जब मृत्युलाई जितेर हस्तकलामा रमाएँ !

काठमाडाैं । धेरैले भन्छन् जीवन सुख र दुःखको सम्मिश्रण हो, संघर्ष हो अनि पानीको दह जस्तै हो जिन्दगी । जहाँ अनेकौं पिर, व्यथा, हाँसो, रोदन र उकाली–ओरालीको संगम हुन्छ । यी विविध आरोह–अवरोह र चुनौतीहरुसँग लडिवुडी गर्दै मान्छे अगाडि बढिरहन्छ । चाहे ऊ दुःखमा होस् वा सुखमा बाँच्ने चेष्टा गर्छ । कतिले जीवन आफुले सोचेजस्तो भएन भनेर भगवानलाई सराप्छन् त कतिपयले भाग्यलाई । खाइलाग्दो ज्यान, चलायमान हातखुट्टा राम्ररी देख्न–सुन्न सक्ने मान्छे । प्रष्ट भनौं एउटा शारीरिक तन्दुरुस्त मान्छेले भगवान र आफ्नो भाग्यमा भर पर्नु उचित होला र ? हो हामी त्यही मान्छे भाग्यको भरमा चलिरहेका हुन्छौं । एकछिन सोचौं त जसको हिँडडुल गर्ने खुट्टा नै चल्दैन उसले के सोच्छ होला ? उसको दैनिकी कसरी चल्छ होला ? उसले जीवनलाई कसरी बुझ्छ होला ? १८ वर्षको उमेर । सायद यो उमेरमा सबैलाई बैँसको उन्माद हुन्छ । धेरैले सोच्छन् पनि सायद मलाई कहिल्यै कुनै दु.ख पनि पर्दैन । धादिङका विष्णु पुकार श्रेष्ठले पनि यस्तै सोचेका थिए १८ वर्षको उमेरमा । खाइलाग्दो ज्यान, सहयोगी भावना, छिमेकी र साथीहरुले सहयोग भनेपछि अगाडि लागि हाल्ने । भन्छन् नि ‘राम्रो मान्छे दैवको पनि प्यारो हुन्छ रे ।’ त्यहि खाइलाग्दो १८ वर्षको उमेरमा विष्णुको जीवनमा ठूलो बज्रपात आइलाग्यो । ‘छिमेकीको घरमा प्लास्टर गर्ने काम भइरहेको थियो, सहयोग भनेपछि म हुरुक्कै हुने, म पनि काममा सघाउन गइहालेँ । काम अलि हतारिएर गर्ने मेरो बानी ।’ गहभरी आँसु निकाल्दै विष्णु भन्छन्, चारतलाको त्यो घरबाट म खसेछु, मैले थाहै पाइनँ । म बेहोस थिएँ । साथीहरुले वीर अस्पतालमा लिएर आएछन् । एकदिन पछि मेरो होस आयो । दुबै खुट्टाले काम गर्न छोडि सकेका थिए । मलाई यो सब सपनाझैँ लाग्यो ।’ उनले भने । गहभरी थुपारिएका आँसु तप्प चुहाउँदै विष्णुले भने, ‘मेरो मेरुदण्ड भाँचिएछ ।’ डाक्टरले विस्तारै ठीक भइहाल्छ भनेका थिए । त्यति सम्म कि पहिले जस्तै खुट्टा पाउने आशा थियो । पहिलेको जसरी नै हिड्ने, साथीसंगीलाई सहयोग गर्ने उनकाे आश कायमै थियो ।’ तर एक वर्षसम्म अस्पताल बस्दा पनि उनको खुट्टा ठीक भएन । उपचारमै १२ लाख रुपैयाँ सकियो । अब त उनको आशा पनि मर्यो । अन्तिममा केही नलागे पछि पहिलेको जस्तै खुट्टा पाउने आश मार्दै धादिङ फर्केर गए, उनले सुनाए । उनको त्यतिखेर दैनिकी एकदमै कष्टकर रह्यो । उनी भन्छन्, ‘एक मनले भन्थ्यो बाँच्नु धिक्कार छ, अर्को मनले भन्थ्यो केही गरेर देखाउनु पर्छ, म मेरो जीवनको घनचक्करमा थिएँ ।’ दुई वर्ष जसोतसो धादिङमै कटाएर पछि फेरी काठमाडौं आएको उनी बताउँछन् । काठमाडौंमा आएपछि बीआईएमा उनको घरमा आमाबुवा र ३ दिदिबहिनी छन् । धादिङबाट काठमाडौं आएसँगै विष्णु बीआए फाउण्डेसनमा भर्ना भए । जब उनी बीआईए फाउण्डेसनमा पुगे उनले देखेको र भोगेको संसार भन्दा त्यहाँकाे वातावरण अलि पृथक पाए । किनकी उनी जस्तै अपाङ्गता भएका मानिसहरु त्यहाँ धेरै थिए जसले उनलाई म मात्र अपाङ्ग रहेनछु भन्ने बोध गरायो । म जस्ता धेरै रहेछन् भनेर मैले चित्त बुझाएँ । उनले भने । बीआईए फाउण्डेसनले जीवनदेखि हार खाएका, आफ्नो जीवन बेकार ठानेका र आफ्नै घरमा हेपिएर बसेका, काम नलाग्ने भनेर बसेकाहरुका लागि स्थापना भएको संस्था हो । हुन पनि बीआइए फाउण्डेसनमा अहिले विभिन्न किसिमका अपाङ्गता भएका पुरुष र महिलाहरु छन् ।  