धुलिखेल–खावा सडक विस्तार : १६ महिनामा १२ प्रतिशतमात्रै काम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । आउँदो चैत १९ गतेभित्र निर्माण सक्नुपर्ने उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । निर्माण सुरु भएको १६ महिना बितिसक्दा १२ प्रतिशतमात्रै काम भएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालिबीच सम्झौता गरेको थियो । कार्यालयका सिनियर डिभिजन नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडकखण्डको ठेक्का लिएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् । सम्झौताअनुसार समयावधिको ७२ प्रतिशत समय सकिएको छ । तर काम भने १० प्रतिशतमात्रै हुनु ठेकेदार कम्पनीको लापरवाही भएको सरोकारवालाले बताएका छन् । डिभिजन कार्यालयले निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको लामिछानेले बताए । उहाँका अनुसार निर्माण व्यवसायीले कुनै पनि पत्रको जवाफ पठाउने गरेका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले पुनः पटक–पटक सार्वजनिक सूचना जारी गर्दै गैरजिम्मेवारीपन देखाएको जनाउँदै समयसीमा दिएर लिखित स्पष्टीकरण पेश गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्माण व्यवसायी तथा सरोकारवाला निकायसँग पनि पटक–पटक छलफल गरेको थियो । ती सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मतसम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि एक वर्षदेखि कामलाई तीव्रता दिइएको छैन । सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृतरूपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोपसमेत लगाउँदै आएका छन् । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे भएर यात्रुले सास्ती खेप्नुपरेको छ । अझ दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई निकै कठिन हुने गर्दछ । पुनःनिर्माणका लागि सडक भत्काएपछि खाल्डाखुल्डीका कारण १६ महिनाको अवधिमा एक सयभन्दा बढी दुर्घटनामा यात्रु घाइते भएका छन् । दसैँमा सवारी आवतजावतका लागि निकै कठिनाइ हुने छ । ‘समयमा काम नगरी यात्रुलाई सास्ती दिने ठेकेदारलाई हदैसम्मको कारबाही गर्नुपर्छ’, पाँचखाल नगरपालिका–४ का राजन कार्कीले भने । उनका अनुसार समयावधिको बाँकी छ महिनामा सडक निर्माणको काम सम्पन्न गर्न सक्दैनन् । सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनायो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । निर्माण व्यवसायीले भने सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेका छन् । उक्त सडकखण्ड विस्तार गर्न आठ सय ४२ वटा रुख काट्नुपर्ने बताइएको छ । करिब एक सय विद्युत्का पोल सार्नुपर्ने देखिएको हो । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् । रासस

