
काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी बजारभन्दा एक किलोमिटर पर रहेको धनगढी गाउँमा ‘धनगढी सभागृह’ छिट्टै प्रयोगमा आउने भएको छ ।
नेपाल सरकारको ३२ करोड बढी लागतमा सम्पन्न भएको सभागृह छिट्टै प्रयोगमा आउने भएको हो ।
उक्त सभागृहको आइतबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।
प्रधानमन्त्रीले सभागृहको उद्धघाटन कार्यक्रममा बोल्दै यही विकासको नमुना र प्रमाण भएको दाबीसमेत गरे ।
सभागृह धनगढी उपमहानगरपालिका- ८ मा एक बिगाह क्षेत्रफलमा फैलिएको छ । उक्त सभागृह साढे ३२ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए ।
उनका अनुसार सभागृह सञ्चालन कार्यविधि तथा मापदण्ड चाँडो नबन्दा सभागृह अलपत्र अवस्थामा रहेको थियो ।
हालसालै कार्यविधि तथा मापदण्ड बनेपछि सभागृहको आइतबार प्रधानमन्त्रीले उद्घाटन गरेपछि क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्यो ।
२०७५ मै निर्माण कार्य सुरु
सभागृहको निर्माण कार्य विसं २०७५ माघ २ गतेदेखि सुरु भएको थियो । जसको लागत अनुमान ४७ करोड १९ लाख ४० हजार रहे पनि ३२ करोड ३२ लाख ९७ हजारमा रुपैयाँमा २०७९ असार २४ गते सम्पन्न भयो।
सभागृह बनाउनका लागि उपमहानगरले एक बिघा जग्गा उपलब्ध गराएको थियो । उक्त सभाहलको निर्माण ‘विकेओआई एमके रोयल’ कम्पनी जेभीले गरेको हो ।
सभाहलमा मुख्य हल, ७ सय ५३ जना क्षमताको सभाहल, २ सय १० जना क्षमताको तालिम हल, भीआईपी कक्ष, कार्यक्रम कक्ष, ४६ वटा कार पार्किङ, ९८ वटा मोटरसाइकललगायत भूमिगत पार्किङको समेत व्यवस्था रहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले जनाएको छ ।
यस्तै, सभागृहमा साउण्ड सिस्टम जडान गर्न बाँकी रहेको छ ।
सूचना अधिकारी भट्टले भने, ‘सभागृहमा साउण्ड सिस्टम जडान गर्न बाँकी छ । निर्माण कार्य लगभग सबै सम्पन्न गरिसकेका छौं । आइतबार उद्घाटन भएसँगै सभागृह उपमहानगरपालिकाको जिम्मा दिएका छौं । अब यसको सञ्चालन उपमहानगरपालिका आफैलै गर्ने वा ठेक्कामार्फत गर्ने अधिकार उपमहानगरलाई नै छ ।’
उनले साउण्ड सिस्टम जडानका लागि २ करोड १५ लाख रुपैयाँ पाइसकेको जानकारी दिए ।
‘२ करोड १५ लाख बजेट प्राप्त भएको छ । अब साउण्डसिस्टम जडान फर्निचर खरिद गर्नेछौं । यसको ठेक्का आह्वान भईसकेको छ । यो पनि छिट्टै जडान हुनेछ,’ सूचना अधिकारी भट्टले भने ।
सुदूरपश्चिमकै ठूलो सभागृह
धनगढी सभागृह सुदुरपश्चिमकै सबैभन्दा ठूलो सभागृह भएको जनाइएको छ । धनगढीमा यति ठूलो सभागृह हालसम्म नभएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ ।
सूचना अधिकारी भट्टले यो सभागृह विसं २०७४/७५ तिरै आवश्यक भएको रहेकोे बताए ।
सभागृह सञ्चालनमा आउने विश्वास आयोजना प्रमुख जनक थापाले व्यक्त गरे । ‘देशका विभिन्न ठाउँमा सभाहल हुँदा हाम्रोमा एउटा बनेको छ । यो सभागृह सबैभन्दा ठूलो पनि छ । यो सभाहल प्रयोगमा आउँछ भन्ने विश्वास हामीलाई छ,’ उनले भने ।
सूचना अधिकारी भट्ट पनि आवश्यकताका आधारमा यो सभागृह छिट्टै प्रयोगमा आउने विश्वास व्यक्त गर्छन् ।
के भन्छ धनगढी उपमहानगर ?
सहरी विकास मन्त्रालयले धनगढी उपमहानगरलाई ‘धनगढी सभा गृह’ हस्तान्तरण गरेसँगै उपमहानगर कार्यविधि बनाउने योजनामा जुटेको छ ।
उपमहानगरकी उपमेयर कन्दकला रानाले सभागृहको रेखदेखदेखि कार्यविधि सबै जिम्मा उपमहानगरमाथि परेको बताइन् ।
उनले भनिन्, ‘सभागृह रेखदेखदेखि सञ्चालन कार्यविधिसम्म सबै हाम्रै जिम्मा छ । सञ्चालनको काम अगाडि बढाइसकेका छौं । हामीले त्यहाँ आजमात्रै बिजुली बत्ती, अन्डरग्राउण्ड, पानीको अवस्थाबारे बुझ्न इन्जिनियर टोली पठाएका छौं । सबै कुरा बुझेर त्यहीअनुसार छलफल गछौं अनि यसलाई छिट्टै सञ्चालनमा ल्याउँछौं ।’
उनले अब विभिन्न सभा, समारोह, गोष्ठी, बैठक सेमिनारजस्ता विभिन्न कार्यक्रम सभागृहमै हुने दाबी गरिन् । यस्तै, सभागृहको सबै व्यवस्थापनको पाटो विशेष रूपमा गरिने उनको भनाइ छ ।
उपमहानगरपालिकाको कार्यपालिकाको बैठकमा छलफल गरेर यसको राजस्व समेत तोकिने उनको भनाइ छ ।