धुर्मुस-सुन्तली फाउन्डेशनद्धारा सप्तरीको दुई ठाउँमा कम्बल वितरण
राजविराज । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस-सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्धारा आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोगिनका लागि स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्याङ्केट (कम्बल) वितरण गरिएको स्थानीयवासी अवधेश झाले बताए । तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कूल १५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्याङ्केट वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए । यस्तै शीतलहरबाट प्रभावित सप्तरीको विभिन्न स्थानमा स्थानीय प्रशासनले पनि कम्बल वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लाको शम्भुनाथ नगरपालिका–६, ७ र ८ मा रहेको दलित बस्तीमा करिब २०० परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिए । सप्तरीमा चिसोबाट मृत्यु हुनेको सङ्ख्या २० पुगे पनि जिल्ला प्रहरी कार्यालयले हालसम्म आठ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । रासस
ज्ञानेश्वरको ईन्टरनेशनल स्कूल अफ टुरिजम कलेजमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । ईन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज ज्ञानेश्वरमा बुधबार रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न भयो । बिगत ८ वर्ष देखि यस कलेजमा हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना हुने गरेको छ । यस कलेजमा अध्ययनरत वि.एच.एम दोस्रो बर्षका विद्यार्थीहरुले आफ्नै कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम गर्दे आएका छन् । आजको यस कार्यक्रमले विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार हुनलाई प्रेरणा मिलेको छ । यस कार्यक्रममा जम्मा १७३ विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका थिए । रक्तदाताहरुको कमि तथा रक्त संचार केन्द्रमा रगत अभावको कारण कुनै पनि बिरामीले रगत अभावको कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रत्येक बर्ष कलेजले यस किसिमको प्रेरणादायी कार्यक्रमको आयोजना गरी आएको छ ।
सिटिजन्स बैंकद्धारा २७७२ परिवारलाई ३ करोड ४३ लाख नगद वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७७२ परिवारलाई कूल ३ करोड ४३ लाख रुपैयाँ वितरण गरेको छ । बैंकले धादिङ्ग जिल्लाको झारलाङ्ग र रिगाँउ गाविसमा उक्त परिवारलाई सो मात्राको नगद वितरण गरेको हो । विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर हिल्फिकोे सहकार्यमा पुस १३ देखि २० गतेसम्म गरी ८ दिनसम्म उक्त कार्यक्रम संचालन गरिएको थियो । विशेष गरी भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । बिकट मानिने गाउँहरुमा पनि बैंक जनताको घर दैलोमा पुगेर बैंकिंग सेवा प्रवाह गरिरहँदा स्थानीयहरुले खुशियाली व्यक्त गरेका छन् । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले बताएका छन् ।