बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो

म्याग्दी । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र मनकारी व्यक्ति जुटिरहेका छन् भने मुस्ताङवासीले विपद्मा परेका कागबेनीवासीको व्यवस्थापन र पुनःनिर्माणमा श्रमदान गरिरहेका छन् । गण्डकी प्रदेश सरकारले बाढीपीडित बनेका नागरिकलाई राहत सामग्रीसहित उद्धार, उपचार र पुनःस्थापनाको काम गर्न सुरु गरेको छ । घरबारविहीन भएका कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन, उपकरण तथा सवारीसाधनका लागि प्रदेश सरकारले इन्धनलगायतका सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिए । त्यसैगरी प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने, बाढीपहिरो क्षेत्रमा हुनसक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भू–संरक्षणलगायतका काम गरिरहेको उनले बताए । कागबेनीको पुनःनिर्माणका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, फरक–फरक स्थानीय तह, जिल्ला समन्वय समितिलगायतले काम गरिरहेका अध्यक्ष गुरुङले जानकारी दिए । स्थानीय नागरिकसँगै सुरक्षाकर्मी पनि कागबेनीवासीको पुनःस्थापनाका लागि दैनिकरूपमा खटिरहेका छन् । स्थानीय जनप्रतिनिधिसहित सांसद बसेर बाढीपीडितका लागि गर्न सकिने विकल्पको बारेमा योजना बनाउने र सोहीअनुरुप अघि बढ्ने काम भइरहेका उनले जानकारी दिए । राहत तथा उद्धारमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारमातहतका निकायलगायत सबै सरकारी तथा गैरसरकारी सङ्घसंस्था, देश–विदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ । आर्थिक सहयोगका लागि वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रभु बंैैकमा रहेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता’को खाता नं २०८०१५१४१२७००२२१ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ । बाढीले कागबेनीका २९  घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ । दुईपाङ्ग्रे १६ र चारपाङ्ग्रे दुईवटा गरी १८ सवारीसाधन, एउटा एक्स्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेबल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुङ्गे पुल, तीनवटा काठेपुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी गाउँपालिकाको ४ नं वडाको वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्रसमेत बगाएको छ । रासस

बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिनेछ । केबलकारको अहिले पुनःपरीक्षणको काम भइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजमका निर्देशक तथा इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिए । केबलकारमा एक्काइस डिब्बा यात्रु बोक्ने, छ डिब्बा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रु बस्नसक्ने क्षमताको छ । एड्भेञ्चर डिब्बा भने अन्य डिब्बाको तुलनामा फरक किसिमको (सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको) हुने उनले बताए। ‘केबलकार भित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ’, निर्देशक पौडेलले भने । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई  ५०, पत्रकारलाई तीन सय ५०, अन्य यात्रुका लागि पाँच सय रूपैयाँ, रेष्ट्रो क्याबिनको  २५ हजार पर्नेछ भने ६५ वर्ष माथिका नागरिकलाई भने टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ । केबलकार र पाँचतारे होटल गरी कूल  तीन अर्ब ५८ करोडको लागतमा निर्माण गर्न लागिएको हो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिकस्थल अवलोकन गर्दै भरपुर मनोरञ्जन लिन सक्नेछन् । मिति नतोकिए पनि दसैँ अगाडिदेखि केबलकार सञ्चालनमा ल्याउने योजना भइरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । केबलकारमा अबको करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक परीक्षणका काम भइरहेको र अब असोजदेखि व्यावसायिकरुपमा सञ्चालनमा ल्याइने उनले बताए । ‘क्वीन टावर’ नाम दिइएको सत्र तल्लाको पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका डाँडाकाँडा र फाँट सजिलै देख्न सकिनेछ । उक्त होटलको ९२ प्रतिशत काम सम्पन्न भइसकेको छ । रङरोगन र फिनिसिङलगायत करिब आठ प्रतिशत कार्य गर्न बाँकी रहेको अध्यक्ष शर्माले बताए । नब्बे कोठा रहेको हिलटपमा ७८ वटा कोठा प्रयोगमा ल्याइनेछ । सेमिनारलगायत अन्य कामका लागि एक हजार क्षमताको ठूलो कक्षसमेत निर्माण गरिएको छ । होटलको सुरुको तलाबाट सत्र तलासम्म क्याप्सुल लिफ्टबाट सिधै ‘क्वीन टावर’ सम्म जान सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी केबलकारको प्रवेशद्वारमा  २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण काम भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा घुम्न आउने पर्यटकलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य रहने उनले जानकारी दिए । केबलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिनेछ । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको अध्यक्ष शर्माले बताए । केबलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ बजेदेखि ९ बजेसम्म उक्त सेवा दिइनेछ । तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । उनले भने, ‘कम्पनीले शाकाहारी, मांशाहारीलगायत खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराउनेछ ।’ बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्ष्य गर्दै केबलकार, रेष्ट्रोकार र तारेस्तरसम्मका होटल निर्माण गरिएको छ । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्रतले होटलभित्रै केबलकार पुगेर टुङ्गिनेछ । बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ, जहाँबाट सिधै माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिनेछ । बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ, सोही भवनमा भिआइपी लन्च, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागतलगायत कार्य एउटै भवनबाट हुनेछ । रासस

नेपालबाट बङ्गलादेश विद्युत निर्यातको प्रारम्भिक सहमति, अहिलेलाई ४० मेगावाट विद्युत लैजाने

