के तपाई वर्षभरी नपढेर परीक्षाको समयमा मात्र पढ्नु हुन्छ ? पास हुन अपनाउनुस् यी टिप्स

काठमाडौं। दैनिक १२ -१४ घण्टा पढ्नु स्वास्थ्यको लागि एकदम हानिकारक हुन्छ तर पनि हामी परीक्षाको केही दिन अगाडि सबै कोर्स सिद्दाउनलाई आफुलाई प्रेसर दिँदै लामो समय पढिरहेका हुन्छौं। वर्षभरी आफ्नो पाठ्यक्रमका किताबहरु नपढ्नेहरुको लागि परीक्षा भयानक सपना जस्तो हो। वर्षभरी किताब नपल्टाउने मानिसहरु धेरै हुने गर्छन् र उनीहरु परिक्षाको समय नजिकिँदै गर्दा म्यारथनमा भागे जसरी पढ्न शुरु गर्छन्। यहाँ केही टिप्स तथा सुझावहरू छन् जुन परीक्षाको केही हप्ता अगाडि मात्र आफ्नो किताब खोल्नेहरूलाई उपयुक्त हुनेछ। जसले तपाईंको लामो अध्ययन सत्रहरू सबैभन्दा प्रभावकारी बनाउन सक्छ र तपाईको ध्यान केन्द्रित गर्न मद्दत गर्दछ : १. एक पटकमा ठिक्क मात्रामा मात्र पढ्नुहोस् एकैपटक धेरै मात्रामा पढ्नु भन्दा थोरै थोरै गरेर परीक्षाको लागि तयार गर्नु एकदम प्रभावकारी हुने गर्दछ। यदि तपाईले आफुले पढ्न नभ्याएका पाठहरु हतार हतार गरेर पढ्नु हुन्छ भने तपाईले त्यो थोरै मात्र बुझ्नु हुनेछ जसकारण तपाईलाई परिक्षामा लेख्न समस्या हुने गर्दछ। २. लगातार २ घण्टाभन्दा धेरै नपढ्नुहोस् यदी तपाई लगातार पढ्नुहुन्छ भने २ घण्टा मात्र पढ्नु होस्। २ घण्टाको समयलाई पनि २५-२५ मिनेटमा विभाजन गरी हरेकमा ५ मिनेटको ब्रेक लिनुहोस्। यसरी ब्रेक लिएर पढ्दा तपाईले पढेको कुरा राम्रोसँग सम्झन सक्नु हुनेछ। ३. ‘ब्रेक’ लिएको समयमा परिक्षाको बारेमा नसोच्नु होस् जब तपाई ‘ब्रेक’ मा हुनुहुन्छ, तपाईले आफ्नो दिमाग र मनलाई कुनै पनि परीक्षा सम्बन्धी विचार वा तनावबाट मुक्त राख्नुपर्छ । यदि तपाई ब्रेकको समयमा पनि साथीहरूसँग पढाईको छलफल गर्न वा अध्ययनको योजना गर्नुहुन्छ भने तपाईले आफ्नो दिमागलाई ब्रेक दिनुभएको छैन। यदि तपाईले आफ्नो दिमागलाई ब्रेक दिनु हुँदैन भने तपाईको अध्ययनको अर्को चरण प्रभावकारी हुने छैन। ४. अध्ययन सामाग्रीलाई विभाजन गरेर पढ्नुहोस् पढ्नु पर्ने विषयलाई दुई भागमा विभाजन गर्न सकिन्छ : मुल विषय र विस्तृत बिषय। मुल बिषयमा सिद्दान्त, सूत्रहरू, महत्वपूर्ण रेखाचित्रहरू र ग्राफहरू हुन्छन् भने विस्तृत बिषयमा उदाहरण, कसैको भनाईहरु उल्लेख हुन्छन्। परीक्षामा सोधिएको प्रश्नहरूको लगभग ८० प्रतिशत मुख्य सामाग्रीबाट आउँदछ। यसैले, यदि तपाईं अधूरो पाठ्यक्रम को साथ संघर्ष गर्दै हुनुहुन्छ भने, विभिन्न विषयहरु को मुख्य सामाग्रीमा ध्यान दिनुहोस्। यसबाहेक, पछिल्लो केहि वर्षको सोधिएको प्रश्नहरुको अध्ययन गर्नुहोस् र परीक्षामा धेरै सोधिएका प्रश्नहरुलाई धेरै समय दिनुहोस्। ५. तालिका बनाएर पढ्नुहोस् जहिले पनि कुन बेला के पढ्ने कुन बिषय पढ्ने तालिका बनाउनुहोस्। तालिकामा सबैभन्दा महत्वपूर्ण विषयको लागि धेरै समय छुट्टाउनुहोस् अनि सजिलो बिषयको लागि कम समय छुट्टाउनुहोस्। यसरी तालिका बनाएर पढ्दा तपाईको समयको सही सदुपयोग हुन्छ र तपाईंले पढ्नुपर्ने महत्वपूर्ण विषयलाई पनि पर्याप्त समय मिल्दछ। ६. लेख्ने बानी गर्नुहोस् महत्वपूर्ण अंशहरू हाइलाइट गर्नाले धेरै मद्दत पुर्याउँछ तर जब तपाई कुनै पेपर वा नोटबुकमा पढ्नु भएको महत्वपूर्णकुराहरु लेख्नुहुन्छ भने यसले तपाईलाई बिषयको बारेमा अझ बढि सम्झन मद्दत गर्दछ। ७. स्मरणको लागि तपाईको चार्टहरु भित्तामा टाँस्नुहोस् तपाईंको कोठाको भित्ता वा दराजको ढोकामा मितिहरू, सूत्रहरू, महत्वपूर्ण विषयको बारेमा चार्ट पेपरमा लेखेर टाँस्नुहोस्। आफ्नो आँखाको अगाडी अध्ययन सामाग्री राख्ने हो भने तपाईलाई यसले अझै सजिलै सिक्न मद्दत गर्नेछ। ८. पढेको कुरा २४ घण्टा भित्र दोर्हाएर पढ्ने बानी गर्नुहोस् यदी तपाई परिक्षाको अगाडी नपढिएका बिषय पढ्दै हुनुहुन्छ २४ घण्टामा दोर्हाएर पढ्नुहोस्। विज्ञान भन्छ, यदी तपाईले पढेको कुरा २४ घण्टा भित्र एकपटक दोर्हाएर पढ्नु हुँदैन भने तपाईले पढ्नुभएकाे ८० प्रतिशत बेकार भएर जान्छ। ९. पढेको कुरा सम्झनलाई राम्रोसँग सुत्नुहोस् धेरै विद्यार्थीहरु पढेको कुरा सम्झनलाई रातभर बसेर दोर्हाएर पढ्ने गर्छन् तर यो एकदमै गलत तरिका हो। पर्याप्त निन्द्रा यस्तो चिज हो जसले तपाईको छोटो समयको सम्झनालाई लामो समयमा परिवर्तन गर्न मद्त गर्दछ। त्यसैले आफुले पढेको कुरा ताजा राख्नलाई ७-८ घण्टा सुत्नुहोस्।

