साढे २ अर्ब लगानीमा घारखोला जलविद्युतको परीक्षण सुरु

<p>काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाको भौतिक संरचना, प्रसारण लाइन, स्विचार्ड निर्माण र उपकरण जडानको काम सकेर मङ्गलबारदेखि परीक्षण थालेको हो । ‘असार २६ गतेदेखि अन्नपूर्ण गाउँपालिका–६ पोखरे हुँदै वडा नम्बर २ भुरुङ र वडा नम्बर ३ [&hellip;]</p>

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाको भौतिक संरचना, प्रसारण लाइन, स्विचार्ड निर्माण र उपकरण जडानको काम सकेर मङ्गलबारदेखि परीक्षण थालेको हो ।

‘असार २६ गतेदेखि अन्नपूर्ण गाउँपालिका–६ पोखरे हुँदै वडा नम्बर २ भुरुङ र वडा नम्बर ३ दानाको सवस्टेसनसम्म ३३ केभी प्रसाारण लाइनमा विद्युत् प्रसारण हुने भएकाले विद्युतीय तार, पोल तथा स्टेसन आदि संरचना नछुनु होला,’ आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

आयोजनाका प्रमुख विनोद देवकोटाले हेडबक्स, टनेल, पेनस्टक पाइप तथा टर्बाइनको परीक्षण, पुनः परीक्षणपछि विद्युत् प्राधिकरणको प्रत्यक्ष निगरानीमा परीक्षण सुरु गरिएको बताए ।

‘एक हप्तादेखि आयोजनाले हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फका सबै कम्पोनेन्टको एक महिनासम्म अनुगमन गर्यौँ, सबै सूचक न्युट्रल भएपछि परीक्षण उत्पादन सुरु गरेका हौँ । प्राधिकरणका प्रतिनिधिको रहोबरमा १५ दिन परीक्षण उत्पादनपछि व्यावसायिकरूपमा उत्पादन सुरु गर्छांै,’ उनले भने ।

वि.सं २०७४ चैतदेखि निर्माण थालिएको आयोजनाले अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित विद्युत्गृहबाट सोही गाउँपालिका–२ भुरुङ तातोपानी हुँदै ३ नम्बर वडामा पर्ने दाना सवस्टेसनसम्मको ८ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रसारण गर्न थालेको हो ।

विद्युत् प्रवाह गर्ने क्रममा प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरेर समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको आयोजनाले जनाएको छ । विद्युत्गृहमा रहेका दुईवटै युनिटका टर्बाइन र जेनेरेटरको परीक्षण सफल भएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका वडा नं ६ अमिलाकाफलस्थित आउटलेटबाट १ हजार २ सय मिटर पेनस्टक पाइपमा ४८५ मिटर हेडबाट बेनी–जोमसोम सडक छेउको पोखरेबगरमा रहने विद्युत्गृहमा जोडिएको छ ।

२ अर्ब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको अन्तिम लागत खर्च सार्वजनिक गरिएको छैन । विसं २०७८ मा सक्ने लक्ष्य रहे पनि कोरोना, पहिरो, सडक यातायातको असुविधालगायतका कारणले निर्माण अवधि दुई वर्ष लम्बिएको प्रवद्र्धकले बताएका छन् ।

पोखरेबगरस्थित विद्युत्गृहबाट उत्पादित विद्युत् ८ किमीमाथि रहेको २२० केभी दाना सबस्टेसनसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइनले जोडिएको छ । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिइ हाइड्रोमेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका हुन् ।

सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले भौतिक संरचना निर्माण सकेको हो । विद्युत्गृहको नजिकै स्विचार्ड बनाइएको छ । आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।

नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवद्र्धकले बताएको छ । रासस

Share News