अरुण काबेलीको विद्युत बिक्री नभएपछि नाफा घट्यो

काठमाडौं । अरुण काबेली पावरको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १४ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घट्नु र कम्पनीको खर्च बढेका कारण कम्पनीको नाफा ३५.३५ प्रतिशत घटेको हो । चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री आम्दानी ४.६४ प्रतिशत घटेर ५६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.३४ प्रतिशत घटेर ५३ करोड १८ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६० लाख रुपैयाँ कूल नाफा गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी १३७.७८ प्रतिशत बढेर ७४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ लाख रुपैयाँ मात्रै अन्य आम्दानी गरेको थियो । कम्पनीको कुल खर्च १८.४९ प्रतिशत घटेर ३९ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्ष ३३ लाख २ हजार रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड रुपैयाँ र जगेडा कोष ५३.६४ प्रतिशत बढेर ३५ करोड ४२ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.६४ रुपैयाँ घटेर १०.३२ रुपैयाँमा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.१४ गुणा रहेको छ ।

मनाङमा सडकको ट्र्याक खोलिदै

  मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो । प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जानकारी दिए । सडक सञ्जालबाट वञ्चित सो पालिकामा चट्टान फुटाउन विष्फोटक पदार्थ प्रयोग गरिँदै छ । जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएपछि आजदेखि विष्फोटक पदार्थ प्रयोग गरी नार्पाभूमिको कोतो–च्याँखु सडक खण्डको ट्र्याक खोल्न थालिएको उनले बताए । विष्फोटक पदार्थ प्रयोग गर्ने समयमा पशुचौपाय नछोड्न र पैदलयात्रुलाई आवतजावत नगर्न अनुरोध गरिएको छ । नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । केही भागमा ट्र्याक खोल्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए । ट्र्याक खोल्न गण्डकी प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ९० लाख रुपैयाँ विनियोजन गरेको छ । रासस

पक्की पुलको विकल्पमा जाजरकोटमा बेलिब्रिज निर्माण गरिने

जाजरकोट । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । यसका लागि तीन ठाउँमा सर्वे भएको पुष्पलाल मध्यपहाडी लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले जानकारी दिए । भेरी नगरपालिकाको–११ र १३ का तीन स्थानमा सर्वे भएको उनको भनाइ छ । नदीमा पक्की पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि बेलिब्रिज निर्माण गर्न लागिएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गमा पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि काम नगरेपछि हाल सम्झौता रद्द गरिएको छ । सरकारले निर्माण कम्पनी वाईपी कन्ट्रक्सन प्रालि काठमाडौँविरुद्ध समयमै काम नगरेको भन्दै आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपैयाँ जरिवाना समेत गरेको छ । सरकारको उक्त निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको छ । निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि काम गर्न अटेर गरेपछि गत मङसिर २९ मा विभागीय निर्णय अनुसार ठेक्का सम्झौता रद्द गरिएको निर्देशनालयका डिभिजन प्रमुख इञ्जिनियर युवराज पोखरेलले बताए । सार्वजनिक खरिद नियमावली २०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै उक्त योजनाको रकम असूल उपर गर्ने व्यवस्था छ । कम्पनीले २०६९ सालमा तीन वर्षमा काम सम्पन्न गर्नेगरी १४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । रासस