दिउँसो खानेबित्तिकै निन्द्रा लाग्छ ? यस्ता छन् कारण, यसरी बच्नुहोस्

काठमाडौं। केही खानेकुरा र खाना खाने समय नमिल्दा मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने,  थकान महसुस हुने गर्दछ। अनुसन्धानकर्ताहरुको अनुसार खाना पछि थकान लाग्नुको कारण बारेमा विभिन्न सिद्धान्तहरू छन् तर उनीहरु यो एक प्राकृतिक प्रतिकृया हो र यो खासै चिन्ता लिनुपर्ने बिषय नभएको बताउँछन्। मानिसहरुले के खायो , कुन समयमा खायो र कति खायो भन्ने कुराले उसले कस्तो महसुस गर्छ भन्ने कुरालाई निर्धारण गर्दछ। कस्तो खानेकुराले बढी निन्द्रा लाग्ने तथा थकान महसुस हुने गर्दछ ? प्रोटिन र कार्बोहाईड्रेट बढी मात्रामा भएका खानेकुराले तपाईंलाई अन्य खानेकुराको दाँजोमा बढी निन्द्रा लाग्ने गर्दछ। केही अनुसन्धानकर्ताहरुको अनुसार शरीरमा सेरोटोरिन भन्ने हार्मोनको बढी उत्पादन हुने कारणले गर्दा पनि मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ। सेरोटोरिन यस्तो हार्मोन हो जसले तपाईको मुड र निन्द्रा चक्रलाई निर्धारण गर्ने गर्दछ। धेरै प्रोटिन भएको खानेकुरामा पाईने ट्राइटोपफ्यान भन्ने एक एमिनो एसिडले शरीरमा सेरोटोरिन उत्पादन गर्न मद्दत गर्दछ। यस कारणले कार्बोहाईड्रेट र प्रोटिन युक्त खानेकुरा खाएपछी निन्द्रा, अल्छि र थकित महसुस हुने गर्दछ। ट्राइटोपफ्यान यि खानेकुरामा पाईने गर्दछ : – अण्डा, दुध, पालकको साग, पनिर , कुखराको मासु – पास्ता, सेतो भात, सेतो पाउरोटी, केक, कुकीज, डोनट, चिनी खाना पछि निन्द्रा लाग्नुको अर्को कारण -राती राम्रोसँग नसुत्दा पनि मानिसलाई दिनभर थकान महसुस हुने गर्दछ। -खानेकुरासँग माधकपदार्थ सेवन गर्नाले पनि खानापछि निन्द्रा लाग्ने गर्दछ। कसरी खाना खाएपछि लाग्ने अल्छि भगाउने ? १। थोरै मात्रामा र समय समयमा खाईरहने एकैपटक धेरै खानुभन्दा पनि एक दुई घण्टाको अवधीमा थोरै थोरै खाने हो भने त्यसले शरीरलाई पर्याप्त चाहिने उर्जा प्रदान गर्दछ। २। रातीको समयमा राम्रोसँग सुत्ने राम्रोसँग निन्द्रा पुर्याएका मानिसहरु दिउँसोको समयमा खाना खाएपछि अल्छि लाग्ने निन्द्रा लाग्ने समस्याबाट टाढै रहन्छन्। ३। केही समय हिंड्नुहोस् दिउँसोको समयमा व्यायमको रुपमा केही समय हिंड्ने हो भने पनि त्यसले तपाईलाई दिउँसो निन्द्रा लाग्ने समस्या कम गर्दछ। ४। दिउँसोको समय छोटो समय सुत्नुहोस्

