शौचालय नै बन्यो ७२ वर्षीया वृद्धाको घर
मयुरभञ्ज, ओडिशा । भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन् । गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको शौचालयमा खाना पकाउने र सुत्ने गरेको जनाइएको छ । उनका नाति र छोरीलगायतका सम्पूर्ण परिवार सोही शौचालयको बाहिर खुल्ला आकाशमुनि नै बसोबास गर्ने गरेको बताइएको छ । यसअघि यस मुद्दालाई अख्तियारवाला समक्ष बोलाएर उनीहरूले उनको बासस्थान उपलब्ध गराउने आश्वासन दिएका थिए । अझै पनि घरको प्रतिक्षामा रहेको द्रौपदी बताउँछिन् । ‘मसँग घर बनाइदिने अधिकार छैन । सरकारले थप घर निर्माण गर्ने योजना ल्याएमा म उनलाई एउटा घर दिनेछु,’ गाउँका प्रमुख बुधुराम पुटीले एएनआईलाई बताए । मानवअधिकारवादी अधिवक्ता सत्य मोहन्तीले यस मुद्दामा क्षोभ व्यक्त गर्दै केन्द्रीय र ओडिशा सरकारलाई यस विषयलाई ध्यानपूर्वक विचार गर्न आग्रह गरे । रासस/एएनआई
विदेशी कपडामा शोखिन नेपाली, ४ महिनामै साढे १३ अर्बको आयात
काठमाडौं । तथ्यांक हेर्दा अचम्म लाग्न सक्छ । गरिब देशका धनी जनता, शोख पनि कस्ता कस्ता । चालु आवको ४ महिनामा साढे १३ अर्ब रुपैयाँभन्दा बढीको तयारी कपडा मात्रै लगाएछन् नेपालीले । यो तथ्यांक आयातित कपडाको मात्रै हो । देशभित्र उत्पादन भएका कपडाको यसमा मूल्य समावेश गरिएको छैन । चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको यो अवधिमा १३ अर्ब ६० करोड रुपैयाँको नेपालमा तयारी कपडा आयात भएकाे छ । नेपालीको आयमा आएको परिवर्तनसँगै यस्ता कपडा खरिदमा ८.४ प्रतिशतले वृद्धि भएको हाे । नेपालीको आयमा भएको वृद्धिसँगै उनीहरूको शोखमा पनि परिवर्तन आएको छ । सरकारी तथ्यांकले नेपालीको प्रतिव्यक्ति आय औसतमा १ लाख १८ हजार ८ सय ८३ रुपैयाँ अर्थात १ हजार ४७ डलर हो । औसतमा एक नेपालीले लाखभन्दा केहीमात्रै बढी रकम कमाएपनि खर्च भने ठूलो देखिएको छ । यो खर्च त मात्रै तयारी पोशाकको हो । यदि प्रतिमेगावाट १६ करोड रुपैयाँमा विद्युत उत्पादन हुने हो भने तयारीको पोशाकमा छोटो अवधिमा बाहिरिएको सो रकमबाट ८५ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । यी वाहेक हजारौ यस्तै वस्तु नेपालमा विदेशी बजारबाट भित्रने गरेका छन् । यसमा पनि ठूलो खर्च हुने गरेको छ । हाल नेपाली बजारमा चीनबाट सबैभन्दा बढी तयारी कपडा आयात हुने गरेको छ भने त्यसपछि थाइल्याण्ड, भारत, जापान, अमेरिकालगायतका देशबाट तयारी कपडा आयात हुने गरेका छन् । नेपाली तयारी पोशाक उद्योग धरापमा परेपछि विदेशी कपडाको आयात वर्षैपिच्छे