डाक्टर बन्ने रुची भएकी ज्वालाले बनाइन् २२ दिनमा ७० चित्र, काे हुन् त उनी ?

काठमाडौं । केवल सोह्र वर्षकी ज्वाला ढकालले हालसम्ममा ११० वटा चित्रकला निर्माण गरिसकेकी छिन् । ठूला मान्छेलाई पनि कठिन हुने काम उनले सहजै गरेकी छिन् । एसइई परीक्षा दिएर बसेको फुर्सदको समयमा त झन् उनले २२ दिनमा ७० वटा चित्र बनाएकी छिन् । हाल उक्त चित्रसहित अन्य फुर्सदको समयमा बनाएका १०५ वटा चित्र नेपाल कला परिषद्, बबरमहलमा प्रदर्शनीमा राखिएका छन् । जावलाखेलस्थित सेन्टमेरिज विद्यालयबाट एसइई परीक्षा दिएकी उनले अहिले फुर्सदको समयको सदुपयोग गरिरहेकी छिन् । उनले भनिन् , “यस चित्रकला प्रदर्शनीबाट संकलन हुने सबै रकम बालुवाटारमा रहेको अनाथ बालबालिका राखिएको गृह प्रवास नेपाललाई सहयोग गर्नेछु ।” त्यहाँ सबै अनाथ अर्थात बाबुआमा नभएका टुहुरा बालबालिका पढ्ने गरेका छन्, त्यो कुरा मैले यसअघिनै विद्यालयबाट कलासम्बन्धी पढाउन जाँदा थापा पाएँ, ढकालले भनिन् । त्यस अनाथालयमा एउटा पनि कम्प्युटर छैन, अहिलेको जमानामा पनि कम्प्यूटर बिना के गर्न सकिन्छ, त्यसैले उनीहरुको समस्यालाई बुझी मलाई यस किसिमको भावना आएको हो । भविष्यमा डाक्टर बनेर नागरिकको सेवामा समर्पित गर्ने लक्ष्य रहेकी ढकाललाई एक कक्षामा अध्ययन गर्न शुरु गरेसँगै कलासम्बन्धी रुची रहेको बताउँछिन् । डाक्टर बने पनि चित्र निर्माण गरी असहाय र अनाथलाई सहयोग गर्ने पनि उनले बताइन् । वैशाख २२ गतेदेखि शुरु भएको प्रदर्शनीमा हालसम्म दशवटा कला बिक्रीबाट रु एक लाख आम्दानी भइसकेको छ । प्रदर्शनीमा रु पाँच हजारदेखि रु दुई लाखसम्मका चित्र राखिएका छन् । यी सबै चित्र बनाउनका लगि रु तीनलाख ५० हजार खर्च भएको बालचित्रकार ढकाल बताउँछिन् । प्रदर्शनीमा राखिएका सबै चित्र प्रकृति र समाजमा हुने गतिविधिसँग सम्बन्धित रहेका छन् । उनले अलि मन खिन्न पार्दै भनिन् -अहिलेसम्म दैनिक ५० जनाभन्दा बढी अवलोकन गर्ने व्यक्ति आएका छैनन्, सायद प्रचारप्रसार कम भएर पनि होला । उनले फेरि सबैसँग आग्रह गर्दै भनिन्, आएर मेरो चित्र हेर्नुस्, राम्रो लागेका किन्नुस् यसबाट आएको रकम मेरो व्यक्तिगत प्रयोजनको लागि होइन, म जस्तै तर अनाथ बालबालिकालाई सहयोग गर्नका लागि हो, यसबाट हजुरहरुको पनि सहयोग हुनेछ । “सानै उमेरदेखि दयालु स्वभावकी ज्वाला अहिले पनि उस्तै नै छिन्, कसैको दुःख देख्नुपर्दा उसलाई यसमा के गर्न सकिन्छ भन्ने चिन्ताले सताइहाल्छ”, ज्वालाकी आमा होमकुमारी भट्टराई (ढकाल)ले भने । उनले भनिन्, “दुई सन्तानमध्ये ज्वाला सामाजिक काममा लागेर केही गर्नुपर्छ भन्ने स्वभावकी छे, त्यसमा पनि बालबालिकाका लागि भनेपछि ज्यानै दिएर लाग्छे ।” आगामी वैशाख २९ गतेसम्म रहने उक्त प्रदर्शनीको अवलोकन गरी छोरीको भावनालाई सम्मान गरिदिन पनि ज्वालाकी आमाले सबैसँग आग्रह गरेका छिन् । रासस

बेलकोटगढीमा अत्याधुनिक पुस्तकालय, सडक नबनाएकाेमा एमालेलाई गाली गर्दै काँग्रेस नेताहरु हेलिकप्टरमा सवार

