्यामा सहजिकरण गर्ने तथा त्रैमासिक लक्ष्य र प्रगती सम्बन्धमा समिक्षा गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए । तालिममा वित्तीय संस्थाका संचालकहरु राम बहादुर क्षेत्री, राजुराम अधिकारी, रविन सुवेदी, सुरेन्द्र न्यौपाने लगायतले वित्तीय संस्थाको स्थापनाको उद्देश्य माथि प्रकाश पार्दै शाखा प्रबन्धकहरुलाई उत्प्रेरित गर्न विभिन्न भनाईहरु राखेका थिए । कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाले नेपालमा हाल ५३ वटा लघुवित्त संचालनमा रहेको, २५ वटा गैर सरकारी संस्थाहरुले पनि लघुवित्त कार्यक्रम गरेको, करिब १० वटा जति अन्तिम स्वीकृति पाउने पर्खाइमा रहेको बताए । साथै, राष्ट्र बैंकले पुनः अरु ६० वटा लघुवित्तहरुलाई लाइसेन्स प्रक्रिया खोल्ने तयारी गरिरहेको उनले बताए । त्यस्तै, हरेक क्षेत्रमा चुनौती रहेको र चुनौती सँगै जहिले पनि अवसर जोडिएर आउने भएकोले चुनौतीलाई होसीयारी पुर्वक स्वीकार गर्दै अवसरको सदुपयोग गर्न अध्यक्ष माथेमाले सुझाव दिएका छन् । कार्यक्रमको दोश्रो दिन कर्जा तथा अनुगमन विभाग प्रमुख हरिशरण गिरीले शाखाहरुको लक्ष्य तथा प्रगती समिक्षा संचालन गरेका थिए भने सिनर्जीटेक सफ्टवेयरका प्रमुख सुदय महर्जनले सफ्टवेयर सँग सम्बन्धित सम्पुर्ण समस्याहरुमा दिनभरी सहजीकरण गरेका थिए । त्यस्तैगरी, कार्यक्रमको तेश्रो दिन वित्तीय संस्थाका विभागीय प्रमुखहरु ऋषभ सुवेदी, पबन बराल र बिनोद पराजुलीले आफ्नो आफ्नो विभागसँग सम्बन्धित प्रस्तुतीहरु दिएका थिए ।  

मोबाइल र फेसबुकले बालविवाह बढायो, बैतडीमा घर छोडेर भाग्ने केटीहरु विकराल समस्यामा

बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् । बैतडीमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरु भाग्ने चलन बढिरहेको बालबालिकाका क्षेत्रमा काम गर्ने संघसस्थाले जनाएका छन् । अब बैतडीका किशोरीलाई १२ कक्षा नपढुञ्जेलसम्म मोबाइल बोक्न बन्देज गर्नेगरी स्थानीयस्तरमा कानून बनाउनुपर्ने युवा सञ्जाल बैतडीका सदस्य सपना रानामगरले बताइन् । सञ्चारका साधनले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको किशोरी रेजिना टेलरले बताइन् । उनले भनिन् “पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ ।” अहिले जिल्लामा सबैभन्दा बढी किशोरी मोबाइलका कारण बलात्कारको शिकार हुनुपरेको समेत उनले बताइन् । बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोनमा फेसबुकमा कुरा गरेर भागेर भारत जाने गरेको उनले बताइन् । बैतडीको सीमा—नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा हालसम्म २४ जना किशोरकिशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ । यसैबीच, बैतडीमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना पनि तयार पारिएको छ । सन् २०३० मा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडी जिल्लालाई पनि बालविवाहमुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो । बैतडीका १० वटै स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, किशोरीवृत्त, प्रतिष्ठित धामीसमूह, पत्रकारलगायत सरोकारवालाले बालविवाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेबारेमा छलफल गरी रणनीतिक कार्ययोजना तयार पारेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । बैतडीमा किशोरी सञ्जाल, किशोरी समूह, किशोरी वृत गठन गरी बालविवाह न्यूनीकरण गर्नका लागि किशोरी सक्रिय रहेका छन् ।

