मनपरी भाडा लिनेलाई कारबाही गर्ने मन्त्रीको चेतावनी, भन्छन्: निगमले जहाज थप्नुपर्छ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन् । साथै, उनले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको चेतावनी दिँदै उनले निजी कम्पनीहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने र निजी कम्पनीहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताए । उहाँले भन्नुभयो – ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन । बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्नको निम्ति नै, हस्तक्षेप गर्नको निम्ति नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौँ, त्योभन्दा अन्यथा हुँदैन । निजी कम्पनीहरुलाई हामीले बढी नियन्त्रण गर्दापनि फेरि निजी कम्पनीमैत्री हामी हुन सक्दैनौँ । तर उनीहरु पनि ऐन, कानूनभन्दा बाहिर जान पाउँदैनन् । मनपरी भाडा उठाउन कसैले पाउँदैन । स्वेच्छाचारी हुन कसैलाई छुट छैन । कानूनभन्दा बाहिर गएमा कारबाही हुन्छ । ऐन, कानूनभन्दा बाहिर छ भने म आजै एक्शन गर्छु ।’ कानूनभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गरेमा कारबाही गरिने चेतावनी दिए ।

चार महिनापछि खुल्यो अवरुद्ध सडक, स्थानीय भन्छन्- महिनौंपछि गाउँमा गाडी आउँदा पनि खुसी लाग्दो रैछ

बागलुङ । वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ । पहिरोले क्षति पुर्याएका सडक वर्षा रोकिँदा बित्तिकै खुलाएर गाडी सञ्चालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका गाउँबाट पालिकाको केन्द्र बोङ्गादोभान आउन समस्या थियो । गाउँपालिकाले सोमबारदेखि अवरुद्ध सबै सडक सञ्चालनका लागि मेसिन प्रयोग गरेको छ । खोलामा ढुङ्गा हालेर यातायातका साधान वारपार गर्ने सक्ने बनाइएको छ । चार महिनापछि सडक सञ्चालनमा आएपछि स्थानीयमा खुसी छाएको छ । बोङ्गादोभान बजार हुँदै पालिकाका सबै वडामा पुग्नुपर्छ । बोङ्गादोभानकै छेउमा बोङ्गाखोला र तमानखोला बग्ने हुँदा वारपारमा निकै समस्या थियो । वडा नं २ को खोलेस्बाङबाहेक सबै वडामा पुग्न खोला पार गर्नुपर्ने हुँदा वर्षातका चार महिना सिधा यातायात हुन सकेन । बोङ्गाखोलामा मोटरेबल पुल निर्माण हुन थालेको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम नसकिँदा यात्रुले सास्ती खेप्नु परेको छ । बोङ्गाखोलामा पुल बने वडा नं ३ को तमान र ४ को लाम्मेलाबाहेक अन्य वडामा बर्खामा पनि सिधा यातायात सञ्चालन हुन सक्थ्यो । दुई वर्ष अगाडिसम्म बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपर्थ्यो । ढोरपाटन नगरपालिका-४ हुद्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । अहिले पालिकाको केन्द्रदेखि वडा नम्बर २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । वडा नम्बर ३ को तमान गाउँ र लाम्मेला बुर्तिबाङदेखि खुङ्खा हुँदै सञ्चालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैन । करिब चार महिना सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानी तथा यात्रा गर्न निकै समस्या भोग्नुपरेको स्थानीय शेरबहादुर सिर्पालीले बताए । तमानखोला-५ का सिर्पालीले गाउँको सडक निकै साँघुरो र अप्ठ्यारो रहेको भन्दै हिउँदमा जसोतजो गाडी चले पनि बर्खामा ठप्प हुने गरेको बताए । सडकले गाउँमा नजोडिँदा हिँडेरै