काठमाडौँ । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि बहुपक्षीय सहमति भएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने भएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बङ्गलादेश निर्यातका लागि सहमति गरिसकेको छ । सोही संस्थामार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ । बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र केही विषय बाँकी रहेपनि त्यसलाई छिट्टै टुङ्गोमा पुर्‍याइने प्राधिकरणका विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । इमेल आदानप्रदान गरेर एकापसमा सहमति जनाइएको र त्यसलाई भौतिक उपस्थितिमा नै दुई देशका अधिकारीले हस्ताक्षर गर्ने सहमति भएको उनले बताए । कुन आयोजनाको बिजुली बङ्गलादेश पठाउने, प्रतियुनिट कति मूल्य लिने र प्रसारण शुल्कबापत भारतीय कम्पनीलाई के कति भुक्तानी गर्ने भन्ने विषयमा सहमति हुनबाँकी रहेको उनले बताए। स्वतन्त्र ऊर्जा उतपादकको संस्था नेपाल (इपान)का अध्यक्ष गणेश कार्कीका अनुसार तत्कालका लागि कति मात्रामा बङ्गलादेश बिजुली पठाउन लागियो भन्ने भन्दा पनि बाटो खुल्यो भन्ने विषय महत्वपूर्ण हो । यसले नेपालको बिजुली तेस्रो देश पनि निर्यात हुन थाल्यो भन्ने सन्देश प्रवाह हुने र लगानी भित्र्याउन सहज हुने उनको भनाइ छ । अध्यक्ष कार्कीले निजी क्षेत्रलाई पनि बिजुली निर्यातका लागि अनुमति दिन आग्रह गरेका छन् । “हामीले अनुमति पाएको खण्डमा भारत र बङ्गलादेशका निजी क्षेत्रसँग छलफल गरेर थप निर्यातका लागि मार्ग प्रशस्त गर्न सक्छौँ” उनले भने, “यसमा सरकार र निजी क्षेत्र दुवैको साझा प्रयास हुनु जरुरी छ । हामी त्यसका लागि तयार छौँ ।” सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने आफ्नो रणनीतिक योजनामा समावेश गरेको छ । हाल भारतले बङ्गलादेशलाई बिजुली निर्यात गरिरहेको छ । स्वच्छ ऊर्जाको खोजीमा रहेको बङ्गलादेशले नेपालका केही महत्वपूर्ण आयोजनामा लगानीका लागि चासोसमेत व्यक्त गरेको छ । गत जेठ २ मा बङ्गलादेशमा सम्पन्न नेपाल बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले बिजुली निर्यातको निर्णय गरेको थियो । सो बैठकले अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तरदेशीय विद्युत् आयात निर्यात गर्नेलगायतका विषयमा गम्भीर छलफल भएको थियो । सोही बैठकले ४० मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपीसी विद्युत् व्यापार निगम, भारत र बङ्गलादेशबीच पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार त्रिपक्षीय सम्झौता भएको हो । नेपालबाट खरिद गर्ने बिजुलीको खरिद दरका विषयमा आवश्यक निर्णय गर्न एक समिति आवश्यकपर्ने बङ्गलादेशको नियम रहेको छ । सो समितिमा रहने सदस्यको नाम समेत प्रस्ताव भइसकेको बङ्गलादेशले जानकारी गराइसकेको छ । नेपालका तर्फबाट यही भदौको दोस्रो सातासम्म आवश्यक सबै प्रक्रिया टुङ्गो लगाउन प्रस्ताव गरिएको छ । सबै प्रक्रिया मिलाएर निर्यात सुरु गरी हाल्ने योजना तय गरिएको छ । “वर्षायामको बिजुली नै ‘टोकन’का रुपमा पठाउन लागिएको हो । हिउँद लागेपछि त्यसको कुनै सम्भावना नै रहन्न । सोही भएर हामीले आवश्यक तयारी छिटोछिटो गरिरहेका छौं” यस प्रक्रियामा सहभागी ऊर्जा मन्त्रालयका एक सहसचिवले भने, “दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले गरेको निर्णय क्रमशः कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।” नेपाल र भारतका ऊर्जा सचिवबीच गत फागुनमा सम्पन्न १०औँ बैठकमा बङ्गलादेश बिजुली निर्यातका लागि आवश्यक सहमति भएको थियो । तत्कालका लागि ५० मेगावाट बिजुली निर्यातका लागि भारतीय प्रसारण प्रणाली प्रयोग गर्न दिन भारतीय पक्ष सहमत भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणमा समेत यस विषयमा महत्वपूर्ण सहमति भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्नेदेखि नेपालको बिजुली बङ्गलादेश निर्यातका लागिसमेत भारत सहमत भएको थियो । कूल ६ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारीको काम समेत भइरहेको छ । गत जेठमा सम्पन्न नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले छ महिनाभित्र आयोजना विकासका लागि संयुक्त उपक्रम तयार पार्ने सहमति भएको थियो । बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बिजुली खरिद गर्ने तयारी गरेको छ । यद्यपि, सो आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्ल्किाजुर्न राव ९जिएमआर०ले वित्तीय व्यवसथापन गर्न नसक्दा अगाडि बढ्नसकेको छैन । लगानी बोर्डको प्रस्तावमा सरकारले आयोजनाको म्याद अन्तिम पटक दुई वर्षका लागि थप गरेपनि हालसम्म कुनै प्रगति हुनसकेको छैन । नेपाल र बङ्गलादेशबीच भारतीय भूमि प्रयोग गरेर ‘डेडिकेटेड’ रुपमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमासमेत सहमति भएको छ । नेपालको प्राधिकरण र बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच सहमति गरेर छिट्टै बिजुली निर्यातका लागि आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । रासस