विहे मात्र होइन ‘डिभोर्स’को पनि हुन्छ सिजन, साउन र फागुनमा तोडिन्छन् धेरै सम्बन्ध

काठमाडौं । परम्पराअनुसार नेपालमा ६ वटा महिना(बैशाख, जेठ, असार, मंसिर, माघ र फागुन )लाई विवाहको सिजन मानिन्छ । यद्यपी सम्बन्धविच्छेदको लागि त्यस्तो सिजन तोकिएको छैन । सामान्यतया श्रीमान-श्रीमतीबीच मनमुटाव बढ्दै जाँदा सम्बन्धविच्छेद गरिएको पाइन्छ । तर एक अध्ययनले निश्चित समयमा सम्बन्धविच्छेद हुनेगरेको पत्ता लगाएको छ । अधिकांश विवाहित दम्पतीले मार्च (साउन) र अगस्ट (फागुन)मा सम्बन्धविच्छेद गर्ने गरेको वाशिंगटन समाजशास्त्री विश्वविद्यालयले गरेको अध्ययनले सम्बन्धविच्छेद यी दुई महिनामा हुनेगरेको निश्कर्ष निकालेको छ । समाजशास्त्रका सहायक प्राध्यापक जुली ब्राइन्स र ब्रायन सेराफिनीले वर्षको दुई महिनामा सबैभन्दा बढी ‘डिभोर्स’ हुने गरेको पत्ता लगाएका छन् । सन् २००१ देखि २०१५ सम्म वाशिंगटनमा भएका डिभोर्सका लागि आवेदन हेर्दा लगातार मार्च र अगस्टमा बढी आवेदन परेको अनुसन्धानको विश्लेषण छ । यो कुरा धेरै दम्पतीका लागि सामाजिकरुपमा अमान्य हुनसक्छ । जाडो र गर्मीको छुट्टीमा त झन् एकअर्काको सम्बन्ध सुधार्नलाई ठुलो अवसरको रुपमा लिन सक्छन् । उक्त अध्ययन अनुसार पारिवारिक व्यवहारमा प्रभाव पार्न परम्परागत क्यालेण्डरले ठुलो भुमिका खेलेको छ । ‘सामान्यतया गर्मी र जाडोको छुट्टीमा बढी समय परिवारसँग बिताइन्छ’, ब्राइनले भनिन्, ‘छुट्टीमा सम्बन्ध सुधार्ने र नयाँ जिन्दगी सुरु गर्ने अठोट हुन्छ । यसले मानिसको आकांक्षालाई बढावा दिन्छ ।’ यद्यपी छुट्टीमा आकांक्षाले सोचेजस्तो स्थान नपाएपछि अधिकांश दम्पती दुखित बन्छन् । समाजशास्त्रीको भनाईमा उनिहरुको सोच ‘वाचा तोडिएको’ जस्तो चिसो बन्दै जान्छ । जसका कारण उनीहरुले डिभोर्समा पुग्ने सम्भावना बढेको उनले बताइन् । ब्राइन्सका अनुसार नयाँ वर्षको छुट्टीपछि दम्पतीलाई डिभोर्सका लागि हिम्मत बटुल्न, आर्थिक स्रोत जुटाउन र वकिलको रायसुझाव लिन केही महिना लाग्छ । र मार्चको महिनामा अधिकांशको डिभोर्स हुनेगरेको उनको अनुमान छ । त्यस्तै गर्मीको छुट्टीको मनमुटावपछि उनीहरुलाई बाकी समय बालबच्चाको स्कुल समयले रोक्ने गरेको उनी बताउछन् । अन्तत अगस्टमा दम्पतीहरु डिभोर्सका लागि आवेदन दिन्छन् । त्यस्तै तनावमा वसन्त ऋतुको समयमा आत्महत्या समेत हुने गरेको उनले बताइन् । तनावकाबीच दम्पतीले अनाहकमा यस्तो निर्णय लिनसक्ने सम्भावा बढी छ ।