रवीन्द्र अधिकारी पत्नी विद्याले ‘शुभयात्रा नभनेको त्यो दिन’

चिप्लेढुङ्गा । “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्छिन् । “जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही कुरा आइरहन्छ”, उहाँलाई आत्मग्लानि छ । उनले परिस्थितिलाई स्वीकार्नुको विकल्प नभएको बताउँदै आफू आघातमा परेको स्पष्ट गरिन् । राजनीतिक व्यक्तित्व भएकाले आफूलाई उनले समय नदिएको भन्ने गुनासो नरहेको र दुवै जना काममा भएकाले आफूहरुबीच एक प्रकारको उच्च समझदारी भएको बताउँदै कुनै बेलाकी विद्यार्थी नेत्री विद्याले भनिन्, “एक अर्काप्रतिको सम्मान र माया थियो । श्रीमान र श्रीमती भन्दै जुनसुकै बेला पनि हामी कुरा शेयर गर्दैनथ्यौँ । एक अर्काका अवस्था र अनुहारलाई पढेर आफ्नो कुरा राख्ने गथ्र्यौँ । अन्तिम समयसम्म उहाँले मलाई तपाईँ नै भनेर सम्बोधन गर्नुभयो । मन्त्री भएपछि मात्रै उहाँसँग अलि बढी सँगै बस्ने अवसर मिलेको थियो ।” जीवनमा पहिलो पल्ट आफूलाई एकदम नराम्रो लागेको वाइड बडी जहाज काण्ड भन्दै विद्याले धेरैपछि आफूले सो विषयमा सोध्दा उहाँले भन्नुभएको थियो, “सिष्टमबाट अन्तिम किस्ता गयो, नगएको भए जहाज आउँदैनथ्यो । मेरो कुनै संलग्नता छैन विद्या । चिन्ता लिनुपर्दैन । यो सबै वायुसेवा निगमलाई डुबाउने खेल हो । निजी कम्पनीहरुबाट यो खेल शुरु भएको छ । मलाई सिध्याउने खेल हो तर म जिरोबाट पनि आउन सक्छु । यो सबै राजनीतिका लागि बनाइएको एजेण्डा हो । म गलत छैन ।” आफू जुन कुरामा खुशी हुन सकिन्छ त्यसमा रमाउनुपर्छ भन्ने मान्यता राख्ने अधिकारीले आफूलाई कुनै पनि कुरामा दवाव नदिएको र आफू अब्बल हुनुपर्छ भन्ने मान्यता राखेको विद्याले बताइन् । “राजनीतिमा महिलाको आगमन र अस्तित्वलाई अझै पनि सहज स्वीकारेको पाइँदैन । अहिले म पीडामा नै छु, राजनीतिमा जाने नजाने बारे सोच बनाएकी छैन तर उहाँको सपना पूरा गर्ने दायित्वबाट म अलग हुन मिल्दैन ।” त्यो कविता र स्वर मेरो होइन सामाजिक सञ्जालभरि घटना भएको केही घण्टाभित्रै अधिकारीकी श्रीमती विद्याको मन रुवाउने कविता भनेर सार्वजनिक गरिएको भिडियोप्रति भट्टराईले आपत्ति जनाएकी छिन् । “घटना भएको केही घण्टामा नै मेरो नामको कविता र स्वर भन्दै युट्युब र सामाजिक सञ्जालमा राखिएको रहेछ । त्यति छिटो त्यो अवस्थामा म कसरी कविता लेखेर वाचन गर्न सक्छु ? धेरैले मैले नै हो भनेर सोच्नुभएको रहेछ । भेट्न आउनेले पनि सोध्नुभयो । मप्रति सहानुभूति राखेर पीडाको व्यापार जसले गर्नुभयो, त्यो राम्रो भएन । यसले मलाई झनै दुःखी बनाएको छ । यसले भ्रम छर्ने काम भएको छ । को हो त्यो पत्ता लगाउने प्रयास भैरहेको छ”, उनले भनिन् ।