काठमाडौं । उत्तर र दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका ९ वटा योजनामध्ये ४ योजना कार्यान्वयनमा आएका छन् ।
पहिरो नियन्त्रण, ४ वटा पुल र १ कालोपत्र योजनासहित यहाँ ९ योजना रहेका छन् । आयोजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईंले ती योजनामध्ये ४ वटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र ५ योजना ठेक्का सम्झौताको चरणमा रहेको बताए ।
मुस्ताङको थासाङ-४ स्थित कैकु खोला, थासाङ-२ को लार्जुङ खोला, जोमसोम-मुक्तिनाथ खण्डको पान्डा खोलामा पुल र म्याग्दीको राहुघाट खोलामा बेलिब्रिजका लागि ठेक्का सम्झौता भएको हो ।
आयोजनाका अनुसार मुस्ताङको थासाङ-४ स्थित २० मिटर लम्बाइको कैकु खोला पुलको बाँकी निर्माण सम्पन्न गर्न ५ करोड ३९ लाख रुपैयाँमा बिके केसी, जिसी जेभी निर्माण कम्पनीसँग १३ फागुनमा ठेक्का सम्झौता भएको हो । थासाङ-४ लार्जुङ खोलामा निर्माणाधीन २० मिटर लामो पुलको अधुरो निर्माणसम्पन्न गर्न २ करोड २२ लाख रुपैयाँमा एसके धौलागिरी निर्माण सेवासँग ११ फागुनमा ठेक्का सम्झौता भएको थियो ।
यस्तै, पान्डा खोला पुलमा खोलाको धार एकीकृत गराउन नयाँ ठेक्का सम्झौता भएको हो । पान्डा खोला पुलमा पानीको सर्कुलर जोड्ने गरी खोला च्यानलाइजिङ गर्न ११ फागुनमा ५८ लाख ५७ हजार रुपैयाँमा सोली थुम्का निर्माण सेवासँग ठेक्का सम्झौता भएको सूचना अधिकारी चापागाईंले बताए ।
राहुघाटमा अवस्थित बेलिब्रिज व्यवस्थापन तथा मर्मतका लागि बिआरटी साया जेभीसँग ३ करोड ३९ लाख रुपैयाँमा १३ फागुनमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।