बढ्दै गएको छ । डेढ दशक अघिसम्म नेपाली तयारी पोशाक विश्व बजारमा उत्कृष्ट मानिन्थ्याे । आयातित कपडाभन्दा नेपाली ब्राण्डका कपडाको बजार मूल्य महँगाे भएकोले सस्ता कपडा खोज्दा आयात बढी हुने नेपाल तयारी पोशाक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए । कुनै कपडा भने अत्यन्त महँगा पनि छन् । नेपालीले आफ्नो हैसियत अनुसार बजार रोज्नु पर्ने उनको भनाइ छ । यो वर्ष त नेपालमै पनि कपडा उत्पादन हुन थालेका छन, आयात त घट्नु पर्ने हो, उनले भने । ‘विदेशी कपडाको तुलनामा हामी अति महँगाे छौं,’ उनले भने ‘जबसम्म सरकारले नेपाली उत्पादनलाई सस्तो बनाउने योजना कार्यान्वयनमा ल्याउँदैन, तबसम्म नेपालबाट यसरी नै कपडामै ठूलो रकम बाहिरिरहन्छ । ‘हामी जस्ता पनि कपडा उत्पादन गर्न सक्छौ,’ तर आयातित कपडाको कारण बजारमा टिक्न सक्ने अवस्था छैन । कच्चा पदार्थ आयात गरेर कपडा उत्पादन गर्दा अन्य देशले उत्पादन गरेका कपडाको तुलनामा नेपाली कपडा महँगाे पर्न जान्छ । सरकारले चालु आवको बजेटमार्फत कपडा उद्योगका लागि भन्सार महशुल घटाउनुका साथै उद्योगले खपत गर्ने विद्युत महशुलमा समेत ५० प्रतिशत छुट दिएको छ । सरकारले यस्ता फजुल आयातलाई नरोक्दा व्यापार घाटा बढेको उनले बताए । सरकार राजस्वमुखी मात्रै भयो,’ अर्यालले भने ‘ आन्तरिक उत्पादनले मात्रै देशलाई दिगो रुपमा आम्दानी दिने हो । ’ सरकारले यो बुझ्न जरुरी छ । ’
जब मृत्युलाई जितेर हस्तकलामा रमाएँ !
काठमाडाैं । धेरैले भन्छन् जीवन सुख र दुःखको सम्मिश्रण हो, संघर्ष हो अनि पानीको दह जस्तै हो जिन्दगी । जहाँ अनेकौं पिर, व्यथा, हाँसो, रोदन र उकाली–ओरालीको संगम हुन्छ । यी विविध आरोह–अवरोह र चुनौतीहरुसँग लडिवुडी गर्दै मान्छे अगाडि बढिरहन्छ । चाहे ऊ दुःखमा होस् वा सुखमा बाँच्ने चेष्टा गर्छ । कतिले जीवन आफुले सोचेजस्तो भएन भनेर भगवानलाई सराप्छन् त कतिपयले भाग्यलाई । खाइलाग्दो ज्यान, चलायमान हातखुट्टा राम्ररी देख्न–सुन्न सक्ने मान्छे । प्रष्ट भनौं एउटा शारीरिक तन्दुरुस्त मान्छेले भगवान र आफ्नो भाग्यमा भर पर्नु उचित होला र ? हो हामी त्यही मान्छे भाग्यको भरमा चलिरहेका हुन्छौं । एकछिन सोचौं त जसको हिँडडुल गर्ने खुट्टा नै चल्दैन उसले के सोच्छ होला ? उसको दैनिकी कसरी चल्छ होला ? उसले जीवनलाई कसरी बुझ्छ होला ? १८ वर्षको उमेर । सायद यो उमेरमा सबैलाई बैँसको उन्माद हुन्छ । धेरैले सोच्छन् पनि सायद मलाई कहिल्यै कुनै दु.