साढे ७ अर्बमा ठेक्का सम्झौता भएको पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि ६ लेनको बन्ने

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८.८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म छ लेन सडक हुनेछ । सडकको चौडाइ ४६ मिटरका हुने मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए । राजमार्गको पश्चिम खण्डमा बाह्र वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्र्भड निर्माण हुनेछ । मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा काम भइरहेको छ । पूर्वी खण्डमा ३८ प्रतिशत काम भएको छ भने पश्चिम खण्डमा जम्मा १२ प्रतिशत काम भएको छ । पूर्वी खण्डमा ४१.४५ किलोमिटर र पश्चिम खण्डमा ३८.८८ किलोमिटर दूरीमा निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । भित्ता कटिङ्ग,सडक चौडा, वाल, कल्र्भड र पुल निर्माण लगायत काम पनि भइरहेको छ । पश्चिम खण्डमा यस कारण ढिलाइ पश्चिम खण्डमा धेरै बजार क्षेत्र परेकाले खानेपानी तथा विद्युतको पोल र तार हटाउन नसकिएका कारण निर्माण कार्यमा ढिलाइ हुन गएको हो । पूर्वी खण्डभन्दा पश्चिम खण्डमा करिब छ महिना ढिलो गरी काम सुरु गरिएको हो । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा निर्माण कम्पनीले कम जनशक्ति परिचालन गरेका कारणले पनि सोचेअनुरुप प्रगति हुन नसकेको इञ्जिनियर पौड्यालले बताए । उक्त सडक खण्डमा निर्माण हुने चार लेन सडकमध्ये जामुनेबाट कुम्लेखोलासम्म कालोपत्र गर्न लागिएको छ । कालोपत्रका लागि ग्राबेल विच्छाउन थालिएको छ । करिब एघार किलोमिटर दूरी दुई लेनको भए पनि यस आर्थिक वर्षमै कालोपत्र गर्ने लक्ष्य रहेको छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । वि.सं.२०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौतामा उल्लेख छ । रासस

निर्माण सामाग्रीको उत्खनन् समस्या हुँदा राहुघाट जलविद्युत् आयोजनाको निर्माण प्रभावित

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन् गर्न नपाउँदा निर्माण प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभावमा निर्माण नै रोकिने अवस्था देखिएको छ । निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने गरी आईईइमार्फत स्थानहरुको तय गरिएको थियो । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको २९ असार २०७८ को एकल इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्वको देखिएकाले रिटको अन्तिम टुङ्गो नलागेसम्म उत्खनन्मा रोक लगाएका थिए । उक्त नदीको प्राकृतिक बवावलाई पथान्तरण गरी जलाशय बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्नेलगायतका प्राकृतिक बहाव र पर्यापरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरु नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो । अनुगमनमा निर्माणस्थलमा शनिबार पुगेका ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित टोलीलाई आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीहरुले सर्वोच्च अदाललको अन्तरिम आदेशका कारण नदीजन्य सामग्री नदीबाट झिक्न रोक लागेपछि त्यसको अभावमा निर्माणमा असर परिरहेको जानकारी गराएका छन् । मन्त्री बस्नेतले आयोजनाको पछिल्लो समयमा निर्माण प्रगति सन्तोषजनक नै रहेको बताउँदै नदीजन्य सामाग्री उत्खनन्मा देखिएको समस्या समाधान गर्न माथिल्लो तहबाट आवश्यक पहल, समन्वय र सहजीकरण गरिने बताए । निर्माण सामग्रीहरुको अभाव हटेमा आगामी १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । आयोजनाको समग्र भौतिक प्रगति ६५ प्रतिशत छ । बाँध, मुख्य सुरुङ, विद्युत्गृहलगायतका संरचनाहरुको निर्माण भइरहेको छ । ६.३ किलोमिटर मुख्य सुरुङमध्ये ५।६ किलोमिटर खनिसकिएको छ । सुरुङलाई पूर्ण रुपमा कंक्रिट लाइनिङ गर्नु पर्ने छ । विद्युतृगृहको सिभिल निर्माण कार्यसँगै उपकरणहरु जडान पनि भइरहेको छ । कंक्रिट लाइनिङ, बाँध क्षेत्रका संरचनाहरु निर्माणका लागि करिब साढे एक लाख घनमिटर ढुङ्गा, गिट्टी, बालुवा आवश्यक पर्छ । तर, अहिले करिब १० घनमिटर प्राप्त गर्ने ठाउँ मात्र उपलब्ध रहेको आयोजनाको प्रवर्धक कम्पनी रघुगंगा हाइड्रोपावरका प्रबन्ध–सञ्चालक गणेश केसीले बताए । नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणको लगानी र भारतीय निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा प्राधिकरणको पूर्ण स्वामित्वको रघुगंगा हाइड्रोपावर मार्फत आयोजनाको निर्माण भइरहेको छ । ८ करोड १९ लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलितपूर्ण ऋण रहेको छ । दैनिक ६ घण्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिक रुपमा २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने छ । सिभिल संरचना र हाइड्रो मेकानिकलका कामहरु इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) ढाँचा जयप्रकाश एसोसिएटस् लि.,भारतले, इलेक्ट्रोमेकानिकलका कार्यहरु भारत हेभ्वी इलेक्ट्रिकल लि.ले र निर्माण सुपरीवेक्षण वाप्कोस् लि, भारतले गरिरहेका छन् ।