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. २ स्थिति जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्दको नवनिर्मित भवनको गत विहीबार उद्घाटन भएको छ । नेपाली कांग्रेसको केन्द्रीय नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र एएसविका एशिया कार्यक्रम संयोजक मार्टिन कुंशटमानबाट संयुक्त रुपमा पुस्तकालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। २०६९ कात्तिक १८ गते औपचारिक रुपमा उद्घाटन भई सञ्चालनमा आएको यस पुस्तकालयको भवन २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पले भत्किएपछि पुर्ननिर्माण गरिएको हो । रिड नेपाल र एएसबीको आर्थिक तथा प्रविधिक सहयोगमा २ करोड ७५ लाख २७ हजार ५० रुपैयाँ बजेटमा बनेकाे याे पुस्तकालय नुवाकोटको मात्र नभई नेपालकै नमूना पुस्ताकलाय भएको रिड नेपालका अध्यक्ष भोलाकुमार श्रेष्ठले बताए । नेपालकै पहिलो अपांग मैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालयमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, युवा कक्ष, सभा हल, सुचना संचार प्रवधि कक्ष, विपद् जोखिम न्युनिकरण कक्ष, श्रव्य दृश्य कक्ष, कार्यलय कक्ष रहेको उनले बताए । दुर्इ तल्ले पुस्तकालय भवनको हरेक कक्षमा सबै किसिमका अपांगता भएका व्यक्तिहरुको पहुँच रहने तथा प्रयोग गर्न सक्ने उनले बताए । एएसविका मार्टिन कुंशटमानले भूकम्पपछि स्थानीय समूदायले अस्थायी पुस्तकालय बनाएर प्रयोग गरेको देखेपछि आफू निकै प्रभावित भएको र भूकम्पप्रतिरोधी तथा अपाङ्गता मैत्री पुस्तकालय भवन निर्माणमा सहयोग गरेको बताए । कुल २ करोड ७५ लाख २७ हजार रुपैयाँ बजेट मध्ये १ करोड ७५ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको र बाँकी रकम कृषि, पशु स्वास्थ्य, महिला सशक्ति करण, अपांगता समाबेशी कार्यक्रम, विपद् जोखिम न्युनिकरण कार्यक्रम, पढ्ने बानिको विकाश तथा शैक्षिक क्षेत्रको विकाश गर्ने र्काक्रम साथै पुस्तकालयमा पुस्तक, फर्निचर, आईसिटि सहित विभिन्न कक्ष जडानका सामाग्री खरिदमा खर्च हुने उक्त कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले जानकारी दिए । स्थानीय सुभद्रा देबी तिमल्सिनाले १ रोपनी जग्गा दान गरी निर्माण गरिएको पुस्तकालय भवन थप ४ आना जग्गा पुस्तकालय आफैले खरीद गरी २० आना बराबरको क्षेत्रफलमा नयाँ भवन निर्माण गरिएको छ । बहिस्कार र आरोप–प्रत्यारोप पुस्तकालय उद्घाटन गर्न कांग्रेस नेता प्रकाशमान सिंह, नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसी, नेविसंघका यूपी लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टर लिएर कुमरीमा अवतरण गरेको थियो । तर नुवाकोट जिल्लाबाट प्रतिनिधित्व जनप्रतिनिधिहरु उद्घाटन कार्यक्रममा सहभागि भएनन् । पुस्तकालय व्यवस्थापन समितिको कमजोरीका कारण केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने २ सांसद, प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ४ सांसद, नगरपालिकाका मेयर, उपमेयरसहित सबैले उद्घाटन कार्यक्रम बहिष्कार गरेको पुस्तकालयका कोषाध्यक्ष तथा बडा नम्बर २ का अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए । ‘यस वडामा सुविधा सम्पन्न पुस्तकालय बनेकोमा हामी सबै खुशी छौं । तर यस पुस्तकालयको उद्घाटन कार्यक्रममा मेयर, उपमेयर, सम्पूर्ण सांसद तथा जनप्रतिनिधिको अनुपस्थितिले पुस्तकालयको दीगो सञ्चालनमा कठिन बन्ने देखिएको छ’ उद्घाटन कार्यक्रममा संबोधन गर्दै न्यौपानेले भने । पुस्तकालय उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस नेता जनदीश्वर नरसिंह केसीले एमाले नेतृत्वलाई गाली गरे । रसुवाबाट प्रतिनिधित्व गर्ने एमालेका पूर्व सभासद् तथा ठेकदार जर्नादन ढकालले कुमरी जाने मोटर बाटाे निर्माणको ठेक्का लिएर करोडौ रुपैयाँ खाएको, पक्की सडक नहुँदा स्थानीय बासीले धेरै दुःख पाएको उनले  बताए । ‘पानी परेपछि सडकबाट गाडी ल्याउन नसकिने भयो । आयोजकले जसरी पनि आउनुपर्छ भनेपछि हामी सेनाको हेलिकप्टर लिएर आयौं’ केसीले भने–‘हामी हेलिकप्टर चढेर पुस्ताकालय उद्घाटन गर्न गएको देखेपछि पत्रकारले समाचार लेख्छन् । पार्टी भित्र हाम्रो आलोचना हुन्छ । म यहि मञ्चचबाट स्पष्ट पार्छु, लागेको खर्च आयोजकले बेहोर्छौ भनेपछि हामी हेलिकप्टर लिएर आएका हौं । यसको दाहित्व हामी लिदैनौ ।’ काठमाडौंको चक्रपथबाट २५ किलोमिटर दुरीमा रहेको जनजागरण सामुदाहिक पुस्तकालयको भवन उद्घाटन गर्न कांग्रेस नेताहरु हेलिकप्टरमा पुगेपछि स्थानीय तहमा निकै चर्चा भएको छ । हेलिकप्टरको खर्च पुस्तकालयले नबेहोर्ने अध्यक्ष रामचन्द्र तिमल्सिनाले बताए । ‘कति विल आउँछ, त्यो पुस्तकालयले बोहोर्दैन, हामी साथीभाईहरु मिलेर उठाएर तिर्छौ’ उनले भने । प्रमुख सेनानी दानबहादुर थापाका अनुसार पाँच जनासम्म यात्रा गर्न मिल्ने सानो हेलिकप्टको प्रतिघण्टा १ लाख रुपैयाँ भाडा लाग्छ । पुस्तकालय उद्घाटनमा जान प्रकाशमानले लगेको हेलिकप्टर करिव चार घण्टा प्रयोग भएको छ ।

सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

जेनेभा । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेका एक अध्ययनले देखाएको छ । जेनेभामा बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षणले यस्तो देखाएको  छ । उक्त सर्वेक्षणअनुसार ट्वीटरमा बढी सक्रिय भनिएका अमेरिकी राष्ट्रपति ट्रम्पभन्दा भारतीय प्रधानमन्त्री मोदीलाई बढी लोकप्रिय देखाएको छ । उक्त सर्वेक्षणका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पका ट्वीटरमा दुई करोड ३२ लाख जना फलोअर रहेका छन् । उनको तुलनामा भारतीय प्रधानमन्त्री मोदीका भने फेसबुकमा झण्डै दोब्बर अर्थात् चार करोड ३० लाख फलोअर रहेका छन् ।अध्ययनले एसियामा फेसबुकको बढी प्रचलन रहेकोले पनि मोदीका फेसबुक फलोअर बढी भएको अनुमान गरेको छ । उक्त संस्थाले विश्वका नेताहरुले के कसरी सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् भन्ने बारेमा अनुसन्धान गरेको बताइएको छ । यस अनुसन्धानकाअनुसार क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन यसरी सामाजिक सञ्जालको प्रयोग गर्ने नेतामा पाँचौँ नम्बरमा परेका छन्। फेसबुकमा उनका ९६ लाख फलोअर रहेका छन् । तर यस संख्यालाई भने क्याम्बोडियाका फेसबुक प्रयोगकर्ताकै कम्तीमा पनि आधा संख्या भनी आलोचना गरिएको छ । त्यस सर्वेक्षणले ती नेताहरुका सामाजिक सञ्जाल अकाउन्टमा पोष्ट गरिएका र तिनमा प्रतिक्रिया दिइएका विषयवस्तुलाई पनि समेटेको छ । उक्त सर्वेक्षणले सन् २०१७ को जनवरी १ पछिको १४ महिनामा विश्वका राज्य तथा सरकार प्रमुखका ६५० वटा व्यक्तिगत र सरकारी सामाजिक सञ्जाल पेजहरुको अध्ययन गरेको थियो । जसमा अमेरिकी राष्ट्रपति ट्रम्प सबैभन्दा बढी अन्तरक्रियामा रहेका नेताका रुपमा पाइएको छ । यस १४ महिनाको समयावधिमा अमेरिकी राष्ट्रपति ट्रम्पको पेजमा २० करोड ४० लाख वटा प्रतिक्रिया, लाइक वा सेयर गरिएको पाइएको छ । तर त्यसको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अकाउन्टमा भने ११ करोड मात्र प्रतिक्रिया प्राप्त भएका छन् । उक्त अध्ययनले मोदीका बढी फलोअर तर अमेरिकी राष्ट्रपति ट्रम्प बढी अन्तरक्रियात्मक भनेर निष्कर्ष निकालेको छ । हरेक दिन अमेरिकी राष्ट्रपति ट्रम्पले अनुपातमा कम्तीमा पनि पाँच वटा पोष्ट गरेका छन् । तर पनि भारतीय प्रधानमन्त्रीले भने त्यसको आधामात्र गर्ने गरेका छन् । रासस/एएफपी