दुधौलीका तीनवटा वडामा लकडाउन, उल्लङ्घन गरेमा कारबाही गरिने

सिन्धुली । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए । उनले भने “हामीले नगरका तीनवटा वडामा कोरोना भाइरस सङ्क्रमण बढी फैलन सक्नेतर्फ सचेत हुँदै लकडाउन गर्ने निर्णय गरेका हौं ।” उनका अनुसार नगरपालिकाका वडा १, २ र ४ मा वैशाख १० देखि १७ सम्म लकडाउन घोषणा गरिएको छ । बुधबार दुधौली नगरपालिका-१ का एक व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएपछि नगरको विपद् व्यवस्थापन समितिको बैठकले लकडाउन घोषणा गर्ने निर्णय गरेको हो । लकडाउनको घोषणा भएका क्षेत्रमा अति आवश्यक सेवा (एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा, दूध, तरकारी फलफूल, खाद्यान्न पसलबाहेक शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वडा कार्यालय (वडा नं ४ बाहेक) बजार, होटल, यातायातका सेवा र अन्य व्यवसाय पनि बन्द रहनेछ । लकडाउनको उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाभर सभा सम्मेलन, गोष्ठी सङ्घसंस्थाका कार्यक्रममा सरकारले तोकेको मापदण्डअनुसार २५ भन्दा बढी मानिस सहभागी नगराई सामाजिक दूरी कायम गरी कार्यक्रम नगर्न आग्रह गरेको छ । जिल्लाको गोलन्जोर गाउँपालिकाले पनि कोरोनाको सङ्क्रमण फैलनसक्ने जनाउँदै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम हुन नदिन खनियाँखर्क, खुर्कोट, ग्वाल्टार र च्याकुटार बेँसीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने गाउँपालिकाले जनाएको छ । ती क्षेत्रमा रहेका विद्यालय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सम्बद्ध निकायका कर्मचारीलगायत सबैमा सेवा लिँदा-दिँदा र सामाजिक गतिविधि गर्दा स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यानमा राख्दै सेवा आदानप्रदान निर्देशन दिइएको छ । रासस

‘मानव सेवा आश्रम पुगेपछि टुटेको भ्रम’

जीवन संयोगहरु कै श्रृंखला हो । अनौठा संयोगहरु आइपर्छन् जिन्दगीमा । नव वर्ष २०७८ यस्तै संयोगसँगै सुरु भएको छ । जीवन एउटा सिङ्गो पुस्तक हो भने प्रत्येक वर्ष जीवनको नयाँ अध्याय । किताबका अनेक पाठ जस्तै जीवनका वर्षहरु । प्रत्येक पानाहरु जस्तै जीवनका दैनिकीहरु । त्यहाँका वाक्यहरु,शब्दहरु जस्तै क्षणहरु । बझ्नु चाहेर पनि बुझ्न नसकिने कतिपय वाक्य जस्तै कयौँ पलहरु । मेटिएका धुमिल पदावली जस्तै कतिपय प्रहरहरु । कतिपय सम्झनलायक सरस शब्दजस्तै जीवनका दिनहरु अनि कतिपय अप्रिय शब्दजस्तै कठिन समय मानव जीवनका । यसरी हेर्दा पुस्तकसँग तुल्य छैन त जिन्दगी । आआफ्नो हेर्ने दृष्टिकोण हो जिन्दगीको, मलाई पुस्तक जस्तै लाग्यो जिन्दगी । ओहो ! सत्य स्वीकार्नै नसक्ने हामी मानव जाति । भ्रम मै बाँचिरहेछौँ हामी । रिस, ईर्ष्या, अहंकार, मोह सबै भ्रम कै उपज होइनन् र ? मृत्यु एक सत्य भएपनि जीवनका अरु धेरै प्रहर भ्रम नै हुन् भन्ने लाग्छ । जीवनको ३२ औँ वसन्त पार गर्दै गर्दा यही अनुभूत भइरहेछ, देखेर, भोगेर । सेवाका कर्ममा कहाँ कति जुटेँ, कहाँ स्वार्थमा चुकेँ त्यो त समयले लेखाजोखा गरिरहेकै होला । स्वार्थका लागि ढाँट र छलको खेती गरेको छैन । एक मांसाहारी बनेर शाकाहारी १० जनाको भाग खोसेको छैन सेवामूलक क्षेत्रमै बिताएको छु जीवनको डेढ दशक । सायद सरसर्ति सोच्दा यहीँ सन्तुष्टि मिल्ला यतिन्जेल भोगेको जीवनको । पैसाले सुविधा त मिल्छ तर सुख मिल्दैन भन्ने बिर्सेर पैसा नै सबै थोक हो भनेर त्यसकै पछि दौडिरहेको आजको जमात देख्दा अचम्म मात्र लागेको छैन भोलिको मानवता हराउँदै गएको समाजको दयनीय अवस्थाले पिरोल्छ पनि । आफू आवद्ध मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको ८ औँ स्थापना दिवस कसरी मनाउने भन्ने छलफलका क्रममा प्रस्ताव गरेँ मानव सेवा आश्रममा सहयोग गर्ने । साथीहरुको सहमति अनुसार आफ्नै संयोजकत्वमा पत्रकार तथा मानवअधिकारकर्मी साथी सुष्मा पौडेललाई सम्पर्क गरे पश्चात मानव सेवा आश्रम गण्डकी प्रदेश संयोजक होमनाथ तिमल्सिनालाई सम्पर्क गरी उनकै सल्लाह अनुसार केही थान भित्ते पङ्खा, सरसफाइ सामग्रीसँगै खाद्यान्न र फलफूल लिएर त्यहाँ पुगेको थियो हाम्रो टोली । सञ्चालक समिति र कार्यालयका कर्मचारी साथीहरुसँगै हामी जब त्यहाँ प्रवेश ग¥यौँ त्यहाँको अवस्थाले निकै भावुक बनायो । खाजा खाने तरखरमा थिए आश्रममा आश्रित वृद्ध आमाबुवा, अशक्त र बालबालिकाहरु । सरसरती तिनका अनुहार पढेँ । म र मेरो भ्रम साँचेर तिनीहरु पनि कुदिरहेथे समयसँगै । मनमा ईर्ष्या , मोह र घमण्ड बोकेर । कतिपयका थिए आफन्त र सम्पत्ति पनि । तर सबै निरर्थक बनाएर समयले बगरमा छाडिदियो । कति भयानक दुर्घटनापछि, कति सन्तानको स्वार्थ र सम्पत्ति मोहका कारण, कति कसैले दिएको गहिरो चोटपछि विक्षिप्त बनेर सडक पुगे, बेसहारा बने होलान् त्यसपछि आज आश्रममा । जे सोचिन्छ त्यो हुँदैन अनि जे सोचेकै हुँदैन त्यही भइदिन्छ जीवन यात्रामा । अनौठो छ जीवन लीला । आज जे छ त्यो भोलि नहुन सक्छ अनि आज तपाईंसँग जे छैन त्यो भोलि आइपर्न सक्छ । सुखमा साथ हुन्छन् आफन्त यसै भनिरहेका थिए कतियप त्यहाँका निश्चल, मायालु अनुहारहरु । तिनका वास्तविक कथा, व्यथा लेख्ने अवसर जुरेछ भने पक्कै आगामी दिनमा लेखुँला नै । थाहा छैन जीवनमा कहिले हो पालो लाग्ने नगरियोस् है काम जीनामा कालो लाग्ने ।। तपाईं जेजेले सजाउनुस् महल यहाँ आमा छउन्जेल हो घर उज्यालो लाग्ने ।। अचेल म यही कुराको खोज गरिरहेछु जीवन किन बिहेपछि भङ्गालो लाग्ने ?? एउटै वस्तु सबैलाई कहाँ उस्तै लाग्छ र ? कसैलाई नाना बन्छ तिमीलाई टालो लाग्ने ।। प्राकृतिक विपत्ति समान छ भन्नुहुन्छ है ! महलवाला कति छन् र