एनएमबि बैंकका ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालमा विशेष छुट

काठमाडौं । नेपालको उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुबिधा दिने उद्देश्यले नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत एनएमबि बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको बिभिन्न सेवा तथा सुबिधाहरुमा दश प्रतिशत (१०%)सम्मको छुट पाउने भएका छन् । ग्राहकहरुले बैंकको एनएमबी भिसा डेबिट तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरि अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत विभिन्न सेवा तथा सुबिधाहरुमा यो विशेष छुट सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता विभिन्न खाले योजनाहरु ल्याउने गरेको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मृगौला, क्यान्सर र प्यारालाइसिस रोगीलाई दिईने ५ हजार भत्ताको कार्यविधी एक हप्ता भित्रै

काठमाडौं । नेपाल सरकारले मृगौला, प्यारालाइसिस र क्यान्सरका बिरामीहरुलाई दिने भनिएको ५ हजार रुपैंयाको कार्यविधी स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकृत हरिदास शर्माका अनुसार मन्त्रालयले कार्यविधी निर्माण गरी मन्त्रीपरिषदमा पेस गरेको हो ।अहिले मन्त्रिपरिषदमा राय तथा सुझाव संकलनको कार्य भैरहेको र ४/५ दिनमा कार्यविधी पास हुने चिकित्सा सेवा विभागका प्रमुख भोला राम शर्माले जानकारी दिए । गत पुस महिनामा सरकारले मृर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीहरुलाई जिवन यापन सहज बनाउन भन्दै मासिक ५/५ हजार रुपैंया दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषदले कार्यबिधी पास गरेपछि यी रोगका पीडितहरुले मासिक पाँच हजार भत्ता पाउनेछन् । विभागका प्रमुख शर्माले कार्यबिधी पास भए लगत्तै रोगीहरुलाई भत्ता वितरण गर्ने बताए । सरकारले अहिले मृर्गौलाका रोगीहरुलाई त्रिवी शिक्षण अस्पतालमा निःशुल्क डायलाइसिसको व्यवस्था गरेको छ । यस्तै प्यारालाइसिसको बिरामीलाई एक लाख रुपैया खर्च दिदैँ आएको छ भने अंग प्रत्यारोपण गर्नका लागी ५ लाख ५० हजार प्रदान गर्दै आएको छ । सरकारले पिडीतहरुलाई दिने भत्ता रकम रक्सी र चुरोट लगायत बस्तुहरुमा थप कर लगाई रकमको स्रोत जुटाउने तयारी गरेको छ ।

रेडक्रसद्धारा आपत्कालीन स्वास्थ्य क्लिनिक स्थापना, साेमबारसम्म फिल्ड अभ्यास सञ्चालन हुने

काठमाडौं । नेपाल रेडक्रसले जुनसुकै स्थानमा तत्कालै आपत्कालीन स्वास्थ्य क्लिनिक स्थापना सम्पन्न गरेको छ । रेडक्रसले विपद् वा सँकटको परिस्थितिमा देखापर्न सक्ने पानीजन्य रोगहरुको उपचार गर्ने उद्देश्यले उक्त क्लिनिक ठाँउठाउँमा स्थापना गरी गरेको हो । आपत्कालीन अस्पताल सञ्चालन प्रकृयाको निर्देशिका तयार भैसकेको र सो अनुसार खटिने प्राविधिकहरु र बन्दोवस्तीकर्ताहरुको लागि पहिलो चरणको तालिम सम्पन्न भैसकेको नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्यालले जानकारी दिए । यस्तो आपतकालीन सेवाको लागि नेपाल सरकारसँग सहमति पत्रमा सम्झौता भइसकेको छ । त्यस्तै, क्यानेडियन रेडक्रस लगायतका विभिन्न सोसाइटीहरुबाट पहिलो चरणको खटाइको लागि परिचालन खर्च प्राप्त हुने निश्चित भैसकेकोे छ । क्यानेडियन रेडक्रसका प्राविधिक सँयोजक जुलिया इवामाले २०७२ को भूकम्पको समय देखि नेपालमा स्वास्थ्य सेवा गर्न क्यानेडियन रेडक्रसले गरेको सहयोगको यो निरन्तरता रहेको बताइन् । अन्तिम चरणको तालिम समाप्त र फिल्ड अभ्यास सञ्चालन यसैक्रममा, विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र रेडक्रसका स्वयँसेवकहरुले गत सोमबारदेखि चितवनमा ५ दिने तेस्रो तथा अन्तिम चरणको तयारी तालिम शनिबार पूरा गरेका छन् । तालिम पूरा भएकै दिनदेखि फिल्ड अभ्यासमा जुटेका छन् । ३ दिन सम्म सञ्चालन हुने फिल्ड अभ्यासको क्रममा मोडल अस्पताल, पाटन अस्पताल र बीर अस्पताल, न्याम्सका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, नेरेसकोका कर्मचारी तथा स्वयँसेवकहरुले विभिन्न चरणको तालिमको क्रममा सिकेका विषयहरुलाई कृतिम घटना अभ्यास प्रदर्शन गरे । कार्यक्रममा २९ जना मुख्य सहभागीहरु, प्राविधिक, सिमुलेटर र स्थानीय स्वयँसेवकहरुको सहभागिता थियो । फिल्ड अभ्यासको पहिलो दिन शनिबार क्लिनिक सञ्चालनको लागि विरामी प्रारम्भिक परिक्षण गर्ने स्थान, शौचालय सहितको आपत्कालीन बेड रुम, ओपिडि कक्ष, स्टाफ रुम, फार्मेसी जस्ता सेवाको लागि पूर्वाधार खडा गरिएका थियो । त्यस्तै जेनेरेटर, पानी लगायत वन्दोबस्तीको तत्काल व्यवस्था गरी घाइतेको उपचार शनिबारदेखि सुरु गरिएको थियो । दोस्रो दिनसम्म विभिन्न किसिमका ६५ वटा विरामीहरुको परिक्षण अभ्यासको गरिएको छ । विपदको अवस्थामा हुन सक्ने स्वास्थ्य समस्याहरुलाई लिएर विरामीहरुको चाप वढेको सहभागी टीम लिडर शुरक्षा पौडेलले जानकारी दिएका छन् । रेडक्रसको अन्तराष्ट्रिय महासँघको एशिया प्यासेफिक क्षेत्रका कोअर्डिनेटर क्याम, फिलिपिन्स रेडक्रसका एल र फ्लोरि, क्यानेडियन रेडक्रसका डा. सेवास्टिन र जुलिया लगायतका विदेशी तथा स्वदेशी गरी २० जना प्रशिक्षकहरुले फिल्ड अभ्यास सहजीकरण गरिरहेका नेरेसोका क्लिनिक कार्यक्रम सँयोजक रश्मि श्रेष्ठले जानकारी दिए ।