कर्णालीमा तोकिएकै अविधमा १३२ केभी प्रसारणलाइन बन्ने
जाजरकोट । सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ । मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर-सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने भएको हो । बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब-करिब हल उन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिका–१ गाभर र वडा नं ४ को बानियाभार हुँदै लाइन विस्तार गरिँदै छ । उक्त लाइन विस्तार गर्ने ठाउँमा बस्ती र खेतीयोग्य जमिनमा असर पर्ने भन्दै केही सर्वसाधारणले विरोध गरे पनि समाधानको दिशातिर गएको प्रदेश कार्यालयले जनाएको छ । विवाद समाधानोन्मुख भएसँगै अबको ६ महिनाभित्र काम पूरा हुने र आठ महिनाभित्र पूर्णरूपमा विद्युत् सञ्चालन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताए । विवाद भएर आयोजनाको नौवटा पोल निर्माण रोकिएकामा केही दिनभित्र निर्माण अघि बढाइने भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको भने मुआब्जासम्बन्धी विवाद समाधान भएको छ । निजी जग्गाको मुआब्जा वितरण प्रक्रियामा सहमतिअनुसार काम अघि बढाएको मन्त्री बस्नेतले जानकारी दिए । विद्युत् प्रसारण लाइन विस्तारको काम सुरु गरेको तीन वर्ष पूरा भएपछि अपेक्षित लक्ष्यमा पुग्नका लागि काममा जुटेको आयोजनाले जनाएको छ । सुर्खेतसहित कर्णालीका अन्य जिल्लाको विद्युत् समस्या हल गर्न एकमात्र विकल्प ठानिएको उक्त प्रसारण लाइनको जति ढिला हुन्छ, त्यति यहाँका सर्वसाधारणलाई हैरानी हुँदै आएको छ । लाइन विस्तार कार्यको सुरुआत २०७७ असारदेखि गरिएको थियो । ठेक्का सम्झौता भएपछि आयोजनाले कानुनी प्रक्रियामै धेरै झन्झट भएकाले काममा ढिला हुँदै आएको थियो । संरचना निर्माणपूर्वका कानुनी उल्झन र विभिन्न अवरोधका कारण लक्ष्यअनुसार प्रगति हासिल हुन समय लागेको प्रदेश कार्यालयले जनाएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । हाल सडक डिभिजन कार्यालयअन्तर्गतको रुख कटानको काम सकिएको छ भने राष्ट्रिय निकुञ्जमा रुख कटानका लागि प्रक्रिया अघि बढेको छ । आयोजनाअन्तर्गत कोहलपुरबाट सुर्खेतसम्म रहने कुल एक सय ६० वटामा २६ एंगल टावर निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार प्रसारण लाइनले ७० हेक्टर जमिन वनको क्षेत्र ओगट्नेछ । त्यसैगरी १६ हेक्टर खेतीयोग्य जमिन र दुई हेक्टर बाँझो जमिन तथा ११ हेक्टर अन्य भागले ओगट्ने प्रतिवेदनमा उल्लेख छ । यसमध्ये करिब चार हेक्टर जमिन स्थायीरूपमा सबस्टेसन निर्माणका लागि र तीन हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण गरिनेछ भने बाँकी करिब ९२ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ । चालिस प्रतिशत काम सम्पन्न गर्न बाँकी रहेको आयोजनाको २०८० चैतमा सम्झौता सकिँदै छ । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोडमा आयोजनाको ठेक्का पाएको हो । जाजरकोट, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, डोल्पा र रुकुमपश्चिममा अहिले ३२ केभी प्रसारण लाइनको विद्युत् सञ्चालमा रहेको छ । एक सय ३२ केभी निर्माण हुनेबित्तिकै सबै ठाउँमा यही विद्युत् प्रसारण हुनेछ । अहिले पानी पर्नेबित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । त्यस्तै चार सय केभी प्रसारण लाइनको कामसमेत यसै आर्थिक वर्षमा सुरु गरिने भएको छ । सुर्खेतको भेरीगङ्गा–८ देउतीखोलमा सबस्टेसन निर्माण गर्नका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले २०७९ फागुन २० गते सूचना प्रकाशित गरी कामको सुरुआत गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले बताए । जाजरकोटको नलगाड-८ दानीपिपलबाट देउतीखोलासम्मको एक सय ५० किलोमिटर प्रसारण लाइन निर्माण गरेर देउतीखोलाको सबस्टेसनमा विद्युत् जोडिने छ । दुई हजार पाँच सय मेगावाट विद्युत् यही लाइनबाट मुख्य लाइनमा जोड्नका लागि यो कामको सुरुआत गर्न लागिएको हो । १४ अर्ब बराबरको लगानी गर्नुपर्ने डा. ज्ञावलीले बताए । जगदुल्ला एक सय ६ मेगावाट, भेरी ‘ए’ तथा नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाट विद्युत् यही स्टेसन हुँदै मुख्य लाइनमा जोडिनेछन् । रासस
१३ वर्षमा सकियो पश्चिम नेपालमा विजुली पुर्याउने प्रसारण लाइन