हाल फाउण्डेसनले त्यस्ता व्यक्तिलाई उनीहरु अनुसारको सिपमूलक काम सिकाउँदै आएको छ । सिप सिकाएर प्रमाणपत्र मात्र होइन उनीहरुलाई स्वावलम्वी बनाउने काम गरिरहेको छ । उनीहरुले आफ्नो सिप अनुसार पकेट खर्चदेखि मासिक पारिश्रमिक पनि पाउने गरेका छन् । त्यहाँ पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका अपाङ्गता भएका व्यक्ति छन् । ह्विल चेयर म्याराथुनमा तृतिय खेलकुदप्रतिको उनको लगाव सानै देखिको हो । सानैदेखि खेल खेल्न मन पराउने उनी जब शारीरिक रुपमा अशक्त भए तब उनको खेल खेल्ने चाहना अधुरै रह्यो । हुनत खाने मुखलाई जुँगाले  छेक्दैन भनेझैं उनले आफ्नो खेल खेल्ने सपना भने त्यसै मर्न दिएनन् । गत वर्ष फागुनमा बीआइए फाउण्डेसनले आयोजना गरेको तेस्रो ह्विल चेयर म्याराथुन प्रतियोगितामा उनी तेस्रो भए । २०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा विष्णु तृतिय भएका थिए । उनी भन्छन्, अहिले पनि सक्ने जति प्रतियोगिताकमा सहभागिता जनाउँदै आएको छु । धेरै पढेर  ठूलो मान्छे बन्ने सपना सबैको हुन्छ । त्यस्तै सपना उनले पनि बुनेका थिए । तर अशक्त भएकै कारण उनकाे कक्षा १० सम्ममा नै शैक्षिक योग्यता स्थगन हुन पुग्यो । बास्केट, क्रिकेट र स्विमिङ उनको फेवरेट खेल हुन् । राम्रो खेलाडी बनेर सेनामा जागिर खाने उनको इच्छा इच्छामै सीमित रह्यो ।  सेना बनेर देशको सेवा गर्ने मेरो सपना अधुरै रहेको उनी गुनासो गर्छन् । कोरेका चित्र विदेशमा निर्यात हाल उनी २७ वर्षका भए । अहिले बिआईएमा नै बसेर विभिन्न प्रकारका चित्रहरु कोर्ने काम गरिरहेका छन् । उनले विभिन्न प्रकारका चित्र थान्का पेन्टिङ गरेको पनि ६/७ वर्ष भइसकेको छ । उनीसँगै बीआईएमा धेरै साथीहरु बस्दै आएका छन् । उनी अहिले स्पाइनल (मेरुदण्ड)को समस्याले ग्रसित छन् । उनीहरुले कारेका चित्रहरु प्रायजसो विदेशमा निर्यात हुने गरेका छन् । उनले हालसम्म ५०/६० पेन्टिङ गरिसकेका छन् । विदेशीहरुले एउटा पेन्टिङको ५/६ लाख रुपैयाँ सम्म दिने गरेको उनी बताउँछन् । तर बेचेको चित्रको पैसा बीआईएले नै राख्ने गरेको छ । जसले गर्दा उनीहरुको पालनपोषणका लागि कसैसँग माग्नु नपरेको फाउण्डेसनले बताएको छ । उनले हालसम्म विभिन्न व्यक्तिका पेन्टिङ, बुद्धको चित्र तारा लगायत विभिन्न चित्रहरु कारेका छन् । पेन्टिङका लागि पेपर कलर, ब्रस लगायत सामानहरु चाहिने उनी बताउँछन् । एउटा राम्रो चित्र कोर्न ४/५ महिना सम्म पनि लाग्ने गरेको छ । उनी हाल फाउण्डेसनमानै बसेर थान्का पेन्टिङ सिक्दै र कोर्दै आएका छन् । जीवन सकियो भन्ने लागेको थियो उनी भन्छन्,‘अहिले पहिले जस्तो बोर लाग्दैन, चित्र कोर्नमै व्यस्त हुन्छु । अब त खुसी नै छु ।’ अहिले उनी जीन्दगी खुसीका साथ बाँच्ने अठोट गर्छन् । अहिले ह्विल चेयर नै उनकाे सारथी बनेकाे छ ।

१५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली, ठूला सवारी चक्रपथभित्र निषेध, टुडिखेलमा पार्किङ खुला

