‘मानसखण्ड’ ग्रन्थ अब नेपाली भाषामा, धर्म संस्कृति र प्रण इतिहास अनुसन्धानको लागि उपयुक्त

काठमाडौं । संस्कृत ग्रन्थ स्कन्द पुराण अन्तर्गतको मानसखण्ड नेपाली भाषामा प्रकाशित भएको छ । महर्षि वेदव्यासले संस्कृतमा लेखेको यस ग्रन्थमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्राग ऐतिहासिक धार्मिक स्थलहरुको विस्तृत विवरण छ । अद्वैत वेदान्ताचार्य रामचन्द्र शर्मा पौडेल ‘रम्घाली’ र शास्त्री, प्रधानाचार्य लक्ष्मीकान्त जोशी रेग्मीले अनुवाद गरेका हुन् । साथै, यस ग्रन्थको सम्पादन र हिन्दी भाषामा अनुवाद ठाकुरदेव सिंह विष्ट राजकीय स्नातकोत्तर महाविद्यालय, नैनीतालको संस्कृत विभागका पूर्व अध्यक्ष आचार्य गोपालदत्त पाण्डेले गरेका छन् । विष्णुप्रसाद खत्रीको अध्यक्षतामा स्थापित रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङ प्रकाशक रहेको उक्त ग्रन्थ बुधबार(बैशाख १९ गते) आयोजित एक समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सार्वजनिक गरेका हुन् । भारत वर्षको कूर्माञ्चल (उत्तराखण्ड) र नेपालको सुदूर पश्चिमका प्रागऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरु र भूगोलको युगौं पुरानो विस्तृत विवरण समेटिएको यो ग्रन्थबाट विभिन्न राष्ट्रको सीमा सम्बन्धी जानकारी लिन सकिन्छ । नेपाल र भारतबीचको कालापानी सीमा विवाद समाधान गर्नका लागि पनि यो पौराणिक ग्रन्थ आधार बन्न सक्छ । धर्म संस्कृति र प्रण इतिहासको अनुसन्धानको लागि यो ग्रन्थ अत्यन्त उपयोगी हुनेछ । मानसखण्डमा हजारौं पहाड, तिनबाट निस्केका नदी, त्यहाँ रहेका तीर्थस्थलहरु, पहाडका गुफा, ओढार, तपश्यागर्ने ठाउँ, समथलभूमिका बस्ती र धार्मिक स्थलहरुको विस्तृत विवरण यसमा छ । यसमा वैदिक पुराणका सारभूत कुराहरु पनि समेटिएको छ । रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङले विभिन्न सामाजिक कार्य अन्तर्गत निःशुल्क न्याय सेवा दिने जेहेन्दारहरुलाई छात्रवृति प्रदान गर्ने बझाङ जिल्लामा धर्मशाला निर्माण गरेको छ भने क्षेत्रिय स्थरमा कानून विदहरुलाई पुस्कृत र सम्मान समेत गर्दछ यस ग्रन्थको बिक्रीबाट हुने आम्दानीबाट बझाङ जिल्लामा पुस्तकालय निर्माण गर्ने योजना राखेको छ ।

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

जाकार्ता । फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था विवादमा परिरहेको छ ।विवादास्पद कानूनको शिकार ३९ बर्षका अल्नोल्डी बहारी भएका छन् । उनले आफूले इश्वरीय शक्तिको अनुभव गरेको दावी गर्दै अन्य मुस्लिम समुदायको इश्वरप्रतिको विश्वासमाथि प्रश्न उठाएका थिए । “उनलाई पाँच बर्ष जेल सजायको फैसला भएको छ, साथै सात हजार २०० अमेरिकी डलर जरिवाना पनि गरिएको छ । हामीले यस फैसलाको पुनरावलोकन गराउने छौँ, किनकी त्यहाँ धेरै विषयलाई बङ्ग्याइएको छ ।” बहारीका वकील अन्डी कोमाराले भने । कारबाहीमा परेकाका बहारी पश्चिम जाभा प्रान्तको पान्डेग्लाङका इन्डोनेसियाली नागरिक हुन् । रासस/एएफपी

जनता बैंकद्धारा पार्किन्सन डिजीज एसोशिएसनलाई ब्यायम मेसिन हस्तान्तरण

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्यायम मेसिन हस्तान्तरण गरिएको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको ब्यायम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको हो । बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्नराजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरेका थिए । मेशिन हस्तान्तरणको अवसरमा संस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनीहरुलाई उचित परामर्श दिन सकेमा उनीहरुले पनि समाजको लागि कार्य गर्न सक्ने हुँदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताएका छन् । स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गर्दै जाने बैंकको योजना रहेको छ ।