डेडो आँखाको समयमै उपचार नगरे आँखाको ज्योति गुम्ने: डा. सुजता भण्डारी
नेपाल आँखा अस्पतालमा बच्चाको आँखा जाँच्दै डा. सुजता भण्डारी काठमाडौं। आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो। संवेदनशील भएको कारण यसमा सानो चोटपटक लाग्दापनि धेरै समस्या आउने गर्दछ, त्यसैले यसको राम्रोसँग हेरचाह गर्नुपर्छ । ठूलाहरुले त आँफैले आफ्नो हेरचाह गर्न सक्छन्, तर बालबालिकाहरुलाई भने कतिपय समयमा आफ्नो आँखामा समस्या छ वा छैन भन्ने कुरामा अलमल हुन्छ, त्यसैले अभिभावकहरुले बच्चाको आँखामा आउने समस्याहरुमा ध्यान दिन जरुरी छ। बच्चाहरुमा विभिन्न कारणले आँखामा समस्या आउने गर्दछ । खेल्दा लडेर बच्चाहरुले आँखा गुमाउने, धुलो धुवाको कारण आँखाको एलर्जी हुने, लामो समय कम्प्युटर तथा मोबाइलको स्क्रिनमा हेरेको कारण आँखा कमजोर हुदै जाने डा. सुजता भण्डारी बताउँछिन्। यससंगै बच्चाहरुमा जन्मजात पनि आँखामा समस्या आउने गर्दछ । बच्चाहरुमा सबैभन्दा बढी देखिने आँखाको समस्या चस्मा लगाउनु पर्ने समस्या, डेडो आँखा, अल्छि आँखा, जन्मजात मोतिविन्दु र जन्मजात जलविन्दु रहेको भण्डारीले बताईन् । आँखामा आउने एलर्जी, आँखा पाक्ने समस्या बच्चाको आँखामा देखिने सामान्य समस्यामा पर्दछन् भने जटिल समस्यामा डेडो आँखा, मोती बिन्दु, जल बिन्दु, अल्छि आँखा र आँखाको क्यान्सर पर्दछन्। मोतिविन्दु बच्चाहरुमा जन्मजात देखिन्छ भने डेढो आँखा जन्मने बित्तिकै र जन्मिएको केही महिनामा देखिने गर्दछ । बच्चाले नदेखेको कारण आँखा डेडो हुने गर्दछन्, जसलाई अभिभावकले गलत बुझ्छन् । समयमा यसको उपचार नगरेको खण्डमा बच्चाले पछि गएर आफ्नो ज्योति नै गुमाउन सक्छन् । बच्चाहरुले चस्मा किन लगाउनु पर्छ ? – आँखाको आकार फरक-फरक भएको कारणले बच्चाहरुले चस्मा लगाउनु पर्ने हुन्छ । कसैको आँखाको नानी फ्ल्याट, स्टिफ हुन्छ, जसकारण उनिहरुको आँखाको फरक फरक पावर हुने गर्दछ । समयमै यसको समस्या पत्ता लगाएर चस्माको प्रयोग गर्ने हो भने आँखाको समस्या निर्मुल भएर जान्छ, तर नगरेको खण्डमा आँखा अल्छि हुँदै गएर समस्या निम्ताउँछ । बच्चालाई हामीले ८ बर्षको उमेर सम्ममा अल्छि आँखाबाट बचाउन सक्छौं । अल्छि आँखामा बच्चाले आँखाको आकार सबै ठीक हुँदाहुँदै पनि आँखा देख्न नसक्ने भएर जान्छ । जन्मजात आँखाको समस्या परिवारमा कसैलाई पहिलै आँखामा समस्या भएको धेरै जस्तो अवस्थामा जन्मजात आँखामा समस्या देखिने गर्दछ । यसका साथै आमाले गर्भवती अवस्थामा केही कारण औषधी खाएको अथवा मधुमेह छ भने जन्मिने बच्चामा मोतिविन्दु हुने खतरा हुन्छ । त्यस्तै एउटा बच्चा मोतिविन्दु भएको जन्मियो भने अर्को बच्चामा पनि मोतिविन्दु देखिने गर्दछ । गर्भवती अवस्थामा महिलालाई कुनै संक्रमण, रुवेला भएमा पनि बच्चाको आँखामा असर पर्न सक्छ। स्क्रिनमा धेरै समय बिताउँदा मोबाईल तथा ल्यापटममा लामो समय बिताउँदा बच्चाहरुको आँखा सुख्खा हुन्छ। आँखा सुख्खा हुँदा अन्य समस्याहरु निम्तिनुको साथै चस्मा लाउनु पर्ने अवस्था पनि सिर्जना हुन्छ । आँखाको क्यान्सर आँखामा क्यान्सर बिशेष गरेर १-३ बर्षको बच्चामा देखिने गर्दछ र त्यो भन्दा पछी पनि देखिन सक्छ । यसको कारण भने अझैपनि खुल्न सकेको छैन । यो भएको समयमा आँखामा सेतो जस्तो देखिने, आँखा टल्किने, बिरालो जस्तो आँखा हुने, आँखा डेढो हुने र जटिल अवस्थामा आँखाको भाग नै बाहिर निस्कने गर्दछ। यसको उपचार यो कुन अवस्थामा छ भन्ने कुरा हेरेर हुन्छ। ( डा. सुजता भण्डारीसँगको कुराकानीमा आधारित, डा. भण्डारी हाल नेपाल आँखा अस्पतालमा पेडाट्रिसियन अन्कोलोजिस्टको रुपमा कार्यरत हुनुहुन्छ। )
डेंगुको प्रकोप बढ्दै छ, यसबाट बच्न वातावरणीय सरसफाईमा ध्यान दिन जरुरी: डा. अनुप बास्तोला
