क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु: मनिषा

काठमाडौं । क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि यहाँ शुरु भएको एशियाली क्यान्सर सम्मेलनका क्रममा नायिका कोइरालालाई संस्थाले सो पद प्रदान गरेको हो । आयोजक संस्थाका अध्यक्ष डा मदनकुमार पिया र सचिव प्रा श्यामकृष्ण जोशीले नायिका कोइरालालाई सो सम्मान प्रदान गर्दै पाँच वर्षअघि क्यान्सर भएर पनि हरेस नखाइ रोगबारे सर्वसाधारणलाई जनचेतना फैलाउन सक्रिय रहेकी तथा क्यान्सर रोगीको उपचारमा सहयोगसमेत गर्दै आएकी नायिका कोइरालाको उत्साहको प्रशंसा गर्दै मानार्थ अध्यक्ष पद प्रदान गरिएको बताए । एशियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउने, विशेषज्ञद्वारा उपचारको ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित सम्मेलनमा नेपाललगायत भारत, थाइल्याण्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्याण्डका क्यान्सर विशेषज्ञको सहभागिता छ । तेस्रो नेशनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’ मा विशेष गरी स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे छलफलसमेत गरिनेछ । सो कार्यक्रमलाई नायिका कोइरालाले पाँच वर्षअघि चिकित्सकले आफूलाई क्यान्सर भएको भनेपछि आफू स्तब्ध भएको स्मरण गर्दै समयमै रोग पत्ता लागेकाले उपचार भएको बताए । उनले भने “स्वस्थ जीवनशैली र खानपिनका कारण क्यान्सर लाग्ने सम्भावना कम हुन्छ, समयमै क्यान्सर पत्ता लगाउनसके ८० देखि ९० प्रतिशत निको हुन्छ आगामी दिनमा क्यान्सर रोग लाग्नबाट जोगाउन सञ्चालन हुने जनचेतनामूलक कार्यक्रममा ‘म मेरो’ सक्रियाता हुन्छ ।” नायिका कोइरालाले आफूलाई क्यान्सर भएपछि बिताएका जटिल समयको स्मरण गर्दै पुस्तक लेख्न लागेको जानकारी दिए । सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. पियाले संस्थाले नेपालका गरिब तथा निमुखा क्यान्सर रोगीको उपचारमा मात्रै नभई क्यान्सर रोकथाम र उपचारको दुवै कार्य गर्दै आएको बताए । क्यान्सर केयर नेपालका सचिव प्रा श्यामकृष्ण जोशीले संस्थाद्वारा सञ्चालित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरलाई एकसय श्ययाको बनाउने लक्ष्य राखिएको, नेपाल सरकारले क्यान्सर रोगीका लागि उपलब्ध गराउँदै आएको रु एक लाखमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले थप राहत दिएर क्यान्सर रोगीको उपचार गर्दै आएको जानकारी दिए। त्यसअवसरमा क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागार्इं, डा रश्मी पुन गुरुङ, भारतकी डा कञ्चन कौर, क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले क्यान्सर रोग लाग्न नदिन विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकामा जोड दिए । सो अवसरमा नायिका कोइरालाले नेपालको पहिलो क्यान्सर रोग विशेष डा तारा मानन्धर, डा मिलननाथ पाण्डे, रोटरी क्लब अफ यल, नवीना मल्ल, श्रीधर श्रेष्ठ, शाम्भवी आचार्य र किमाया गुरुङलाई सम्मान गरिएको थियो ।-रासस

५ वर्षदेखि फलामे खोरमा थुनिएका दाहाललाई ३६ हजार रुपैयाँ सहयोग, को हुन् दाहाल ?