ख पनि पर्दैन । धादिङका विष्णु पुकार श्रेष्ठले पनि यस्तै सोचेका थिए १८ वर्षको उमेरमा । खाइलाग्दो ज्यान, सहयोगी भावना, छिमेकी र साथीहरुले सहयोग भनेपछि अगाडि लागि हाल्ने । भन्छन् नि ‘राम्रो मान्छे दैवको पनि प्यारो हुन्छ रे ।’ त्यहि खाइलाग्दो १८ वर्षको उमेरमा विष्णुको जीवनमा ठूलो बज्रपात आइलाग्यो । ‘छिमेकीको घरमा प्लास्टर गर्ने काम भइरहेको थियो, सहयोग भनेपछि म हुरुक्कै हुने, म पनि काममा सघाउन गइहालेँ । काम अलि हतारिएर गर्ने मेरो बानी ।’ गहभरी आँसु निकाल्दै विष्णु भन्छन्, चारतलाको त्यो घरबाट म खसेछु, मैले थाहै पाइनँ । म बेहोस थिएँ । साथीहरुले वीर अस्पतालमा लिएर आएछन् । एकदिन पछि मेरो होस आयो । दुबै खुट्टाले काम गर्न छोडि सकेका थिए । मलाई यो सब सपनाझैँ लाग्यो ।’ उनले भने । गहभरी थुपारिएका आँसु तप्प चुहाउँदै विष्णुले भने, ‘मेरो मेरुदण्ड भाँचिएछ ।’ डाक्टरले विस्तारै ठीक भइहाल्छ भनेका थिए । त्यति सम्म कि पहिले जस्तै खुट्टा पाउने आशा थियो । पहिलेको जसरी नै हिड्ने, साथीसंगीलाई सहयोग गर्ने उनकाे आश कायमै थियो ।’ तर एक वर्षसम्म अस्पताल बस्दा पनि उनको खुट्टा ठीक भएन । उपचारमै १२ लाख रुपैयाँ सकियो । अब त उनको आशा पनि मर्यो । अन्तिममा केही नलागे पछि पहिलेको जस्तै खुट्टा पाउने आश मार्दै धादिङ फर्केर गए, उनले सुनाए । उनको त्यतिखेर दैनिकी एकदमै कष्टकर रह्यो । उनी भन्छन्, ‘एक मनले भन्थ्यो बाँच्नु धिक्कार छ, अर्को मनले भन्थ्यो केही गरेर देखाउनु पर्छ, म मेरो जीवनको घनचक्करमा थिएँ ।’ दुई वर्ष जसोतसो धादिङमै कटाएर पछि फेरी काठमाडौं आएको उनी बताउँछन् । काठमाडौंमा आएपछि बीआईएमा उनको घरमा आमाबुवा र ३ दिदिबहिनी छन् । धादिङबाट काठमाडौं आएसँगै विष्णु बीआए फाउण्डेसनमा भर्ना भए । जब उनी बीआईए फाउण्डेसनमा पुगे उनले देखेको र भोगेको संसार भन्दा त्यहाँकाे वातावरण अलि पृथक पाए । किनकी उनी जस्तै अपाङ्गता भएका मानिसहरु त्यहाँ धेरै थिए जसले उनलाई म मात्र अपाङ्ग रहेनछु भन्ने बोध गरायो । म जस्ता धेरै रहेछन् भनेर मैले चित्त बुझाएँ । उनले भने । बीआईए फाउण्डेसनले जीवनदेखि हार खाएका, आफ्नो जीवन बेकार ठानेका र आफ्नै घरमा हेपिएर बसेका, काम नलाग्ने भनेर बसेकाहरुका लागि स्थापना भएको संस्था हो । हुन पनि बीआइए फाउण्डेसनमा अहिले विभिन्न किसिमका अपाङ्गता भएका पुरुष र महिलाहरु छन् । हाल फाउण्डेसनले त्यस्ता व्यक्तिलाई उनीहरु अनुसारको सिपमूलक काम सिकाउँदै आएको छ । सिप सिकाएर प्रमाणपत्र मात्र होइन उनीहरुलाई स्वावलम्वी बनाउने काम गरिरहेको छ । उनीहरुले आफ्नो सिप अनुसार पकेट खर्चदेखि मासिक पारिश्रमिक पनि पाउने गरेका