गगन थापाले दिए मृगौला रोगिलाई राहत, नयाँ बर्षबाट मिर्गौला प्रत्यारोपण निःशुल्क
काठमाडौं – सरकारले आगामी १ वैशाखदेखि मिर्गौलाको निःशुल्क प्रत्यारोपण गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीहरूको उपचारलाई ध्यानमा राख्दै प्रत्यारोपण निःशुल्क गर्ने जानकारी दिएका हुन् । ‘सरकारले मिर्गौलाको डाइलासिस निःशुल्क गरिसकेको छ । प्रत्यारोपण गर्नेहरूका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । त्यस्ता बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन सरकारले प्रत्यारोपणलाई निःशुल्क बनाउने भएको हो,’ मिर्गौला दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री थापाले भने । उनले दुई सय रुपैयाँमा सरकारी अस्पतालमा मिर्गौलाको परीक्षण गर्न सकिने भन्दै वर्षमा एकपटक सबैले मिर्गौलाको परीक्षण गराउनुपर्नेमा जोड दिए । ‘सधैँभरि निःशुल्क उपचार गर्न सकिँदैन, मन्त्री थापाले भने, ‘निःशुल्कका नाममा खर्च भएको रकम पनि कसै न कसैले तिरेको छ । त्यसैले नागरिक आफ्नो स्वास्थ्यप्रति सदैव उत्तरदायी बन्नुपर्छ । जसले गर्दा रोग लाग्नबाट बच्न सकियोस् ।’ मन्त्री थापाले काठमाडौंमा मात्रै डाइलासिस सेवा सञ्चालनमा रहँदा उपत्यकाबाहिरका नागरिक मिर्गौला रोगको उच्च जोखिममा रहेको भन्दै सेवालाई विस्तार गर्ने बताए । उनले कानुनी बाधाका बीचमा पनि चाँडै काठमाडौंबाहिरका अञ्चल अस्पतालबाट डाइलासिस सेवा सुरु गर्ने जानकारी दिए ।सेवा सुरु गर्न प्रत्येक अञ्चल अस्पताललाई आवश्यक उपकरण किन्न रकम पठाइसकेको उनले बताए । त्यसका लागि दुई हजार स्वास्थ्य चौकीमा मिर्गौला परीक्षण गर्ने उपकरण किन्ने तयारी भइरहेको उनको भनाइ थियो । बिरामीका लागि निःशुल्क बस सेवा स् मानव अंग प्रत्यारोपण केन्द्रले बिरामीहरूको आवत–जावतलाई ध्यानमा राखेर बिहीबारबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । उपत्यकामा गाडीको चाप र रातको समयलाई मध्यनजर गर्दै केन्द्रले ३० सिट क्षमता भएको बस सञ्चालनमा ल्याएको हो । श्रेष्ठका अनुसार सो बसले बिरामीलाई अस्पताल ल्याउने र अस्पतालबाट घर पठाउँदा सेवा दिने गर्दछ । ‘हामीले मिर्गौला बिरामीको स्वास्थ्य अवस्था हेरेर एउटा बस निःशुल्क सञ्चालनमा ल्याएका छौँ । यसले बिरामी अस्पतालमा ल्याउने र घर पु¥याउने काम गर्र्दछ,’ श्रेष्ठले भने, ‘रातको समयमा बिरामी डिस्चार्ज हुँदा र अरू समयमा पनि गाडी नपाएर बिरामी बिचल्लीमा परिरहेका हुन्छन् । सोही कारण निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हौँ ।’ केन्द्रले पहिलोपटक स्वास्थ्य पत्रकारिता पुरस्कारको स्थापना गरेको छ । यसै वर्षबाट सुरु भएको स्वास्थ्य पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका अतुल मिश्रलाई प्रदान गरिएको छ । विगत दुई दशकदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाएको भन्दै स्वास्थ्यमन्त्री थापाले २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । मिर्गौला रोगको मुख्य कारण मोटोपन स् चिकित्सकहरूका अनुसार मिर्गौला रोगको मुख्य कारण मोटोपन हो । मोटोपनले मानिसको स्वास्थ्यमा जोखिम बढाउने मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा।पुकारचन्द्र श्रेष्ठको भनाइ छ । मुटु, उच्च कोलेस्ट्रोल, श्वासप्रश्वासमा समस्या, कलेजोमा बोसो जम्ने, पित्तथैलीको रोग, हाडजोर्नी खिइँदै जाने, मोटोपन भएकामा क्यान्सर हुने, मानसिक समस्याको कारण पनि मोटोपनले नै गर्ने उनले बताए । ‘सामान्य तौल भएका मानिसमा भन्दा बढी तौल भएकामा मिर्गौला फेल हुने सम्भावना चार गुणाले बढी हुने भएका कारण मोटोपन घटाउनु जरुरी छ,’ श्रेष्ठले भने । नयाँ पत्रिका दैनिकबाट ।
तलब दोब्बर बनाउन डाक्टरको माग, निजी अस्पतालमा पनि काम गर्न पाउनुपर्ने
काठमाडौं । नेपाल चिकित्सक संघले सरकारी डाक्टरहरुको साविकको पारिश्रमिक र सेवा सुविधा दोब्बर बनाउनुपर्ने माग गरेको छ । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठका अनुसार चिकित्सकहरुको चितवनमा सम्पन्न विशेष बैठकले शतप्रतिशत तलब बृद्धिको माग गरेको छ । संघले अस्पतालको ड्युटी समयबाहेक अन्य समयमा स्वास्थ्य मन्त्रालयअन्तर्गत काम गर्ने चिकित्सकहरुले निजी प्राक्टिस गर्न स्वीकृति पाउनुपर्ने समेत माग गरेको छ । कान्तिपुर दैनिकबाट ।
वीर अस्पताल २५०० बेडकाे बनाउने काम भइरहेकाे छ- प्रा.डा.भुपेन्द्रकुमार बस्नेत
नेतृत्वको क्षमताले संस्थाको सेवा र गतिशिलतामा धेरै फरक पार्छ । प्रा.डा.भुपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा निर्देशक कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि विरामीको चाप करिब ३० प्रतिशतले वृद्धि भएको देखिन्छ । भोजपुरको दिङलामा जन्मिएको बस्नेतले मोरङको स्कूलबाट विद्यालयतहको शिक्षा हासिल गर्नुभएको हो । आइएस्सी त्रिचन्द्र क्याम्पसबाट, एमबिबिएस बंगलादेशबाट, एमडी शिक्षण अस्पताल महाराजगञ्जबाट र डीएम न्याम्सबाट गर्नु भएको बस्नेतले अधिकांश समय वीर अस्पतालमा नै बिताउनु भएको छ । ‘यो अस्पतालमा एउटा डाक्टरले बोक्नुपर्ने सबै खाले जिम्मेवारी पूरा गर्दै निर्देशकको जिम्मेवारीसम्म आइपुगेको हुँ । अस्पताल भित्रको समस्या के छ ? समाधान कसरी गर्नुपर्छ ? मलाई थाहा छ’ निर्देशक बस्नेतले विकासन्युजसँगको कुराकानीमा भने–‘वीर अस्पतालमा धेरै सुधार हुँदैछ, स्वास्थ्य मन्त्रीदेखि अस्पतालका कर्मचारी सबैबाट सहयोग पनि मिलेको छ ।’ प्रा.डा.