भूइँचालो लाग्ने ।। मैले मेरो यही गजलसँगै कार्यक्रमको दैलो उघार्दै गर्दा उपस्थित सबै भावुक भए । संस्थाको उपाध्यक्ष विजय लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा हाम्रो संस्थाकै प्रबन्धक किरण अधिकारी र संस्थापक सचिव भरत भट्टराईले आगामी दिनमा पनि सहयोगी हात लिएर त्यहाँ पुग्ने प्रतिबद्धता जनाए । यो सुन्दा त्यहाँ आश्रितहरुले ताली मात्र बजाएनन् तिनका मुहारमा खुसी तरङ्गित भयो । आश्रममा रहेर व्यवस्थापन पाटो हेरिरहेका राजन सापकोटाले आश्रमको अवस्था, उद्देश्यबारे मन्तव्य राखिरहँदा त्यसले हामीमा छट्टै भाव सञ्चार गरिरह्यो । १ सय ५५ जनाले आश्रय लिइरहेको त्यो आश्रममा वृद्ध, अपाङ्ग, बालबालिका सबै खालका मानिस थिए । जसमा १०० बढी मानसिक रोगीहरु रहेको र तिनलाई दैनिक खुवाउने औषधी, घरभाडा खानपान सबै नगद जिन्सीको हिसाब गर्दा मासिक पचास लाख खर्च रहेको उनले जनाए । लक्ष्मी नारायण गुठीबाट गुठीकै मातहतमा रहने गरी पोखराको हेमजाको बाबियातरामा ६३ रोपनी जग्गा प्राप्त भएको र त्यहाँ छिट्टै ३०० जना अट्ने भवन निर्माणको चरणमा रहेको जानकारी दिँदै गर्दा हामी खुसी भयौँ । हेटौडाबाट २०६९ भाद्र १३ गते रामजी अधिकारीको परिकल्पना एवं पहलमा सुरु भएको यो आश्रम हाल १४ जिल्लाको १७ स्थानमा रहेको र २०८२ सालभित्र सडक मानवमुक्त राष्ट्र बनाउने सोच रहेको पाउँदा मन रमायो । हुन त देशमा बाल गृह, मानव सेवा, उद्धार र गरिबी निवारणका नाममा डलरको खेती गर्नेहरु, अर्थ सङ्कलन गरी स्वार्थपूर्ति गर्नेहरु, संरक्षणका नाममा यातना दिनेहरु पनि छन् । यस्ता समाचार पनि आउँछन् कहिलेकाँही । तर यो मानव सेवा आश्रम त्यो भिड भन्दा पृथक रहेको आभास भयो जसले विदेशी सहयोग स्वीकार्दैन र सहयोगको पारदर्शिताका लागि सहयोगी व्यक्ति, संस्थालाई रसिद दिन्छ । आश्रमको विभिन्न शाखाहरुमा संरक्षणमा रहेका सहयोगापेक्षी व्यक्तिहरु ९०० जना रहेको साथै ७०० जनालाई सुधारपश्चात् पारिवारिक पुनर्मिलन गराइएको अनि २५० जनाले आश्रमबाट अल्पकालिन सेवा लिएको विवरण पाएँ । साथै आश्रमकै पहलमा गोरखा नगरपालिका, मकवानपुर, बागलुङ कालिका मन्दिर परिसर, पशुपति क्षेत्र परिसर, पाल्पा सिद्धबाबा मन्दिर क्षेत्र र भरतपुर महानगर सहयोगापेक्षी बेसहारा सडकमानव मुक्त बनाइएको जानकारी पाउँदा यस पुनित कार्यमा निःस्वार्थ जोडिने सबैप्रति यो पङ्क्तिकार कृतज्ञ छ । हाम्रो नेतृत्व ससुराली जाँदा हेलिकप्टर चार्टर गर्छ । पार्टी, भोज, स्वार्थ र मनोरञ्जनमा लाखौँ खर्चन्छ । यस्ता आश्रम सरकारी पहलमै बन्ने हो भने यहाँ असहाय बनेर सडकछाप कोही बन्नै पर्ने थिएन नि भन्ने लाग्यो । खै सत्तामा रहेको नेतृत्वको स्वार्थको थैलो कहिले भरिन्छ र सबैले समृद्धिको अनुभूत गर्न पाउँछन् कुन्नि ? धर्मका नाममा मन्दिर, गुम्बा निर्माण गर्न, अवलोकन