छन् । त्यहाँ पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका अपाङ्गता भएका व्यक्ति छन् । ह्विल चेयर म्याराथुनमा तृतिय खेलकुदप्रतिको उनको लगाव सानै देखिको हो । सानैदेखि खेल खेल्न मन पराउने उनी जब शारीरिक रुपमा अशक्त भए तब उनको खेल खेल्ने चाहना अधुरै रह्यो । हुनत खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं उनले आफ्नो खेल खेल्ने सपना भने त्यसै मर्न दिएनन् । गत वर्ष फागुनमा बीआइए फाउण्डेसनले आयोजना गरेको तेस्रो ह्विल चेयर म्याराथुन प्रतियोगितामा उनी तेस्रो भए । २०० जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा विष्णु तृतिय भएका थिए । उनी भन्छन्, अहिले पनि सक्ने जति प्रतियोगिताकमा सहभागिता जनाउँदै आएको छु । धेरै पढेर ठूलो मान्छे बन्ने सपना सबैको हुन्छ । त्यस्तै सपना उनले पनि बुनेका थिए । तर अशक्त भएकै कारण उनकाे कक्षा १० सम्ममा नै शैक्षिक योग्यता स्थगन हुन पुग्यो । बास्केट, क्रिकेट र स्विमिङ उनको फेवरेट खेल हुन् । राम्रो खेलाडी बनेर सेनामा जागिर खाने उनको इच्छा इच्छामै सीमित रह्यो । सेना बनेर देशको सेवा गर्ने मेरो सपना अधुरै रहेको उनी गुनासो गर्छन् । कोरेका चित्र विदेशमा निर्यात हाल उनी २७ वर्षका भए । अहिले बिआईएमा नै बसेर विभिन्न प्रकारका चित्रहरु कोर्ने काम गरिरहेका छन् । उनले विभिन्न प्रकारका चित्र थान्का पेन्टिङ गरेको पनि ६/७ वर्ष भइसकेको छ । उनीसँगै बीआईएमा धेरै साथीहरु बस्दै आएका छन् । उनी अहिले स्पाइनल (मेरुदण्ड)को समस्याले ग्रसित छन् । उनीहरुले कारेका चित्रहरु प्रायजसो विदेशमा निर्यात हुने गरेका छन् । उनले हालसम्म ५०/६० पेन्टिङ गरिसकेका छन् । विदेशीहरुले एउटा पेन्टिङको ५/६ लाख रुपैयाँ सम्म दिने गरेको उनी बताउँछन् । तर बेचेको चित्रको पैसा बीआईएले नै राख्ने गरेको छ । जसले गर्दा उनीहरुको पालनपोषणका लागि कसैसँग माग्नु नपरेको फाउण्डेसनले बताएको छ । उनले हालसम्म विभिन्न व्यक्तिका पेन्टिङ, बुद्धको चित्र तारा लगायत विभिन्न चित्रहरु कारेका छन् । पेन्टिङका लागि पेपर कलर, ब्रस लगायत सामानहरु चाहिने उनी बताउँछन् । एउटा राम्रो चित्र कोर्न ४/५ महिना सम्म पनि लाग्ने गरेको छ । उनी हाल फाउण्डेसनमानै बसेर थान्का पेन्टिङ सिक्दै र कोर्दै आएका छन् । जीवन सकियो भन्ने लागेको थियो उनी भन्छन्,‘अहिले पहिले जस्तो बोर लाग्दैन, चित्र कोर्नमै व्यस्त हुन्छु । अब त खुसी नै छु ।’ अहिले उनी जीन्दगी खुसीका साथ बाँच्ने अठोट गर्छन् । अहिले ह्विल चेयर नै उनकाे सारथी बनेकाे छ ।