‘लिफ्टिङ’ गरेर रामपुरतर्फ पानी ल्याइँदै
रामपुर । आफ्नै गाउँ ठाउँमा दिगो र भरपर्दो पिउने पानीको श्रोत नहुँदा रामपुर नगरपालिका ८ का स्थानीयले धेरै सास्ती खेप्नुपरेको छ । उनीहरु वर्षौंदेखि खोला किनारका पानी उपभोग गर्न बाध्य छन् । सो स्थानमा खानेपानीको पहुँच पुर्याउन अहिले लिफ्टिङ पद्धतिमार्फत काम भइरहेको छ । स्याङ्जा चापाकोट–९ बाट पाल्पा रामपुर–८ का विभिन्न टोल बस्तीमा खानेपानी पुर्याउन काम लिफ्टिङ जडानको काम धमाधम जारी छ । कालीगण्डकी नदी पारी चापाकोट नगरपालिका–९ स्थित नदीको किनार फतरामुलको पानी व्यवस्थापन गरी पाल्पा रामपुर ल्याउन लागिएको हो । सिद्धबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निसर्दी खानेपानी तथा उपभोक्ता समितिले कालीगण्डकी पारी रहेको मुलमा बाँध बाँधेर रामपुरतर्फ पानी ल्याउने कार्य भइरहेको जनाएको छ । रामपुर–८ स्थित निसर्दी, भुजात र बटम्मा गरी ‘एक घर एक धारा’ अन्तर्गत तीन टोलमा २७६ घरधुरीका स्थानीयलाई शुद्ध, सफा र स्वच्छ पिउने पानी वितरण गर्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा २०७६ मा आयोजनाको काम सुरुआत भएको थियो । सो आयोजना सम्पन्न गर्नका लागि अनुमानित तीन करोड ३६ लाख रुपैयाँ रकम लाग्ने जनाइएको छ । यहाँ २०७८ मा आयोजनाका काम सम्पन्न गरी घर–घरमा पानी वितरण गर्ने भनिए तापनि पाल्पामा प्रदेशका योजना धेरै सञ्चालनमा रहेकाले समयमा नै बजेट नआउँदा लम्बिन पुगेको हो । सो आयोजनाका लागि चापाकोट–९ का स्थानीय खिमाकुमारी भण्डारीसँग तीन आना जग्गा दुई लाख रुपैयाँमा उपभोक्ता समितिले किनेर काम थालनी गरिएको छ । मुलमा बाँध बाँध्ने काम सकिएको छ भने कालीगण्डकी नदी माथिबाट पोलिपाइप तानेर ल्याउने काम बाँकी छ । यसको तयारी भइरहेको छ । कालीगण्डकी नदी पारी रहेको मुहान करिब तीन सय मिटर दूरीबाट पोलिपाइपमार्फत झोलुङ्गे पुलजस्तो गरी बाँधेर पानी रामपुरतर्फ ल्याइँदैछ । हालसम्म आयोजनाअन्तर्गत निसर्दीटोलको लागि तारबारसहितको ५० घनमिटरको रिजर्भ ट्याङ्की मुख्य ट्याङ्कीबाट त्यहाँसम्म पुग्ने पाइपलाइन विस्तार, भुजातटोलको लागि एक सय घनमिटरको ट्याङ्की निर्माण ९मुख्य ट्याङ्कीबाट त्यहाँसम्म पुग्ने पाइपलाइन विस्तार, बटम्माटोलको पैतीस घनमिटरको ट्याङ्की, पानी वितरण गर्ने एकवटा डिसी, मेनलाइनको काम सम्पन्न, भुजात पिपलपाटा सामुदायिक वन क्षेत्र कालीगण्डकी नदीको किनारमा एक सय ५० घनमिटरको मूल ट्याङ्की निर्माण गर्ने काम सकिएको छ । आयोजनाअन्तर्गत विद्युत् बिस्तार, बटम्माटोलको मेनलाइन, ट्याङ्कीबाट घर–घरमा पाइप बिच्छ्याउने काम बाँकी छ । अबको एकवर्ष भित्रमा घर–घरमा पानी वितरण गरेर सफा र शुद्ध खानेपानी उपभोक्तामाझ पुर्याउने योजनाअनुसार तीव्र गतिमा काम अगाडि बढेको निसर्दी खानेपानी उपभोक्ता समितिका अध्यक्ष त्रिलोचन अधिकारीले जानकारी दिए । ‘अहिले यहाँका स्थानीयले पुरानै खोला मूलका पानीबाट दैनिक जीविकोपार्जन चलाउन बाध्य छन्, सफा र स्वच्छ पानी उपभोग गर्न पाइएको छैन’, उनले भने, ‘दिगो र भरपर्दो पानीको स्रोत नहुँदा वर्षौंदेखिका यहाँका स्थानीयले खानेपानी उपभोगमा समस्या भोगिरहेका छन् ।’ टिकाउ र वैकल्पिक पानीको लागि लिफ्टिङ प्रणालीमार्फत सुरु भएको योजना सम्पन्न भई घर–घरमा पानी वितरण भएपछि स्थानीयलाई पानी खोजेर खाने समस्या समाधान हुनेछ । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले ‘एक घर एक धारा’ खानेपानी वितरण गर्ने लक्ष्यका साथ लिफ्टिङ प्रणालीमार्फत पाल्पाका विभिन्न गाउँ–गाउँमा योजनाका काम अगाडि बढिरहेको बताएका छन् । उनले भने, ‘प्रदेश सरकारमार्फत सञ्चालन भइरहेका खानेपानीका योजना अनुगमन गर्दै उपभोक्ता समितिलाई काम छिटो र पारदर्शीरुपमा अगाडि बढाउन निर्देशन दिइरहेको छु, घर–घरमा सफा र शुद्ध खानेपानी पु¥याउने लक्ष्यअनुसार उपभोक्ता समितिबाट काम भइरहेको छ ।’ निसर्दी, भुजात र बटम्मा टोलका स्थानीयलाई आफ्नै क्षेत्रमो पानीको स्रोत नहुँदा अप्ठ्यारोमा परिरहेका थिए । लिफ्टिङ गरेर खानेपानी उपभोग गर्ने स्थानीयको सपना अब पूरा हुँदैछ । चापाकोट क्षेत्रमा कालीगण्डकी नदी किनारसँग जोडिएका पहाडका बीच भागमा प्रशस्त बाहै्र महिना उपभोग गर्न मिल्ने पानी रहेको छ । चापाकोट क्षेत्रका स्थानीय सरकार तथा स्थानीयवासीको समन्वयपश्चात् रामपुरतर्फ पानी ल्याउने योजना अगाडि बढेको हो । यसले स्थानीयलाई राहत पुग्नेछ । पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट क्षेत्रलाई कालीगण्डकी नदीले छुट्याएको छ । नदी वारीपारी रहेका यी क्षेत्र जिल्ला र स्थानीय तह मात्र नभई फरक–फरक प्रदेशमा विभाजित छन् । रासस
म्याग्दीको कालीपुल बसपार्कमा १६ वर्षपछि टर्मिनल भवन निर्माण
म्याग्दी । बसपार्क सञ्चालन भएको १६ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले करिब तीन करोड रुपैयाँको लागतमा २८९ दशमलव पाँच वर्गमिटर क्षेत्रफलमा निर्माण गरेको टर्मिनल भवन आइतबार नगरपालिकालाई हस्तान्तरण गरेको छ । विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो । टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा शुभ कन्ट्रक्सन र आयोजनाबीच दुई करोड ८५ लाख ४५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक विकासराज वन्तले आयोजना प्रमुख सुनिता श्रेष्ठमार्फत आइतबार नवनिर्मित भवन बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई हस्तान्तरण गरे । ‘१५ महिनाको ठेक्का अवधि भएको यो भवनको सम्झौताको म्याद थप गर्नुपरेन’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘२०७९ चैत १० गते निर्माण सकिएको भवन एक महिनापछि औपचारिकरुपमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।’ एक तले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय छन् । भवन परिसरमा बसपार्कको आरसिसी ढलान गरिएको छ । अपाङ्गमैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ । टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्ने फर्निचर व्यवस्थापन गरेर टर्मिनल भवन सञ्चालनमा ल्याउने नगरप्रमुख केसीले बताए । ‘धुलो, हिलो र अव्यवस्थित पार्किङले हामीले आलोचना सहनु र नागरिकले सास्ती खेप्नुपरेको थियो’, उनले भने, ‘म्याग्दीबाट लामो दूरीका लागि छुट्ने र मुस्ताङ जाने सवारी साधनलाई लक्षित गरेर नगरपालिकाले तयार पारेको गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण र बसपार्क ढलान गरिएको हो ।’ टर्मिनल भवनमा टिकट काउन्टर राख्न आठ वटा यातायात कम्पनीले निवेदन दिएका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए । बसपार्क क्षेत्रमा अस्थायी पूर्वाधार र अन्य क्षेत्रमा काउण्टर राखेर सेवा दिँदै आएका यातायात व्यवसायीले टर्मिनल भवनमा मात्रै काउण्टर राख्ने भएपछि यात्रुलाई समेत सहज हुनेछ । सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित र फराकिलो बनाउन लागिएको नगर उपप्रमुख ज्योति लामिछानेले बताए । विसं २०७४ मा नगरपालिकाले २१ करोड रुपैयाँ लागत अनुमानमा बसपार्कको गुरुयोजना तयार पारेको थियो । गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ । बसपार्कको पर्यटक सूचना केन्द्र, ट्राफिक प्रहरी कार्यालयको भवन र पेट्रोल पम्पलाई हटाउन लागिएको जनाउँदै नगरप्रमुख केसीले ढलानलाई विस्तार र टर्मिनलको भवनमा तला थप गर्न आयोजनालाई निरन्तरता दिन नगरप्रमुख केसीले आयोजनालाई आग्रह गर्न छ । रासस
एक दशकमा पनि बनेन टेकुको पुल
काठमाडौं । एउटा पुल बन्न कति समय लाग्छ ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ । नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र आधुनिक प्रविधिको पुल भए तीन चार वर्षसम्म लाग्ने देखिएको छ । तर काठमाडौंमा एउटा यस्तो पुल छ, जसको निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्यो तर निर्माण सकिएको छैन । टेकुको विष्णुमति नदीमा निर्माणाधीन पुल आर्थिक वर्ष २०५९/६० मा सुरु भए पनि हालसम्म समपन्न भएको छैन । पुल निर्माणमा त्रुटि रहेकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्नुपर्ने डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । कम गुणस्तरको पुल भएकाले अहिले त्यहाँ यातायात आवागमन रोकिएको डिभिजनका सूचना अधिकारी सुनिता केसीले बताइन् । पुल निर्माण अघि बढिरहँदा नै डिभिजन र निर्माण कम्पनीबीच विवाद भएको थियो । डिभिजनले कम गुणस्तरको भएकाले निर्माण अघि नबढाउन भनेको भए पनि कम्पनीले त्यो नमानेको सूचना अधिकारी केसीले बताइन् । उनले भने, ‘डिभिजनले रोक्न भन्दाभन्दै कम्पनी काम सकाउन लागेको थियो ।’ कम गुणस्तरको निर्माण भएको र पहिले डिजाइनमा उल्लेख भएअनुसार स्पेसिफिकेसन अनुसार नभएकाले तीन वर्ष पहिले निर्माण कम्पनीसँगको ठेक्का तोडिएको डिभिजनले जनाएको छ । डिभिजन कार्यालयले ठेक्का तोडेर कम्पनीलाई कालोसूचीमा पठाएपछि कम्पनी अदालतमा गएको थियो । मुद्दा विचाराधीन हुँदा थप कारबाही गर्न नसकिएकाले अहिले पुल बन्द गरी राख्नुपरेको सूचना अधिकारी केसीको भनाइ छ । उनले भने, ‘पुलसम्बन्धी मुद्दाको निर्णय आएपछि त्यहीअनुसार अघि बढाइनेछ ।’ कम्पनीले आफ्नोतर्फबाट निर्माण सकेपछि यातायात सञ्चालन गर्न चाहेको भए पनि कम गुणस्तरको बनेकाले नदिइएको डिभिजनले जनाएको छ । अहिले मुद्दा विचाराधीन भएकाले खोल्न नमिल्ने उनले बताए । पुलको माथिको बीचको भाग भत्काउनुपर्ने कार्यालयको भनाइ छ । पहिले निर्माण कम्पनीले रोक्नभन्दा नमानेर बनाएको संरचना स्वीकार गर्ने किसिमको नभएको उनले बताए । पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको हो । उक्त कम्पनीले टेकु र तीनकुनेमा रहेका दुई वटै पुल निर्माणको जिम्मा पाएको थियो । दुई वटै पुलमा गुणस्तरीय काम नगरेको भन्दै ठेक्का तोडिएको थियो । तीनकुनेमा रहेको पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको भए पनि यो पुलको मुद्दा अदालतमा रहेकाले लामो समयसम्म पुल अलपत्र अवस्थामा छ । रासस