सङ्खुवासभामा ४१ मेगावाटको जलविद्युत आयोजना बनाउँदै एसजी ग्रुप, ८ अर्ब लगानी

<p>काठमाडौं । एसजी ग्रुपअन्तर्गतको गुराँस हाइड्रो प्रालिले ४१.०६ मेगावाटको जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ । सङ्खुवासभा जिल्लाको सङ्खुवा खोलामा संरचना रहनेगरी जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो । आयोजना निर्माणको लागि गुराँस हाइड्रो प्रालिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए)को प्रक्रिया अघि बढाएको छ । पीपीए सम्झौता लगत्तै आयोजना निर्माणको काम थाल्ने तयारीमा रहेको [&hellip;]</p>

काठमाडौं । एसजी ग्रुपअन्तर्गतको गुराँस हाइड्रो प्रालिले ४१.०६ मेगावाटको जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ । सङ्खुवासभा जिल्लाको सङ्खुवा खोलामा संरचना रहनेगरी जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो ।

आयोजना निर्माणको लागि गुराँस हाइड्रो प्रालिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए)को प्रक्रिया अघि बढाएको छ । पीपीए सम्झौता लगत्तै आयोजना निर्माणको काम थाल्ने तयारीमा रहेको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

कम्पनीले ७ अर्ब ९७ करोड ५८ लाखको लगानीमा आयोजना निर्माण गर्न लागेको उनले बताए । आयोजनाका अधिकांश संरचना सिलीचोङ गाउँपालिकाभित्र हुने छन् ।

यसअघि नेपाल सरकार आफैले यस आयोजनाको काम अगाडि बढाउने भनेर अध्ययन गरेको थियो । सरकारले आयोजना निर्माणको काम अघि नबढाएपछि सरकारको बास्केटबाट एसजी ग्रुपले आयोजना किनेको हो ।

विद्युत आयोजना निर्माणको लागि जग्गा खरिद र केही स्थानीयलाई मुआब्जा वितरण लगायतको गृहकार्य भइरहेको घिमिरेले बताए । कम्पनीले काम सुरू गरेको साढे तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

उक्त आयोजनाको डिजाइनमा सुरुङ पनि समेटिएको छ । करीब चार हजार दुई सय मिटरको सुरूङ निर्माण गर्नुपर्ने देखिएको घिमिरेले बताए । आयोजनाको हेड बक्स भने संखुवासभाको बुधबारेभन्दा केही तल हुनेछ । हेड बक्सबाट आएको पानी अरुण नदिमा झर्ने छ ।

पीपीए नहुँदा आयोजनाको फाइनान्सियल क्लोजर रोकिएको घिमिरेले बताए ।

एसजी ग्रुपको ठूलो आयोजना सङ्खुवा
जलविद्युत क्षेत्रमा एसजी ग्रुपको सङ्खुवा नै सबैभन्दा ठूलो आयोजनाको हो । एसजी ग्रुपले यसअघि बझाङमा जलविद्युत आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ ।

यस ग्रुप अन्तर्गत तीनवटा जलविद्युत आयोजना सुदूरपश्चिम प्रदेशमा सञ्चालित छन् । रन अफ द रिभर (आरओआर) डिजाइनका ती तीनवटै आयोजनाबाट ६४.४९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

एसजी ग्रुपले निर्माण गरेको बुङ्गल हाइड्रोबाट १०.७० मेगावाट, कलंगा हाइड्रोबाट १५.३३ मेगावाट र सानिगड हाइड्रोबाट ३८.४६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

Share News