काठमाडौँ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। सार्वजनिक र निजी दुबै सवारी साधनका लागि यो नियम लागू हुने ट्राफिक प्रहरीले जनाएकाे छ । ट्राफिक प्रहरीका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन्। उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न पाउने छैनन्। यस्तै, २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चल्नेछन्। सरकारी, अत्यावश्यक सेवा, खेलसँग आवद्ध र सञ्चारकर्मीका सवारी साधन वाहेक अन्य सम्पूर्ण सवारी साधनले खेल उद्घाटन मंसिर १५ गतेका दिन विजोर नम्वर प्लेटरसमापन मंसिर २४ गतेका दिन जोर नम्वर प्लेटका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुराेध गरेकाे छ । प्रहरी महाशाखाले २०७६ मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्म ठूला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश निषेध गरेकाे छ ।  दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न पनि प्रहरीले अनुराेध गरेकाे छ । पुराना र अवस्था ठिक नभएका सवारी साधनहरू नचलाउन,  खेल हेर्न आउने सम्पूर्ण सर्वसाधारणहरूको पार्किङ्ग स्थल काठमाडौँ मल अगाडी टुँडिखेलमा तोकिएकोले सोही ठाउँमा पार्किङ्ग गर्न,  हर्न बजाउन पूर्ण रूपले निषेध गर्न निर्देशन दिएकाे छ ।

कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बोटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो अटेर गर्छन् । सुन्धाराथिस्त नेपाली सेनाको अफिसर्स क्लब अगाडिबाट गाडीको कुनै परवाह नगरी बुधबार दिउँसो केही व्यक्तिले बाटो काटे । जेब्राक्रसिङ नभएपनि नागबेली झैँ गाडी छल्दै बाटो काट्नेमा नेपाली सेनासमेत सहभागी भए । सिंहदरबारको मुल गेट नजिक गाडी चल्दाचल्दै एक युवाले जोखिम मोलेरै जेब्राक्रसिङबाट गए । उनको देखासिकीमा पछि लागेका दुई युवालाई ट्राफिक प्रहरीले रोक्यो । उनीहरु प्रहरीसँग भनाभनमा लागे । “ती दाई गए अनि मिल्ने रहेछ भनेर हामी पनि गएको”, प्रहरीसँग उनले भने । त्यही ठाउँमा बाटो काट्न पर्खिरहेका एक हुल मानिसबारे उनीहरुले ख्यालै गरेनन् । बुधबार विहान ११ बजेको समयमा यहाँको सुन्धारा, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, रत्नपार्कलगायत क्षेत्रमा घुम्दा स्वयंसेवकहरु ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सघाइरहेका देखिए । उनीहरुलाई अटेर गरेर कतिपय नियम उल्लङ्घनमा लागेको पनि देखियो । तर जहाँजहाँ स्वयंसेवक छन्, त्यहाँत्यहाँको अवस्था भने ट्राफिक नियम पालनामा निक्कै प्रभावकारी भेटियो । स्वयंसेवकहरुका अनुसार बटुवाहरु कानुन मान्नै चाहँदैनन् । हतारोले जहाँ पायो त्यहाँबाट बाटो काट्न आतुर हुन्छन् । गाडीको कुनै मतबल गर्दैन । गुडिरहेको गाडीको अन्तरबाट बाटो काट्छन् । जुन दुर्घटनाको कारक बन्न पुग्छ । “जेब्राक्रसिङ हाम्रो हो, जतिखेर पनि बाटो काट्न पाउनुपर्छ भन्ने सोच हुँदोरहेछ, त्यही बाटोमा गाडी पनि गुड्छ भन्ने जान्दाजान्दै हतार गर्दा रहेछन्”, पुतलीसडकमा स्वयंसेवक खटिएकी समिक्षा पुन मगरलेले भने । सात दिनको समयमा ट्राफिक नियमबारे उनलाई पनि धेरै सिक्ने मौका मिलेको छ । अर्की स्वयंसेवक सुमिना डङ्गोलले ट्राफिकको काम कति गाह्रो हुँदोरहेछ भनेर नजिकबाट महसुस गरिएको बताए । “घरी यता कुदद्नुपर्ने, घरी उता कुद्नुपर्ने, यात्रु, चालक, बटुवासँग विवाद नगरी सुखै नहुने, उभिएरै काम गरिरहनुपर्ने अझ त्यो धूलो, धुँवा, प्रदूषणले स्वास्थ्यमा कति समस्या होला, त्यसको लेखाजोखा छैन ।” उनले थपे । यात्रुहरुलाई पनि छिटो बाटो काट्नुपर्ने सवारी चालकलाई पनि छिटो जानुपर्ने कारण दुर्घटनाको ठूलो जोखिम छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न