‘हात धोएर घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ’

धनगढी । धनगढी उपमहानगरपालिका-१३ का मोहन जोशीले शनिबार बहिनी अनितालाई सम्झाउँदै भने, ‘हात धोएरमात्र घरभित्र पस्नु, नत्र कोरोनाको डर हुन्छ ।’ घर नजिकैको खेतमा बिहान बाख्रा चराएर फर्किएकी अनिताले दाइले भनेअनुसार साबुन पानीले मिचिमिचि करिब आधा मिनेट जति समय लगाएर हात धोएर खाना खाने तयारी गरिन् । लगत्तै काम विशेषले उनीहरुको घर आइपुगेका एकजना छिमेकीले दाजु-बहिनीको संवाद सुनेर भने, ‘कोरोनाबाट जोगिन सरसफाइमा ध्यान पुर्याउने चेतना बढ्दा राम्रै भएको छ ।’ तीनैजनाबीच केही समय कोरोना रोगले निम्त्याएको त्रासका बारेमा छलफल पनि भयो । कोरोनाबाट जोगिनका लागि समूहमा नहिँड्ने, नयाँ मान्छेसँग भेट हुँदा टाढैबाट कुरा गर्ने, पटक पटक साबुन पानीले मिचिमिचि करिब आधा मिनेट जति समय लगाएर हात धुनुपर्ने कुुरामा उनीहरु सचेत देखिन्थे । कोरोना सङ्कटसँगै जारी लकडाउनको असर शहर बजारमा बढी देखिए पनि गाउँमा यसको त्यति पालना नभइरहेको तर्फ उनीहरुको चिन्ता देखिन्थ्यो । जोशीले भने, ‘गाउँमा मान्छेको चहलपहल खासै नघट्दा कोरोना निम्तिने खतरा छ, शहरमा भने लकडाउनले सुनसान भएको सुनिन्छ ।’ विद्यालय बन्द भएर घरमै बस्नुपर्दा फुर्सदिला बनेका मोहन र अनिताले व्यक्तिगत रुपमा भएपनि सरसफाइमा ध्यान दिन थालेका छन् । दुवैबीच खाना पकाउने, तरकारी बारीमा झार निकाल्ने र तरकारीको बोटमा पानी दिने र बाख्रा चराउने कामको बाँडफाँड हुने गरेको पनि छ । विद्यालय बन्द भए पनि घरको पढाइ भने उनीहरुले नियमित गरिरहेका छन् । ‘बिहान बेलुका पुस्तक पढ्ने, केही समय टेलिभिजन हेर्ने गरेका छौँ, बाँकी दिउँसोको समय घरको काममा बुबाआमालाई सघाउने गरेका छौँ’, अनिताले भनिन् । साबुन पानीले हात धुनु केवल कोरोनाबाट मात्र बँचिने होइन यो एक स्वास्थ्य जीवनको आधारभूत कुरा पनि हो । हरेक व्यक्तिले आफूले आफ्नो घर होस् वा कार्यालय जहाँ जाँदा पनि गन्तव्यमा पुगिसकेपछि उक्त घरमा प्रवेश गर्नु अघि राम्ररी हात खुट्टा धुनु निकै उपयुक्त देखिन्छ । यसले एकातिर आफूलाई कोरोना जस्ता महामारी रोगको किटाणुरहित बन्नमा मद्दत पुर्याउँछ भने अर्का व्यक्तिको आनीबानीमा सुधार आई व्यक्तिगतरुपमा स्वस्थ्य र सफा रहन्छ । सधैँ सरसफाइ गर्ने व्यक्ति निकै फुर्तिलो हुन्छ विश्वभरमा फैलिरहेको कोरोनाले समाजमा निकै परिवर्तन ल्यायो अर्थात् निकै गतिलो संस्कारको पुनरावलोकन तथा अभ्यास गराएको आभाष गराएको छ । प्रायः खानाखानु पहिले सकेसम्म राम्ररी हात धुन बिर्सेका हामी मानव समुदायलाई कोरोनाको सङ्क्रमणको त्रासले एकैदिनमा पनि पटकपटक हात धुने बनाइ दिएको छ । हात खुट्टा धुन लापरवाही गर्नेहरूका लागि कोरोनाले राम्रोसँग हात धुनपर्छ भन्ने सिकाएको छ । यति मात्र नभएर अझ घरबाहिरबाट घरमा पुगेपछि घरमा राम्रोसँग हातखुट्टा धोएर मात्रै घरभित्र बस्ने एक पुरानो तर वैज्ञानिक संस्कृति कोरोनाको त्रासले सिकाएको छ । विद्यार्थीहरु मानसिकरुपमा अन्योल वार्षिक परीक्षा नसकिँदै शैक्षिक संस्था बन्द भएपछि अब विद्यालयमा पढाइ हुने/नहुने भन्नेमा विद्यार्थीहरु मानसिकरुपमा अन्योलमा देखिँदा अभिभावक पनि चिन्तित देखिएको शिक्षक लेखराज ओझाले बताए । ‘विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइप्रतिको निरन्तरता कमजोर देखिन थालेको छ’, उनले भने, ‘घरमा पढ्ने र विद्यालय गएर पढ्ने कुरा फरक हुने भएकाले विद्यार्थीमा अन्योलता देखिएको हो ।’ जारी बन्दाबन्दीका कारण घर बाहिर निस्कन नसकेका कतिपय व्यक्ति आफ्नो स्वास्थ्य र सरसफाइप्रति सचेत हुँदा उनीहरुको रहनसहन र बानी व्यवहारमा परिवर्तन आउन थालेको छ । बन्दाबन्दीले बिनाकाम जहाँ पायो त्यहीँ जथाभावी हिँडिरहने पहिलेको बानी पनि छुट्न गई घरमै बसेर भान्सामै पाकेको खाना र खाजा खानुपर्ने अवस्था आएपछि धेरैको रहनसहन र बानी व्यवहारमा परिवर्तन आउन थालको हो । ‘कोरोनाको सङ्कटले धेरैलाई घरमै बन्दी बनाइदिँदा स्वास्थ्य र सरसफाइमा देखिएको सचेतनासँगै धेरैको जीवनशैली पनि फेरिन थालेको छ’, स्थानीय बिस्नुराज बुर्लाकोटीले भने, ‘बजारका पसलमा पुगेर जङफुड खाने बालबालिकाको बानी अहिले फेरिँदा बालबालिकाको स्वास्थ्यमा पनि सुधार हुने देखिएको छ ।’ बेलुका होटेल रेस्टुराँ पुगेर नियमितजसो मदिरा पान, धूम्रपान गर्ने बानी परेकाहरुको स्वास्थ्यमा सुधार ल्याउन पनि बन्दाबन्दीले टेवा पुर्याइरहेको छ । ‘अहिलेको अवस्थाले सुर्ती र चुरोट सेवन गर्ने र रक्सी खानेहरुको बानीमा निकै सुधार भई उनीहरुको खराब लत पनि छुटाउन मद्दत पुगेको छ’, स्थानीय ढुङ्गे बजारमा भेटिनुभएका मजदुर सन्तोष चौधरीले भने। मजदुरी पाउने अवसर गुमे बन्दाबन्दीले उद्योग, पेशा, व्यवसाय सबै क्षेत्रमा प्रतिकूल प्रभाव परिरहँदा सबैभन्दा बढी मारमा दैनिक घर बाहिर निस्केर मजदुरी गरेर कमाइ गर्ने मजदुर वर्ग परेका छन् । कोरोनाले मजदुरी पाउने अवसर गुमेका कारण अब कमाइ कसरी गर्ने र कमाइ नगरे के खाने भन्ने समस्या आइलागेको गुनासो अर्का मजदुर रामप्रसाद चौधरीले बताए । उनले दुखेसो सुनाउँदै गर्दा नजिकै रहेका अर्का मजदुर रमेश चौधरीले आग्रह गरे, ‘घरमा खान केही छैन सर, सरकारलाई भनिदिनुपर्यो ।’ आफूसँग कुरा गर्ने मान्छे सरकारको कर्मचारी भएकाले राहत दिन आएको भन्ने बुझाई राखेका उनीहरु दुवैजना मजदुरी नपाउँदा जीविका कसरी चलाउने भन्ने चिन्तामा थिए । ‘काम गर्न पनि नदिने यो कोरोना रोग कहिले सकिन्छ सर, रमेशले प्रश्न गरे, कतै काम पाइहालेमा कोरोना सर्ने होकी भन्ने डर पनि छ ।’ एक महिनासम्म घरमा भएको नगद र अन्नपातले जेनतेन जीविका चलाएका कतिपय मजदुर लकडाउन लम्बिँदै जाँदा घरमा सामल सकिएको भन्दै भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको गुनासो सुनाउँछन् । स्थानीय तहले विपन्न परिवारलाई राहतस्वरुप चामल, दाल, नुनलगायतका सामग्री वितरण गरिरहेको भए पनि पर्याप्त मात्रामा वितरण गरिएको छैन । जसका कारण घरमा रहेको खाद्यान्न सकिँदा कतिपय मजदुर साँझ बिहानको समयमा पेटभरी खान नपाइरहेको बताउँछन् । कोरानाको सङ्कटले छात्रछात्रा, मजदुर मात्र नभई हुनेखाने वर्गका व्यक्ति र विभिन्न पेशा व्यवसाय गरिरहेकाको दैनिकीको पनि फेरिन थालेको छ । बन्दाबन्दीले बनाएको पट्यार लाग्दो बसाइँका बीच धेरैले आफ्नो करेसाबारीमा साग, तरकारीखेती गर्ने, गोडमेल गर्नेजस्ता काम गरेर चित्त बुझाइरहेका देखिन्छन् । ‘स्कूल बन्द भएको दुई महिना पुग्न लाग्यो’, शिक्षक ओझाले भने, ‘घरमा त्यसै बस्नुभन्दा तरकारी उत्पादन गर्न सकेमा साग तरकारी किन्नु पर्ने पैसा बचत हुन्छ ।’ विपन्नलाई पर्याप्त राहत वितरण भएन कोरोनाको सङ्कटसँगै समस्यामा परेका विपन्न समुदायका व्यक्तिलाई स्थानीय तहले राहत वितरण गरिरहेका छन् । स्थानीय तहले एक चरणमा विपन्नलाई राहतस्वरुप खाद्यान्न वितरण गरिरहेको भए पनि पाइएको राहत सकिन थालेको विपन्नको गुनासो छ । कैलालीको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले राहत वितरण गर्न बनाइएको मापदण्डका आधारमा प्रतिपरिवारलाई २५ किलो चामल, दुई किलो नुन, एक लिटर तेल, दुई किलो दाल, दुई चक्की साबुन वितरण गरिसकिएको बताए । नगर क्षेत्रका दुई हजार ७० विपन्न घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको छ, नगर प्रमुख चौधरीले भने, ‘दोस्रो चरणको राहत बाँड्ने तयारी भइरहेको छ ।’ रासस

‘बीउ र मल’ नपाए भोकमरीको भाइरस आउँछ

काठमाडौं । भोक नै सबैभन्दा ठूलो रोग हो । धम्मपदमा उल्लिखित शाक्यमुनि बुद्धको उक्त वचनलाई स्वीकार्दै रुपन्देहीका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराएका छन् । भैरहवामा आइतबार आयोजित कार्यक्रममा भेला भएका जनप्रतिनिधिले बीउबिजन समयमै नपाए मुलुकमा भोकमरी आउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । रुपन्देही जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा १६ पालिकाका प्रमुखले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष कार्यक्रम ल्याउन सरकारलाई आग्रहसमेत गरेका छन् । कृषिको पकेट क्षेत्र जिल्लाको मर्चवार क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य बसीउद्धिन खानले किसानलाई यतिबेला बीउको समस्या रहेको जनाउँदै सहज ढंगले उपलब्ध हुने गरी योजना बनाउनुपर्ने बताए । मर्चवारकै प्रदेशसभा सदस्य अष्टभुजा पाठकले कृषिमा विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने बेला आएकामा जोड दिए । प्रदेशसभा सदस्य सुनिताकुमारी ठठेरले गाउँ फर्केकाहरुलाई सामाजिक दूरी कायम गर्दै कृषि उद्यममा लगाउनुपर्ने बताए । अर्का प्रदेशसभा सदस्य पुष्पा चौधरीले खेती गने समयमा बीउ र मल अभाव भए भोकमरीको भाइरस सिर्जना गर्ने बताएका छन् । प्रदेशसभा सदस्य सन्तोष पाण्डेले कृषिमा सरकारको विशेष योजना आवश्यक रहेकामा जोड दिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अध्यक्षतामा सम्पन्न जिल्लास्तरीय कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकमा सहभागी प्रदेशसभा सदस्यले मात्रै होइन गाउँपालिकाका अध्यक्ष तथा नगर प्रमुखले पनि कोभिड –१९ सँग जुध्दै गर्दा कृषि क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने बताए । सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले तत्कालै बीउको व्यवस्थापनमा सरकार लाग्नुपर्ने सुझाव दिए । शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले कोरोेनाविरुद्ध