२४ दिनपछि डा. गोविन्द केसीले तोडे अनसन
काठमाडौं । प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन तोडेका छन् । उनले चिकित्सा शिक्षा विधेयक सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता गर्दै अनसन तोडेका हुन् । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर शुक्रबारबाट अनसन तोडेका हुन् । सरकारले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । साथै, प्रतिनिधिसभा र राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरिसकेकाले अनसन बस्नुको कुनै औचित्य नरहेको केसीले बताए ।
चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने
काठमाडौं। नेपाल चिकित्सक संघले डा. केसीको मागलाई वेवस्ता गरेको भन्दै माघ १८ गते शुक्रबार देशभरको स्वास्थ्य संस्था ठप्प गर्ने घोषणा गरेको छ। शुक्रबार आकस्मिक सेवा बाहेक सबै ठप्प हुने नेपाल चिकित्सक संघले जनाएको छ। संघले डा. गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै संघले गरेको रिले अनसनप्रति सरकारले गरेको वेवास्ताप्रति आपत्ति समेत जनाएको छ। आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुने नेपाल चिकित्सक संघको महासचिव डा. लोचन कार्कीले बताएका छन्।
हृदयाघातका विरामी पारसको स्वास्थ्यमा सुधार
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व पुवराजा पारस विक्रम शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व राजा पारस हिडडुल गर्न र सामान्य क्रियाकलाप गर्ने आदि गर्न सक्ने भएको छन् । सोमबार साँझ पूर्व युवराज पारस विक्रम शाहलाई तेस्रो पटक हृदयाघात भएको थियो । मुटुको धमनी बन्द भएको अवस्थामा नर्भिक इन्टरनेशनल अस्पताल पुगेको शाहको उपचारमा सुधार आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।