भुपेन्द्रकुमार बस्नेत, निर्देशक–वीर अस्पताल पछिल्लाे समय वीर अस्पतालमा बिरामीको चाप कस्तो छ ? बिरामीको चाप गत वर्ष भन्दा बढेको देखिन्छ । हरेक महिना पाँच देखि ७ हजारका दरले बढेको देखिन्छ । २०७२ साल कात्तिकमा १४ हजार ७ विरामीको उपचार भएको थियो भने २०७३ साल कात्तिकमा २३ हजारको उपचार भयो । गत वर्षको मंसिरमा १८ हजार २ सयले उपचार गरेका थिए भने यसपाली २५ हजार ७ सय पुगेको छ । गत वर्षको पुसमा १९ हजारको उपचार भएको थियो यसपाली २५ हजार ७ सय पुगेको छ । यो ओपिडीमा उपचार गरिएका बिरामीको संख्या/इमर्जेन्सीमा पनि विरामीको संख्या निकै बढेको छ । बिरामीको संख्या बढ्नुको कारण के के हुन् ? त्यसका धेरै कारण छन् । बिरामी हुनेकै संख्या बढेकाले पनि हुन सक्छ । जब बिरामी हुनेहरु कै संख्यामा वृद्धि हुन्छ तब अस्पताल आउनेको संख्या पनि वृद्धि हुन्छ नै । अर्काे कारण भनेको हाम्रो सेवामा विश्वास बढेर पनि हो । बिरामीले आफूलाई चित्त बुझ्ने ठाउँमा नै उपचार गराउने हो । बिरामीको विश्वास बढाउने गरि के के काम भएको छ यस अस्पतालमा ? हामीले केहि सेवा पनि विस्तार गरेका छौं । अर्काे भनेको हामीले दिएको गुणस्तरिय सेवाबारे प्रचार प्रसार बढेकाले पनि हो । मुख्य कुरा भनेको अहिले बिरामीले लाइन बस्नु पर्दैन । टोकन सिस्टम ल्याएका छौं । टोकन लिएर आरामले कुर्सीमा बस्ने अनि आफ्नो पालो आएपछि उपचार सेवा लिन पाइन्छ । त्यसकारण पनि वीर अस्पतालमा बिरामीको आकर्षण अझै बढेको छ । त्यस बाहेक बिशेषज्ञदेखि अति विशेषज्ञ सेवा हामीले उपलब्ध गराईरहेका छौं । युरोलोजीमा ओपिडीको संख्या र अपरेशनको संख्या बढाएका छौं । ढेड महिना अघिदेखि २४ सै घण्टा डायलायसिस सेवा दिएका छौं । त्यस बाहेक ओपीडी, डाक्टर, कर्मचारी सबैलाई अपडेट गरिएको छ । सरसफाईमा बिशेष ध्यान दिएका छौं । फूल र हरियाली बढाएका छौं । इमर्जेन्सीलाई पनि थप व्यवस्थित गराएका छौं । हामीले केहि नयाँ विज्ञहरुलाई पनि थपेका छौं । फोक्सोको छुट्टै विभाग खडा गरेर सेवा आरम्भ गरेका छौं । रेडियोलोजीमा पनि त्यस्तै नयाँ काम आरम्भ भएको छ । त्यसैले बिरामीको संख्या बढेको हुनसक्छ । कुपन सिस्टम आएको भएपनि टिकट लिन लामो समय कुर्नु पर्ने गुनासो छन् नि ? हामीले चार वटा काउण्टरलाई बढाएर ५ वटा बनायौं । जेष्ठ नागरिकलाई छुट्टै काउन्टर चलाएका छौं । वीर अस्पताल रिफर गरिएका बिरामीलाई सिधै टिकट दिएर इमर्जेन्सीमा लिने गरेका छौं । अब ६ वटा काउण्टर संख्या बढाउँदैछौं । ३० प्रतिशत बिरामीको संख्या वृद्धि हुँदा सेवा दिन कतिको असहज भैरहेको छ ? वीर अस्पतालको क्षमता चाँही कति हो ? भक्तपुरको दुवाकोटमा ५२० रोपनी जमिन वीर अस्पतालले प्राप्त गरिसकेको छ । तर वीर अस्पताल त्यहाँ सर्ने भन्ने चाँही होइन । वीर अस्पतालको सेवा विस्तार हुने हो । सरकारी अस्पतालले आएका सबै बिरामीलाई उपचार गर्नुपर्ने व्यवस्था छ । हाम्रो ओपिडीको समयभित्र जति जनाले टिकट काट्नु हुन्छ, उहाँहरु सबैलाई