काठमाडौं । सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला ? आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ । सामान्य वा मझौला खालका आयोजना भए एकाध वर्षमा नै सम्पन्न हुनसक्छ । तर, कूल ७४ किलोमिटर लामो एउटा परियोजना सम्पन्न गर्न १३ वर्ष लागेको छ । प्रसारण लाइन निर्माण समयमा सम्पन्न हुन नसक्दा हेटौँडा आसपास केन्द्रित हुने बिजुली पश्चिम नेपाल लैजान समस्या पर्दै आएको थियो । एकाध टावर निर्माणमा लामो समय लाग्दा आयोजनाले खेप्नु परेको हैरानी आफैँमा धेरैका लागि सिक्ने र जान्ने विषय बन्न पुगेको छ । नेपालको विकास निर्माण कसरी बेथितिमा फस्छ र समय तथा लागत दुवै बढ्न पुग्छ भन्ने उदाहरण बन्न पुगेको आयोजना हो भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन । चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा रहेको नयाँ भरतपुर सबस्टेसनमा मनाङ-मर्स्याङदी करिडोरको बिजुली जोडिनेछ । सो आयोजनाको लागत एक अर्ब ५२ करोड रहेको छ । यस्तै, हेटौँडा-भरतपुर–बर्दघाट प्रसारण लाइनको कूल लागत पाँच अर्ब ९४ करोड बराबर छ । भरतपुर महानगरपालिकाको आँपटारीबाट पश्चिम जाने प्रसारण लाइन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुनेछ । सो आयोजना विसं २०६७ मा सुुरु भएको हो । नियमित रुपमा काम भएको भए सो प्रसारण लाइन २०७२ मा नै सम्पन्न भइसक्नुपर्ने थियो । वन क्षेत्रको जग्गा प्रयोगमा सबैभन्दा बढी समस्या भोगेको आयोजनाले स्थानीयको अवरोध पनि उत्तिकै झेल्नु परेको थियो । चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा निर्माण भएको नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनको मार्ग परिवर्तन गर्न माग गर्दै स्थानीयले गरेको अवरोध, रूख कटानको समस्या, ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका कारणले जीर्ण बनेको आयोजना गत साउन ३० गते मात्रै सम्पन्न भएको हो । आयोजनामा देखिएको समस्या समाधानका लागि सरकार, नेपाल विद्युत् प्राधिकरणले गरेको मेहनत पनि आफैँमा अध्ययन गर्नलगायत विषय बनेको छ । सो प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । कूल २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभी क्षमतामा नै सञ्चालनमा ल्याइने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उक्त प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने बताउँछन् । सोही आयोजनाको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । ‘निरन्तरको प्रयासपछि प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल चालु रहेको एक सय ३२ केभी क्षमताको सिङ्गल सर्किटमात्र थियो, उक्त लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या पर्दै आएको थियो ।’ २२० केभी क्षमताको लाइन निर्माण सम्पन्न भएपछि थप विद्युत् प्रवाहका लागि सहज भएको तथा भोल्टेजमा पनि सुधार हुने प्राधिकरणको विश्वास छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दुम्कीबासमा स्थानीयले प्रसारण लाइनको मार्ग परिवर्तन गर्न गरेको माग सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले २०७७ चैत २५ मा स्थानीयको मागअनुसार नै अन्तरिम आदेश थियो । सोही कारण दुईवटा टावर निर्माण हुन नसक्दा आयोजना उल्झनमा फस्न पुग्यो । सर्वोच्चले २०७९ असार १२ मा अन्तरिम आदेश खारेज गरिदियो । सर्वोच्चले मार्ग प्रशस्त गरिदिएपछि २०७९ चैतमा स्थानीयसँग मुआब्जा र क्षतिपूर्तिका बारेमा छलफल भयो र सहमति भयो । अन्ततः प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउनका लागि पुरानोसहित तीन सर्किट भएका छन् । २२० केभीको लाइनलाई १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह भएको छ । यसअघि पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो । यस्तै, बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका-१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइन निर्माणाधीन छ । उक्त लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । त्यसपछि हेटौँडाबाट नयाँ बुटवल सबस्टेसम्म २२० केभी प्रसारण लाइन जोडिने छ । प्रसारण लाइनमा २४६ वटा टावर छन् । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रीड इन्टरनेसनल इकोनमिक एन्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरिएको थियो । प्राधिकरणले बाँकी काम गर्न नयाँ बोलपत्र आह्वान गरेको थियो । बाँकी रहेको काम सम्पन्न गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा सम्झौता भएको थियो । आयोजना प्रमुख सन्तोष साहले असाध्यै ठूलो मेहनतपछि प्रसारण लाइन निर्माण सम्पन्न भएको जानकारी दिए । दुम्कीबासको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई सञ्चालनमा ल्याएको थियो । भरतपुरबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनको सिङ्गल सर्किटलाई एक वर्षअघि सञ्चालनमा ल्याइएको थियो । भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको थियो । भरतपुर-बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर-बर्दघाट २२० केभीको लाइनसँग जोडिएको थियो । प्रसारण लाइनको क्षमता सुदृढीकरण र नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउनसरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौँडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो । विसं २०७८ कात्तिकदेखि विश्व बैंक आयोजनाबाट पछि हटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो । आयोजनालाई हेटौँडा-भरतपुर र भरतपुर-हेटौँडा खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । हेटौँडा-भरतपुर खण्ड निर्माण सम्पन्न भई एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको छ । रासस
नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन उद्घाटन गरेका छन् । साथै, प्रधानमन्त्री प्रचण्डले हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन पनि उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस)’ प्रविधिमा आधारित सबस्टेसनको उद्घाटन गरेका हुन् । नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । सबस्टेसनको लागत १ अर्ब ५२ करोड र प्रसारण लाइनको लागत ५ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । नयाँ भरतपुर सबस्टेसन परिसरमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन पूर्व पश्चिम विद्युत् आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत् यहीं खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तिब्रता दिन र अतिरित्त भएको विद्युत् निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गरे । ‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत् व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ, यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौं,नेपालको विद्युत् बंगलादेशसम्म पुर्याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ’ उनले भने । ‘अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र विद्युत् व्यापारका विषयमा सम्झौताहरु हुँदैछन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ ।’ प्रधानमन्त्रीले जलविद्युत तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गाअधिग्रहणको समस्या मौज्जुदा कानुनको संसोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताए । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १०,८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औचारिक रुपमा प्राधिकरणलाई दिन लागिएको प्रधानमन्त्रीले उल्लेख गरे । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउन र आपूर्तिलाई गुणात्मक रुपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार र अतिरिक्त भएको विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेको बताए । उनले यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम अगाडि बढाइएको उल्लेख गरे । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस प्रसारण तथा वितरण लाइन निर्माणले मुलुकको समग्र विद्युत् आपूर्तिमा सुधार हुने बताए । उद्घाटन गरिएको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौंडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो । मकवानपुरको हेटौडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ । दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालन ल्याइएको छ । प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो । प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध, जग्गा प्राप्तिमा समस्या, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानमा भएको ढिलाइ, ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएको थियो । विश्व बैंक आयोजनाबाट २०७८ कात्तिकबाट पछिहटेपछि सरकार र प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो । हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले उक्त ठेक्का तोडी नयाँ टेण्डर गरेको थियो । २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरी बाँकी काम गराइएको थियो । भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर प्रसारण निर्माणका लागि२०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेण्डर गरेको थियो । बाँकी रहेको काम गर्न २०७५ साउनमा ठेक्का सम्झौता भएको थियो । नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा केही स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले २०७७ चैत २५ गते स्थानीयको माग बमोजिम अन्तरिम आदेश दिएपछि त्यस क्षेत्रमा पर्ने प्रसारण लाइनको दुई वटा टावर निर्माण रोकिएको थियो । सर्वोच्चले २०७९ असार १२ गते रिट खारेज गरेको थियो । त्यसपछि स्थानीयसँगको मुआब्जा तथा क्षतिपूर्तिका विषयमा निरन्तर छलफल गरी २०७९ चैतमा सहमति भएपछि निर्माण गरिएको थियो । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत अन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेसन निर्माणका २०७७ असारमा ठेक्का सम्झौता भएको थियो । कोभिड–१९को महामारीका कारण सबस्टेसन निर्माण प्रभावित भएको थियो । मस्र्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर सबस्टेसन निर्माण सम्पन्न भएको छ भने अन्य सबस्टेसनहरु निर्माणाधीन छन् । नयाँ भरतपुर सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ । यस प्याकेज अन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन् ।