एक भएर लडिरहँदा कृषिको विकासका लागि पनि एक हुन जरुरी रहेको धारणा राखे । सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले कृषिका लागि साल्ट ट्रेडिङ र कृषि सामग्री लिमिटेडसँग मलखाद र बीउ भए तापनि वितरण नगर्दा समस्या भएको बताए । कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले क्वारेन्टिन अवधि पूरा गरेका प्रवासीलाई कषि क्षेत्रमा क्रियाशील बनाउने योजना आवश्यक रहेको जनाए । बैठकमा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव, तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे, सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, देवदह नगर प्रमुख हिराबहादुर केसी, सैनामैना नगर प्रमुख चित्रबहादुर केसी, गैडहवा गाउँपालिका अध्यक्ष बछुलाल केवट, मर्चवारी गाउँपालिका अध्यक्ष केशवानन्द बानियाँ, कोटही गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवलगायत जिल्लाका १६ पालिकाका अध्यक्ष र १० प्रदेशसभा सदस्यले कृषिमा वैज्ञानिक योजनासहित अगाडि बढ्न नसके भोकमरी आउने खतरा रहेको धारणा राखे । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक दूरीलाई कायम गर्दै कृषि कर्मलाई निरन्तरता दिने गरी पालिकास्तरमा काम अगाडि बढाउन आग्रह गरेका थिए । यसअघि मन्त्रिपरिषद्को बैठकले प्रदेश नं ५ मा कोभिड कृषि विशेष कार्यक्रम घोषणा गरेको छ । रासस

‘शहर खाली, गाउँमा मान्छेको बाढी छ’

काठमाडौं । समय बदलिएको छ । मानव सोच, अवधारणा र इच्छाहरु पनि बदलिएका छन् । हिजो शहर जान चाहने मानिस आज त्यही शहर क्षणभर छोड्न तयार छन् । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसका कारण जारी भएको लकडाउनले शहरमा बस्ने धेरैको गाँस, बास र कपास खोसिएको छ । आयआर्जनको अवसर प्राप्तिको थलो ठानेर शहर पसेकालाई अहिले यसबाट निकै सास्ती भएको छ । लकडाउनले हिजो युरोप, अमेरिका आकर्षित हुने मानव सोच आज विकर्षित भएको छ । अकालमा मृत्यु अति विकसित देशमा पनि हुँदोरहेछ भन्ने बुझाइ भएको छ । सम्पन्नताले मात्र मानव जीवन सुरक्षित हुन्नरहेछ भन्ने स्पष्ट भएको छ । अमेरिका, बेलायत, जर्मनी, इटाली, फ्रान्स, स्पेन, अष्ट्रेलिया, फिलीपिन्स पुगेका नेपालीहरु आफ्नो मातृभूमि आउन आतुर छन् । आजभोलि नै भारतबाट करिब ८० हजार मान्छे नेपाल आउने तयारीमा छन् । विभिन्न देशबाट स्वदेश फर्किन पाऊँ भन्दै प्रवासी नेपालीले राजदूतावासमार्फत नेपाल सरकारलाई आग्रह गरिरहेका छन् । खाडी मुलुक त नेपालीको झनै रोजगारीका लागि बाध्यकारी बसाइ बन्दै गएको छ । स्वदेश तथा विदेशमा जब कोरोना भाइरसका बारेमा नागरिकहरुले बुझ्दै गए तब उनीहरुको गाउँ फर्कने क्रम शुरु भयो । गाउँ नै जीवन सुरक्षाको उपयुक्त भूमि हो भन्ने उनीहरुलाई लागेको छ । शहरको जीवन बन्धकजस्तो लागेको छ, धेरैलाई । लकडाउनमा भारत तथा तेस्रो मुलुकबाटै सङ्कटपूर्ण यात्रा गरेर भए पनि गाउँ भित्रिनेको क्रम छुटेको छैन । लामो समयदेखि गाउँ छाडेर स्वदेश तथा विदेशमा रहेका नेपाली यो महामारीबाट बच्न आफ्नै गाउँठाउँ सम्झना थालेका छन् । बन्दाबन्दीको अवधि दुई महिना पुग्दैछ । विकसित