तीन दिनसम्म आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ । देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो । अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ । काठमाडौं उपत्यकाको सोमबारको अधिकतम तापक्रम २३ दशकमव ७ डिग्री रहेकामा आज २१ दशमलव ८ डिग्री सेल्सियस छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा अपराह्न आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको समेत सम्भावनाका साथै तराईका भूभागमा बाक्लो हुस्सु कुहिराको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस छ । रासस

कथा सुनाएर रात काट्ने पर्व पुसे पन्ध्र

डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चिम प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ । डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ । आजको लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा कतिपय बस्तीमा छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एंव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ । दन्त्ये कथा जान्नेहरु नजिक गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन् । दन्त्यकथा भन्नेले परम्परागत शैलीमै सुनाउँदै बीचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । श्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन् । कथा भन्ने यति सिपालु हुन्छन की कथामा यसपछि के हुन्छ भन्ने कौतुहलता पैदा गर्छन । राक्षस, भुत, प्रेत, देवता, प्रेम, राजासंग सम्बन्धित दन्ते कथाहरु बढी प्रचलित छन् । जुन कथा बढी प्रचलित छ । त्यहि कथा सुनाउनका लागि बढी माग हुने गर्दछ । दन्त्य कथासँगै गाउँ खाने कथा समेत भन्ने गरिन्छ । गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुुपर्ने हुन्छ । गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ । पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचिनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिकता भने हराउँदै जान थालेको छ । “पहिलाको जस्तो गाउँका सबै जना दन्त्य कथा भन्ने व्यक्तिको घर आङ्गनमा जम्मा भै आगो बालेर कथा सुन्ने गर्दथे । तर हाल रात काटने र कथा सुन्ने चलन हराउदै जान थालेको छ”, सुदूरपश्चिम संस्कृतिका जानकार तेज शाहले भने, “टेलिभिजन र इन्टरनेटको बढ्दो प्रभावका कारण पुराना मौलिक परम्परा हराउँदै जान थालेका छन् ।” “पुसे पन्ध्रको रात काटनका लागि एक ठाउँमा जम्मा हुनेहरु बीच गाउँको विकास, सामाजिक, धार्मिक र सांस्कृतिक कार्यका बारेमा सरसल्लाह हुन्थ्यो”, उनले भने, “एक आपसमा बैमनस्यता, रिस, राग भएपनि सबै भुलाएर सबै जना एक ठाउँमा जम्मा हुन्थे । जसमा सामाजिक सद्भाव देखिन्थ्यो ।” यसरी पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झण्डै २० फिट लामो) दाउराको मुढोको आगो ताप्नुपर्ने र एकआपसमा हाँसोठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ । पर्वको तयारीस्वरुप आज बिहानैदेखि हरेक घरका गृहणीहरुले आ-आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीवेटीलाई घरमा आमन्त्रण गरी भव्य रुपमा स्वागतसत्कार गर्ने गरिन्छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको स्थानीयवासी लोकराज