सहकारीबाट आत्मनिर्भर बन्दै जुम्लाका महिला, भन्छन्ः घर चलाउन मुस्किल पर्थ्याे, अहिले निकै सजिलाे भएकाे छ

जुम्ला । आर्थिक अवस्था कमजोर भएका जुम्लाका महिला पछिल्लो समयमा सहकारीबाट आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय तहमै सहकारी सञ्चालनमा आएपछि यहाँका महिलालाई सहकारीले आत्मनिर्भर बनाएको हो । जिल्लाको सिंजा गाउँपालिका-६ जोडुमा रहेको महादेव जनसेवा कृषि उत्पादक कृषक समूहबाट न्यूनतम ब्याजदरमा ऋण लिएर महिलाले आयआर्जनका काम गरेरका संस्था अध्यक्ष दलबहादुर बुढाले जानकारी दिए । उनले भने, “महिलाहरु सहकारीले बनाएका समूहमा आबद्ध भइ मासिक रूपमा बचत गरी ऋण लिएर आयआर्जनका काम गर्न थालेका छन् । आबद्धमध्ये १५ देखि २० महिलाले तरकारी खेती, व्यापार, भेडा बाख्रापालनलगायतका उत्पादनशील काम गर्दै आएका छन् ।” पहिला सहकारीमा आबद्ध नहुँदा घर चलाउन मुस्किल हुने यहाँका महिलालाई अहिले सरकारीले विभिन्न प्रकार सीपमूलक तालिम दिएपछि उनीहरुका जीवनशैली विस्तारै परिर्वतन हुँदै गएको संस्थाका उपाध्यक्ष बेलकौरा बुढाले बताए । सहकारीबाट सिकेको सीपमूलकबाट तालिमले अहिले यहाँका महिलाले मासिक १० रूपैयाँदेखि १५ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका स्थानीयवासी धर्मकली बुढाले जानकारी दिए । सहकारीबाटै ४० हजार रूपैयाँ ऋण लिएर तरकारी खेती र व्यापार शुरु गरेको स्थानीयवासी मुनबहादुर बुढाले बताए । उनले भने, “आजभोलि मासिक पाँच हजार रूपैयाँ कमाउने गरेको छु । सहकारीले बचत गर्न र कमाउन सिकाएको छ ।” विसं २०७३ वैशाख १ गते स्थापना भएको सो संस्थाले कृषितर्फ पशुपालन, तरकारी खेती, राडीपाखी व्यापार र वैदेशिक रोजगारीका लागि पनि आफ्ना सेयर सदस्यलाई ऋण लगानी गर्दै आएको छ । महिलालाई सङ्गठित गर्दै उनीहरुको विकासका लागि महिलाले नै सञ्चालन गरेको सो कृषि उत्पादक कृषक समूहले साविकको शनिगाउँ गाविसका सहकारी मध्यनमूना सहकारीको रूपमा विकास भइरहेको सचिव जोबना बुढाले बताए । सो संस्थामा अहिले २४८ सेयर सदस्यमध्ये अधिकांश विपन्न परिवार रहेका छन् । ती मध्ये ६८ पुरुष, ६७ महिला, ५८ बालिका र अन्य ५५ ले बालबचत गर्ने गरेका छन। । पुरुष र महिलाले रु १०० बचत गर्ने गरेका छन् भने बालबचत मासिक रु ५० उठाउने गरिएको उनले जानकारी दिए । आफूले नै समूहमार्फत बचत गरेको पैसा सरकारीमा जम्मा गरेर सेयर सदस्यहरुले त्यहीँबाट ऋण सहयोग लिएर आयआर्जनको काम गरिरहेका छन् । ऋण प्रवाह गर्दा समूहले सस्तो दिने गरेको सो संस्थाले जनाएको छ । स्थानीय तहमा सञ्चालनमा आएका संस्थाले किसानको मागलाई ध्यानमा राख्दै कृषि सहकारी संस्थाले अग्र्यानिक अन्न बालीको बीउ उत्पादनमा जोड दिएको तिला गाउँपालिका-१ मा रहेको समावेशी महिला सहकारी संस्थाका सचिव वसन्ती बस्नेतले जानकारी दिए । अन्यत्रबाट बीउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको यहाँका सहकारी बताउँछन् । रासस