देशमा उत्तम जीवन जिउने सपना बोकेर प्रवासमा गएका नेपालीहरु नेपाल फर्कने योजनामा छन् । सिङ्गो विश्व बन्दाबन्दीले गर्दा नेपाल फर्कने उनीहरुको योजना बन्धकमा परेको छ । धेरै नेपालीले सामाजिक सञ्जालमार्फत नेपाल फर्कने इच्छा व्यक्त गरेका छन् । स्वदेशमा रहेका धेरैले पनि आफ्नो गाउँ जान पाएका छैनन् । बन्दाबन्दीको समयमा घर जान हिँडेका तर अलपत्रका परेकालाई सबै तहका सरकारका सहयोगमा गाउँ पु¥याइएको छ । गाउँमा पुग्नेले यतिबेला निकै सुरक्षित भएको महसुस गरिरहेका छन् । शहरमा बस्नेहरु बन्द कोठाको बसाइलाई बन्दीगृह ठानिरहेका छन् । पट्यारलाग्दो बसाइबाट उत्पादनका धेरै कामहरु बन्द भएका छन् । नेपालको पूर्वी भेगका शहर तथा बजारमा व्यापार गर्न हिँडेका तिला गाउँपालिका–४ जुम्लाका नन्द सुनारले कोरोनाबाट बच्ने सुरक्षित ठाउँ नै गाउँ ठानेर निकै दुःखकष्टका साथ मातृभूमि फर्केको बताउनुभयो । स्वदेशका विभिन्न भूभागबाट फर्केर कर्णालीका गाउँ फर्कने क्रम निरन्तर छ । शहर विस्तारै खाली भइरहेका छन् । गाउँमा भने मान्छेको बाढी नै छ । हिँडेर वा अन्य कुनै माध्यमबाट शहरबाट गाउँ छिर्ने नागरिक कमी छैन । हजारौँको सङ्ख्यामा मानिस गाउँ पसिसकेका छन् । जसले गर्दा गाउँमा मानिसको भीड छ । यसको प्रमुख कारण नै कोरोना भाइरसको विश्वव्यापी महामारीको आतङ्क हो । विशेषगरी नेपाल गाउँ नै गाउँले बनेको देश भएका कारण यहाँ शहरभन्दा गाउँमा मान्छेको चाप बढेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत बताउँछन् । “यो विपत्तिले धेरैको शहर पुग्ने रहर कोरोना कहरमा परिणत भएको छ”, उनी भन्छन्, “शहरबाट फर्कनेले कोरोना भाइरसको गलत कोशेली नल्याए गाउँ सुरक्षित नै छन् ।” नेपाल सरकारले गत चैत ११ गते लकडाउन गर्नुपूर्व र त्यसभन्दा पछि नेपालका प्रमुख शहर, काठमाडौँ, पोखरा, वीरगञ्ज, विराटनगर, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेतबाट हजारौँ नागरिक गाउँघर फर्के । कर्णाली प्रदेश सरकारले चैत ८ गते नै स्वदेश तथा विदेशमा रहेका कर्णालीवासी मातृभूमि फर्कन अपिल ग¥यो । सोही अपिलअनुसार नेपालका विभिन्न शहरहरुमा काम गर्ने, भारतलगायत तेस्रो मुलुकका नागरिकको कर्णाली फर्कने क्रम ह्वात्तै बढ्यो । कोरोना भाइरसको विश्वव्यापी महामारीको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनले धेरैको रोजीरोटी खोसेको छ । दैनिकी असहज बन्दै गएको छ । स्वदेश तथा विदेशमा धेरै नागरिक अलपत्र अवस्थामा छन् । उद्योगधन्दा, कलकारखाना, विभिन्न आयोजना, होटल, पसलमा काम गर्ने नागरिकहरु रोजगारविहीन भएका छन् । सबै क्षेत्रको कामधन्दा तथा व्यापार व्यवसाय बन्द हुँदा अर्थतन्त्र चौपट बन्दै गएको छ । शहर यतिबेला दिउँसै सुतेको भान हुन्छ । अत्यावश्यक वस्तु उपभोगका लागि सरकारले तोकेको समयमा नागरिकको सामान्य आवतजावतबाहेक बाँकी पूरै समय शहर सुनसान देखिन्छ । लकडाउनपूर्व मान्छेको भीड र कोलहालपूर्ण शहर यतिबेला खाली छन् । सडकमा गाडीको घ्याँ–घ्याँ र घुँ–घँु आवाज सुन्न छाडिएको छ । यसको छेउछाउ नजिकका रुखहरुमा कोइलीको कुहुँ..