भट्टले बताए । सुदूरपश्चिममा मुख्य हिँउदेबालीका रुपमा लगाइने गहुँ छरेर फुर्सदिला बनेका बासिन्दा रातभर एक ठाउँमा जम्मा भएर रात अनिदोभै काट्ने गर्दछन् । रात काट्नका लागि दन्ते कथा र गाउँ खाने कथा सुनाएर रात काटने गरिन्छ । दन्ते कथा जान्नेहरु नजिकै गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन् । दन्ते कथा भन्नेले परम्परागत शैलीमै कथा सुनाउँदै बिचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । स्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन् । कथा भन्ने यति सिपालु हुन्छन्की कथामा यसपछि के हुन्छ भन्ने कौतुहलता पैदा गर्छन् । कथा भट्याउने व्यक्ति सिपालु छ भने एउटै कथाले रात काटिएको पत्तोनै हुदैन । राक्षस, भूत, प्रेत, देवता, प्रेम, राजासँग सम्बन्धित दन्ते कथा बढी प्रचलित छन् । जुन कथा बढी प्रचलित छ । त्यही कथा सुनाउनका लागि बढी माग हुने गर्दछ । दन्ते कथासँगै गाउँ खाने कथासमेत भन्ने गरिन्छ । गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुपर्ने हुन्छ । गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ । गाउँ खाने कथा भन्नेले निकै चलाखीपूर्वक प्रश्न सोध्ने गर्दछन् । पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचीनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिता भने हराउँदै जान थालेको छ । दन्ते कथा र गाउँ खाने कथा भन्ने चलन हराउँदै जान थालेको छ । कथा जान्ने व्यक्तिको अभाव र युवा पुस्ताले मनोरञ्जनका अन्य साधनप्रतिको आशक्तिले पुरानो चलन विर्षदै जान थालेका हुन् । “पहिलाको जस्तो गाउँका सबै जना दन्ते कथा भन्ने व्यक्तिको घर आँगनमा जम्मा भई आगो बालेर कथा सुन्ने गर्दथे । “हाल रात काट्ने र कथा सुन्ने चलन हराउँदै जान थालेको छ”, सुदूरपश्चिमको संस्कृतिका जानकार तेज शाहले भने, “टेलिभिजन र इन्टरनेटको बढ्दो प्रभावका कारण पुराना मौलिक परम्परा हराउँदै जान थालेका छन् ।” “पुसे पन्ध्रको रात काट्नका लागि एक ठाउँमा जम्मा हुने बीच गाउँको विकास, सामाजिक, धार्मिक कार्य, सांस्कृतिकका बारेमा सरसल्लाह हुन्थ्यो” उनले भने, “एक आपसमा वैमनश्यता, रिस, राग भए पनि सबै भुलाएर सबै एक ठाउँमा जम्मा हुन्थे जसमा सामाजिक सद्भाव देखिन्थ्यो ।” “गाउँका सबै जना जम्मा हुने भएकाले सुख दुःखका कुरा सुन्ने र सुनाउने कार्य हुन्थ्यो । पिँडा बिसाउने चौतारीका रुपमा पुसे पन्ध्रलाई विगतमा लिने गरिन्थ्यो । त्यो पुरानो चलन ठिक थियो । त्यसलाई जोगाउनका लागि चेतनाको दियो बाल्नुपर्ने बेला आएको छ । यसका लागि नयाँ पिँढीलाई तयार गर्नमा लाग्नु आवश्यक छ”, लालबहादुर ऐरले भने । एकको घरमा पाकेको मिठामसिनो अर्कोलाई खुवाउने चलनसमेत यस पर्वमा रहेको छ । रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन रहेको उनले बताए । यो पर्व हाल औपचारिकतामा मात्रै सीमित भएको छ । आज हतियार नचाउने परम्परा पनि छ । घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन रहेको छ । तिहारमा देउसी भैली खेलेर जम्मा भएका रकम खर्चेर वनभोज खाने यस अवसरमा गरिन्छ । विवाहिता दिदीबहिनीलाई यस अवसरमा घरमा बोलाएर विभिन्न पकवान पकाइ खुवाउने गरिन्छ । पुस पन्ध्रपछि जाडो सकिँदै जाने जनविश्वासका कारण परम्परागतकाल देखिनै कञ्चनपुरसहित बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, कैलाली, कञ्चनपुर र भारतको कुमाउ गढवाल क्षेत्रमासमेत रातभरि जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाएर र गीत गाएर पुसे पन्ध्र मनाउने गरिन्छ । यस बेलादेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुने गर्दछन् । रासस