तेह्रथुम । आठराई गाउँपालिका-६ चुहानडाँडास्थित बोखिममा पाँच वर्षदेखि फलामे खोरमा थुनिएका उदयनारायण दाहालको उपचारका लागि प्रवासी नेपालीबाट सहयोग रकम उपलब्ध भएको छ । तेह्रथुम घर भई हाल साउदी अरबमा रहेका रामचन्द्र मैनालीको अगुवाइमा संकलित ३६ हजार रुपैयाँ दाहालको परिवारलाई आज हस्तान्तरण गरिएको हो । सहयोग रकम आठराई गाउँपालिका-६ का वडाध्यक्ष तेजमान कन्दङवा र वडा सदस्य लक्ष्मीप्रसाद बास्कोटाले संयुक्त रुपमा उदयनारायणका बुबा चुँडामणि दाहाल र आमा मैना दाहाललाई हस्तान्तरण गरेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै वडाध्यक्ष कन्दङवाले दाहालको उपचार र उद्धारका लागि वडा कार्यालयबाट पनि सहयोग उपलब्ध गराउने बताए। साउदी अरब र नाइजेरियामा रहेका नेपालीले दाहालको उपचार र उद्धारका निम्ति आर्थिक सहयोग संकलन गरेका हुन् । वैदेशिक रोजगारीका क्रममा २०६३ सालमा दुबई पुगेका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किएपछि उपचारका लागि परिवारले रु पाँच लाख खर्च गरिसकेको छ । आर्थिक रकमको अभावमा थप उपचार गर्न परिवारले नसक्ने भएपछि ३४ वर्षीय दाहाललाई परिवारले पाँच वर्षदेखि फलामको खोरमा राखेको हो । रासस

पाटन जेसीजको ‘न्यानो अभियान’ अन्तर्गत दलित बस्तिमा कम्बल र ब्ल्याङ्केट वितरण

काठमाडौं । पाटन जेसीजले सुरू गरेको ‘जेसिज न्यानो अभियान’ले आफ्नो लक्ष्य पूरा गरेको छ । चिसो तथा शीतलहरका कारण तराईमा विपन्नवर्गका मानिसहरू प्रभावित भइरहँदा नेपाल जेसीजका चारवटै क्षेत्रमा पुगी, क्षेत्र ‘क’मा मलगंवा जेसीजसँगको सहकार्यमा पाटन जेसीजले पासवान बस्तीमा पुगेर दलित बस्तिमा कम्बल र ब्ल्याङ्केट वितरण गरेका थिए । त्यसैगरि पाटन जेसीजले क्षेत्र ‘ख’मा हेटौंडा जेसिसको सहकार्यमा हेटौंडास्थित ॐ वृद्धाश्रमको सञ्चालनमा सहयोग पुर्याउने हेतूले वृद्धाश्रमलाई नगद सहयोग समेत गरेको थियो । क्षेत्र ‘ग’ मा खुमलटारस्थित मञ्जुश्री वृद्धाश्रममा रहेका वृद्धाहरुलाई स्विेटर बितरण गरेका थिए । क्षेत्र ‘घ’मा गैडाकोट जेसिसको सहकार्यमा नेपालको सीमान्तृक कुमाल बस्तीको उत्थानको लागि त्यहाँका वृद्धहरुलाई नगद सहयोग गरेका थिए । ‘विपन्न समुदाय र अशक्त मानिसहरूलाई गरिने सहयोगलाई हामीआफ्नो जिम्मेवारी ठान्छौं । यस्ता सामाजिक कार्यक्रमहरू हामी आगामी दिनहरूमा पनि गर्नेछौं’, न्यानो अभियानको समीक्षा गर्दै पाटन जेसीजकी उपाध्यक्ष ‘जेसीज न्यानो अभियान’की कार्यक्रम संयोजक जेसी रोजिना थापाले भनिन् । अभियानका समीक्षा गर्दै पाटन जेसीजका अध्यक्ष जेसी सुमन श्रेष्ठ भन्छन्, ‘देशको विभिन्न भागमा रहेको जेसीजका शाखाहरूसँग समन्वयगर्दै मानव सेवामा योगदान गर्नु नै हाम्रो उद्देश्य हो । यसका शाखाहरूलाई अझै विस्तार गर्दै हामी सामाजिक सरोकारका विषयहरूमा मानिसहरूसँग अझै धेरै अन्तरक्र्रिया, सहयोग र सेवा आदनप्रदान गर्न चाहन्छौं ।’ अध्यक्ष श्रेष्ठले अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायका साथै जेसीजका सबै पदाधिकारी र जेसी सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।