पूर्व–पश्चिम राजमार्ग तीन वर्षमा एघार किलाेमिटर मात्रै विस्तार

काठमाडौं । जनकपुर मङ्सिर २४ गते । राष्ट्रिय गौरवको योजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति काम सम्पन्न नहुँदा प्रथम पटक एक वर्ष म्याद थप गरिएको छ । कोरोनाको मारमा परेको र सडकमा विद्युत् पोल र अतिक्रमण हटाउन ढिलाइ भएका कारण समयमा काम सम्पन्न नहुँदा म्याद थप गरिएको जनाएको छ । तीन वर्षभित्र स्तरोन्नतिको काम सम्पन्न गर्ने ठेक्का भएको थियो । सिराहाको बलानदेखि सप्तरीको कञ्चनपुरसम्म ८६ किलोमिटरसम्म सडक, मुख्य पुल, ओभर पास ब्रिज, अन्डर पास ब्रिज, कल्भर्ट, नालासहित कालोपत्रे सडक निर्माण सम्पन्न गर्नुपथ्र्यो तर अहिलेसम्ममा ११ किलोमिटर मात्र कालोपत्रेको काम सकिएको छ । कालोपत्रेका लागि सडकको बेस बनाउने, कल्भर्ट निर्माण, पुल, नाला निर्माणको काम अझै सकिएको छैन । सन् २०२० अक्टोबरबाट सुरु भई सन् २०२३ अक्टोबरसम्म सम्पन्न गर्ने गरी चाइना रेलवे–२ इन्जिनियरिङ गु्रपले कुल १५ अर्ब ५६ करोडमा यसको निर्माण ठेक्का पाएको छ । यस कम्पनीले कमला–कञ्चनपुरसम्मको निर्माणलाई दुई वटा प्याकेजमा ठेक्का पाएको हो । एडिबीको ७२ र नेपाल सरकारको २८ प्रतिशत संयुक्त लगानीमा सप्तरीको कुशाहादेखि कञ्चनपुरसम्म पूर्वी सडकखण्ड पहिलो प्याकेज र सिराहाको बलान (कुशाहा) देखि कमलासम्म पश्चिमी सडकखण्ड दोस्रो प्याकेजमा सडक विस्तार निर्माण काम ठेकेदार कम्पनीले पाएको हो । कम्पनीले नयाँ प्रविधिबाट निर्माण भइरहेको पिच, पुल र कल्भर्टका लागि सप्तरी र सिराहामा छुट्टाछुट्टै प्लान्ट नै स्थापना गरेर काम गरिरहेको छ । योजना अन्तर्गत सहरी (बजार) क्षेत्रमा ५० मिटर (छ लेन) र त्यसबाहेकका क्षेत्रमा २४ मिटर (चार लेन) सडक कालोपत्रे गरिने छ । तीमध्ये मिर्चैया, धनगढी, कसहालगायत सडकखण्डमा एक साइडका गरी १० किलोमिटर सडक कालोपत्रे भइसकेको कञ्चनपुर–कमला सडक योजना पश्चिमी खण्ड सडक विभागका इन्जिनियर सरोज कोइरालाले जानकारी दिए । पूर्वी खण्ड कञ्चनपुर–कुशाहासम्मको ३९ किलोमिटरका लागि कुल सात अर्ब २७ करोडमा ठेक्का लागेको कञ्चनपुर–कमला सडक योजना, पूर्वी खण्ड प्रमुख खड्गलाल श्रेष्ठले बताए । यस खण्डमा २९ वटा मुख्य पुल, ११४ वटा कल्भर्ट र छ किलोमिटर नाला निर्माण रहेको छ । दुई वटा पुलको ढलान भइसकेको छ भने कल्भर्ट निर्माणको काम अन्तिम चरणमा रहेको उनले बताए । सबै ओपन पुलको पाइल फाउन्डेसन काम भइसकेको छ भने अन्य पुलको बिम प्लान्टमै तयार भइसकेकाले ल्याएर सेट गर्ने काम गरिने उनले बताए । यस खण्डमा छ लेनको छ किलोमिटर, चार लेनको ३३ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेकोमा एक किलोमिटर जति मात्र कालोपत्रे भइसकेको प्रमुख श्रेष्ठले बताए । यस खण्डमा वित्तीयतर्फ ३० प्रतिशत र भौतिकतर्फ ३४ प्रतिशत प्रगति रहेको उनको भनाइ छ । पश्चिमी प्याकेज पश्चिमी खण्डका सडक विभागका इन्जिनियर इन्जिनियर सरोज कोइरालाका अनुसार यस खण्डको कुल ४७ किलोमिटर सडक निर्माण कामको ठेक्का आठ अर्ब ३८ करोडमा लागेको छ भने यस अन्तर्गत २५ वटा मुख्य पुल, ११५ वटा कल्भर्ट, ४४ किलोमिटर नाला, लहान र मिर्चैयामा एक÷एक वटा ओभरपास ब्रिज, लहानमा चार र गोलबजारमा दुई वटा गरी छ वटा अन्डरपास निर्माणको कार्य रहेको छ । मुख्य पुलमध्ये सात वटाको ढलान भइसकेको र रङरोगन गर्न बाँकी रहेको तथा बाँकी पुलको पनि काम भइरहेको उनले बताए । मिर्चैयामा बनाउने ओभरपास ब्रिजको डिजाइन फाइनल भइसकेको छ भने अरूको डिजाइनबारे गृहकार्य भइरहेको कोइरालाले बताउनुभयो । यस खण्डमा १० किलोमिटर सडक कालोपत्रे भइसकेको उनले जानकारी दिए । पश्चिमी खण्ड प्रमुख कोइरालाका अनुसार प्लान्टमै पुलका बिमसहितका आवश्यक संरचना निर्माण भइरहेको र त्यहाँबाट ल्याएर निर्माणस्थलमा राख्ने गरिएको छ भने पक्की सडकका लागि कालोपत्रेको प्लान्ट पनि स्थापना गरेर पिच गर्ने कार्य भइरहेको छ । अधिकांश काम प्लान्टभित्रै भइरहेकाले तत्काल परिणाममुखी नदेखिएको उनको भनाइ छ । नेपाललाई कुल व्यवस्थापनको जिम्मेवारी रहेको यस योजनाको परामर्शदातामा कुनहवा इन्जिनियरिङ एन्ड कन्सल्टिङ कर्पोरेसन लिमिटेड कोरिया र बिसिएल एसोसिएटस लिमिटेड बङ्गलादेश छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गलाई पछिल्लो समय लोकराजमार्ग भन्न थालिएको छ । पूर्वको झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुर जिल्लाको वनवासासम्म रहेको यस राजमार्गको कुल लम्बाइ एक हजार २७।६७ किलोमिटर अर्थात् ६३८.५६ माइल रहेको छ । विक्रम संवत् २०१९ साल वैशाख १ गते तत्कालीन राजा महेन्द्रले नवलपरासीको गैँडाकोटमा यो राजमार्गको शिलान्यास गरेका थिए । जसमा मेची–ढल्केबर खण्डको २५६ किलोमिटर भारत, ढल्केबर–पथलैया खण्डको १०९ किलोमिटर रुस, हेटौँडा–नारायणगढ खण्डको ८१ किलोमिटर एसियाली विकास बैङ्क, नारायणगढ–बुटबल खण्डको ११६ किलोमिटर बेलायत, बुटवल–कोहलपुर–वनवासा खण्डको ४२५ किलोमिटर भारत सरकारको सहयोगमा निर्माण गरिएको हो । एक्काइस जिल्लालाई छुन्छ पूर्वपश्चिम लोकराजमार्ग तराईको भूभागलाई जोड्ने गरी बनाएको छ तर तराईमा मधेश प्रदेशको पर्सा जिल्लालाई राजमार्गले छोएको छैन । यसले पहाडका मकवानपुर र अर्घाखाँची जिल्लालाई पनि जोडेको छ । यी दुई जिल्लासमेत गरी राजमार्गले २१ जिल्ला जोडेको छ । आजको गोरखापत्रमा समाचार छ ।