काठमाडौं। डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यसको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। पछील्लो केही हप्ता देखी पुर्वको तराई क्षेत्र धरान, ईटहरीमा डेंगु महामारीको रुपमा फैलिएको छ। डेंगु पोजिटिभ देखिएको बिरामीको संख्या दिनप्रति बढ्दो छ र यसको जाँचको लागि स्वास्थ्य सेवा विभाग र शुक्रराज ट्रपिकल अस्पतालको बिशेषज्ञ टोली उक्त स्थान प्रस्थान गरिसकेको छ। सरकारले यस बर्ष सरुवा रोग नियन्त्रणको लागि कुल ४२ करोड ५२ लाख छुट्टाएको छ जसमा डेङु नियन्त्रणको लागि मात्र १ करोड ६६ लाख छुट्टाएको छ। जनमानसमा चेतनाको कमी भएको कारण यो रोगले अहिले आएर माहमारीको रुप लिईसकेको छ यधापी कसैको मृत्यु भने भएको छैन तर हुँदैन भन्न पनि सकिन्न। काठमाडौंमा डेंगु देखिने सम्भावना शुक्रराज ट्रपिकल अस्पतालका डा. अनुप बास्तोलाको अनुसार काठमाडौं पनि डेंगु देखिने सम्भावना बढी भएको बताउँछन्। काठमाडौंमा एजिप्टाई जातको पोथी लामखुट्टे भएको र यसले बिशेष गरेर बर्षायाममा फुल पार्ने र त्यो फुल बनिसकेपछी संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने सम्भावना भएको बताउँछन्। यधापी अहिलेकोबर्ष भने डेंगुका त्यस्तो बिरामो नआएको उनको दाबी छ। उनी भन्छन्,’हामीसँग भेक्टर छ र भेक्टरको गतिविधीले अहिल्को मौसममा डेंगु लाग्ने सम्भावना कति छ भन्ने कुरा बताउँछ र अहिलेसम्म त्यस्तो केही पनि देखिएको छैन। तापक्रमको हिसाबले हेर्ने हो भने काठमाडौंको हालको तापक्रम २८ देखी ३२ डिग्री सेल्सियस भित्र रहेको छ। यो तापक्रम एक लाम्खुट्टेको लागि एकदमै राम्रो व्रिद्दिबिकास हुने अवस्था हो।’ ‘यधापी अहिले सम्मको लागि काठमाडौंमा भने डेंगुको माहामारी हुने अवस्था भने छैन तर भबिस्यामा नहोला भन्न सकिन्न।’ डेंगुको यस बर्ष र पछील्लो बर्षको अवस्था ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको असार २ गतेको डाटाको अनुसार ६०४ जना डेंगुको बिरामी धरान, सुनसरी, मोरङ र ईटहरीमा पाईएको थियो जसमा धरानको बिपी कोइराला मेमोरियल अस्पतालबाट ५०५ जना मानिसमा डेंगु पोजिटिभ देखिएको थियो। त्यसमा पनि डेंगु लागेका मुख्य मानिसहरु धरान उपमहानगरपालिकाको वडा नं ८ र १५ का रहेका छन्। पछिल्लो बर्ष धरानमा ८ जना डेंगुका बिरामी देखिएका थिए। महाशाखाको अनुसार २०७५ सालमा काठमाडौंको ठुलोभर्याङबाट १६ जना डेंगुका बिरामी भेट्टाईएको थियो। २०७४ मा भने यो १ जना मानिसमा मात्र देखिएको थियो। कुन समयमा लामखुट्टे बढी सकृय हुन्छन्? लामखुट्टेहरु बिशेष गरेर दिउँसोको समयमा सकृया हुन्छन्। अझै दसैंको समयमा यो बढी सकृया हुने गर्दछ। उक्त समयमा लामखुट्टेको अण्डाहरु पानीसँग बगेर ठाउँठाउमा पुग्ने, मानिसहरु अत्याधिक आवतजावत गर्ने समय भएको कारण मानिसहरुबाट सर्ने गर्दछ। कसरी लाग्छ डेंगु ? कुनै पनि क्षेत्रमा डेंगु देखिनको लागि उक्त क्षेत्रमा संक्रमित लामखुट्टे हुन जरुरी छ। जब ति संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण बच्चामा सर्न गई मानिसलाई टोकेको खण्डमा सर्न जान्छ। । साथै यदी कोही संक्रमित मानिस आवातजावत गर्छ र उसलाई आवतजावतको क्रममा कुनै लामखुट्टेले टोकेको अवस्थामा उक्त लामखुट्टे संक्रमित भई अन्तत अन्य लामखुट्टेमा उनको संक्रमण सर्न जान्छ। एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ । यो प्रजातिका लामखुट्टेले मुख्यत सफा जमेको पानिमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ, जुन अरु प्रजातीका लामखुट्टेमा पाइदैन। लक्षण डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । – असाध्यै टाउको दुख्ने – आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने – ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने – शरीरमा विमिरा आउने – वाकवाकी लाग्ने – पेट दुख्ने – नाक वा गिजाबाट रगत बग्ने – रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । कसरी बच्ने ? – पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्ने – ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बगाउने। यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याई नियन्त्रण गर्न सजिलो बनाउँछ। – जुनै समयमा पनि सुत्दा अनिवार्य झुल प्रयोग गर्ने, बजारमा अहिले झुलमा पर्नेबितिकै लामखुट्टे मर्ने झुल पाइन्छ, यसको प्रयोग गर्ने – घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्न – लामखुट्टेको टोकाइबाट बच्न पाइने क्रिमको प्रयोग गर्ने, सुत्ने वेलामा जिउमा क्रिम लगाएर बिहान नुहाउने – घर बाहिर जाँदा लामो बाहुला भएको कपडाको प्रयोग गर्ने ( सरुवा रोग बिशेषज्ञ अनुप बास्तोलासँगको कुराकानीमा आधारित )
अमेरिकामा पूर्व गृह राज्यमन्त्री बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि
काठमाडौं । योग, ध्यान र यज्ञका माध्यमबाट राष्ट्र एवं विश्व शान्तिका लागि महत्वपूर्ण योगदान दिएको भन्दै अमेरिकाको आयोवामा रहेको महर्षि व्यवस्थापन विश्वविद्यालयले पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको छ । नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गरेका बाँस्कोटा पछिल्लो समय पार्टी गतिविधि भन्दा वैदिक ज्ञानको प्रचारप्रसारमा सक्रिय भए । दुई दशक अघिदेखि नेपाल महर्षि वैदिक फाउण्डेसन नामक संस्था स्थापना गरी वैदिक नेपाल बनाउने अभियानमा क्रियाशील भएका छन् । महर्षि महेश योगी शुरु गरेका विश्वव्यापी रुपमा वैदिक ज्ञान प्रसारको अभियानमा फाउण्डेसन सक्रिय हुँदै आएको छ । यस अभियान अन्तर्गत हाल देशका ७५ वटा वैदिक गुरुकुलमा राष्ट्र एवं विश्व शान्तिको सङ्कल्पले योग, भावातित ध्यान, सिद्धिसहित रुद्राभिषेक भइरहेको छ । विगत पाँच वर्षदेखि गुरुकुलमा यो अनुष्ठान भइरहेको छ । यसअघि शान्ति प्रक्रियाको सफलतासहित दिगो राष्ट्र एवं विश्व शान्तिको कामना गर्दै काठमाडौँको बाँसबारी र पशुपतिस्थित विश्वरुप मन्दिरमा पनि वैदिक रुद्राभिषेक गरिएको थियो । राष्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्षसमेत रहेका बाँस्कोटा अर्गानिक खेतीमा समेत संलग्न छन् । आयुर्वेदलगायत वैदिक कृषि, वास्तु लगायतको प्रवद्र्धनमा समेत उनले महत्वपूर्ण काम गरेको फाउण्डेसनले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएका महर्षि महेश योगीका चेलाले नेपालमा वैदिक ज्ञानको प्रचारप्रसारका लागि सहयोग गर्दै आएका छन् । ऋग्वेदबाट आएको भावातित ध्यानका प्रणेता महर्षि महेश योगीले विसं २०३१ मा नेपाल भ्रमण गर्दा नेपालले वैदिक ज्ञान प्रसारमा विश्वको नेतृत्व गर्नसक्ने प्रवचन टुँडिखेलमा गरेका थिए । हिमालयको देश नेपालमा प्राचीन कालमा ऋषिमुनिले ध्यान साधनाका माध्यमबाट वेदका मन्त्र देखेकाले गुरु देशका रुपमा विकास गर्न वैदिक ज्ञानको विस्तार गरिनुपर्ने महेश योगीको जोड थियो । महेश योगीको श्रव्यदृश्य सामग्रीबाट प्रभावित भई उनका चेलाको ध्यान हाल नेपालमा केन्द्रित भएको फाउण्डेसनले जनाएको छ । सम्मानार्थ विद्यावारिधि उपाधि पाएपछि रासससँग कुरा गर्दै अध्यक्ष बाँस्कोटाले यो सम्मान समग्र नेपालको वैदिक अभियानका लागि भएको प्रतिक्रिया दिएका छन् । नेपालमा निकट भविष्यमै वैदिक कृषि, वैदिक स्वास्थ्य, वैदिक आवास, चेतनामा आधारित शिक्षालगायत कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए । हाल एक दर्जन विद्यालयमा भावातित ध्यानसहितको चेतनामा आधारित शिक्षा लागू भएको छ । रासस