‘मफिया इशाराले डिनमा चलखेल’, तीर्थ खनियाले चलखेल गरेको केसीको आरोप
काठमाडौं २१, असोज । आमरण अनशनमा रहेका डा गोविन्द केसीले अदालतको बहाना गर्दै ‘मेडिकल माफिया’को इशारामा उपकुलपति तीर्थ खनियाँले डिन नियुक्तिमा चलखेल गरेको बताएका छन् । चिकित्सा शिक्षा सुधार र सुशासनमा केन्द्रित अनशनको ११ औं दिन नागरिकसँग विशेष कुराकानी गर्दै डा केसीले अन्तरिमा आदेशको अपब्याख्या गरेर खनियाँ षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । स्वास्थ्य अवस्था बिग्रदै गएको अवस्थामा डा केसीले पटकपटक मास्क लगाउने र केही अक्सिजन लिएपछि फेरी कुराकानी गर्ने गरेका थिए । अदालतले संविधानमै नभएको प्रावधानअनुसार कारबाही भए उनीहरुको वृत्तिविकास रोकिने भन्दै अन्तरिम आदेश दिइसकेको अवस्थामा उपकुलपतिले त्यसैलाई डिन नियुक्तिमा वरिष्ठता नकार्ने बहाना बनाएको केसीले बताए । ‘एउटा कारबाहीमा परेका एक जनालाई अहिले निमित्त दिन मिल्ने अनि नयाँलाई बनाउन नमिल्ने,’ उनले भने, ‘कारबाही अनुचित भएको भन्दै निर्णय तत्काल कार्यान्वयन नगर भनेर अदालतले भनिसकेपछि बहाना बनाउनु सरासर गलत हो ।’ नागरिक दैनिकबाट।
चरिकोट अस्पतालमा बालकको मृत्युले घटना चर्कायो ,सहायक सिडिओ र डिएसपीलाई गृहमा हाजिर हुन निर्देशन
काठमाडौं १५, असोज । चरिकोट अस्पतालमा अढाई वर्षीय बालकको मृत्यूपछि स्वास्थ्यकर्मीहरुले माफी मागाएको घटनाले चर्को रुप लिएपछि दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई केन्द्रमा तानिएको छ । असोज ७ गते अस्पतालमा महादेव रिजालको मृत्यू भएपछि चिकित्सकले क्षेमायाचना गरेका थिए । उक्त दृश्य फेसबुकमा भाइरल भएपछि चिकित्सा क्षेत्रको आन्दोलनको दबाबमा सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेलाई गृह मन्त्रालय हाजिर हुन बोलाइएको छ । प्रहरी नायव उपरिक्षक रवीन कार्कीलाई पनि प्रधान कार्यालय हाजिर हुन भनिएको छ । स्वास्थ्यकर्मीहरुको विज्ञप्तिअनुसार बालकको मृत्यूपछि प्रशासन र प्रहरीकै रोहबरमा अमानवीय शैलीमा जबरजस्ती माफी माग्न लगाएर लज्जित बनाएको आरोप छ । सहायक प्रजिआ आले र प्रनाउ रवीन कार्कीले स्वास्थ्यकर्मीहरुले माफी मागेको बारे कुनै जानकारी नभएको बताउँदै आएका छन् । घटनापछि अस्पतालमा सुरक्षाकर्मी परिचालन गरेको तर कतिखेर कसको अगाडी माफी मागिएको थाहा नभएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । ‘सहायक प्रजिअ र डिएसपीलाई बोलाइएको हो,’ शाहीले भने, ‘माफी मागिएको घटनामा सुरक्षाकर्मीबाहेक अरु कोही थिएन ।’ मृतकका हजुरबुबा इन्द्रबहादुर रिजालले अस्पताल प्रशासनको तर्फबाट राजीखुसी माफी मागिएको दाबी गरेका छन् । आगामी दिनमा अस्पतालमा लापरबाहीबाट कसैको मृत्यू नहोस् भन्ने हेतुले गल्ती स्वीकार गर्दै स्वास्थ्यकर्मीहरुले माफी मागिएको विषयमा राजनीतिकण भएकोमा मृतकका काका घनश्याम रिजालले दुस्ख व्यक्त गरे । कान्तिपुर दैनिकबाट ।
सरकारी कार्यालयबाटै खैरो हेरोइनको धन्दा, औषधि व्यवस्था विभाग परिसरभित्र स्टिलको दराजमा २२ ग्राम खैरो हेरोइन
काठमाडौं १३, असोज । औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग परिसरभित्र रहेको स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ। विभागको बिजुलीबजारस्थित पानस फर्मास्युटिकल्स प्रालि लेखेको स्टिलको दराजभित्र २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने डिजिटल तराजु फेला परेको समाचार विहिबारको राजधानीमा छापिएको छ। लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनको कारोबारीको आरोपमा सुनिल गुप्तालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो । ‘विभागकै परिसरमा रहेको दराजभित्र लागूऔषध फेला परेको यो पहिलोपटक हो’, ब्युरोका प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले भने । उनका अनुसार औषधि कम्पनीहरूले विभाग परिसरमा औषधि परीक्षणका लागि राख्ने छुट्टै लकरसहितको दराजमा गुप्ताले चरेस रहेका बताएका थिए । गुप्ता पानस फर्मास्युटिकल्सका कामदार हुन् । बयानमा उनले विभागभित्र रहेको स्टिलको दराजमा हेरोइन राखेको बताएपछि ब्युरो टोली बुधबार विभाग पुगेको थियो । गुप्ताले बताएअनुसार विभागभित्र रहेको स्टिलको दराज खोलेर हेर्दा प्रहरीले हेरोइन र त्यो जोख्न प्रयोग हुने तराजु फेला पारेको थियो। ब्युरोका डीआईजी जयबहादुर चन्दका अनुसार प्रारम्भमा काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा सूर्य संगत पक्राउ परेका थिए । उनको साथबाट ७ ग्राम खैरो हेरोइन र ४ हजार रुपैयाँ फेला परेको थियो । सोधपुछमा संगतले बाँकेका ३२ वर्षीय गुप्तासँग हेरोइन किनेको खुलेको थियो । गुप्ता पानस फर्मास्युटिकल्सका लाइजन अफिसर हुन् । गुप्तासँग हेरोइन किनेका प्रकाश जोशी, सद्दाम अन्सारी र वीरेन्द्र सिंहलाई प्रहरीले गौशालाको साउथ एसियन गेस्ट हाउसमा छापा मारी पक्राउ गरेको थियो । उनीहरूका साथबाट ९ ग्राम हेरोइन र ६४ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । विभाग परिसरमै लागूऔषध फेला परेको विषयमा प्रहरीले विभागका कर्मचारीलाई पनि अनुसन्धानमा राख्ने जनाएको छ । यसअघि, ब्युरोको ध्यान विभागतिर गएको थिएन । औषधि व्यवस्था विभागमा औषधि कम्पनीले आफनो लकर राख्न पाउने व्यवस्थाका बारेमा पनि जानकारी नभएको ब्युरोले जनाएको छ । विभाग आफैं औषधि कम्पनीहरूको नियामक निकाय भएकाले लागूऔषधजस्तो पदार्थका बारेमा जिम्मेवार हुनुपर्ने प्रहरीको दाबी छ ।