अझै तीन दिन देशभर बदली हुने

काठमाडौं । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । “तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, मौसमविद् पोखरेलले भने । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने बताइएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । दिउँसो प्रदेश नं १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस दुई डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

मोबाइलमा माघीः युटुब हेरेर परिकार बनाउन सिक्दै

काठमाडौं । माघे संक्रान्ती गरेर थारु जातीको विशेष पर्वका रुपमा चिनिन्छ । थारुहरुका लागि माघे संक्रान्ती नयाँ वर्षका रुपले पनि चिनिन्छ । आजको दिनमा थारुहरुले मिठो–मिठो खाने परिकार पकाएर र नाचगान गरेर मनाउने गर्दछन् । माघी चाडको मुख्य विशेषता भनेको घुँगी हो । तर, अहिले माघी र माघीमा पकाइने परिकारको पहिचान बदलिएको छ । अहिले नयाँ पुस्ताले आफ्नो संस्कार संस्कृति अपनाउनको लागि विभिन्न विकल्पहरु अवलम्बन गरिहरेका छन् । अहिले नयाँ पुस्ताले सामाजिक सञ्जाल युटुब लगायतका सामाजिक सञ्जाल प्रयोग गरेर विभिन्न परिकारहरु बनाउन सिकिरहेका हुन्छन् । काठमाडौंकी संगिता लामा विगत २ वर्षदेखि काठमाडौंको टुँडिखेलमा हुने माघी महोत्सवमा घुँगी बनाउँछिन् । यूट्यूबमा हेरेर विगत २ वर्षदेखि माघी महोत्सवमा थारु परिकार बनाएर विक्री गर्दै आएको तामाङले बताइन् । ‘थारु परिकार बनाउन मन लाग्यो, यूटुवमा हेरेर सिकेँ, २ वर्षदेखि टुडिखेलको माघी मेलामा व्यापार गर्दै थारु परिकार बनाएर बेच्दैछु, यी खाने कुराहरुको विशेषता के हो भन्ने मलाई थाहा छैन,’ तामाङले भनिन् । माघी पर्वमा घुँगी र ढिकुरी अनिवार्य खानु पर्छ भन्ने प्रचलन छ । यही बेलामा बढी मात्रामा बिक्री हुने घुँगी थारु समुदायको प्रमुख परिकारभित्र पर्छ । माघी पर्वमा विशेषता माघी पर्वको तयारी एक महिनादेखि सुरु हुन्छ । जसमा खानाका परिकारहरु पकाउनका लागि दाउरा अनदीको चामलको गुलियो जाँड, वनबाट मालु र सालको दुनारटपरी, तोरी पेल्ने जस्ता प्रमुख तयारी हुन् । माघीमा ढिकुरी र घुँगी अनिवार्य परिकार हो । यो खानै पर्छ । र, आफ्नो गच्छेअनुसार नयाँ वर्षका लागि नयाँ कपडा लगाउनै पर्ने चलन थारु समाजमा कायमै छ । यो पर्वलाई लक्षित गरि माछाबाट बन्ने विभिन्न परिकार बनाइन्छ । पुस महिनाको अन्तिम दिन थारु समुदायले ‘जिता मर्ना दिन’ को रुपमा लिने गर्छन् । नाच, गान तथा खानपिनलाई लक्षित गर्ने माघीको प्रमुख विशेषता यो पर्वको छ । माघीमा घाग्रामा, चन्नहार, हौसली, मन्टिका, पाउजु, कल्ली र वेल्ड जस्ता परम्पारगत पहिरनमा थारु महिला सजिएका हुन्छन् ।