सरकारी अस्पतालको बहिरंग सेवा तीन दिनदेखि अवरुद्ध, सरकार मौन
काठमाडौँ । कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालका आपत्कालीनबाहेक सबै सेवा बन्द छन् । अस्पतालको ओपिडी मात्र होइन, महिनौँअघि तय भएका अप्रेसन पनि रोकिएका छन् । कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ । तर, प्रदेश र स्थानीय तहको दरबन्दीमा जान डाक्टरहरूले अस्वीकार गरेका छन् । संघीय सरकारअन्तर्गत नै राखेर आफूहरूलाई प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि डाक्टर आन्दोलनमा छन् । विभेदकारी ढंगले समायोजन गरिएको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले शुक्रबारबाट ओपिडी सेवासहित आपत्कालीनबाहेकका अप्रेसन बन्द गरेका हुन् । राजधानीका सरकारी अस्पतालमा दैनिक एक सय नौभन्दा बढी अप्रेसन रोकिएको अस्पतालहरूले बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा मेजर र माइनर गरी दैनिक ३५ अप्रेसन हुँदै आएका छन् । वीर अस्पतालमा युरोलोजी, न्युरो, माइनर गरेर ५५ र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सातजनाको पूर्वयोजनाअनुसार अप्रेसन हुँदै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविर
काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । टायल घर स्थित बुद्ध भिजन एकेडेमीको प्राङ्गणमा शिविर भएको हो । सो स्वास्थ शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उप प्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष सा“इला राई तथा विभिन्न राजनीतिक पार्टीका प्रतिनीधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो । धुनिवेशी नगरपालिका अन्तर्गत विभिन्न ठाउ“बाट लगभग ५ सय ५० भन्दा बदी नागरिक यो शिविरबाट लाभान्वित भएका छन । सो शिविरमा मुख्य रुपमा आ“खा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो । नगर स्वास्थ प्रमुख शिवहरि भट्ट लगायत विभिन्न स्वास्थ संस्थाबाट १५ जना भन्दा बढी स्वास्थकर्मीको उपस्थिति रहेको सो शिविरमा उल्लेख्य रुपमा बिरामीहरुको उपस्थिति रहेको वडा अध्यक्ष राईले बताए । यूनाइटेड सिमेन्ट्सले यस्ता सामाजिक कार्य विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका विनोदकुमार न्यौपानेले बताए । अघिल्लो वर्ष पनि सरकारी विद्यालयमा यूनाइटेड सिमेन्ट्सले शैक्षिक सामाग्री हस्तान्तरण गर्नुका साथै एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग गरेको थियो ।
हावाहुरी पीडित वारा–पर्साका घाइतेको लागि ७४ जनाले गरे रक्तदान
काठमाडौँ । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको कमी नहोस् भन्दै काठमाडौँको नयाँबानेश्वरमा बुधावार गरिएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेका छन् । महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर लगायतको आयोजनामा आकास्मिक रुपमा गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता भएको कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए । आपतकालीन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा सहभागी हुन संयोजक आचार्यले अपिल गरे अनुसार बानेश्वरका स्थानीय, नेपाल प्रहरी, होस्टल ब्यावसायी संघका प्रतिनिधि, सामुदायिक प्रहरी लगायतले रक्तदान गरेको थिए । कार्यकमका आयोजक महानगरीय प्रहरी नयाँबानेश्वर प्रमुख डीएसपी गोबिन्दराज काफ्लेले मानवीय कार्यमा सहयोग गर्न आग्रह गर्दै रक्तदान कार्यक्रम गरिएको बताए ।