सेवा दिनु हाम्रो कर्तव्य हो । तर यहि अनुपातमा संख्या वृद्धि भयो भने पूर्वाधार बढाउने वा संख्या तोक्नेबारे सोच्नुपर्ने हुनसक्छ । काठमाडौंमा प्रदूषण बढेर बिरामीको संख्या बढेको हो वा अस्पतालको सेवा सुध्रिएर हो ? हामीले बिशिष्ट सेवा दिने भएकोले नै बिरामीको संख्या बढेको हो । काठमाडौंमा प्रदूषण बढेपछि पक्कै पनि बिरामीको संख्या त वृद्धि हुन्छ नै तर त्यसकै कारण वीर अस्पताल आउने बिरामीको संख्या बढेको भन्ने चाँही होइन । प्रदूषणले पनि केहि संख्या भनेको बढाएको हुन सक्छ । अस्पतालको क्षमता भन्दा बिरामीको संख्या धेरै भएको हो ? हामी अहिले दुई तीन वटा समस्याबाट गुज्रिरहेका छौं । पहिलो भनेको पूर्वाधार कमी नै हो । हामीले टिकट काट्ने ठाउँलाई तन्काएर ठूलो बनाउने अवस्था छैन तर काउण्टरको संख्या वृद्धि नगरि नहुने अवस्था पनि छ । बिरामी कुरुवाको ठाउँ पनि बढाउन सकिएको छैन । दोस्रो ठूलो समस्या भनेको जनशक्तिको कमी हो । बिरामीको संख्या बढे जसरी जनशक्ति वृद्धि गर्न सकिएको छैन । वीर अस्पताललाई विस्तार गरेर भक्तपुर लैजाने भन्ने कुरा कहाँ पुग्यो ? भक्तपुरको दुवाकोटमा ५२० रोपनी जमिन वीर अस्पतालले प्राप्त गरिसकेको छ । तर वीर अस्पताल त्यहाँ सर्ने भन्ने चाँही होइन । वीर अस्पतालको सेवा विस्तार हुने हो । यहाँ नर्सिङ क्याम्पस, क्वार्टर र एउटा अस्पताल त्यहाँ बनाउने हो । अहिले वीर अस्पताल भएको क्षेत्रमा पनि पूर्वाधार विस्तारको काम भईराखेको छ, होइन ? यहाँको जमिनमा पनि अर्काे भवन बनाएर अस्पतालको क्षमता बढाउने काम भईराखेको छ । नर्सिङ क्याम्पस र होस्टल भएको भवन भत्काउने काम भैरहेको छ । अर्काे महिनाबाट निर्माण पनि आरम्भ हुन्छ । त्यो भवन बनिसकेपछि भने हामीलाई केहि राहत हुन्छ । यहाँ सात तलाको भवनमा ७५० बेडको अस्पताल बन्दैछ । मुल भवनको पछाडि एक सय बेडको अस्पताल बनाउन जाइकासँग सम्झौता नै भैसकेको छ । भक्तपुरमा एक हजार बेडको अस्पतालसहित न्याम्सको अफिस, नर्सिङ क्याम्पस र क्वार्टरहरु बनाउने हो । यी सबै काम भैसक्दा वीर अस्पताल, ट्रमा सेन्टर र अहिलको नर्सिङ क्याम्पसको ठाउँ गरी जम्मा १५०० बेड क्षमताको अस्पताल सञ्चालन हुन्छ । भक्तपुरमा १००० बेडको अस्पताल हुन्छ । अहिले वीरसँग ४६० र ट्रमा सेन्टरसँग २ सय बेडको हो । दुबै मिलाएर ६६० बेडको अस्पताल अहिले सञ्चालनमा छ । प्रक्रियामा रहेको सबै पूर्वाधार निर्माण सम्पन्न हुँदा वीर अस्पताल २५०० बेड क्षमताको हस्पताल बन्नेछ । यस अस्पतालका प्रस्तावित भौतिक पूर्वाधार कहिले बनिसक्ला ? भत्काउँदै गरिएको नर्सिङ क्याम्पस र होस्टलको भवन भएको ठाउँमा बन्ने अस्पतालका लागि बजेट विनियोजन भैसकेको छ । नक्सा पास गराउने प्रक्रिया अघि बढेको छ । चाँडै निर्माण आरम्भ हुन्छ । मुल भवनको पछाडि जाइकाले बनाउने