कुहँु… र केही चराका चिरबिर आवाज भने राम्रैसँग सुन्न पाइन्छ । फाँटहरु हरियाली बन्दै गएका छन् । लकडाउनले फोहरमा कमी आउँदा नदी तथा खोलानाला कञ्चन भएर बगेका छन् । न यहाँ ध्वनि प्रदूषण छ न त वायु प्रदूषण नै । ध्वनि, वायु, जल, जमिनलगायतका वातावरणीय प्रदूषण ७५ प्रतिशतभन्दा बढी घटेको मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्काय, वातावरण विज्ञानका उपप्रध्यापक खगेन्द्र रावलले राससलाई जानकारी दिए । रासससँग कुरा गर्दै उपप्रध्यापक रावलले भने, “यो दुई महिनाको लकडाउनमा कार्बन तथा अन्य प्रदूषण उत्सर्जन शून्यजस्तै छ । औसतमा एक जनाले १०० चुरोट खाएजत्तिकै सबैभन्दा बढी प्रदूषण हुने चीनसहित विश्वकै तापक्रम घट्दो अवस्थामा छ । सुर्खेत तथा काठमाडौँको तापक्रम र प्रदूषण निकै घटिरहेको छ । जलवायु सफा छ । पानी परेको छ । हराएको जैविक विविधतामा सुधार आएको छ । नेपालमा मात्र हैन, भारतकै नदीनाला पनि सफा भएका छन् ।” कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले मान्छेको चापले बढ्ने तापक्रम र मान्छेको सघन आवातजावतले कोरोना भाइरससहित सबैखाले सर्ने रोगको जोखिम बढ्ने बताए । “यो समस्याबाट बच्नका लागि पहिलो लकडाउन, दोस्रो सामाजिक सचेतना र तेस्रो अस्पतालको शीघ्र तयारी हुनुपर्दछ”, निर्देशक रावलले भने, “यसलाई मध्यनजरगरी कोरोना भाइरसको व्यापक परीक्षण आवश्यक छ ।” यता कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना दैनिकरुपमा घटिरहने सडक दुर्घटनाहरु लकडाउनमा कर्णाली प्रदेशमा अत्यन्तै न्यून अवस्थमा पुगेको बताउँछन् । रासससँग कुरा गर्दै सूचना अधिकारी तिम्सिनाले भने, “शहरबजारमा अहिल ह्वात्तै अपराध घटेको छ । शान्ति सुरक्षाको अवस्थामा सुदृढीकरण भएको छ । लकडाउन अवधिभर ४० हजारभन्दा बढी नागरिक कर्णाली भित्रिँदा गाउँमा मान्छेको चाप भने बढेको छ ।” गाउँमा मान्छेको चाप बढ्दै गएकाले कोभिड–१९ को प्रतिकार्य तथा रोकथामका साथै प्रदेशको शान्ति सुरक्षाका लागि तीन हजार ६५५ सुरक्षा जनशक्ति परिचालन गरेको उनले बताउनुभयो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गाउँमा मान्छेको चाप बढ्दै गएकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउन प्रदेश सरकारले यही वैशाख २८ गते यो प्रदेशका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली एकैसाथ परिचालन गरेको बताउनुभयो । “हामीले ७९ स्थानीय तहका ७१८ वडापालिकामा प्रतिवडाबाट १० जनाको नमूना स्वाब सङ्कलन गरी जतिसक्दो छिटो परीक्षण गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो । मन्त्री रावलले ७१८ वडापालिकामा विदेश, विशेषतः प्रभावित देश तथा जिल्लाबाट आएका र क्वारेन्टाइनमा रहेकालाई प्राथमिकतामा राखेर १० दिनभित्र १० हजारको नमूना सङ्कलन गर्ने र तीनभित्र परीक्षण गरिसक्ने बताउनुभयो । उहाँका अनुसार आरडिटी तथा पिसीआर परीक्षण, आइसोलेसनको श्यया सङ्ख्या, स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सामग्रीलगायतका क्षेत्रमा कर्णाली औसतमा कमजोर नरहेको र अहिलेसम्म कोराना प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा सक्षम रहेको छ । रासस