बजार पुग्ने र सामान बोकेरै ल्याउने गरेको सुनाउँदै उनले सडक आए पनि अहिले खोलाहरुमा पुल नबन्दा पहिलेको जस्तै हिँड्नु पर्ने अवस्था रहेको सिर्पालीले गुनासो पोखे । पहिले गाउँमा नुन, चामल ल्याउनु परे घोडा खच्चडको प्रयोग गरेको भन्दै गाउँ सडकले जोडिएपछि घोडाखच्च विस्थापित हुँदा मान्छेले नै बोक्नु परेको उनको भनाइ छ । ‘गाउँमा सडक आयो अब त भारी बोक्न नपर्ला, टाढा-टाढा जाँदा गाडीमै चढेर जान पाइएला भनेका थियौँ, तर बर्खामा त्यो सुविधा पाएनौँ, त्यस बोल अहिलेको जस्तो यस्तो ठूला-ठूला सडक थिएनन्, साना गोरेटो बाटोमा हिँड्थ्यौँ, घोडाखच्चड पनि तिनै बाटोमा हिँड्थे’, सिर्पालीले भने, ‘टाढा जानु पर्यो भने घोडा चढेर जान्थ्यौँ, अहिले गाडी घरमै पुगेका छन्, तर बर्खामा चल्दैनन् ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तर्थ्यौं, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छाडे, भारी मान्छेले नै बोक्नु पर्यो ।’ तमानखोला-६ नर्जाखानी सबैभन्दा टाढाको वडा हो । बोङ्गादोभानदेखि नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच मोटरेबल पुलको आवश्यक पर्छ । वडा नं ५ को खुङ्खानी तीन, पहिरा तीन, स्याउला र हिजा पुग्न एउटा पुल तर्नुपर्छ । अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीय मर्कामा छन् । स्थानीय तिलबहादुर घर्तीले बर्खामा गाडी नचल्दा बिरामीलाई अस्पताल पुर्याउन र सामान ढुवानी गर्न सबैभन्दा बढी समस्या हुने गरेको बताउनुभयो । यहाँका धेरै गाउँ खोला पार गरेपछि मात्रै पुग्न सकिने हुँदा अहिलेसम्म एउटा पनि बन्न नसकेको घर्तीको गुनासो छ । उनले भने- ‘अहिले खोलामा पानी घटेको छ, गाउँपालिकाले त्यही भएर होला डोजर लगाएर गाडी चलाउन थालेको छ, असारको पहिलो सातादेखि खोलामा गाडी तर्न छोडेको, खोला बढेर आएपछि गाडी पनि वारीको वारी, पारीको पारी भएका थिए, हिजोबाट अलिअलि चल्न थालेका छन्, महिनौंपछि गाउँमा गाडी आउँदा पनि खुसी लाग्दो रैछ, बर्खाको समयमा दुर्गम गाउँमा मान्छेले निकै दुःख पायौँ, राज्यले हाम्रो दुःख, समस्या कहिले देखेर पुल बनाउला ?’ तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले चाडबाड नजिकिएसँगै अवरुद्ध सडक सञ्चालन गर्न थालेको बताए । खोलामा पानीको बहाव पनि केही कम भएको हुँदा यातायातका साधान सञ्चालन हुने गरी सडक खुलाउन थालेको उनको भनाइ छ । बोङ्खानीखोलामा दुई वर्ष अगाडिदेखि पुल निर्माण गर्न थाले पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । पुल बनेको भए पालिकाका अधिकांश वडामा बर्खामा पनि यातायातका साधन सञ्चालन हुने अध्यक्ष बुढा मगरले बताए । निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा तमानखोलाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उनको भनाइ छ । नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङनीघाट, खुङ्गानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेबल पुल आवश्यक परे पनि अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनाउन नसकिएको अध्यक्ष बुढा मगर बताउँछन् । बर्खाका लागि स्थानीयले हिउँदमै सामान खरिद गरेर राख्नुपर्ने अवस्था रहेको भन्दै हिउँदमा खरिद गरेर राखेको सामानको म्याद बर्खा भरिमा गुज्रिसक्ने उनले बताए । त्यही सामान स्थानीयले उपभोग गर्दा बिरामीसमेत