भवनको सम्झौता सम्पन्न भैसकेको छ । तीन बर्षमा बनाइसक्ने भन्ने छ । दुवाकोटको भने मन्त्रालय आफैैले हेरिरहेको छ । विभिन्न निकायसँग छलफल भैरहेको छ । हामीले यहाँ बनाउने भनेको लागत ३ अर्बको प्रोजेक्ट हो । जाइकाले बनाउने भवनको कति लाग्छ, त्यो उसैले जान्दछ । यो भवन बनाउने, त्यसभित्र आवश्यक पर्ने सबै उपकरणहरु उसैले नै बनाईदिने हो । यी सबै परियोजना सम्पन्न हुँदा वीरको क्षमता कति हुन्छ ? यो वीर अस्पताल मात्रै होइन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि हो । यहाँ उपचार मात्रै होइन, डिएस, एमडीदेखि एमएससम्मको अध्ययन गराइन्छ । यो देशकै ठूलो ट्रेनिङ सेन्टर पनि हो । यो एउटा विश्व विद्यालय नै हो मेडिकल साइन्सका लागि । यसले मात्रै एमडी, एमएस र डिएम लगायतका डाक्टर ९ सयको हाराहारीमा उत्पादन गरिसकेको छ । हरेक वर्ष १२५ जना दक्ष डाक्टर उत्पादन गरिरहेको छ । यसले सेवा विस्तार सधैं गरिरहेको हुन्छ । अहिले नै पनि न्याम्सको मातहतमा अञ्चल अस्पतालमा अध्ययन सुरु गराउने भन्नु भएको छ । वीरमा कति जनशक्ति छन् ? हामीसँग फरक फरक क्षमता र विभागका मान्छे छन् । यहाँ १२०० कर्मचारी छन् बिभिन्न क्षेत्रमा संलग्न । भिआइपी र भिभिआइपी कक्षको सञ्चालनको अवस्था कस्तो छ ? एउटा भिआइपी र एउटा भिभिआइपी कक्ष छन् । तीनको प्रयोग राम्रोसँग भैरहेको छैन । भिआइपीमा त वर्षमा पाँच सात जनाले उपचार गराइरहनु भएको छ तर भिभिआइपी कक्षमा उपचार गर्न पूर्व रानी ऐश्वर्यपछि कोही पनि आउनु भएको छैन । ऐश्वर्यको अपरेशन गरेपछि अरु कसैको त्यहाँ उपचार भएको रेकर्ड छैन । भिआइपीमा भने पछिल्लो पटक पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको उपचार गरिएको थियो । हामीले सम्माननियहरुका लागि भिभिआइपी र बहालवाला मन्त्रीका लागि भिआइपी कक्ष भन्ने गरेका थियौं तर अहिले माननियहरुलाई पनि भिआइपी कक्ष उपलब्ध गराउँछौं । तर यी कक्षहरुको खासै उपयोग गरिएको छैन । हामीले यी दुबै कक्षलाई सफा राख्ने गरेका छौं । यो फाइभस्टरको कोठा जस्तै राम्रोसँग राखेका छौं भिभिआइपी कक्षलाई । हामी सेवा दिन बसेका हौं । हामी कहाँ सेवा लिन आउनेहरुलाई सेवा दिन्छौं तर भिआइपी र भिभिआइपी नआउने कुरामा हामीले केहि भन्न सक्दैनौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले यहिँ आएर दाँतको उपचार गराउनु भएको थियो, वर्तमान राष्ट्रपति पनि केहि महिना अघि उपचारका लागि यहि आउनु भएको थियो । वर्तमान प्रधानमन्त्रीले पनि केहि समय अघि यहिँ आएर उपचार गराएर फर्किनुभएको थियो । नेताहरुले उपचारका लागि विदेश किन गएका होलान ? नेपालमा गुणस्तरिय स्वास्थ्य सेवा नपाएर वा विश्वास नभएर ? भिआइपीहरुलाई उपचारसँगै आराम पनि दिनुपर्ने हुन्छ । हामी कहाँ नेता बिरामी भयो भने अस्पताल भरी मान्छे