शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै

चितवन । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बनेको हो । जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास कार्यालयकोे तथ्याङ्कअनुसार जिल्लाभर अहिले ९०२ घर परिवारका ७८ हजार ५३६ जनाले स्वास्थ्य बीमा गरेका छन् । उनीहरुमध्ये शहरी क्षेत्रका जनता धेरै रहेको उक्त कार्यालयका प्रबन्धक सिर्जना पौडेलले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकाका ४३ हजार ९९९, खैरहनी नगरपालिकाका आठ हजार ८३४, रत्ननगर नगरपालिकाका ११ हजार ३४१ जनाले स्वास्थ्य बीमा गरेका छन् । यस्तै कालिका नगरपालिकाका पाँच हजार ९९, माडी नगरपालिकाका तीन हजार ४३६ र इच्छाकामना गाउँपालिकाका ५६९ जनाले स्वास्थ्य बीमा गरेका छन् । कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका ग्रामीण क्षेत्रमा पर्छ । शहरी क्षेत्रमा शिक्षित परिवारको बसोबास भएका स्थानमा बढी मात्रामा बीमाको कार्यक्रम प्रभावकारी बन्दै गएको प्रबन्धक पौडेलले बताए । बीमा कार्यक्रमको प्रभावकारिताबारे ग्रामीण क्षेत्रमा जानकारी गराउन नसक्दा ती क्षेत्रमा कार्यक्रम कम प्रभावकारी भएको उनले जानकारी दिए । शिक्षित वर्ग यस कार्यक्रमप्रति सकारात्मक र सहयोगी बनेकै कारण शहरी क्षेत्रमा यसको प्रभावकारिता बढेको हो । पौडेलका अनुसार यो कार्यक्रम लागू भएयता बीमा गरेर सेवा लिनेको संख्या १४ हजार २०६ पुगेको छ । उनीहरुले विभिन्न अस्पतालमार्फत उपचार गराई बीमा रकम दाबी गरी लिएका छन् । बीमा गरेकाले उपचार सेवा र ९२८ प्रकारका औषधि पाउनेछन् । कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक दुई हजार ५०० बीमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउनेछन् । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रु १० हजारसम्मको उपचार सेवा थपिनेछ । यो कार्यक्रमको अधिकतम सीमा रु एक लाख तोकिएको छ । जिल्लामा सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर, खैरहनी, जुटपानी र शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल, बघौडा अस्पताल, गुञ्जमान सिंह अस्पताल र भरतपुर आँखा अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरिएको छ । रासस

परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने

काठमाडौँ ।  डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्थित सो परिषद्मा बिरामीको चाप बढेसँगै त्यसको स्तरोन्नती गरी ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्न लागिएको हो । करिब दुई रोपनी ९ आना क्षेत्रफल रहेको सोही संस्थाको परिसरभित्र उक्त अस्पताल निर्माण गर्न लागिएको हो ।  परिषद्ले वरिष्ठ जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्री रोग, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाटी, सर्जन, बाल खोप सेवा, परिवार नियोजन सेवा, हेल्थ प्याकेज सेवा समेत सञ्चालन गरिएको छ । विभिन्न स्वास्थ्य सेवा तथा उपकरण थप गर्दै गएको उक्त संस्थाले एक्सरे, दन्त सेवा, कार्डियोलोजी, फिजीयोथेरापी, आँखा परीक्षण सेवा, अल्ट्रासाउण्ड, प्याथोलोजी सेवा, ड्रेसिङ सेवा, फार्मेसी सेवासमेत प्रदान गरेको छ । विसं २०३७ मा फागुन १७ गते भूइँखेलस्थित पाटीमा परोपकार प्राथमिक उपचार केन्द्रको स्थापना गरी अनाथ, दिन दुःखीलाई सेवा दिन थालेको उक्त संस्थाले लामो समयको आरोह अवरोह पार गरी अस्पतालको अवधारणा तयार पारेको छ । विसं २०३९ मा सोही केन्द्रलाई परोपकार दान विभाग शाखामा परिणत गरी विभिन्न दाता तथा समाजसेवीको पहलमा नगद, जिन्सी संकलन तथा श्रमदान गरी स्वयम्भूमा दुई तले भवन निर्माण गरी २१ वटा पसल भाडामा लगाएर उक्त संस्थाका संस्थापक रत्ननारायण न्हूजवा ‘सायमी’ नेतृत्वको समितिले स्वास्थ्य सेवालाई अगाडि बढाइएको थियो । विश्व सम्पदा क्षेत्रमा सूचीकृत उक्त स्थानमा निस्वार्थ भावनाले असाह्य तथा विपन्न वर्गको सेवा गरिरहेको उक्त परिषद्लाई विसं २०५५ मा डल्लु आवास क्षेत्रमा स्थानान्तरण गरिएको थियो । यहाँ आज आयोजित चौधाै साधरणसभाको अवसरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का जनप्रतिनिधि जीवनराम श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउनपर्नेमा जोड दिँदै पछौंटेपन, विपन्न तथा निमुखा नागरिकलाई कम शुल्कमा सेवा प्रदान गर्न सामुदायिक अस्पतालको विकास गर्नु आवश्यक रहेको बताए । परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले लामो इतिहास बोकेको उक्त संस्थाले आगामी चार वर्षभित्र अस्पतालको भवन पूरा गरी सेवा शुरु गर्ने जानकारी दिए । शिक्षाविद् केशरबहादुर मानन्धरले विभिन्न क्षेत्रबाट सहयोगस्वरुप प्राप्त भएका उपकरणलाई अत्याधिक उयोग गरी सेवा सुविधा विस्तार गर्न सकेमा बिरामीलाई कम मूल्यमा सेवा उपलब्ध गराउन सकिने विचार व्यक्त गरे। संस्थाका उपाध्यक्ष राजेन्द्रबहादुर तुलाधर, महासचिव मुकुन्दप्रसाद पाण्डेले सबै पूर्वाधारयुक्त आधुनिक भवनका रुपमा विकास गरिने उक्त अस्पताललाई समुदायले सञ्चालन गर्ने जानकारी गराए । कार्यक्रममा भोगवती ईश्वरी वृद्धा कल्याणकोषबाट मनोहर लोहनीले रु ५१ हजार तथा पद्यमानन्द बज्राचार्यले रु आठ हजार सहयोग प्रदान गरिएको छ । रासस

हिमालयन बैंकको २५ औ वार्षिक उत्सव सम्पन्न, स्वास्थ्य सेवालाई सहयोग प्रदान

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो २५ औ बार्षिक उत्सव सम्पन्न गरेको छ । सो अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १५, डल्लु स्थित “सामुदायिक स्वास्थ्य सेवा परिषद” लाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप उक्त स्वास्थ्य सेवा परिषदलाई आठ हजार थान ओपीडी टिकट बुक छपाई गरि प्रदान गरेको छ । उक्त सहयोग सामग्रीहरु बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले सहयोग सामग्रीहरु परिषदका अध्यक्ष हरिगोपाल श्रेष्ठलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । वि.सं. २०५५ मा स्थापित उक्त स्वास्थ्य सेवा परिषद सो क्षेत्रकै प्रतिष्ठित सामुदायिक अस्पताल हो । अस्पतालले विशेषतः आँखा, बाल स्वास्थ्य, हाड जोर्नी तथा नशा, नाक, कान तथा घाँटी, प्रसूति तथा स्त्रीरोग, दन्त, छाला तथा यौन रोग आदी सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न सरकारी, गैर सरकारीदाताहरु तथा स्थानिय बासिन्दाहरुको सहयोगमा संचालित यस सामुदायिक अस्पातलमा अन्य विभिन्न स्वास्थ्य सम्बन्धि सेवाहरु संचालन गरिरहेको छ ।