पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति, १२ मध्ये ९ वटा सडक पुल अन्तिम चरणमा
काठमाडौं । पोखरा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३.३४ प्रतिशत पुगेको छ । कूल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९.४७ किमी सडक कालोपत्र भएको छ । ४ लेनको उक्त सडकमा १५.३२ किमीमा दुईतर्फी र १४.१५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए । उक्त सडक निर्माणको म्याद विसं २०८२ पुससम्म छ । यसअघि दुईपटकसम्म म्याद थप भएको थियो । पश्चिमतर्फ तनुहँमा २ किमी सडक मात्र कालोपत्र हुन बाँकी रहेको इञ्जिनियर नेपालले बताए । कास्की खण्डमा सडक विस्तार, पूर्वाधार तयारी र कालोपत्रको काम भइरहेको उनको भनाइ छ । तनहुँको जामुनेदेखि पर्यटन राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । एक वर्षभित्र कामसक्ने लक्ष्य लिइएको इञ्जिनियर नेपालले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले सडक विस्तार एवं स्तरोन्नति गरिरहेको हो । पोखराको चाउथे, अन्तरराष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोक, बूढीबजारलगायत ठाउँमा कालोपत्रको काम भइरहेको इञ्जिनियर नेपालले जानकारी दिए । पोखरा महानगरपालिका-२७ तालचोकदेखि गगनडौँडासम्मको खण्डमा पनि निर्माणले गति लिएको उनले बताए । पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधाजति ४ लेनको बन्ने इञ्जिनियर नेपालले बताए । वियजपुर खोला र सेती नदीमा पुल निर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ । पश्चिम खण्डमा पर्ने १२ वटामध्ये ९ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कूल ८१ किमी दूरीको पोखरा-मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । कूल ४१.४५ किमीको पूर्वी खण्डमा पनि विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा सडक स्तरोन्नति र कालोपत्रको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सरकारको प्राथमिकता प्राप्त यस सडक आयोजना निर्माणका क्रममा रहेकाले पोखराको यातायात सेवा केही असहज भने बनेको छ । सडक स्तरोन्नति लक्ष्यभन्दा केही ढिलो भइरहेकामा स्थानीयवासीको गुनासो छ । गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिपछि पोखरादेखि देशका विभिन्न ठाउँको यातायात सेवा सहज र छरितो हुनेछ । ४ लेनको उक्त सडकले सिङ्गो गण्डकी प्रदेशको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आतजावत गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता छिट्टै अन्त्य हुने इञ्जिनियर नेपालले बताए ।
उद्घाटन भएपनि धनगढी सभा गृह सञ्चालनमा आउन समय लाग्ने
काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी बजारभन्दा एक किलोमिटर पर रहेको धनगढी गाउँमा ‘धनगढी सभागृह’ छिट्टै प्रयोगमा आउने भएको छ । नेपाल सरकारको ३२ करोड बढी लागतमा सम्पन्न भएको सभागृह छिट्टै प्रयोगमा आउने भएको हो । उक्त सभागृहको आइतबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । प्रधानमन्त्रीले सभागृहको उद्धघाटन कार्यक्रममा बोल्दै यही विकासको नमुना र प्रमाण भएको दाबीसमेत गरे । सभागृह धनगढी उपमहानगरपालिका- ८ मा एक बिगाह क्षेत्रफलमा फैलिएको छ । उक्त सभागृह साढे ३२ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए । उनका अनुसार सभागृह सञ्चालन कार्यविधि तथा मापदण्ड चाँडो नबन्दा सभागृह अलपत्र अवस्थामा रहेको थियो । हालसालै कार्यविधि तथा मापदण्ड बनेपछि सभागृहको आइतबार प्रधानमन्त्रीले उद्घाटन गरेपछि क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्यो । २०७५ मै निर्माण कार्य सुरु सभागृहको निर्माण कार्य विसं २०७५ माघ २ गतेदेखि सुरु भएको थियो । जसको लागत अनुमान ४७ करोड १९ लाख ४० हजार रहे पनि ३२ करोड ३२ लाख ९७ हजारमा रुपैयाँमा २०७९ असार २४ गते सम्पन्न भयो। सभागृह बनाउनका लागि उपमहानगरले एक बिघा जग्गा उपलब्ध गराएको थियो । उक्त सभाहलको निर्माण ‘विकेओआई एमके रोयल’ कम्पनी जेभीले गरेको हो । सभाहलमा मुख्य हल, ७ सय ५३ जना क्षमताको सभाहल, २ सय १० जना क्षमताको तालिम हल, भीआईपी कक्ष, कार्यक्रम कक्ष, ४६ वटा कार पार्किङ, ९८ वटा मोटरसाइकललगायत भूमिगत पार्किङको समेत व्यवस्था रहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले जनाएको छ । यस्तै, सभागृहमा साउण्ड सिस्टम जडान गर्न बाँकी रहेको छ । सूचना अधिकारी भट्टले भने, ‘सभागृहमा साउण्ड सिस्टम जडान गर्न बाँकी छ । निर्माण कार्य लगभग सबै सम्पन्न गरिसकेका छौं । आइतबार उद्घाटन भएसँगै सभागृह उपमहानगरपालिकाको जिम्मा दिएका छौं । अब यसको सञ्चालन उपमहानगरपालिका आफैलै गर्ने वा ठेक्कामार्फत गर्ने अधिकार उपमहानगरलाई नै छ ।’ उनले साउण्ड सिस्टम जडानका लागि २ करोड १५ लाख रुपैयाँ पाइसकेको जानकारी दिए । ‘२ करोड १५ लाख बजेट प्राप्त भएको छ । अब साउण्डसिस्टम जडान फर्निचर खरिद गर्नेछौं । यसको ठेक्का आह्वान भईसकेको छ । यो पनि छिट्टै जडान हुनेछ,’ सूचना अधिकारी भट्टले भने । सुदूरपश्चिमकै ठूलो सभागृह धनगढी सभागृह सुदुरपश्चिमकै सबैभन्दा ठूलो सभागृह भएको जनाइएको छ । धनगढीमा यति ठूलो सभागृह हालसम्म नभएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ । सूचना अधिकारी भट्टले यो सभागृह विसं २०७४/७५ तिरै आवश्यक भएको रहेकोे बताए । सभागृह सञ्चालनमा आउने विश्वास आयोजना प्रमुख जनक थापाले व्यक्त गरे । ‘देशका विभिन्न ठाउँमा सभाहल हुँदा हाम्रोमा एउटा बनेको छ । यो सभागृह सबैभन्दा ठूलो पनि छ । यो सभाहल प्रयोगमा आउँछ भन्ने विश्वास हामीलाई छ,’ उनले भने । सूचना अधिकारी भट्ट पनि आवश्यकताका आधारमा यो सभागृह छिट्टै प्रयोगमा आउने विश्वास व्यक्त गर्छन् । के भन्छ धनगढी उपमहानगर ? सहरी विकास मन्त्रालयले धनगढी उपमहानगरलाई ‘धनगढी सभा गृह’ हस्तान्तरण गरेसँगै उपमहानगर कार्यविधि बनाउने योजनामा जुटेको छ । उपमहानगरकी उपमेयर कन्दकला रानाले सभागृहको रेखदेखदेखि कार्यविधि सबै जिम्मा उपमहानगरमाथि परेको बताइन् । उनले भनिन्, ‘सभागृह रेखदेखदेखि सञ्चालन कार्यविधिसम्म सबै हाम्रै जिम्मा छ । सञ्चालनको काम अगाडि बढाइसकेका छौं । हामीले त्यहाँ आजमात्रै बिजुली बत्ती, अन्डरग्राउण्ड, पानीको अवस्थाबारे बुझ्न इन्जिनियर टोली पठाएका छौं । सबै कुरा बुझेर त्यहीअनुसार छलफल गछौं अनि यसलाई छिट्टै सञ्चालनमा ल्याउँछौं ।’ उनले अब विभिन्न सभा, समारोह, गोष्ठी, बैठक सेमिनारजस्ता विभिन्न कार्यक्रम सभागृहमै हुने दाबी गरिन् । यस्तै, सभागृहको सबै व्यवस्थापनको पाटो विशेष रूपमा गरिने उनको भनाइ छ । उपमहानगरपालिकाको कार्यपालिकाको बैठकमा छलफल गरेर यसको राजस्व समेत तोकिने उनको भनाइ छ ।
कालीगण्डकी करिडोर : बादरजुङ र काभ्रेभिरको यात्रा सहज
म्याग्दी । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन् । ‘तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो’, उनले भने, ‘अक्करे भिरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको छ ।’ भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको हो । काभ्रेभिरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । ‘धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको छ’, योजनाका इञ्जिनियर विष्णु चापागाईले भने, ‘तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभिर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको हो ।’ उनका अनुसार सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न मजदुरले ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाएका थिए । तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र सवारीसाधन चल्ने गर्दथे । हाल यस क्षेत्रको सडकलाई कम्तीमा आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ । काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्रको सडक पार गर्न यसअघि कम्तीमा ३० मिनेट लाग्ने गर्दथ्यो । अहिले पाँच मिनेटमा सडक पार गर्न सकिन्छ । काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ । विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारीसाधन खस्ने, गुडिरहेको सवारीसाधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् । बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसाखण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले प्रतिकूल भूगोलमा पनि मजदुरहरुले सुरक्षा सतर्कता अपनाएर सडक विस्तारको काम गरेका बताए। दुई वर्ष लगाएर काभ्रेभिर–बादरजुङ भिर क्षेत्रको सडक विस्तारको काम सकिएको उनले बताए । ‘मजदुरहरुले भिरमा रसिमा झुन्डिएर रड राख्ने प्वाल बनाएका थिए । फराकिलो पारिएको सडकलाई ढलान गरेर डिलतर्फ सिमेन्टको पिल्लर र फलामको साइडबार राखिएको छ’, उनले भने, ‘धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो । ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठूला ढुङ्गाले क्षति पुर्याएको छ ।’ यसैबीच १० किलोमिटर पाँच सय मिटर दूरीको तातोपानी–घाँसा खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पछिल्लो समय निर्माणले तीव्रता पाएको बताए। पहिरोको जोखिम रहेको तीन किलोमिटरबाहेकका ठाउँमा सडकलाई ११ मिटर फराकिलो बनाउने काम सकेर ढलान र डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुर्याइएको हो । चालु आर्थिक वर्ष भित्रनै सडक स्तरोन्नतिको काम सकेर योजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक न्यौपानेले बताए । रासस