कालीगण्डकी करिडोर : गैँडाकोट-राम्दी खण्ड अन्तिम चरणमा

त्रिवेणी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट-राम्दी खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । एक सय ३२ किलोमिटरको उक्त सडक खण्डमा ९५ प्रतिशत काम पूरा भएको आयोजना कार्यालयले जनाएको छ । गैँडाकोट-राम्दी खण्डको सबैजसो काम सकिएको जनाउँदै सडक सुरक्षाका काम, किलोमिटर पोस्टलगायत स-साना काम बाँकी रहेको गैँडाकोट-राम्दी-मालढुङ्गा सडक आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी पवित्रमणि आचार्यले बताए । आगामी कात्तिक मसान्तसम्म सबै काम सम्पन्न गर्नुपर्ने म्याद रहेकाले निर्माण कम्पनीले सोही अनुसार काम गरिरहेको उनको भनाइ थियो । आचार्यका अनुसार उक्त खण्डको एक सय ३२ किमीमध्ये करिब दुई किमी मात्रै कालोपत्र गर्न बाँकी रहेको छ । नवलपुरको डेढगाउँ-बुलिङटार र बुलिङटार-गैँडाकोट खण्डअन्तर्गत केही स्थानमा ठूलो पहिरा गएकाले काम गर्न समस्या भइरहेको उनले बताए । ‘पहिरो गएको स्थानमा तत्काल कालोपत्र गर्दा दीर्घकालीन नहोला भनेर त्यो खण्डमा ग्राभेल मात्रै गरेर राख्ने योजनामा छौँ’ आचार्यले भने, ‘पहिरो गएको स्थानमा विज्ञ बोलाएर अध्ययन गर्ने काम भइरहेको छ ।’ पहिरो नियन्त्रणको उपाय खोजी गरी आयोजनाको म्याद रहेको खण्डमा आयोजनाबाट नभए हस्तान्तरणपछि सम्बन्धित डिभिजनबाट काम गर्ने गरी सुझाव दिइने उनले बताए। पहिराको जोखिम भएको स्थान र पुलहरुको दुईतर्फका भागमा गरी करिब दुई किलोमिटरमा मात्रै कालोपत्र बाँकी रहेको सूचना अधिकारी आचार्यले जानकारी दिए । ‘गैँडाकोट-राम्दी खण्डमा सबैजसो ठूला काम सकिएको छ,’ उनले भने, ‘यस खण्डमा पर्ने २८ वटा छन् । त्यसमध्ये एउटा पुलको काम बाँकी रहेको र अन्य सबै सम्पन्न हुने चरणमा छन् ।’ नवलपुरको गैँडाकोट र बुलिङटारको सिमानामा रहेको तरङ्गा खोलामा काम बाँकी रहेको उनको भनाइ थियो । पुलको ठेक्का सम्झौता भए पनि व्यवसायीले काम नगर्दा ढिलो भएको भन्दै आचार्यले दसैँलगत्तै काम सुरु भई करिब दुई महिनामा सो पुल निर्माणको काम सकिने बताए । उनका अनुसार यस खण्डअन्तर्गत नवलपुरतर्फ १४ र पाल्पातर्फ १४ पुल रहेका छन्। विसं २०७५ कात्तिक २ गते सम्झौता भएर ३६ महिनामा सम्पन्न गर्ने भनिएकामा कोभिडको प्रभाव, भौगोलिक जटिलताले उक्त समयमा काम सम्पन्न नभएपछि विसं २०८० कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए । उनका अनुसार उक्त आयोजनाका लागि साढे ५ अर्बको लागतमा ठेक्का सम्झौता भएको थियो । रासस

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने, राजमार्गका कच्ची सडक स्तरोन्नति गरिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दशैं, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले विशेष ध्यान दिने बताए । “बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।” उनले भने । निरन्तरको वर्षाका कारण सडक मर्मत प्रभावित भइरहेको जनाउँदै मन्त्री ज्वालाले दशैं लगायतका पर्वमा यात्रा गर्नेका लागि अग्रिम टिकट बुकिङदेखि विनासास्ती गन्तव्य पुग्ने र फर्कनका लागि सहज बनाउनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिए । यस वर्षको दशैंको अवसरमा काठमाडौं उपत्यकाबाट कम्तीमा १५ लाख यात्रु विभिन्न जिल्लामा जाने अनुमान गरिएको छ । सरकारले दशैंलगायतका चाडपर्वका लागि दैनिक उपभोग्य वस्तुलगायतमा हुनसक्ने कालोबजारी, मिसावट, कृत्रिम अभाव रोक्नका लागि प्रभावकारी संयन्त्र परिचालन गरिरहेको उनको भनाइ छ । बैठकमा समिति सदस्य ठाकुर गैरे, महेश बस्नेत, प्रतिमा गौतम, दिनेशकुमार यादव, माधव सापकोटालगायतले चाडबाडलाई लक्षित गरी यात्रुको यात्रा सहज बराउन प्रत्येक स्थानीय तहलाई सडक मर्मत र स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरेका थिए । चाडपर्वलाई सुखद् बनाउन यात्रुको सुरक्षामा ध्यान दिन उनीहरुले आग्रह गरे । दशैंमा घर जाने सन्दर्भमा उपत्यकाबाट बाहिरिने नाकामा हुने सवारीको चाप व्यवस्थापन तथा यात्राका क्रममा होटलमा यात्रुको खानामा हुनसक्ने मूल्यवृद्धि नियन्त्रणका लागि पनि ध्यान दिन उनीहरुको सुझाव दिए । रासस