टावरसँगै अनेक शीर्षकमा करोडौँ खर्चनुभन्दा यस्ता आश्रमको निर्माण र भएकाको व्यवस्थापनमा खर्चन सके साँच्चै पुण्य मिल्दैन र ? सातै प्रदेशमा १८०० जनालाई सेवा दिन सकिने गरी संस्थाको क्षमता अभिवृद्धि गर्ने सोच साथ लागेको यस संस्थाको योजनाले सार्थकता पाओस् । मनकारी धेरैको पहलले यहाँसम्म आइपुगेको यसमा सरकारी निकाय मौन नबसी अभियानमा सघाओस् । बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण भन्ने संस्थाको प्रतिबद्धता सार्थक होस् मेरो शुभेच्छा छ । कोही पनि घरपरिवार तथा समाजबाट परित्यक्त भई सडकमा आउन नपर्ने अवस्था सिर्जना गर्न निरन्तर असल, चरित्रवान् संस्कारित नागरिक निर्माणका लागि उत्प्रेरणात्मक, चेतनामूलक एवं परिणाममुखी रचनात्मक कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गर्ने उद्देश्य रहेको मानवसेवा आश्रमले बेसहारा मानिसहरुको अवस्था अध्ययन तथा विवरण सङ्कलन, तिनको उद्धार, औषधोपचार तथा पालनपोषण, मनोचिकित्सकीय सेवा, जिविकोपार्जन सम्बन्धी तालिम, पारिवारिक पुनर्मिलन, परामर्श, अभिलेख तथा प्रतिवेदन साथै पुर्नस्थापना वा पुनर्मिलन हुन नसकेकाको दीर्घकालीन संरक्षणसँगै सरोकारवाला निकायसँग अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम गर्दै आएको रहेछ । आश्रमका भित्तामा लेखिएका विभिन्न सूक्तिहरु साँच्चै मननीय थिए । आतिथ्यता तथा भेटमा जय मानवसेवा यो उच्चारण नै गजब लाग्यो त्यहाँका स्वयंसेवीहरुको । राम्रो व्यवस्थापन, संस्थामै रहेर स्वयंसेवा गरिरहेका दिदीबहिनीहरुको सक्रियता, आतिथ्यता साँच्चै सम्झनलायक छन् । उपस्थित सबैलाई चन्दनको टीका लगाइदिने मनिकला बहिनीको हँसिलो, मायालु अनुहार सम्झिरहेछु म । दिनभर त्यहाँ लगाएको चन्दनको टीकाको सुगन्धले साँच्चै मनमा छुट्टै ऊर्जा मिलेजस्तो लागिरह्यो । मानव सेवा आश्रम पोखरा–१७ डेभिजफल पुगेपछि मनमा उठेका तरङ्गहरुले पढायो साँच्चै जीवन कहाँ सोचे, सम्झेजस्तो सहज छ र ? केही भ्रम हटेको छ मनैदेखि आश्रम परिवेशको अवलोकनपछि । सानो सहयोगको पोको लिएर त्यहाँ पुगेको हामी भ्रम टुटाएर ठूलो मन लिएर फर्कियाैँ । साथै बाँकी जीवन जहाँ जसरी सकिन्छ मानव सेवामै खर्चने प्रण गरेँ मैले । खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मेटाइ अरुलाई दिनु जहाँ छ ।। मनन गरौँ त महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित यस कवितांशले पनि वास्तविक सुख त स्वार्थ भुलेर अरुलाई दिनुमै छ भन्ने कुरालाई सङ्केत गर्छ । धन हुनेहरु सुन लगाएर हिड्छन्, मन हुनेहरु गुन लगाएर हिड्छन् । सेवा हिं परमो धर्म यही मूल मन्त्रलाई आत्मसात गर्दै तपाईंहरु पनि कुनै न कुनै रुपमा जे जति सकिन्छ त्यो दिएर मानव सेवा अभियानमा जुट्न सविनय अनुरोध छ ।

पहिलोपल्ट मिस कर्पोरेट नेपाल आयोजना हुँदै

