
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले विद्युतको शतप्रतिशत ग्यारेन्टी गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीलाई विद्युत सुनिश्चित गर्न सकिने बताएका हुन् ।
विद्युतीय सवारी वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट आयात गरेर भएपनि प्राधिकरणले विद्युत ग्यारेन्टी गर्ने घिसिङले बताए ।
‘भारतबाट विद्युत नै आयात गर्दा पनि चार रुपैयाँमा पर्छ । पेट्रोलियम पदार्थ आयात गर्दा १५ रुपैयाँ पर्छ । विद्युत अभाव हुन्छ भन्ने कुरामा डराउन भएन । विद्युतको शत प्रतिशत ग्यारेन्टी गर्नसक्छौं’, घिसिङले भने ।
अहिले विद्युत निर्यात भइरहेको सन्दर्भमा विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने भन्ने कुरै नहुने उनले बताए ।
हेरक वर्ष एक हजार मेगावाट विद्युत थप भइरहेको र विद्युतीय सवारी बढ्दा प्राधिकरणलाई पनि नाफा हुने उनले बताए ।