आउँछन् । बिरामीले भेट्न हुन्न भन्दा भन्दै पनि भिडभाड गर्छन् । जसका कारण राम्रोसँग आराम पाउनुहुन्न । माधव नेपाल यहाँ आउनु हुँदा पनि डाक्टर भेट्न हुन्न भन्दा पनि धेरैलाई रोक्न सकिएन् । यस्तै कारणले नेताहरु उपचारका लागि विदेशिएका हुन भन्ने मलाई लाग्छ । मेडिकल साइन्स भनेको धेरै विकास भैसकेको छ । हामीसँगै सबै प्रविधि नहुन सक्छ । शतप्रतिशत नयाँ प्रबिधि हामीसँग छैन । कतिपय रोगको उपचार बिशिष्ट ढंगले गर्नु पर्छ । भारतमै पनि सबै रोगको उपचार सम्भव हुन्न । त्यसकारण पनि हाम्रा नेताहरु विदेशिएका हुन भन्ने मलाई लाग्छ । निजी क्षेत्रका ठूला व्यवसायी पनि उपचारका लागि विदेशिन्छन् किन होला ? पैसा हुनेहरु विदेशी उपचार गर्न जाने कुरा स्वभाविक हो । गाउँका मान्छे जिल्ला आउँछन्, जिल्लाका मान्छे अञ्चल अस्पताल जान्छन् अनि अञ्चलका मान्छे केन्द्रमा जान्छन् उपचार गराउन । राजधानीमा बस्ने ठूला व्यवसायीहरु उपचारका लागि विदेश जान्छन् । त्यो स्वभाविक प्रक्रिया पनि हो । मानिसहरु चाँडो सेवा खोज्छन् तर हामी त गरिबहरुलाई उपचार गर्ने सरकारी अस्पताल हौं । हामीले गरिबहरुलाई निःशुल्क उपचार गराएर पनि पठाएका छौं । उनीहरुका लागि वीर अस्पताल भगवान नै सावित पनि भएको छ । वीर अस्पतालका कर्मचारीले बिरामीलाई निजी क्लिनिक र अस्पताल रिफर गर्छन् भन्ने आरोप पनि छ, कुरा के हो ? त्यस्तो अहिले छैन । कुनै समयमा त्यस्तो पनि थियो होला । तर अहिले म आफैं अनुगमन गरिरहेको छु । कुनै टेष्ट बाहिर गर्नु पर्यो भने विभागिय प्रमुखले तोक लगाउनु पर्छ । बाहिर हल्ला चले जस्तो यहाँ छैन । म दुई वर्षका लागि नेतृत्वमा आएको हुँ । जनताले सर्वसुलभ ढंगले उपचार पाउने अस्पतालका रुपमा स्थापित गराउछु भन्ने योजना छ । काम गर्दा कत्तिको कठिनाईहरु आउने रहेछन् ? हामीले अस्पतालमा रंग लगाउने भन्ने योजना बनायौं तर बजेटमा राखिएको रहेनछ । कतिपय अवस्थामा मन्त्रालयको निर्णय कुर्नुपर्ने अनि कतिपय अवस्थामा न्याम्सको निर्णय कुर्नुपर्ने अवस्था हुन्छ । अहिले स्वास्थ्य मन्त्रीले नियमित बजेट भन्दा ४० करोड बढी रकम दिनुभएको छ । यसले पनि काम गर्न सहजता भएको छ । निर्देशकको कार्यकक्ष बनाउनका लागि १० लाखको बजेट लाग्ने रहेछ । तर १० लाख खर्च गरेर यो कोठा बनाउने कि बिरामीको सेवामा १० लाखको उपकरण खरिद गर्ने भन्ने कुराबारे सोच्नुपर्ने रहेछ । तर पनि आगामी दिनमा सुधार हुन्छ । वीर अस्पतालको कुल खर्चको कति प्रतिशत आफ्नै आम्दानीले धानेको छ ? हामीसँग करिब १२०० कर्मचारी छन् । तीमध्ये ६ सय लोकसेवा आयोगका परीक्षा पास गरेका सरकारी कोटामा आएका हुन् । उनीहरुको तलब सरकारले दिन्छ । बाँकी ६ सयका तलब भत्ता हामीले आफ्नै आम्दानीबाट व्यहोर्दै आएका छौं । हामीले ५० प्रतिशत खर्च आफैं धान्दै आएका छौं ।