विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली
काठमाडाैं । अघिल्ला वर्षका वैशाख–जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपालि कामबिहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार लगनको महिनामा न त राम्रोसँग खान र सुत्न पाउँथे । अझ वैशाख, जेठका लगन त झन् छोप्नै गाह्रो हुन्थ्यो । विवाहका लुगा सिलाउन आउनेदेखि नयाँ शैक्षिकसत्र शुरु भएसँगै विद्यालय पोशाकको चापले परियारलाई उठिखाऊँ कि बसीखाऊँको अवस्था हुन्थ्यो । उनीसँगै काम गर्ने टेलरिङका मजदुरको अवस्था पनि उस्तै । काम चल्थ्यो र त कमाइ हुन्थ्यो । यो वर्षको शुरुकै लगनको महिना उनीहरुका लागि खेर गयो । विद्यालय बन्द रहेकाले शैक्षिकसत्र त केही ढिलो भए पनि शुरु होला तर वैशाख जेठमा हुने विवाह टरेकाले उनीहरुको आम्दानी लकडाउनले सक्यो । लकडाउनका कारण यो वर्षको वैशाखमा बागलुङमा बैदिक विवाह निकै कम भएका छन् । अत्यावश्यक मानिएका बाहेक रोक्न मिल्ने र लगन सारेर गर्न मिल्ने विवाह यो वैशाखमा भएनन् । “मङ्सिरमा पनि बिहे त होलान् तर अहिलेका बिहे खप्टिएर आउँदा के फाइदा होला र”, सुजन भने, “वर्षभरि घरभाडा तिर्न पुग्ने कमाउने महिना हो तर आफैं सुतेर समय बिताएको छु ।” कोरोना भाइरस लक्षित लकडाउनको प्रत्यक्ष प्रभाव सिलाइ व्यवसायीमा परेको हो । हिजो काम गरेर ज्यालामा दैनिकी चलाएका मजदुरहरु आज सहकारीले दिएको ऋणकै भरमा गुजारा चलाएर बसेको परियार बताए । “श्रमिकको त बिचल्ली भएको छ, बजारमा महङ्गो घरभाडा तिरेर महङ्गो खाद्यान्न खाएर बसेका छन्”, परियार भने, “अरु केही काम गरौँ भने पनि केही छैन ।” मजदुरमात्रै होइन सञ्चित सम्पत्ति नभएका व्यवसायीलाई नै दैनिक कारोवार चलाउन कठिन भइरहेको अर्का व्यवसायी मीनकुमार दर्नाल बताए । “घरभाडा तिर्नैपर्यो, व्यवसाय गर्दा लिएको ऋणको व्याज बढ्दै छ”, दर्नालले भने, “मजदुर र साहु सबैको बिल्लीबाठ हुने भो ।” सिजनको काम धेरै चल्ने टेलरिङ व्यवसायले अरु महिनाभन्दा विद्यालय र विवाहका पोशाक बनाउने महिनामा धेरै आम्दानी गर्छन् । “यहाँ व्यवसाय गर्ने अधिकांश आफैँ पनि मजदुर हुन्, ऋणमा चलाएको व्यवसायमा अरु केही साथीहरु मिलेर काम हुन्थ्यो”, अर्का व्यवसायी धनबहादुर परियारले भने, “को मालिकको श्रमिक सबैलाई समस्या छ ।” बागलुङ बजारमा करिब ८० वटा सानाठूला टेलरिङ सेन्टर सञ्चालनमा छन् । व्यवसायिकरूपमा सञ्चालनमा आएकादेखि स्वरोजगारका लागि चलेका टेलरिङको क्षेत्रमा २ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् । बजार बाहिरका पालिका मुकामका टेलरिङसमेत अहिले ठप्प छन् । उनीहरु के–कति स्वरोजगारीमा छन् भन्ने तथ्याङ्क छैन । ग्रामीण क्षेत्रमा छिटफुटरूपमा रहेको बालीघरे प्रथासमेत लकडाउनको कारण सङ्कटमा परेको छ । कल बोकेर घरघरमै सेवा दिने बालिघरे प्रथा कोरोना त्रासको कारण समस्या परेको व्यवसायी बताउँछन् । सिजन गुमाएको व्यवसायलाई सबै तहका सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ । रासस
काभ्रेका सबै नाका बन्द
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो । जिल्लास्थित कोभिड–१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले सिन्धुपाल्चोकसँग जोडिएको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका, रामेछापसँग जोडिएको चौँरीदेउराली, तेमाल र रोशी गाउँपालिका, सिन्धुलीसँग जोडिएको तेमाल गाउँपालिका, मकवानपुरसँग जोडिएको महाभारत गाउँपालिका र ललितपुरसँग जोडिएको बेथानचोक र खानीखोला गाउँपालिका तथा भक्तपुरसँग जोडिएको बनेपा नगरपालिकास्थित साँगामा आजदेखि अत्यावश्यक सवारीबाहेकलई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो । कमाण्ड पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले स्थानीय तहलाई आ–आफ्ना सीमामा कडाइकासाथ आवतजावत बन्द गर्न लगाइने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार लकडाउन उल्लङ्घन गर्ने सवारी तथा नागरिकलाई सुरक्षाकर्मीले दैनिक जाँच गरी कारवाही गरिरहेको छ । सो पोष्टले स्थानीय तहका सबै वडा र बस्तीमा निगरानी समूह गरी लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न नागरिकबाटै स्थानीयस्तरमा समूह बनाएर निगरानी गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी एवं कमाण्ड पोष्ट संयोजक श्रवणकुमार तिमल्सिनाले भने, “पालिकास्तरमै नागरिकको समूह परिचालन गर्दा लकडाउन प्रभावकारी हुने देखियो, सोहीअनुसार पालिका प्रमुखलाई अनुरोध गरिनेछ ।” यसअघि तेमाल र बेथानचोक गाउँपालिकाले अन्य स्थानबाट कुनै पनि सामग्री ल्याउन रोक लगाउँदै आफ्नो क्षेत्र प्रवेशका सबै नाका बन्द गर्ने निर्णय गरिसकेकका छन् । स्थानीय प्रशासनले जिल्लाका नाकामा कडाइ गर्न थालेपछि बेथानचोक गाउँपालिकाले गाउँमा पाहुना आउन र बस्नसमेत बन्देज गर्ने निर्णय ग¥यो । साथै गाउँपालिकाले एक वडाबाट अर्को वडामा जान नपाइने नियम पनि बनाएको छ । पाँचखाल नगरले भने सरकारले पहिलोपटक बन्दाबन्दीको समय थपेलगत्तै गत चैत तेस्रो सातादेखि नै एक वडाबाट अर्को वडा प्रवेशमा रोक लगाएको थियो । नगरप्रमुख महेश खरेलले कारोना भाइरस सङ्क्रमणको उच्च जोखिम देखिएकाले सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि चैतदेखि नै वडा प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए । उनका अनुसार तरकारी, दूध, औषधि, तथा खेतबारीमा काम गर्नेबाहेकका व्यक्ति एक वडाबाट अर्को वडा प्रवेश गर्न पाउने छैन । पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले भने वडास्थित पसल र बासिन्दाको दैनिक निगरानी गरिरहेका छन् । मण्डनदेउपुर नगर र महाभारत गाउँपालिकाले भने हाल वडा प्रवेशमा रोक लगाइ पाँच जना भेला हुन रोक लगाएको छ । स्थानीय तहले अत्यावश्यक सामग्री खरिदका लागि भने आ–आफ्नो क्षेत्रका स्थानीय पसल खुलाउने समयावधि तोकेका छन् । रासस
आमाको मृत्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली
काठमाडौं । आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै आएका थिए । आमा इशाराको दुई सातापहिले मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको स्थानीय तेज डुम्रेलले बताए । उनले भने, “इशाराले दुःखकष्ट गरेर नानीबाबु पाल्दै आउनुभएको थियो, उहाँको पनि मृत्यु भएपछि अहिले खाने, बस्नेदेखि अन्य कुरामा बालबालिकालाई समस्या भएको छ ।” कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लकडाउन गरेपछि खाद्यान्न मागेर तथा किनेर ल्याउन नसकेका कारण पनि ती बालबालिकालाई दैनिक छाक टार्नसमेत हम्मेहम्मे हुन थालेको स्थानीयवासी बताउँछन् । सरकारी क्षेत्रबाट पाउने राहतसमेत निजहरुले पाउन सकेका छैनन् । घरमा भएको खाद्यान्नसमेत समयमै पकाएर दिने मान्छे नभएका कारण उनीहरुलाई दिनहुँ समस्या हुँदै आएको अर्का स्थानीय तेजबहादुर सिंहले बताए । उनले भने, “गाउँमा खेतीपातीको ‘सिजन’ शुरु छ, सबै मान्छे आफ्नै काममा व्यस्त छन्, ती नानीबाबुलाई खाना दिने मान्छेसमेत छैनन् ।” गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले आमाको मृत्यु भएपछि बिचल्लीमा परेका ती बालबालिकालाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने भएका छन । उनले भने “आमाबुबा नभएर समस्यामा परेका नानीबाबुलाई के–कस्तो सहयोग गर्न सकिन्छ गाउँपालिका गर्न तयार छ र गर्नेछौं ।” भारतमा बेपत्ता भएका शेरबहादुरको खोजीका लागि पटक–पटक प्रयास भए पनि उहाँको अझै कहीँकतै पत्तो नलागेको अध्यक्ष डुम्रेलले जानकारी दिए । घरमा ७५ वर्षीया हजुरआमा भए पनि राम्रोसँग हिँडडुल गर्न सक्ने नभएका कारण झनै समस्या भएको पीडित बालक कर्ण थापाले बताए । उनले भने, “भाइबहिनी साना छन्, हजुरआमा हिँड्न सक्नुहुन्न, के–कसरी बाँच्ने निकै समस्यामा छौँ ।” उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर रहेको बताइएको छ । खेती गर्ने जमीन नहुँदा उनीहरुले सामाजिक सुरक्षाभत्ता र अर्काले दिएको भरमा आफ्नो जीवन निर्वाह गर्दै आएका थिए । हजुरआमाले सामाजिक सुरक्षाभत्ता पाउने भएकाले घर खर्च चल्दै आएको र पछिल्लो समय लकडाउनका कारण सामाजिक सुरक्षाभत्ता समयमै वितरण हुन नसकेका कारण झनै समस्या हुँदै आएको पीडित बालबालिकाको गुनासो छ । आमाको मृत्युसँगै आफूहरुको पढाइमा समेत बाधा पुग्ने उनले दुःखेसो पोखे । श्रीमान् बेपत्ता भएसँगै इशाराको समेत मानसिक सन्तुलन गुमेका कारण मृत्यु भएको स्थानीयवासी बताउँछन् । आमाको मृत्यु तथा बाबु बेपत्ता भएर बिचल्लीमा परेका निज बालबालिकालाई सबै नागरिकले सहयोग गर्न स्थानीयवासीले आग्रह गरेका छन् । रासस