काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालमै पहिलोपटक विद्युत् लाइन नकाटिकनै (लाइभ लाइन) मर्मत-सम्भार गर्ने प्रविधिको औपचारिक सुरुवात गरेको छ ।
उपभोक्तालाई विद्युत् सेवा अवरुद्ध नगरी गुणस्तरीय र निरन्तर आपूर्ति गर्ने उद्देश्यका साथ प्राधिकरणले आइतबार लुम्बिनी प्रादेशिक कार्यालयबाट अत्याधुनिक उपकरण प्रयोग गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा सुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित ११ केभी वितरण लाइनमा चालु अवस्थामै मर्मत-सम्भार गरी प्रविधिको परीक्षण गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार नेपालमै पहिलोपटक सञ्चालनमा आएको यो प्रविधिले मर्मतका क्रममा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै उपभोक्तालाई बिना अवरोध सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
यो कार्यलाई नमुना परियोजनाका रूपमा सुरु गरिएको र आगामी दिनमा यसको प्रभावकारिता तथा आवश्यकताको आधारमा विस्तार गरिने प्राधिकरणको भनाइ छ ।
वितरण तथा ग्राहक सेवा निर्देशनालयले नमुना कार्यअन्तर्गत बुटवलको ११ केभी लाइनमा तालिमप्राप्त प्राविधिकले अत्याधुनिक उपकरण प्रयोग गरी सफलतापूर्वक मर्मत-सम्भार गरेको जनाएको छ ।
कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले हाललाई नमुनाका रूपमा सुरु गरिएको यो प्रणाली प्रभावकारी देखिएमा विशेषगरी सहरी क्षेत्रमा नियमित मर्मत-सम्भारका क्रममा प्रयोग गरिने बताए ।
उनका अनुसार भविष्यमा यस्तो प्रविधिको प्रयोग बढ्दै गएमा मर्मतका लागि लाइन काट्नुपर्ने बाध्यता उल्लेख्य रूपमा घट्नेछ र उपभोक्ताले थप भरपर्दो तथा निरन्तर विद्युत् सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।