अनि महानगरसँग मात्रै होइन, कोरोनासँग पनि लुक्दै भाग्नुपर्यो करनले

काठमाडौं । एकातिर कमजोर आर्थिक अवस्था, अर्काेतिर स्तरीय उच्च शिक्षाको अभिलाषा । यी दुबै आवश्यकता र चाहना पूरा गर्न एक वर्षअघि बैतडीबाट काठमाडौं छिरेका थिए करन बहादुर कुँवर । काठमाडौं आउन सजिलो छ अहिले । केही दशक अघिको जस्तो हप्तौं पैदल हिडेर गाडी भेट्नु पर्दैन । दुरदराजका ग्रामीण बस्तीहरुसम्म सडक संजाल पुगेको छ । गाडी चल्न थालेका छन् । भलै, ती सडकको अवस्था दयनीय र हिउँदमा मात्रै गाडी चल्ने किन नहोस् । काठमाडौं आएपछि उनलाई दैनिकी चलाउन गाह्रो भयो । यस्तै समस्याको बीचमा कसैले सुनाइदियो-फुटपाथमा व्यापार गर्ने विकल्प । अनि आजभन्दा एक वर्ष अघिदेखि लागे काठमाडौंको रत्नपार्कमा रहेको आकासे पुलमाथि छालाको पेटी बेच्न । ‘काठमाडौं त आइयो, खान बस्नको लागि पैसाको आवश्यकता पूरा गर्न सक्ने आर्थिक अवस्था घरपरिवारको थिएन, अनि जागिर खोज्न थालें, जागिर पाइएन, अनि फुटपाथमा पेटी बेच्न लागेको हुँ,’ करनले भने । नभन्दै उनको कमाई राम्रो हुन थाल्यो । व्यापारबाट आएको पैसाले कलेजको फी र कोठाभाडा तिर्न पुग्ने हुन थाल्यो । ‘अलि अलि पैसा त घर पनि पठाउँथें,’ करनले सम्झिए । उनको दैनिकी ठिकै चलिरहेको थियो । कक्षा १२ मा पढ्दै थिए । विहान पढ्न जाने, दिउँसोदेखि रत्नपार्कमा छालाको पेटी बेच्ने । रमाइलै थियो उनको दैनिकी । यही बीचमा विश्वलाई त्राहिमाम बनाउँदै कोरोना भाइरस महामारी आयो । स्कूल कलेज बन्द भए । कलकारखनामा ताला लगाइयो । सरकारले देशव्यापी लकडाउन घोषणा गर्यो । कोरोना भाइरस संक्रमणको डरले सर्वसाधारण भित्रबाट चुकुल लगाएर कोठामै कोच्चिएर बसे । उनको पेशा नै फुटपाथको व्यापार । त्यस्तो त्रासदीको समयमा उनी आफै बाहिर निस्कने आँट गर्न सक्ने अवस्थामा थिएनन् । निस्के पनि प्रहरीले कारबाही गरिहाल्थ्यो । सकडमा मान्छे हिड्दैनथे । व्यापार हुने सम्भावना थिएन । झन् कीर्तिपुर बस्ने करनलाई रत्नपार्क आएर व्यापार गर्न सम्भव छदै थिएन । गाडी पनि कहाँ चलेका थिए र त्यो बेला ! अनि अरु नेपालीले जस्तै, दुःखको बेला फेरि घर सम्झिए करनले । कोरोना महामारीको समयमा उनी ७ महिना घर बसे । अलि पछि त अनलाइन कक्षा पनि सुरु भयो । अध्ययनको सँगै उनी घरायसी काम र खेतीपातीमा लागे । यही बीचमा कक्षा १२ को परीक्षा भयो । परीक्षा दिए । घरमा ७ महिना बसेपछि उनी फेरि काठमाडौं आएर आफ्नो व्यापार सुरु गरेका छन् । तर, कोरोना महामारी अघिको जस्तो व्यापार अहिले नभएको उनको अनुभव छ । ‘दिनको ७÷८ सय त कमाई भैहाल्छ नि, महिनामा १५ देखि २० हजार रुपैयाँ बचाउँछु, महानगर आएर बेलाबेलामा हामीलाई लखेट्छ, त्यसरी लखेटेपछि अर्काे ठाउँमा गएर फेरि व्यापार गर्ने हो, यसपाली त महानगरले मात्रै होइन, कोरोनाले पनि लखेट्यो काठमाडौंबाटै, तरपनि डराएर मात्रै हुँदैन, बाँच्नको लागि पनि केही न केही गर्नै पर्यो नि,’ करनले हाँस्दै भने ।