काठमाडाैं । नेपालमा पहिलोपल्ट कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। मिस कर्पोरेट नेपाल नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा काम गर्ने १८ बर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी दिइन्। त्यस्तै भर्खरै स्नातक सकेका महिलाले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। असारको १० गते फिनाले हुने बताइएको सौन्दर्य प्रतियोगिताका सहभागीले आकर्षक पुरस्कारसँगै कर्पोरेट क्षेत्रमा काम गर्न पाउने आयोजकले जनाएको छ। कार्यक्रममा उच्च अदालतका न्यायाधीश नवराज थपलियाले कर्पोरेट क्षेत्रमा महिला नेतृत्व कम भएको बताए। उनले सबैभन्दा धेरै महिलाले काम गर्ने भनिएको बैंकमा समेत उच्च ओहोदामा महिला पुग्न नसकेको उल्लेख गरे। यस्ता सौन्दर्य प्रतियोगिताले कर्पोरेट क्षेत्रमा महिलालाई पनि उच्च ओहोदामा पुर्याउन मद्दत गर्नेमा थपलियाले विश्वास व्यक्त गरे। यता, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले भने ४० प्रतिशत महिला बैंकमा काम गर्ने बताउँदै कर्पोरेट क्षेत्रमा लैंङ्गिक समानता रहेको बताए। कर्पोरेट क्षेत्रको सबैभन्दा धेरै महिला कामदार भएको क्षेत्र नै बैंक हो। नविल बैंकले महिला सशक्तिकरणसँगै मिटू लगायतका बिषयमा समेत छलफल गर्ने गरेका छाैं, ‘ उनले भने। अब हुन लागेको मिस कर्पोरेट नेपालले यसलाई अझै महत्वपूर्ण रुपमा अगाडी लैजाने उनको भनाइ छ। एक कार्यक्रमको आयोजना गर्दै अनुजा मिडियाले कुनै पनि पेशामा आबद्व भएका महिलाले आफ्नो कार्यक्षेत्र एवम् सौन्दर्यसंगै अन्य केहि फरक गतिविधिबाट आफ्नो प्रतिभा प्रदर्शन गर्दै देश तथा युवावर्गलाई सशक्त एवम् प्रेरित गर्न सक्षम होस् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो । यस प्रतियोगिताले कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लिडरसिपको समेत विकास हुने आयोजकको विश्वास रहेको छ । कार्यक्रममा बोल्दै मिडियाकी अध्यक्ष अनुजा आचार्यले उक्त प्रतियोगिताले कुनै न कुनै पेशामा आबद्व भएका महिलाभित्र लुकेको क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्ने बताइन् । उनले सौन्दर्य प्रतियोगिता ग्यामर तथा फोटोसुट मात्र नभई आफ्नो भित्री प्रतिभा प्रस्फूटन गर्ने माध्यम समेत रहेको भाव व्यक्त गरेकी छिन् । कार्यक्रममा गायक निर्णय श्रेष्ठ, ब्यबसायीहरु रजत श्रेष्ठ, मोहन ओझा, सन्जीव थापा, बिष्णु बहादुर कार्की लगायतका ब्यक्तित्वहरुको उपस्थतिथी थियो । आगामी वैशाख २० र २१ अडिसन राउण्डबाट शुरु हुने उक्त प्रतियोगिताबाट असार १० विजयी चुनिनेछन् । प्रतियोगिताको लागि इच्छुक एवम् योग्य १८ वर्षदेखि २८ वर्षसम्मका महिला समूहले मिस कर्पारेट नेपाल’ को वेबसाइटमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।