‘अन दि स्पट’ सडकका खाल्डा पुर्ने बालेनको योजना असफल, हरायो महानगरको पूर्वाधार एम्बुलेन्स

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा परेका खाल्डाखुल्डी पुर्ने योजनासहित गत वर्षबाट ‘पूर्वाधार एम्बुलेन्स’ सञ्चालनमा ल्यायो । महानगरभित्रका सडकमा परेका खाल्डाले सवारी दुर्घटना हुन सक्ने विषयलाई मध्येनजर गर्दै महानगरले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । महानगरले पहिलो चरणमा दुइटा एम्बुलेन्स व्यवस्थापन गरी खाल्डा पुर्ने कामलाई अगाडि बढाएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अगाडि [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा परेका खाल्डाखुल्डी पुर्ने योजनासहित गत वर्षबाट ‘पूर्वाधार एम्बुलेन्स’ सञ्चालनमा ल्यायो । महानगरभित्रका सडकमा परेका खाल्डाले सवारी दुर्घटना हुन सक्ने विषयलाई मध्येनजर गर्दै महानगरले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो ।

महानगरले पहिलो चरणमा दुइटा एम्बुलेन्स व्यवस्थापन गरी खाल्डा पुर्ने कामलाई अगाडि बढाएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अगाडि बढाएको यो कामलाई धेरैले प्रशंसा समेत गरे ।

सडकमा परेका ठूल्ठूला खाल्डाले गर्दा अस्तव्यस्त बनेको काठमाडौंको सडक अब पर्वाधार एम्बुलेन्सले सुधार गर्ने अपेक्षा धेरैको थियो । सडक निर्माण तथा मर्मत सम्भारमा एम्बुलेन्सले प्रभावकारी काम गर्न सक्ने भन्दै महानगर र महानगर नेतृत्वको चौतर्फी प्रशंसासमेत भयो ।

महानगरले कुनै ठाउँमा खाल्डो परेको छ भने त्यसको मर्मतका लागि भन्दै टोल फ्री नम्बर पनि सार्वजनिक गर्यो । तर, अहिले न त्यो टोल फ्री नम्बरमा फोन लाग्छ नत महानगरले अगाडि बढाएको पूर्वाधार एम्बुलेन्स सकडमा देखिन्छ ।

सुरुवाती दिनहरूमा राम्रै काम गरेको महानगरको उक्त एम्बुलेन्सले दिने सेवा अहिले बन्द छ । करिब १० महिना सेवा दिएको पूर्वाधार एम्बुलेन्सले अहिले काम गर्न छोडेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरले एम्बुलेन्सको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा काम हुन नसकेको बताए । उनका अनुसार अहिले पूर्वाधार एम्बुलेन्स प्रयोगमा छैन ।

‘महानगरपालिले त्यसमा चाहिने स्रोत साधन जुटाउन सकेन, खाल्डाखुल्डी पुर्ने सामग्री उपलब्ध गराउन नसक्दा समस्या भयो, सामग्रीको व्यवस्थापन गर्न नसकेकाले अहिले पूर्वाधार एम्बुलेन्स प्रयोगमा छैन,’ उनले भने ।
महानगरले सडकका खाल्डा पुर्न छाडेपछि सडकको अवस्था जीर्ण बन्दै गएको उनको भनाइ छ ।

कता छ पूर्वाधार एम्बुलेन्स ?

विगत लामो समयदेखि पूर्वाधार एम्बुलेन्स वेवारिसे बनेको छ । एम्बुलेन्स प्रयोगविहीन हुँदा अवस्था नाजुक बनेको प्रवक्ता मानन्धरले बताए ।

‘पूर्वाधार एम्बुलेन्सले महानगरको क्षेत्रभित्र पर्ने धेरै ठाउँका सडकको खाल्डा पुरेको थियो, त्यो बेला सयौं ठाउँमा खाल्डा पुर्ने काम भएको थियो । तर, अहिले एम्बुलेन्स सञ्चालनमा छैन,’ उनले भने ।

प्रवक्ता मानन्धरका अनुसार अब पूर्वाधार एम्बुलेन्सको सट्टामा मर्मतसम्भार योजना अन्तर्गत ठेक्का दिएर काम अगाडि बढाइनेछ । उनले सडक विभागले गर्नुपर्ने स्थानमा काम नियमित भइरहेको र महानगरले आफ्नो क्षेत्राधिकारभित्रका सडक मर्मत काम नियमित गरिरहेको छ ।

‘काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्सको सट्टामा सडकको मर्मत सम्भार गर्न टेण्डर आव्हान गरेको छ, उक्त टेण्डर पश्चात् खाल्डा पुर्ने काम फेरि निरन्तरता दिइनेछ,’ उनले भने । उनका अनुसार टेण्डर भएपछि सो काम पुनः हुनेछ ।

काठमाडौं महानगरका सार्वजनिक निर्माण विभागका इञ्जिनियर हरीबहादुर बुढाले पनि अहिले पूर्वाधार एम्बुलेन्स सञ्चालनमा नरहेको बताए । उनका अनुसार अब सडकका खाल्डाखुल्डी पुर्नका लागि महानगरले ठेक्का लगाउनेछ ।

‘महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने सडकको मर्मत गर्नको लागि २० करोड रुपैयाँको ठेक्का आव्हान गरेको छ, धेरै कम्पनीहरूको आवेदन परेको छ, अब त्यसमध्ये एउटालाई छनोट गरेर काम अगाडि बढाइनेछ ।’

२० लाख खर्च

काठमाडौं महानगरले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी खाल्डा पुर्दा २० लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । सो एम्बुलेन्सले तिनकुने, मित्रपार्क, नयाँ बानेश्वर, गौशाला, चाबहिल, थापागाउँ सडक, पुरानो बानेश्वर, मैतीदेवी लगायतका सकडका खाल्डा परेर २० लाख खर्च गरेको हो ।

यस्तै, लाजिम्पाट, बालुवाटार, रविभवन, त्रिपुरेश्वर, कमलपोखरी, पुतलीसडक, न्युप्लाजा, नयाँ बानेश्वर–शंखमूल सडकलगायत क्षेत्रका खाल्डा पनि पुरेको महानगरको भनाइ छ ।

काठमाडौंले महानगरका सार्वजनिक निर्माण प्रमुख राम बहादुर थापा महानगर अहिले धुलोरहित सडक बनाउन काम गरिरहेको बताउँछन् ।

Share News