पर्ने गरेको बुढा मगरको भनाइ छ । वडा नं ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमइघाट र शेर्माखोला घाटमा पुल आवश्यक भए पन यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नं २ को बोङ्गानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्गानीघाटमा मोटरेबल पुल आवश्यक पर्ने उनको भनाइ छ । ‘तमानखोलामा धेरै खोला छन्, एक गाउँदेखि अर्को गाउँसम्म पुग्न खोला तर्नुपर्छ, सबै ठाउँमा मोटरबाटो त पुर्यायौं, तर मोटरेबल पुल निर्माण गर्न सकेको छैनौं, एउटै पुल निर्माण गर्न करोडौं बजेट लाग्छ, त्यो बजेट पालिकासँग हुँदैन’, अध्यक्ष बुढा मगरले भने- ‘धेरै पुल निर्माण गर्नुपर्ने छ, माथिल्लो सरकारसँग नै माग गर्नुपर्छ, माथिल्लो निकायबाट सहयोग भयो भने पुल बनाउन सहज हुने थियो ।’ रासस

बारपाक-लाप्राक सडकखण्ड तीन महिनादेखि अवरुद्ध

गोरखा । पर्यटकीय गन्तव्य गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै तीन महिनादेखि अवरुद्ध छ । वर्षा सुरु भएदेखि नै पहिराले अवरुद्ध भएको सडक अझैसम्म पनि सञ्चालन हुन नसक्दा लाप्राकमा दैनिक उपभोग्य सामग्री पुर्‍याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् । ‘सडकमा गाडी चल्न नसकेको तीन महिना भइसक्दा पनि अवरुद्ध सडक अझै खुलाउने सुरसार देखिँदैन’, लाप्राकका स्थानीय वीरबल गुरुङले भने, “चाडबाडका बेलामा समेत भारी बोकेर खाद्य सामग्री लैजानुपर्ने बाध्यता लाप्राकवासीको छ ।’ उनले अवरुद्ध सडक मर्मतसम्भारका लागि गाउँपालिकाले समेत आवश्यक पहल नगरेको गुनासो गरे । बारपाक–लाप्राक सडकखण्ड विसं २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नति सुरु भएको थियो । ठेक्का सम्झौता भएको झन्डै ४१ महिना भइसक्दासमेत स्तरोन्नति सकिएको छैन । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नति सम्पन्न गर्ने गरी शर्मा/विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको थियो । कार्यालयले ठेकेदार कम्पनीसँग रु ३४ करोड १५ लाख ७१ हजार एक सय ९८ मा ठेक्का सम्झौता गरेको थियो । उक्त सडकको भौतिक प्रगति अहिलेसम्म ५२ प्रतिशतमात्र रहेको कार्यालयका प्रमुख गणेश सुवेदीले जानकारी दिए । कार्यालयले १३ दशमलव १४ किलोमिटर दूरीको वारपाक–लाप्राक सडक ग्राभेल गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले गएको जेठ २२ गतेभित्रका काम सम्पन्न गर्ने गरी म्याद थप गरेको थियो । थपिएको म्याद सकिएको चार महिना भइसक्दा पनि सडक स्तरोन्नतिको काम भने अझै अलपत्र छ । ठेकेदार कम्पनीले सुस्तगतिमा काम गरेका कारण सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेको प्रमुख सुवेदीले बताए । सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउनेलगायतको जिम्मेवारी पाएको छ । दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, बर्खामा बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ भएको बताएको छ । समयमै सडक स्तरोन्नति नहुँदा लाप्राक, गुम्दासम्म खाद्यान्न पुर्याउन, बिरामी ल्याउन लैजान कठिनाइ भोग्नुपरेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गुप्सीपाखमा निर्माण गरेको सुन्दर एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडकयात्र सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन् । रासस