कलेजमा कानुन पढ्दै गरेका विद्यार्थीलाई सहभागी गराएर अहिले उपत्यकाको विभिन्न ३५ स्थानमा ३३५ ट्राफिक स्वयंसेवक खटाएको छ । विहान र बेलुकाको सवारी चाप हुने कार्यालय समयको तीन-तीन घण्टा स्वयंसेवक खटिन्छन् । न्यून जनशक्तिका कारण जहाँतहीँ ट्राफिक प्रहरी पुग्न सक्ने अवस्था नरहेकाले समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार युवा, विद्यार्थी र समुदायसँग सहकार्य थालिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । स्वयंसेवक अभियान प्रभावकारी देखिएकाले निरन्तरता दिने योजना बनाएको उनले जानकारी दिए । ट्राफिक प्रहरीको अभिलेखमा उपत्यकामा पछिल्लो चार महिनामा सवारीको ठक्करबाट २३ पैदलयात्रुको मृत्यु भएको छ । झण्डै ७०० घाइते भएका छन् । कतिपय घटना पैदलयात्रु कै कारण हुने भएपनि धेरै घटना भने चालकको लापरवाही देखिएको महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । नियम उल्लङ्घनदेखि बढी दुर्घटना सङ्ख्याका हिसाबले मोटरसाइकल छ । गत वर्ष चार हजार सवारी दुर्घटना मध्य तीन हजार ७०० दुर्घटना चालकको लापरवाही देखिन्छ । नियमानुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिन्छ । त्यसैले स्वयंसेवकलाई ट्राफिक नियमको पालनाका लागि खटाइएको छ । न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई स्वयंसेवकले ठुलो सहयोग गरिरहेका छन् । उनीहरु जेब्राक्रसिङबाट जथाभावी बाटो काट्न दिँदैनन् । पिक एण्ड ड्रपमा छिटो सवारी पठाउन खटिन्छन् । स्काईब्रिजको प्रयोग र लेन अनुसार सवारी चलाउन प्रोत्साहित गर्दै आएका छन् भने गाडीभित्र आरक्षण सिटको दुरुपयोग रोक्नसमेत खटिने गरेका छन् । यसअघि राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा पहिलो चरणको स्वयंसेवक खटिएका थिए । अहिले दोस्रो चरणमा कानुनका विद्यार्थी स्वयंसेवक भएर खटिएका छन् । अर्को चरणका लागि पद्मकन्या क्याम्पस, रोटरी क्लबसँग कुरा भइरहेको र त्यसपछि विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिने महाशाखाले जनाइएको छ । “यसरी खटिँदा उनीहरुले ट्राफिक प्रहरीको दुःख देख्ने हुँदा ट्राफिक नियममा गम्भिर हुन सिकाउँछ, घर र परिवारमा उनीहरुमार्फत सन्देश पुग्छ, उनीहरु आफैँ पनि सच्चिन्छन्”, महाशाखा प्रमुख ढकालले भने । स्वयंसेवक भएबापत् पाउने प्रमाणपत्र हरेक ठाउँमा प्राथमिकता हुने भन्दै ढकालले प्रहरीमा भर्ना हुनकै लागि पनि विशेष ग्राह्यता पाउने बताए । उनीहरुले कसरी काम गरेका छन्, समयमा आए की आएनन् भनेर फिल्डमा खटिएको ट्राफिक प्रहरी कमाण्डरले निगरानी गर्ने गर्छ । त्यसैको आधारमा स्वयंसेवकको मुल्याङ्कन हुन्छ । कानुनका विद्यार्थी भएकाले उनीहरु आफैंँले पनि अनुसन्धान गरेर एउटा प्रतिवेदन तयार पार्ने भएकाले नयाँ रणनीति बनाउनसहयोग पुग्ने विश्वास गरिएको छ । उपत्यकाको बढी सवारी चाप हुने ३५ स्थानमा स्वयंसेवक खटिएका छन् । यसपटक काठमाडौं स्कुल अफ ल, चक्रवर्ती अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका ३५५ विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा सहभागी छन् । ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरणअन्तर्गत पाँच सय युवा परिचालन गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले यसलाई देशव्यापी बनाउने योजना अघि सारेका छन् । रासस